MENU

संस्कृती

635x90

माघी : मिलन कि फुट ?

कृष्णराज सर्वहारी शुक्रवार, माघ ७, २०७३

थारू तथा मगर समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । यसलाई मिलनको चाडका रूपमा पनि लिइन्छ । ०५९ सालमा सरकारले थारू कर्मचारीलाई विदा दिने निर्णय गरेपछि सोही वर्षदेखि थारू समुदायले काठमाडौंमा माघी महोत्सवका रूपमा मनाउन थालेका हुन् । ०६४ सालबाट भने सार्वजनिक विदा दिन शुरु गरिएको थियो ।

तर, गत वर्षदेखि दुई ठाउँमा थारू माघी महोत्सव मनाइँदैछ । यसले थारू माघी मिलनको चाड फुटको चाडका रूपमा परिभाषित हुन थालेको छ । थारू कल्याणकारिणी सभा काठमाडौं उपत्यका समितिको आयोजनामा हरेक वर्ष थारू माघी महोत्सव मनाइन्छ । तर, महोत्सवमा आर्थिक पारदर्शितालगायत कारण देखाएर थारू विद्यार्थी समाजको नेतृत्वमा गत वर्षदेखि काठमाडौंमा छुट्टै महोत्सव मनाउन थालिएको छ ।

फुट किन ?
१ माघ ०७० मा मनाइएको माघी महोत्सवमा आयोजकले करिब ११ लाख खर्च गरेका छन्, जसमा सरकारबाट साढे पाँच लाख तथा प्रवेश शुल्कबाट साढे चार लाख प्राप्त भएको देखाइएको छ । अन्य दाताबाट समेत सहयोग प्राप्त गरी साढे १३ लाख जम्मा गरिएकामा खर्च कटाएर करिब अढाई लाख बचत भएको बताइएको छ ।

थारू विद्यार्थी समाजका पदाधिकारीहरूको भनाइमा विगत ४/५ वर्षदेखि खर्च मनोमानी ढंगले भएको छ । सभाले माघी महोत्सव मनाउन हरेक वर्ष सरदर १० लाख खर्च गरेको देखियो । गएको वर्ष विद्यार्थी समाजले कार्यक्रमको समीक्षामा अपारदर्शी खर्चको चर्को विरोध गर्दै छुट्टै माघी महोत्सव मनाएपछि कल्याणकारी सभाले करिब सात लाखमा खर्च झार्‍यो ।

‘हरेक वर्ष बचत भएको पाँच लाख कहाँ गयो ? यसको उत्तर सभाको उपत्यका समितिले दिनुपर्छ कि पर्दैन ?’ विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी भन्छन्, ‘राजधानीमा माघी महोत्सव दुई ठाउँमा गरेर केही बिग्रिन्छजस्तो मलाई लाग्दैन । किनकि, यो सांस्कृतिक महोत्सव हो, आन्दोलन होइन । आफूले खर्च पारदर्शी विवरण नगर्ने तर सांस्कृतिक महोत्सवमा फुट ल्याइयो भनेर हल्ला फिँजाउनुको कुनै तुक छैन ।’ विद्यार्थी समाजले व्यापक दबाब दिएपछि यस वर्ष थाकसले माघी महोत्सवको छुट्टै खाता खोलेको छ ।

साथै, सबै कारोबार चेकबाट गर्ने निर्णय गरेको छ । यसरी पारदर्शिताको शुरुवात गरेपछि पनि विद्यार्थी समाजले कल्याणकारी सभासँग सहकार्य नगरेर यस वर्ष पनि छुट्टै महोत्सव मनाउँदैछ । दुवै आयोजकले टुँडिखेलमै कार्यक्रम गर्दैछन् ।सभाको उपत्यका समितिका अध्यक्ष तथा माघी महोत्सवका संयोजक सुमन चौधरी थारू विद्यार्थी समाजका पदाधिकारीहरूले राजनीतिक घूसपैठ गरेर माघी महोत्सव फुटाएको आरोप लगाउँछन् । भन्छन्, ‘सभा विशुद्घ समाजिक संस्था हो, जसमा विद्यार्थी साथीहरूले राजनीति गर्न खोजेका छन् ।

