MENU

संस्कृती

635x90

थारु समुदायमा अष्टिम्की कलाप्रति मोह बढ्दै

  कृष्णराज सर्वहारी सोमवार, श्रावण ३०, २०७४

पश्चिमा थारू समुदाय कृष्णजन्माष्टमीलाई अष्टिम्कीको रूपमा मनाउँछ । यस अवसरमा भित्तेचित्र बनाई पूजाआराधना गरिन्छ । अष्टिम्की चित्रमा सृष्टिक्रमदेखि महाभारत, रामायण, थारू जीवनशैलीलगायत लोकचित्रकारिताको उदाहरण देख्न पाइन्छ । अष्टिम्की चित्र बनाउने व्यक्ति बिहानै नुहाइधुवाइ गरी अघिल्लै दिन बजारबाट ल्याएको रंग घोलेर ठिक्क परेको हुन्छ ।

ब्रसको प्रयोग नगरी ब्रस साइजको सानो काठको टुप्पोमा कपडा बेरेर परम्परागत ब्रस बनाइन्छ । यस्तो परम्परागत ब्रसले चित्र भने अनुसारको साइजमा नबन्ने, रंग चुहिएर चित्र लत्पतिने भएकोले बजारबाट पनि ब्रस किनेर ल्याउन थालेका छन् । अष्टिम्कीमा घरको बहरी (पिढी) को उत्तरपट्टिको भित्तामा चित्र बनाउने चलन छ, जसमा विभिन्न मानवाकृति र प्राकृतिक चित्र बनाइएका हुन्छन् । चित्र बनाउनुभन्दा पहिले ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले भित्ता अघिल्लै दिन पोतेर उज्यालो बनाइएको हुन्छ ।

चित्र बनाउन कुनै विशेष चित्रकार चाहिँदैन । एक्लै बनाउन समय लाग्ने भएकोले सामूहिक रूपमा शिकारूहरूले पनि बनाउने चलन छ । मूल अष्टिम्की चित्र बनाउने व्यक्ति ब्रत बसेकै हुनुपर्छ । अष्टिम्की कलामा पहिले पहिलेका थारू चित्रकारले प्राकृतिक रंगको प्रयोग गर्थे । सिमीको पातबाट हरियो रंग, खयर काठबाट कत्थक रंग, पवै सागको फलबाट रातो, सुकेको लौका आगोमा डढाएर निकालिएको कालो रंग तयार पार्थे ।

तर, अचेल बजारका रंगको प्रयोग हुन थालेको छ । यद्यपि, परम्परागत रंग संयोजनलाई नै बढी रुचाएको पाइन्छ । उनीहरूले करिया (कालो), लाल (रातो), काइल (हरियो), पवैंयह्या (जामुनी), हड्यार (पहेंलो), भुवर करिया (स्लेटी), वैजङ्ग्यार (नीलो), खइयर (कत्थइ) रंगको बढी प्रयोग गर्छन् ।२०७० सालदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमासमेत अष्टिम्की कलाको सहभागिता भई थारू लोककलाकारलाई पुरस्कृतसमेत गरिन थालिएकोमा अष्टिम्की बनाउने परम्परा घर–घरमा छिर्न थालेको छ ।

चित्र बनाउन कुनै विशेष चित्रकार चाहिँंदैन । मूल अष्टिम्की चित्र बनाउने व्यक्ति ब्रत बसेकै हुनुपर्छ ।

चित्र बनाउनुभन्दा पहिले विभिन्न रंगको बुट्टाले मूल घेरा बनाइन्छ । अष्टिम्की चित्रको घेराभित्र पनि तीन वटा कोठा हुन्छ । त्यसको शीर्ष स्थानमा सानो कोठा हुन्छ, जसमा कृष्णको प्रतीक बनाइएको हुन्छ । चित्र बनाउन नसके ‘श्री’ मात्रै लेख्ने चलन पनि छ । तीन वटा कोठामध्ये माथिल्लो कोठामा बिजोड संख्यामा पुरुष आकृति बनाइएको हुन्छ । यसमा तीनदेखि सात वटासम्म बिजोड संख्यामा चित्र बनाउन सकिन्छ ।

यस कोठामा बनाइएका पुरुषाकृति पाँच पाण्डवको प्रतिनिधित्व ठानिन्छ । पुरुषाकृति चित्रमा मादल भिरेको, बाँसुरी बजाइरहेको, बन्दुक बोकेको तथा छाता ओढेको अदि बनाएको पाइन्छ । राजा सवारीमा निस्किँदा छाता ओढाइन्छ । त्यही प्रतीकको रूपमा वनबासमा रहेको अवस्थामा पनि छाता ओढेको चित्र बनाइएको हुनुपर्छ । मादल र बाँसुरी बजाएर कृष्णले आफ्ना १६ सय प्रेमिकालाई मोहित पार्ने र नचाएको बिम्बको रूपमा आएको देखिन्छ । त्यसको बायाँ कुनामा चन्द्रमा र दायाँ कुनामा सूर्यको पनि चित्र बनाइएको हुन्छ । त्यस्तै त्यसभन्दा तल्लो कोठामा बन्दुक बोकेका पुरुषाकृति हुन्छ, यस चित्रले लडाइँमा रुचि राख्ने कौरवको प्रतिनिधित्व गर्छ ।

बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएको पुरुषाकृति संख्याको बराबरमा महिला आकृति बनाइन्छ । ती महिला आकृति द्रौपदीको मानिन्छ । केही अनुसन्धानकर्मीले कृष्णका १६ सय गोपिनीका प्रतीकको रूपमा बनाइएको पनि भन्छन् । उनीहरूको दुवै छेउमा सोंगिया (जोकर) को पनि चित्र हुन्छ । नाचमा सोंगियाको पनि ठूलो भूमिका हुने भएकोले ती चित्र बनाइएको हुनुपर्छ ।

सबैभन्दा तल्लो कोठा माथिको दुवै कोठाभन्दा फराकिलो हुन्छ । यसमा अरू आकृति बरमुरुवा (रावण), डोली, हात्ती, घोडा, कुकुर, बाँदर, मयुर, भालेजस्ता पशुपंक्षी तथा विभिन्न प्रकृतिसँग सम्बन्धित कजरीको वन, फूल, कमलको पात आदि आकृति बनाइएको हुन्छ । अष्टिम्की चित्रमा रावणलाई पनि थारू समुदायले पूजा गर्नु अनौठो छ । संस्कृतिविद् अशोक थारू अष्टिम्कीबारे वृत्तचित्र बनाई, चित्रकला गोष्ठी गराएर यसलाई अघि बढाउँदैछन् । भन्छन्, ‘पश्चिमा थारू समुदायमा अष्टिमकी चित्रमात्रै हालसम्म जोगिएको कला हो । यसको प्रवद्र्धनमा युवाले ध्यान दिनुपर्छ ।’ 

 

प्रतिकृया दिनुहोस