MENU

संस्कृती

635x90

नेवारी बाजामा युवापुस्ता

निर्जला कक्षपति मंगलवार, चैत्र १, २०७३

काठमाडाैँ नरदेवीको सुन्टा गल्ली, दमाइ टोलमा बज्र कलाकुञ्ज छ । कोठामा छिर्नासाथ एउटा कुनामा बाँसुरीलगायत बाजा अनि अर्को कुनामा नाट्यश्वरको मूर्ति छ । त्यहाँ नेवारी बाजा र चर्या नाच सिक्न आउनेले नाट्यश्वरलाई ढोगेर बाजा बजाउन र नाच्न शुरु गर्छन् । नरदेवीका सुदन मुनिकार सा“झबिहान बाजा र नाच सिकाउन व्यस्त रहन्छन् । उनले बाबु चन्द्रमानबाट बाँसुरी र चर्या नृत्य सिके ।

चन्द्रमान पनि बाँसुरी र चर्याका गुरु हुन् । उननले पनि बाबुबाटै नेवारी बाजा र चर्या नृत्य सिकेका हुन् । उक्त परिवारको कला यात्रा नाति पुस्तामा आइपुग्दा भने सुदनले सिकाउने थलोलाई इन्स्टिच्युटको रूप दिए । बज्र कलाकुञ्ज नाम दिइएको त्यही इन्स्टिच्युटको माध्यमबाट नेवारी बाजा र चर्या नृत्य सिकाउन थालेका छन् । बाबुछोरा नै नयाँपुस्तालाई नेवारी बाजा बजाउन सिकाउँदै छन् ।

अहिले त उनीहरूले काठमाडौंमा मात्र नभई उपत्यकाबाहिर पनि बाजा बजाउने विशेष कक्षा सञ्चालन गर्छन् । सुदन भन्छन्, ‘प्रशिक्षार्थीहरू सँगसँगै बसेर बाजा बजाउँदा बेग्लै आनन्द हुन्छ । सबै उमेरका व्यक्ति आउने हुँदा हरेकलाई सिकाउँदा फरक–फरक अनुभव हुन्छ ।’युवापुस्ताले निकै चाख मानेर नेवारी बाजा बजाउन सिक्न आउँदा उनीहरू दंग छन् । केही समय अघिसम्म नेवार समुदायमा बाजा बजाउने भन्नासाथ महर्जन अर्थात् ज्यापुहरूलाई बुझिन्थ्यो । अहिले यो ट्रेन्डमा परिवर्तन आएको छ ।

नेवार समुदायका श्रेष्ठ, मानन्धर, महर्जन, मुनिकार, ताम्राकार, कंसाकार, प्रजापतिलगायत सबै थरकाले बाजा बजाउनमा अभिरुचि लिएको पाइन्छ । यति मात्र नभई गैरनेवारहरूको उपस्थिति पनि बढ्दै गएको छ । बाहुन, क्षत्रीहरूले समेत नेवारी बाजा बजाउन सिक्न थालेका छन् ।

बाँसुरीले मन्त्रमुग्ध

कालोपुलकी नेना मुनिकार (२४) ह्वाइट हाउस कलेजकी बीई इन्जिनियरिङकी छात्रा हुन् । विज्ञान संकायकी विद्यार्थी भएकाले सधैँ पढ्नको चटारो हुन्छ । तैपनि, इच्छा भए उपाय अनेक भनेझैँ साइन्सको विद्यार्थी भए पनि उनको बाँसुरी बजाउने दृढ चाहनाले पढाइलाई कुनै रोकटोक गरेको छैन । समय मिलाएर उनले बाँसुरी सिक्न थालेको वर्षदिन भइसक्यो । विभिन्न गीत र लयमा उनी बाँसुरीबाट धुन निकाल्छिन् ।

बाँसुरी बजाउँदा उनी आफैं मन्त्रमुग्ध त हुन्छिन् नै, सुन्नेहरू पनि आनन्दित हुन्छन् । राष्ट्रपति उपस्थित कार्यक्रममा समेत उनले दुई पटक प्रस्तुति दिइसकेकी छन् । भन्छिन्, ‘समूहमा बसेर बाँसुरी बजाउनुको मजा नै बेग्लै ।’बाँसुरी लोकबाजा हो, जुन काठमाडौंमा लोकप्रिय छ । विशेष गरी विवाह र उत्सवहरूमा बजाइन्छ । सोही कारण बाँसुरी बजाउनेको टोली १५ देखि ४० जनासम्मको हुन्छ ।