माघी महोत्सव दुई ठाउँमा भएकाले हामीलाई पनि नमज्जा लागेकै हो । हामीले स–सानो खर्चको पनि हिसाब राखेका छौँ । मिलाउन सक्दो प्रयास गरेकै हो । हामीलाई दोषी भन्न मिल्दैन ।’माघी महोत्सवमा फुटको कारण राजनीतिसँग पनि जोडिएको छ । सभाले हरेक वर्ष प्रधानमन्त्रीलाई महोत्सवमा प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । गत वर्ष सभाले प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथिका रूपमा डाक्दा विद्यार्थी समाजका पदाधिकारीहरूले स्वीकारेनन् । उनीहरूले ओलीलाई थारू विरोधीको आरोप लगाउँदै अतिथि स्वीकार्न नसकिने बताए ।

अन्ततः सभाले दशरथ रंगशालामा मनाएको माघी महोत्सवमा ओली प्रमुख अतिथि बनाइए भने विद्यार्थी समाजले खुलामञ्चमा मनाएको महोत्सवमा पूर्वप्रम डा. बाबुराम भट्टराई । यस वर्ष विद्यार्थी समाजले आफ्नो अडान बदल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको प्रचार गरेको थियो । तर, दाहालको व्यस्ततापछि सभामुख ओनसरी घर्ती प्रमुख अतिथि बनाइएकी छन् । सभाका एक पदाधिकारी भन्छन्, ‘गत वर्ष प्रधानमन्त्री प्रमुख अतिथि हुनुहुन्न भन्ने अडान राख्ने विद्यार्थी समाजले यस वर्ष प्रमुख अतिथिमा आफैं किन नाम अगाडि सार्‍यो ? यसमा राजनीतिक गन्ध आउँछ ।’

कल्याणकारी सभाको केन्द्रीय समितिले माघीको पूर्वसन्ध्यामा थारू विद्यार्थी सभा गठन गरेको छ । थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चौधरी भन्छन्, ‘राजनीतिक गन्ध हामीमा होइन, सभाको गतिविधिमा देखिन्छ । विद्यार्थी संगठनमा फुट ल्याउन आफ्ना आसेपासेहरूलाई उचाल्दै नयाँ विद्यार्थी संगठन निर्माण गरिएको छ । सभाका पदाधिकारीले थारू विद्यार्थीहरूलाई जोड्नुभन्दा पनि फुटाउँदै आफ्नो स्वार्थका लागि प्रयोग गर्न तल्लीन छन् ।’

chandraहरेक वर्ष बचत भएको पाँच लाख कहाँ गयो ? यसको उत्तार थारू कल्याणकारी सभाको उपत्यका समितिले दिनुपर्छ कि पर्दैन ? चन्द्रप्रसाद चौधरी ,अध्यक्ष, थारू विद्यार्थी समाज

महोत्सवको शुरुको वर्ष ०५९ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आतिथ्यता गरेका थिए । चन्दको मन्त्रिमण्डलमा विज्ञान तथा वातावरण सहायक मन्त्री रहेका गोपाल दहितले थारू माघीलाई सरकारबाट पहिचान दिलाउन निकै दौडधूप गरेका थिए । भन्छन्, ‘अहिले सरकारले माघीलगायत अन्य जातजातिको मुख्य चाड मनाउन केही रकम पनि छुट्याउन थाले र सराहनीय काम गरेको छ ।

तर, सांस्कृतिक पहिचान जोगाउँदै एकै थलोमा शुभकामना साटासाट गर्न छाडेर फुटेको देख्दा साहै् दुःख लागेको छ ।’ गत वर्ष एकै थलोमा माघी महोत्सव मनाइनुपर्ने भनेर थारू पत्रकार संघले मध्यस्तता गरेको थियो ।तर, विद्यार्थी र युवाले सभाको कार्यालय नटेक्ने बताए । उता, सभाका पदाधिकारीले अन्त बैठक नगर्ने अडान लिएपछि सहमति हुन सकेन । यस वर्ष मध्यस्थताको प्रयास गरेका समाद एफएमका अध्यक्ष सियाराम चौधरीको बुझाइमा जुँगाको लडाइँले महोत्सवमा फुट आएको हो ।

