MENU

अर्थ/बाणिज्य

635x90

बिजुली चुहावट : तोडियो जालो

श्रीधर खनाल शुक्रवार, चैत्र ४, २०७३

रामेछाप ठोसेका टहलबहादुर कार्कीले २३ वर्षमा विद्युत् प्राधिकरणको जागिर छाडे । मर्मतको क्षेत्रमा काम गर्ने उनी जागिर छाड्दा तेस्रो तहका कर्मचारी थिए । तल्लो तहमा कार्यरत कर्मचारीहरूको जीवन चलाउने विकल्प नहुने भएकाले लामो समय जागिरमा रहिरहन चाहन्छन् । कार्की भने त्यसको विकल्पमा उभिए । २०५० सालमा सेवा थालेका कार्कीको देखिने कुनै पेसा थिएन । कतिपय साथीलाई उनको निर्णयले अचम्मित बनाएको थियो । उमेर मात्र होइन, सेवा अवधिसमेत बाँकी रहँदै जागिर छाडेका उनको धन्धा अर्कै थियो, मिटरमा सिल लगाउने । प्राधिकरणको मर्मत शाखामा काम गरेका कारण उनलाई मिटरमा कसरी सिल लगाइन्छ भन्ने मात्र होइन, बिजुली चुहावटका तरिका पनि थाहा थियो ।

एउटा मिटर मिलाएबापत एक हजार पाँच सय रुपैयाँ उनको भागमा पर्थ्याे। त्यही आम्दानी उनलाई प्राधिकरणको जागिरभन्दा आकर्षक बन्यो । उनलाई साथ दिने मनोज श्रेष्ठ, दिलबहादुर साउद, सुमन श्रेष्ठ, भगवान पाण्डेलगायतको समूह थियो । प्राधिकरणको मिटर रिडरका रूपमा काम गर्ने यी कर्मचारीले विद्युत् खपत भएकोभन्दा कम अंक लेखेर ग्राहकलाई बिल दिन्थे । त्यसबापत ग्राहकसँग मासिक पैसा लिन्थे ।काठमाडाैँबाट विस्तार हुँदै यस्तो धन्धा हेटाैँडासम्म फैलिएको थियो । ४/५ महिनासम्म कम अंक लेखेपछि मिटर मिलाउनुपर्थ्याे ।

त्यसका लागि उनीहरूले ग्राहकको मिटर नै उठाएर कार्कीसँग ल्याउँथे । कार्कीले त्यसलाई उनीहरूले भनेअनुसारको अंक मिलाएर सिल लगाउँथे । त्यसपछि त्यो मिटर ग्राहकको घरमा पुग्थ्यो । मिटरमा अंक मिलाएबापतको रकम कामअनुसार बाँडेर लिन्थे ।प्राधिकरणमा चुहावट सबैभन्दा ठूलो समस्या हो । अहिले वार्षिक २५ प्रतिशतभन्दा बढी बिजुली चुहावट हुन्छ । नियन्त्रणको प्रयास जारी रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । भन्छन्, ‘सबै वितरण केन्द्रमा चुहावट नियन्त्रणका लागि कार्यक्रम सञ्चालन भएको छ । यसले नतिजा ल्याउँछ होला ।’ त्यसमध्ये पाँच प्रतिशत चोरी हुने गरेको प्राधिकरणको ठम्याइ छ ।

प्राधिकरणका कर्मचारीहरूले डेढ दशकदेखि ग्राहकसँग मिलेर बिजुली चुहावट गर्दै आएका थिए। त्यसवापत उनीहरूले मासिक दुई हजार देखि १५ हजारसम्म लिने गर्थे।

पछिल्लो समयमा प्राधिकरणले चलाएका विभिन्न अभियानले चुहावट नियन्त्रणमा तीन प्रतिशतले कमी आएको देखिन्छ । त्यसमा आफ्नै कर्मचारीको संलग्नता देखिएपछि १२ माघमा एकै पटक दुई हजार पाँच सय कर्मचारीको सरुवा गरियो । प्रहरीको महानगरीय अपराध महाशाखाले ९ माघमा प्राधिकरणका ११ बहालवाल र एक पूर्वकर्मचारी तथा चार व्यापारीलाई विद्युत् चोरी अभियोगमा पक्राउ गर्‍यो । त्यसलगत्तै गरिएको कर्मचारी सरुवा कारवाही टार्ने प्रपञ्चका रूपमा अथ्र्याइन थालेको छ ।

