MENU

अर्थ/बाणिज्य

635x90

व्यावसायिक खेतीतिर महिला अाकर्षित

भगीरथ अवस्थी, बैतडी मंगलवार, बैशाख १९, २०७४

दशरथचन्द १ गुरुखोला सतबाँझकी राधा भट्ट बिहानैदेखि तरकारी बारीमा देखिन्छन् । नियमित कामपछि तरकारी गोडमेल, सिँचाइ र मल हाल्न अभ्यस्त भएकी छन्, उनी । भट्ट दम्पतीले व्यावसायिक तरकारी खेती थालेको पाँच वर्षभन्दा बढी भयो । २० रोपनीमा तरकारी लगाएका छन् । बारीमा बेसार, बन्दा, काउली तथा प्लास्टिक हाउसभित्र टमाटर लगाएका छन् । उनी भन्छिन्, ‘यसबाट घरपरिवार चलाउन सजिलो भएको छ ।’ गाउँलेले ‘महारुद्र महिला कृषक समूह’समेत गठन गरेका छन् । गुरुखोला गाउँमा सबै घरका मुली कमाउन भारत जान्छन् ।

उनीहरूले पठाएको पैसाले परिवार चलाउने चलन भने फेरिझँदै गएको छ । तरकारीबाट वार्षिक पाँच लाख कमाउने स्थानीय पार्वती भट्टका पति भारत जान छाडेका छन् । उनी भन्छिन्, ‘अहिले श्रीमान् र म दुवै तरकारी खेतीमा छौँ । गहुँ, धान, मकैको सट्टा तरकारी लगाउँदा निकै फाइदा भएको छ ।’ पाटन नगरपालिका भुमेश्वरकी दीपा भट्ट पनि बिहानैदेखि तरकारी बारीमा व्यस्त भेटिन्छिन् ।

बेर्ना बनाउनेदेखि उत्पादित तरकारी बजारसम्म आफैं पुर्‍याउँछिन् । उनी भन्छिन्, ‘तरकारी खेतीले हामीलाई आत्मनिर्भर बनाएको छ । हामीले गाउँमै महिला कृषक समूह गठन गरेर जिल्ला कृषि विकास कार्यालयमा दर्ता पनि गरेका छौँ ।’पाँच वर्षदेखि तरकारी खेतीमै लागेकी सुर्नया २ बासुलिंगकी राधिका पाण्डे तरकारी खेतीबाट वार्षिक दुई लाख आम्दानी गर्छिन् । भन्छिन्, ‘यसबाट छोराछोरीलाई पढाउन र परिवार चलाउन निकै सजिलो भएको छ ।’ तरकारी खेतीमा लागेपछि घरबाहिर तालिम तथा भ्रमणसमेत जान पाउँदा उनी दंग छिन् । भन्छिन्, ‘महिलाले पनि समाजमा केही बोल्न सिकेका छन् । कृषि कार्यालयसम्म पुगेर आफ्ना कुरा राख्न सक्ने भएका छन् ।’

गुरुखोला गाउँमा सबै घरका मुली कमाउन भारत जान्छन्। उनीहरूले पठाएको पैसाले परिवार चलाउने चलन भने फेरिँदै गएको छ।

पाटन नगरपालिका बगाडीमा पनि महिलाले सहकारी संस्था नै गठन गरेका छन् । सेयर सदस्यमध्ये ३० भन्दा बढीले वार्षिक दुई लाखको हाराहारीमा आम्दानी गर्छन् । शिवलिंग महिला कृषि बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति संयोजक तारा भट्टका अनुसार व्यावसायिक तरकारी खेतीमा लागेपछि महिलाहरू आर्थिक रूपले आत्मनिर्भर बन्दै गएका छन् । बगाडीकी कलावती भट्ट भन्छिन्, ‘पहिले घरमा चाहिने सामग्री ल्याउन पनि श्रीमान्कै मुख ताक्नुपर्ने बाध्यता थियो । तर, तरकारी खेतीमा लागेपछि आफैं बजार पु¥याएर आम्दानी गर्छौँ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार दुई सय सात कृषक समूहमध्ये ७३ वटा महिलाका छन् । कृषक समूहमा आबद्ध चार हजार सात सय ५१ सदस्यमध्ये तीन हजार चार सय २७ जना महिला छन् । योजना अधिकृत कर्णबहादुर चन्द भन्छन्, ‘हामीले पनि महिलालक्षित कार्यक्रमबाट तरकारी खेतीमा लागेका ४२ जनालाई ४० हजारका दरले अनुदान दिएका छौँ ।

यसले पनि महिलाहरूलाई व्यावसायिक बन्न प्रेरणा मिलेको छ ।’ कार्यालयले दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र डिलासैनी गाउँपालिकाका केही वडालाई ‘तरकारी पकेट क्षेत्र’ घोषणा गरेको छ । महिला आत्मनिर्भर बन्दै जाँदा घरेलु हिंसाको दर पनि घट्ने महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढा ऐर बताउँछिन् । ‘महिलामाथि हुने हिंसाका मुख्य कारण आर्थिक अवस्था पनि हो,’ उनी भन्छिन्, ‘महिलाको आर्थिक क्षेत्रमा पहुँच भयो भने उनीहरूमाथि हुने हिंसा आफैं रोकिन्छ ।’

 

 

प्रतिकृया दिनुहोस