माघी र मदिरा
माघी र मदिरा एकअर्काको पर्याय लाग्छन् । त्यसो त, माघी मात्रै होइन, शेर्पा, तामाङ, लिम्बू, राईलगायतका ल्होसार, उधौली, उभौलीमा पनि मदिराको नै छेलोखेलो हुन्छ । माघी महोत्सव भनिए पनि एक दिनको तामझाममा सकिन्छ, यसबारे गहन छलफल, गोष्ठी, अन्तक्र्रियाको आयोजना सभाले गर्न सकेको छैन । यस वर्ष पनि यही अनौपचारिकता दोहोरिँदै छ ।

विद्यार्थी समाजले भने २९ पुस र १ माघमा दुई दिन गरी यस वर्ष केही फरक ढंगले कार्यक्रम गर्दैछ, जसमा मोटरसाइकलर र्‍याली, जीता मर्नादेखि रक्तदानसम्मका कार्यक्रम छन् । साथै, सांस्कृतिक कार्यक्रमदेखि बौद्धिक बहससम्मका कार्यक्रम आयोजना गर्दैछ । सभाले महोत्सवका लागि सरकारबाट सहयोग प्राप्त गरे पनि विद्यार्थी समाज चन्दा संकलनमै भर परेको छ । विद्यार्थी समाजले रचनात्मक काम गरेरै माघी महोत्सवको संस्थापक सभालाई तह लगाउने योजना ल्याएको देखिन्छ । तर, त्यसले सतहमा फुटको अवस्था देखाएको छ ।

के हो माघी ?

maghi2
माघे संक्रान्तिलाई थारू समुदाय माघीको रूपमा मनाउने गर्छन् । माघीलाई थारूहरू नयाँ वर्षका रूपमा मनाइने भएकाले यो थारू समुदायका लागि सबैभन्दा ठूलो चाड हो । वर्षभरिको आय–व्ययको जानकारी दिने र नियम बाँध्ने चाडका रूपमा माघीलाई दिइन्छ । माघीमा भाइ–भाइबीच घर छुट्टिने चलन पनि छ । माघीलाई साता दिनसम्म जाँड–रक्सी, लामो ढिक्री र मासुका साथ धुमधामसँग मनाइन्छ ।

पुस मसान्तमा सुँगुर काटेर मासु खाई १ माघ बिहानै नदीमा नुहाउन जाने प्रचलन छ । नुहाएर आएपछि घरमा छुट्याएर राखिएको एउटा भागको चामल, दाल र नुन छोएर बुवा–आमाका साथै आफूभन्दा ठूलासँग ढोग र आशिष लिइन्छ । यसरी आशिष लिएमा वर्षदिनको पाप हटेर जाने मान्यता छ । पुसको अन्तिम रात हरेक घरमा ढिक्री (चामलको पीठो मुछेर बनाएको परिकार) बनाउने चलन छ । १ माघमा ढिक्री, माछा, मासुलगायत विभिन्न थरीका तरकारी, अचार र रक्सी खाएर माघी दिवानी मनाउने प्रचलन छ । त्यसको भोलिपल्ट ‘खिचरी’ खाने चलन छ, जसलाई ‘खिचरहवा’ भनिन्छ ।

खिचरीको दिनमै खेतपाती, कमैया, ग्वाला, घाँसकटुवा, कमलरी आदिको चाँजोपाँजो मिलाउने गरिन्छ । २ साउन ०५७ देखि कमैया प्रथा प्रतिबन्धित भएको छ । माघको पहिलो साताभित्रै गाउँको गरढुरियाहरूको कचहरी हुन्छ, जसमा सबै जनालाई आफ्नो मनमा लागेका, वर्षभरि गाउँमा गरिएका राम्रा/नराम्रा कामको समीक्षा गरिन्छ ।

कचहरीमा गाउँका अगुवा महटाँवाले वर्षदिनको आय–व्यय सुनाउँछन् र कसैले उठाएको सवालको सामूहिक छलफल गरी निष्कर्षमा पुग्ने गरिन्छ । सोही बैठकमा सबैको सर्वसम्मतिमा आगामी वर्षका लागि गाउँका अगुवा, अघरिया र चौकिदार चुनिन्छन् । बैठकले गाउँमा दण्ड–सजायको नियम पनि पारित गर्छ । गाउँलेले बनाएको नियम पहिले मौखिकमा सीमित हुने गरेकामा अब लिखित हुन थालेको छ ।

 

 

प्रतिकृया दिनुहोस