मिटर नै अन्तै

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा सञ्चालनमा छ, इम्पेरियल प्याकेजिङ प्रालि । उक्त उद्योगका सञ्चालक सञ्जय अग्रवाल हुन् । उनले जडान गरेको ‘थ्री फेज’को मिटरको ग्राहक नम्बर ६६–२५–५३९ थियो । शुरुमा जोडिएको ग्राहक नम्बर प्राधिकरणका कर्मचारीले परिवर्तन गरेर १२१–२५–५३९ बनाए । मिटर परिवर्तन गरेर बिलको थोरै मात्र महशुल तिर्न पल्केका अग्रवालले अहिले ७७–१०–३०८२ नम्बरको ग्राहकको मिटर प्रयोग गरेका छन् । यो नम्बरको ग्राहक भीमसेनगोलामा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कर्मचारीहरूको संलग्नतामा एउटै ग्राहकको मिटर पटक–पटक परिवर्तन हुने गरेको देखिन्छ । यसरी परिवर्तन गरिएका मिटर एक ठाउँमा जम्मा गरेर अंक मिलाउने गरिएको थियो । अंक मिलाउनका लागि एउटा ग्राहकका मिटर परिवर्तन गर्दै आएका प्राधिकरणका कर्मचारीले फाइलमा समेत ग्राहक नम्बर परिवर्तन गर्दै आएका थिए । एउटा रिडिङ समूहको मिटर अर्कैमा परेको अवस्थामा प्राधिकरणमा पुरानै अभिलेख भेटिएको छ । अग्रवालको रिडिङ समूह २५ गते भए पनि पछि १० गते समूहको मिटर प्रयोगमा आएको देखिन्छ ।

bijuli

विकास चित्लांगिया कृष्ण फुड्सको नाममा रहेको ७७–१०–४११ को ग्राहक नम्बर परिवर्तन गरी १४०–०४–४११ बनाइएको छ । लोडसेडिङको समयमा समेत लाइन नजाने गरी मित्रपार्कस्थित कलंकी पम्प चार्ज स्टेसनलाई वैकल्पिक फिडरबाट लाइन दिइएको थियो । उद्योगमा मात्र होइन, सिंगल फेज प्रयोग गर्ने घरबाट समेत प्राधिकरणका कर्मचारीले मासिक पैसा लिएर कम युनिटको बिल बनाउँदै आएको बताएका छन् । प्राधिकरणले पछिल्लो समयमा प्रयोगमा ल्याएको टीओडी मिटरसमेत प्रहरीले बरामद गरेको थियो ।

ठूला उपभोक्ताले प्रयोग गर्दै आएका यस्ता मिटरमा डाटा डाउनलोड गरेर हेर्न मिल्छ । कुन फेजमा कसरी लाइन खपत भएको छ भन्ने विवरणसमेत लिन सकिने उक्त मिटरमा डाटा राख्ने काम रत्नपार्कमा मात्र गरिन्छ । डाटा राखेपछि मात्र मिटर चल्ने भएकाले देशभरबाट मिटर जडान गर्नुअगाडि ग्राहकको विवरणसहित रत्नपार्क पठाउने गरिन्छ ।काठमाडौं ३२ बत्तीसपुतलीस्थित कुमारी फुड प्रोभिजनमा रहेको मिटर धावाज्यान राजवंशीको नाममा छ । प्राधिकरणका कर्मचारीले मिटरको नम्बर मिलाउँदा एउटाको मिटर अर्कोलाई जडान गर्दै आएको देखिन्छ ।

मिटरको सिल खोलेर नम्बर मिलाउनेदेखि बक्सजडित सिल मिलाउनेसम्मका काममा प्राधिकरणका कर्मचारीहरूको संलग्नता देखिन्छ ।मिटर रिडरले मासिक लिएको पैसा यस्तो काममा संलग्न सबैले बाँडेर लिने गरेको प्राधिकरणमा २१ वर्ष काम गरेका भगवान पाण्डेको भनाइ छ । अवकाशप्राप्त पाण्डेले प्रहरीलाई बयान दिएका छन्, ‘मैले पनि साविकभन्दा कम अंक देखाएर ग्राहकहरूसँग पैसा लिने गरेको थिएँ ।’

