MENU

अर्थ/बाणिज्य

635x90

सुपारीले उकासेको जीवन

उमाकान्त खनाल, झापा आइतवार, चैत्र २०, २०७३

अर्जुनधारा १० कालीस्थानका लक्ष्मीप्रसाद मिश्रले ०२१ सालदेखि नै सुपारीका बोट रोप्न थालेका हुन् । त्यतिबेला वरिपरि सुपारीका बोट लगाउँदा घरको शोभा बढ्ने सोच थियो उनको । केही समयपछि जब त्यसबाट फल प्राप्त हुन थाल्यो र घरबाटै बिक्री हुन थाल्यो, उनलाई लाग्यो सुपारी त आम्दानीको दरिलो स्रोत बन्ने रहेछ । अहिले उनले १५ कठ्ठामा खेती गरेका छन् ।

‘धन्न त्यसबेला विचार पुर्‍याइएछ र सुपारी लगाइएछ,’ मिश्र भन्छन्, ‘अहिले बसेर खाने पेन्सनजस्तो भएको छ ।’ विगतमा सुपारीले त्यति धेरै आम्दानी नदिए पनि अन्य बालीको तुलनामा सुपारीले दिने आम्दानी निकै गुणा बढी छ । यसपाली उनको बगान ६० हजार रुपैयाँमा व्यापारीले किनेका छन् । गत वर्ष ५० हजार रुपैयाँमा सुपारी बिकेको थियो । मिश्र भन्छन्, ‘सुपारीको आम्दानी अन्य बालीको तुलनामा धेरै माथि छ । बुढेसकालमा अन्य बालीका लागि खट्न पनि सकिँदैन । यसपाली रोपेपछि अलि मलजल गरे पुगिहाल्छ ।’ उनी सेवानिवृत्त शिक्षक हुन् ।

यस्तै, बुद्धशान्ति २ का नारद चापागाईंले पनि धानखेती मासेर सुपारीका बोट लगाएका छन् । करिब १५ वर्ष अघिदेखि उनले सुपारी लगाउन शुरु गरेका हुन् । मिश्रजस्तै पहिला घर वरपर सुपारीका बोटले राम्रो देखिन्छ भनेर लगाएका उनले अहिले खेत मासेर सुपारी लगाएका छन् । धान खेतीले जति आम्दानी दिन्थ्यो, त्यसभन्दा कैयौं गुणा बढी आम्दानी सुपारीले दिने भएकाले उनी त्यतै लोभिए ।

विगतमा सुपारीले त्यति धेरै आम्दानी नदिए पनि अन्य बालीको तुलनामा अहिले राम्रो कमाइ हुन थालेपछि किसान त्यतै आकर्षित भएका छन्।

अहिले उनको घरको वरपर सुपारीको जंगलझैं देखिन्छ । चापागाईं भन्छन्, ‘एक बिघामा धान खेती गर्नुभन्दा १० गुणा ज्यादा फाइदा सुपारीबाट भइरहेको छ ।’ यसपाली उनले ६ लाख रुपैयाँमा सुपारी बेचेका छन् । उनका छिमेकी जगत चौहानले पनि उनकै सिको गरे । एक बिघामा सुपारीका बिरुवा लगाउँदै गर्दा धान कृषकले निकै निरुत्साहित बनाए उनलाई । तर, पछि आएर उनकै बाटोमा उनका छिमेकी पनि लागे । उनी भन्छन्, ‘शुरुमा त म हाँसोको पात्र नै भएँ । पछि उनीहरूले पनि थाहा पाए सुपारीको आम्दानी ।’

धानखेतीमा अनेकौँ झण्झट र कामदार नपाइने भएकाले झापाको उत्तरी भेगका अधिकांश किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । खासगरी बाहुन्डाँगी, बुधबारे, शान्तिनगर, कालीस्थानलगायत गाउँका किसानले सुपारी खेती गर्छन् । झण्झट पनि नहुने, कामदार पनि नचाहिने । किसानका लागि ‘मिहिनेतबिनाको फल’ भएको छ सुपारी । किसान नारद चापागाईं भन्छन्, ‘यहाँका अधिकांश किसान सुपारी बेचेर चामल किन्छन् । यहाँका किसानको धानबाली मासेर सुपारी लगाउने रहर त होइन ।

तर, कामदार नपाइने भएकाले पनि हामी जस्ता किसान सुपारीतिर आकर्षित भएका हौँ ।’ किसानहरूका अनुसार एउटा बोटबाट करिब १५ किलो सुपारी फल्छ, जसको आम्दानी चार सय रुपैयाँभन्दा बढी हुन्छ । किसान आफैँले सुपारी टिपेर बजार लगेर बेच्नु पर्दैन । व्यापारीले नै टिपेर लैजान्छन् । एक पटक लगाएको बोटले वर्षाैँसम्म आम्दानी दिइरहन्छ ।

सुपारीसँग बाली पनि लगाउन सकिने भएकाले किसानको आकर्षण झनै बढेको छ । केन्द्रीय सुपारी सहकारी संघ झापाका अनुसार जिल्लामा वार्षिक नौ हजार आठ सय ७६ मेट्रिक टन सुक्खा सुपारी उत्पादन हुने गरेको छ । संघका अध्यक्ष लय भण्डारी भन्छन्, ‘किसान दाजुभाइमा सुपारी लगाउने प्रचलन नबढेको भए हामी धेरै पछि पथ्र्याैं होला । अन्य बालीको उत्पादन खस्कँदो छ ।’ यहाँका किसानले सुपारीको फल मात्र होइन, सुकेका पातका खपटासमेत बेच्न पाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस