MENU

अर्थ/बाणिज्य

635x90

पिउने पर्यटकको संख्या बढ्दो

केशवशरण लामिछाने, पोखरा बिहिवार, फाल्गुण २६, २०७३

हरेक बिहान लेकसाइड वरिपरि दौडिइरहेका मध्येका अधिकांशले टाउकोमा हातले मुसारिरहेका हुन्छन् । उनीहरूको मुखबाट एउटै शब्द निस्किरहेको हुन्छ, ‘ह्याङ ओभर’ । अघिल्लो रात रौसिएर मदिरा पिएको पीडामा हुन्छन् उनीहरू । कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘पोखरामा पछिल्ला दिन ह्याङ ओभर पर्यटक बढेका छन् । रक्सी खानकै लागि आउने पर्यटकका कारण लेकसाइड मात्र भरीभराउ भयो ।

आसपासका पर्यटकीय क्षेत्र विस्तारै ओझेलमा पर्दै गए ।’ उनकै जस्तो अनुभव पोखराका अन्य स्थायी बासिन्दाको पनि छ । जताततै पर्यटकको चहलपहल भए पनि लेकसाइडको जस्तो ‘जाम’ अन्यत्र भेट्न मुस्किल छ । हुन त, पोखराको पर्यटन विकास पनि लेकसाइडबाटै भएको हो । शुरुमा फेवाताललाई केन्द्र बनाएर विकास भएको यहाँको पर्यटन विस्तारै सराङकोटसम्म फैलिएको थियो । आसपासका क्षेत्रले स्वदेशी/विदेशी पर्यटकलाई तानेकै थिए । आन्तरिक पर्यटनको विकासस“गै फेरि लेकसाइड नै केन्द्रमा आएको छ ।

विश्वविख्यात मदिरा उत्पादक जोनी वाकरलगायत ब्रान्डका थोक बिक्रेता माधव बराल पोखरामा आफ्नो मुख्य बजार पर्यटकीय केन्द्र लेकसाइडलाई मान्छन् । भन्छन्, ‘आयातीत मदिराको त ८० प्रतिशत बजार भनेकै लेकसाइड हो । र, विदेशी मात्र नभई स्वदेशी पर्यटक पनि तिनका उपभोक्ता हुन् ।’ पछिल्ला वर्षमा पोखराका मुख्य पाहुना हुन थालेका छन्, आन्तरिक पर्यटक । व्यवसायी पनि आन्तरिक पर्यटक नै रुचाउँछन् । त्यसको एउटै कारण हो, नेपालीको खानपान संस्कृति ।

व्यवसायी भन्छन्, ‘एउटा विदेशी आयो भने एउटा बियर लिएर दिनभरि बिताइदिन्छ, नेपाली ग्रुपमा आउँछन्, १/१ बोतल खान्छौँ भनेर बसे भने दर्जन पुर्‍ याउन सक्छन् ।’ केही वर्षयताको व्यवसायीको अनुभवले भन्छ, नेपाली पर्यटक खर्चालु हुन्छन् । त्यसैको परिणाम हो, नेपाली भनेपछि कोठै नदिने पदयात्रा क्षेत्रमा अचेल तिनै नेपाली भनेपछि व्यवसायी हुरुक्कै हुन्छन् ।


tirthaपोखरामा ह्याङ ओभर पर्यटक बढेका छन्। रक्सी खानकै लागि आउने पर्यटकका कारण लेकसाइड मात्र भरीभराउ भयो। आसपासका पर्यटकीय क्षेत्र ओझेलमा परे। तीर्थ श्रेष्ठ कवि, पोखरा

जनवरी र फ्रेब्रुअरी विदेशी पर्यटकको मौसम होइन । तर, अहिले पनि लेकसाइड भरीभराउ छ, स्वदेशी पर्यटकबाट । अफसिजनमा पनि होटेलहरूमा ३० प्रतिशत ‘अक्युपेन्सी’ छ । होटेल संघ नेपाल (हान) पोखराका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘भएका पाहुनामध्ये आधा नेपाली छन् ।’ दुई दिन मात्र सार्वजनिक विदा हुँदा पनि स्वदेशी पर्यटक ओइरिने उनी बताउँछन् ।

तुलाचनका अनुसार नेपाली पर्यटक तीन किसिमका छन् । पहिलो, परिवारसँग डुल्ने, दोस्रो साथीभाइको समूहमा रमाउने र तेस्रो शैक्षिक भ्रमण । पहिलोथरी पोखरा आइसकेपछि यहाँका सबैजसो गन्तव्य पुग्छन् । र, परिवारका सबै सदस्यले जान्ने र सिक्ने प्रयास गर्छन् । दोस्रोथरीका पर्यटक खानपिनमै रमाउँछन् । तुलाचन भन्छन्, ‘त्यस्तो समूहले १० पटक पोखरा आएर पनि यहाँका थुप्रै ठाउँ घुमेको हुँदैन ।’ शैक्षिक भ्रमणमा आउनेहरू परम्परागत गन्तव्यहरूमा पुग्छन् र फर्किन्छन् ।

युवा समूहले प्याराग्लाइडिङ, बन्जी, जिपफ्लाएरको साहसिक आनन्द पनि उठाउँछ । पाँच दर्जन प्याराग्लाइडिङ कम्पनीका मुख्य यात्रु नेपाली हुन् । पर्यटन व्यवसायी टीकाराम सापकोटा पनि स्वदेशी पर्यटक खानपिनमै रमाउने बताउँछन् । ३ जुन १९५० मा फ्रान्सेली नागरिक मौरिस हेर्जाेगले चिनाएका हुन् पोखरालाई । विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणमा निस्केका थिए उनी । अन्नपूर्ण प्रथमको शिखरमा पहिलो पाइला राख्ने हेर्जोग नै हुन् । त्यस क्रममा पोखरा आएका उनले लेखेको पुस्तक ‘दी अन्नपूर्ण’ करिब डेढ करोड प्रति बिक्री भयो ।

सोही पुस्तकले पोखरालाई विश्व बजारमा चिनाएको हो । हेर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको खुशीयालीमा फ्रान्समा तीनदिने विदासहित राष्ट्रिय उत्सव नै मनाइएको थियो । यद्यपि, पोखरा आएका पहिलो फिरन्ते भने जापानी भिक्षु इकाई कावागुची हुन् । सन् १८९९ मा उनी पोखरा हुँदै तिब्बत गएका थिए । आफ्नो ‘तिब्बतमा तीन वर्ष’ पुस्तकमा उनले पोखराको सुन्दरतम वर्णन गरेका छन् ।

सन् १९६५ मा बेलायतका पूर्वसैनिक जिम्मी रोबर्टले अन्नपूर्ण क्षेत्रमा पदयात्रा पर्यटन पहिल्याएका हुन् । रोबर्टका तत्कालीन सहकर्मी झलक थापाका अनुसार अन्नपूर्ण फेरोमा पदयात्रा त्यसपछि शुरु भएको हो । अहिले सडक विस्तारका कारण पदयात्री घटेका छन् । ट्रेकिङ एजेन्ट्स् एसोसिएसन (टान) का पूर्वअध्यक्ष टीकाराम सापकोटाका अनुसार पदयात्राका लागि नेपाल आएकामध्ये ६० प्रतिशत पोखरा आउँथे ।

सन् २०११ यता पर्यटन कार्यालय कास्कीले पोखरा आउने पर्यटकको तथ्यांक राख्न छाडेको छ । त्यतिबेलासम्मको प्रवृत्ति हेर्दा नेपाल आएका पर्यटकमध्ये ३० प्रतिशत पोखरा आइपुग्थे । पर्यटन बोर्डका पूर्वसदस्य सापकोटाका अनुसार त्यसलाई आधार मान्दा पोखरामा बर्सेनि दुईदेखि पाँच लाख पर्यटक भित्रिने अनुमान गर्न सकिन्छ । तीमध्ये आधा तेस्रो मुलुक तथा आधा स्वदेशी र भारतीय पर्यटक हुने गरेका छन् । स्थल मार्ग प्रयोग गर्ने हुँदा स्वदेशी र भारतीय पर्यटकको आँकडा यकिन भने छैन । सापकोटाको भनाइमा पोखरा आउनेमध्ये ४० प्रतिशतले भ्रमण दोहोर्‍याउँछन् । उनीहरूका लागि रोजाइका वैकल्पिक गन्तव्य भने उपलब्ध छैनन् ।

स्वदेशी पर्यटकको संख्यामा भएको वृद्धिसँगै बेभरेजकै लागि पोखरा पुग्‍नेकाे संख्या बढ्दो छ।

पोखरेली पर्यटनमा अंग्रेजी र नेपाली नयाँ वर्ष सबैभन्दा ठूलो कारोबार हुने मुख्य सिजन हुन् । अहिले ती दुवैमा आन्तरिक पर्यटककै चाप देखिन थालेको छ । भूकम्प गएको र भारतले नाकाबन्दी लगाएको वर्ष पनि स्वदेशी पर्यटकले यहाँका होटेलको अक्युपेन्सी शतप्रतिशत रह्यो । सन् २०१७ को नयाँ वर्षमा त लेकसाइडबाट ओभरफ्लो भएर नेपाली पर्यटक शहरी क्षेत्रतिर पनि पुगे । कति त सराङ्कोट र धम्पुसलगायत डाँडाकाँडामा पनि छरिए । अंग्रेजी नयाँ वर्षमा रेस्टुराँ एन्ड बार एसोसिएसनले सडक र नेपाली नयाँ वर्षमा होटेल एसोसिएसनले फेवा महोत्सव गर्छ ।

अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्न थालिएको १८ वर्ष बित्यो । त्यतिबेलाका लक्षित पर्यटक विदेशी नै थिए । अहिले महोत्सव नेपालीकै लागि जस्तो भएको छ । पश्चिमाञ्चल क्षेत्रीय होटेल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीका अनुसार सडक महोत्सवका बेला एकै दिन ४० हजार नेपाली पर्यटक आएका थिए । सडक महोत्सवका संयोजक गोपी भट्टराईले लेकसाइडका रेस्टुराँहरूले औसत दुई लाख रुपैयाँको व्यापार गरेको त्यतिबेलै जनाएका थिए । रेबानमा सय रेस्टुराँ सदस्य छन् । ती सबैमा हुने आम्दानीको मुख्य स्रोत खाना नभई मदिरा हो ।

फेवातालको किनार लेकसाइड मात्र पर्यटन केन्द्रजस्तो बनिरहेको छ । फेवाभन्दा सफा र सुन्दर वेगनास ताल पोखरा उपत्यकाभित्रै छ तर बाहिरको जस्तो भएको छ । धेरै पर्यटक ओइरिएकैले फेवामा झन्डै आठ सय डुंगा चल्छन् भने बेगनासमा एक चौथाइ कम मात्र । बेगनासमा डुंगा चलाउने ढाकानाथ कँडेलका अनुसार दिनमा सय, डेढ सय नेपाली पर्यटक आउँछन् तर सबैले डुंगा चढ्दैनन् । उनी भन्छन्, ‘डुंगै चलाएर हातमुख जोर्न दुःख छ, खेतीपाती पनि गर्नुपर्छ ।’ १५ जनाले मात्रै डुंगामा पर्यटक डुलाएर जीविकोपार्जन गरिरहेका छन् त्यहाँ ।

दुई सय डुंगालाई पालो लगाउँदा एउटाले चार दिन कुर्नपर्ने कँडेल बताउँछन् । फेवा डुंगा व्यवसायी समितिका कोषाध्यक्ष बुद्धि पाण्डेका अनुसार सोही पेसामा निर्भरको संख्या झन्डै तीन सय छ । फेवा किनारमा तीन सय होटेल हुँदा बेगनासमा मुस्किलले एक दर्जन छन् । होटेल बेगनास ग्रान्डका दुर्गा अधिकारीका अनुसार ६÷७ वटाले मात्रै स्वदेशी पाहुना पाउन थालेका छन् ।

उनी भन्छन्, ‘बेगनासमा त विदेशी पर्यटक देख्नै मुस्किल छ ।’ पोखराका ट्राभल्सले बेगनासतिर पर्यटक पु¥याउने कुनै प्याकेज बेच्दैनन् । उपत्यकाकै अर्काे ठूलो ताल रूपासम्म त स्वदेशी र विदेशी पर्यटक हत्तपत्त पुग्दैनन् । सन् १९८० को शुरुतिरै बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेपछि रोयल ट्रेक भनेर चिनिएको मार्गको अचेल नामोनिसान छैन । मोटर पुगेपछि पदयात्री पुग्न छाडेको डेढ दशक भइसकेको छ । कुनै बेला पर्यटक पोखरा आउने भनेकै पदयात्राका लागि हुन्थ्यो ।

पोखरा आएका पर्यटकका लागि विकल्प बन्न थालेका छन् होमस्टे । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च, पोखराका अध्यक्ष तारानाथ पहारीका अनुसार ३० वटा होमस्टे भएको कास्कीमा तीमध्ये एकाधमा मात्रै पर्यटक पुगेका छन् । कवि श्रेष्ठका अनुसार पोखराका प्राकृतिक र सांस्कृतिक सम्पदाबारे जानकारी दिने गाइड नहुनु र त्यसबारे व्यवसायीको ध्यान नपुग्नु यहाँको पर्यटनको समस्या हो ।

पोखराको एक मात्र पुरातात्विक सम्पदा विन्ध्यवासिनी मन्दिर घुमाउन विदेशी पर्यटक लैजानेसम्मको अक्कल व्यवसायीमा नभएको श्रेष्ठको गुनासो छ । पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया ६०/७० वर्षको इतिहास भएर पनि पोखराको पर्यटन फिँजिन नसकेको बताउँछन् । भन्छन्, ‘वृहत्तर पोखरालाई दृष्टिगत गरी पर्यटन रणनीति बन्न सकेको छैन ।’

 

 

प्रतिकृया दिनुहोस