पुरानो धन्दा
मिटरको सिल बिगारेर कम अंक देखाउने काममा प्राधिकरणका कर्मचारी १५ वर्षभन्दा बढी समयदेखि लागिपरेको देखिएको छ । प्राधिकरणको बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठले १०/१२ अघिदेखि आफूले यस्तो काम गरेको बताएका छन् । उनले भनेका छन्, ‘मिटर बिग्रेर बनाउन जाँदा सिल खोलिएको अवस्थामा पाएपछि ग्राहकसँग मिलेर कम अंक देखाई फाइदा लिने गरेको थाहा पाएँ । त्यसपछि मैले पनि यो काम गर्न थालेको हुँ ।’उनको बयानलाई आधार मान्ने हो कम अंक लेखेर विद्युत् चुहावटको कामले काठमाडौंमा संस्थागत रूप धारण गरिसकेको देखिन्छ । यो काममा मिटर रिडर मात्र नभएर प्राधिकरणका विभिन्न क्षेत्रमा रहेका प्राविधिकहरूको समेत संलग्नता देखिन्छ ।

पछिल्लो समयमा प्राधिकरणले चलाएका विभिन्‍न अभियानले चुहावट नियन्‍त्रणमा तीन प्रतिशतले कमी आएको देखिन्छ। त्यसमा आफ्नै कर्मचारीको संलग्‍नता देखिएपछि १२ माघमा एकै पटक दुई हजार पाँच सय कर्मचारीको सरुवा गरियो।

सुकेधारामा सञ्चालनमा रहेको बी एन्ड बी वासिङका प्रमुख बुद्धबहादुर लामाको बयान मान्ने हो भने प्राधिकरणका कर्मचारीले नै अंक कम गरेर फाइदा हुने तरिका सिकाएका हुन् । मासिक पाँच हजार फाइदा गर्न लामाले प्राधिकरणका कर्मचारीहरूलाई पाँच हजार रुपैयाँ दिँदै आएका थिए । श्रेष्ठले मासिक दुई हजारदेखि १० हजार रुपैयाँसम्म ग्राहकबाट लिने गरेको बताएका छन् । १० हजार लिने ग्राहकसँगबाट मात्रै श्रेष्ठले १२ वर्षमा १४ लाख ४० हजार रुपैयाँ लिएका छन् । त्यति नै रकम ग्राहकले फाइदा लिएको भए प्राधिकरणलाई यस अवधिमा २८ लाखभन्दा बढी घाटा भएको छ ।विद्युत् अभावमा चरम लोडसेडिङका समयमा समेत प्राधिकरणका कर्मचारीले यस्तो धन्धा छाडेनन् ।

प्रहरी अनुसन्धानका आधारमा उपत्यकामा सञ्चालन रहेका एक दर्जनभन्दा बढी उद्योग/व्यवसायबाट बिजुली चोरी हुँदै आएको देखिन्छ । चोरीको काम काठमाडौंमा मात्र नभएर विराटनगरसम्म फैलिएको देखिन्छ । विराटनगरस्थित कृष्ण फुड्सका सञ्चालक विभा अटलको समेत सहभागिता देखिएको छ ।
काठमाडौं बानेश्वरस्थित रामेश्वर मिठाई भण्डार विराटनगरको कृष्ण फुड्सले सञ्चालन गर्दै आएको छ । न्युरोड र बत्तीसपुतलीमा समेत त्यसका शाखा छन् । विराटनगरका व्यापारी पुरुषोत्तम राठीसँग विवाह गरेकी भारतीय नागरिक अटलले सञ्चालन गरेका सबैजसो पसलमा बिजुली चोरी भएको देखिएको छ । प्रहरी कारवाहीको डरले अटल अहिले फरार छिन् ।

प्राधिकरणका कर्मचारी मात्र होइन, व्यापारीले समेत आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई विद्युत् चुहावटको तरिका सिकाउने गरेको देखिन्छ ।बिजुली चोरी अभियोगमा प्राधिकरणका कर्मचारी र व्यापारीलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । उक्त मुद्दाको थुनछेक बहस ३० फागुनबाट शुरु भएको छ । अदालतको बयानका क्रममा धेरैजसोले आफू अपराधमा संलग्न नभएको दाबी गरेका छन् । विद्युत् चोरीजस्तो जघन्य अपराधमा अदालतले गर्ने निर्णय मात्र होइन, संलग्न व्यक्तिहरूलाई सामाजिक रूपमा दण्डित गर्नसके मात्र समस्या समाधान हुन सक्ने जानकार बताउँछन् ।

 

 

प्रतिकृया दिनुहोस