MENU

अर्थ/बाणिज्य

635x90

पर्यटन क्षेत्रका सक्रिय व्यवसायी

बीपी अनमोल, महेन्द्रनगर मंगलवार, बैशाख २६, २०७४

व्यवसायी परमानन्द भण्डारीलाई करिब दुई दशकअघि होटेल व्यवसाय शुरु गर्दा पर्यटनका विषयमा त्यति जानकारी थिएन । उनले बुबाको होटेल व्यवसायको बिडो मात्र धानेका थिए । १० वर्षे होटल व्यवसायको क्रममा सुदूरपश्चिमको पर्यटकीय सम्भावना बुझे । ०६५ सालमा मोहित टुर्स एन्ड ट्राभल्स सञ्चालन गरी पर्यटकीय प्रबद्र्धनमा लागेका छन् । उनले सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको चर्चा नेपालमा मात्र नभएर भारतको नैनीताल, देहरादुन, दिल्लीसम्म फैलाए । ‘शुरुमा यस क्षेत्रको प्रचारप्रसार गर्न निकै मिहिनेत गर्नुपर्‍यो । मानिसहरूलाई बुझाउनै कठिन थियो ।’

अझै पनि आन्तरिक पर्यटनको प्रबद्र्धन र संरक्षणमा सबैको ध्यान जान नसकेको उनको गुनासो छ । उनी महेन्द्रनगर आउने आन्तरिक र बाह्य पर्यटकलाई सुदूरपश्चिममा पर्यटनको ‘टुर प्याकेज’ बनाएर आकर्षित गरिरहेका छन् । ‘सुदूरपश्चिमको ‘पर्यटकीय हब’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नै हो’, उनी भन्छन्, ‘निकुञ्ज बाह्रसिंगेको झुण्ड हेर्न पाइने एसियाकै सबैभन्दा ठूलो घाँसे मैदान हो । सयौं प्रजातिका चराचुरुंगी, तालतलैया, बाघ, गैंडालगायत जनावर पनि निकुञ्जका आकर्षण हुन् ।’

उनी शुक्लाफाँटालाई सुदूरपश्चिमका अन्य पर्यटकीय गन्तव्यसँग जोड्न सके पर्यटन व्यवसाय माथि उक्लने दाबी गर्छन् । उनले पर्यटन व्यवसायको शुरुवाती दिन सम्झे, ‘आन्तरिक पर्यटकलाई भारतको नैनीतालसम्म र भारतीयलाई कञ्चनपुर र कैलालीका पर्यटकीयस्थल घुमाउने टुर प्याकेजबाट पर्यटकलाई आकर्षित गरियो ।’ उनी सुदूरका खप्तड, अछामको रामारोसन, बाजुराको बडिमालिका, अपि र सैपाल हिमाल क्षेत्रको पनि प्रबद्र्धन अभियानमा छन् । कैलालीको घोडाघोडी ताल, डडेल्धुराको उग्रतारा मन्दिर, बैतडीको त्रिपुरासुन्दरी मन्दिर, डोटीको शैलेश्वरी मन्दिरलाई उनले पर्यटकीय गन्तव्यमा अघि बढाइरहेका छन् ।

सुदूरपश्चिमका ग्रामीण क्षेत्रहरू पर्यटकका लागि आकर्षक थलो बन्दै जाँदा ग्रामीण अर्थतन्‍त्रले काँचुली फेर्दैछ।

धर्तीकी अप्सरा उपनामले चिनिने मुगुको रारा तालमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन् । त्यसका लागि ०७२ साललाई ‘पर्यटन भ्रमण वर्ष’का रूपमा ‘टुर प्याकेज’लाई निरन्तरता दिइरहेका छन् । पर्यटनका माध्यमबाट तराई, पहाड र हिमाल ‘टुर प्याकेज’लाई अघि बढाउने उनको लक्ष्य छ । उनी सुदूरमा मात्र सीमित छैनन् । ‘मुक्तिनाथ, पशुपति, लुम्बिनी, मनकामना, स्वर्गद्वारीकेन्द्रित नयाँ प्याकेजको तयारीमा जुटेका छन् । यो प्याकेज खासगरी भारतीय पर्यटकका लागि हुुने उनले प्रस्ट पारे ।

उनको व्यवसायबाट पर्यटकीय क्षेत्रमा रहेका होटेल, भरियालगायत टुर गाइडलाई पनि जीविकोपार्जनको दह्रिलो माध्यम बनेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी पाँच जना गाइडलाई रोजगारी दिएका छन् । शुक्लाफाँटा घुम्न आउने पर्यटकलाई लक्षित गरी शुरु गरिएको शुक्लाफाँटा जंगल कटेज र नजिकै रहेको राना थारू होम स्टेले समेत फाइदा लिएका छन् । सवारी धनीको आम्दानीको स्रोत थपिएको छ । उनी पर्यटन प्रबद्र्धन गर्न भारतीय पर्यटन व्यवसायीसँग समेत सहकार्य गरिरहेका छन् ।

भारतीय पर्यटकलाई नै लक्षित गरेर पर्यटन व्यवसायमा आबद्ध नाटा सुदूरपश्चिमले महेन्द्रनगरमा तीनदिने शुक्लाफाँटा महोत्सवको नै आयोजना गरेको थियो । स्थानीयस्तरमा सरकारले समेत योजनाका साथ भ्रमण प्याकेजलाई महत्व दिने हो भने पर्यटनका माध्यमबाट यस क्षेत्रको आर्थिक वृद्विमा सहज हुने उनको विश्वास छ ।

 

प्रतिकृया दिनुहोस