धिमे र बाँसुरी पहिले ज्यापु समुदायका पुरुषले मात्र बजाउँथे। अहिले महिलासमेत रहरलाग्दो गरी बजाउन अग्रसर हुन थालेका छन्।सविन महर्जन प्रशिक्षक, नेवारी बाजा

टोली ठूलो हुने भएकाले पनि सबै जना नेवारी भेषभुषामा सजिन्छन् । निलबाराही गुठीका बाँसुरी प्रशिक्षक सविन महर्जन भन्छन्, ‘काठमाडौंमा नेवारी बाजाको महत्व बेग्लै छ । बौयागु ख्वाःस्वयगु, मांयागु ख्वाः स्वयगु, देगु पूजा, गुँ पुन्ही, यँन्यापून्ही, चथा, मोहनी, स्वन्ति, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा नेवारहरूले मौलिक बाजा बजाउँछन् ।’

अन्य बाजा

नेपालीबीच लोकप्रिय र प्रसिद्ध बाजा हो, नौमती, जसलाई पञ्चे बाजा पनि भनिन्छ । यो बाजा विशेष गरी विवाह, महोत्सव, सभा, समारोहलगायत शुभ कार्यमा बजाउने गरिन्छ । नौमतीमा नौ वटा बाजाको समिश्रण हुन्छ । टेंको, सहनाइ दुई, झ्याली, दुई कर्णाल, नरसिंहा, ढोलकी र दुई वटा दमाहा हुन्छन् । नेवारहरूको प्रमुख बाजा भने काहा, कवता, धिमे, पोंगा, कान्तादबदब, पैताखीं, म्वालिंग कुकुवय, पछिमा, टिन्चु, भस्याहा वय आदि हुन् । यीमध्ये काठमाडाै‌मा लोकप्रिय रहेको धिमय् (धिमे) बाजा, रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो । यो बाजा काठमाडौं उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित छ ।

धिमय् राईहरूको च्याबु्रङ र तराईवासीको ढोलसँग आकार, प्रकार र बजाउने तरिका मिल्छ । नयाँ वर्ष,र्‍याली, गुठीको भोज तथा नास पूजा गर्ने बेलामा धिमे बजाइन्छ । यस्ता बाजा बजाउने समूहमध्ये कतिपय गुठीसँग सम्बन्धित हुन्छन् । ज्यापु महागुठीको अध्ययनअनुसार काठमाडौं उपत्यकामा लगभग ६३ वटा गुठी छन् । हरेकले विभिन्न चाडवाड र जात्रामा अनिवार्य नेवारी बाजा बजाउने गरेका छन् ।

पहिले–पहिले महिलाहरूले न धिमे बजाउँथे, न त बाँसुरी नै । प्रशिक्षक महर्जनका अनुसार केही समयअघिसम्म नेवार समुदायमा पनि ज्यापुका पुरुषले मात्र चाडपर्वमा बाँसुरी र धिमे बजाउँथे । अहिले महिलाहरूको सहभागिता पनि रहरलाग्दो गरी बढेको छ । प्रशिक्षक सुदन मुनिकार भन्छन्, ‘अहिले धेरैले आफ्नो संस्कृतिको महत्व बुझ्दैछन्, त्यसैले महिला/पुरुष दुवै आफ्नो संस्कृति बचाउने काममा लागिपरेका छन् ।’

यति मात्र नभई बाजा बजाउँदा थोरै समयमा आकर्षक रकम कमाउन सकिने भएकाले पनि युवाको आकर्षण बढ्दो छ । शंकरदेव क्याम्पसमा एमबीएस अध्ययन गर्दै गरेकी २६ वर्षीय विनु मुनिकार भन्छिन्, ‘दुई घण्टामा १५ सयदेखि तीन हजारसम्म कमाइ हुन्छ । विवाहमा बजाउन पाइयो भने त झनै आम्दानी दोब्बर हुन्छ ।’विवाह, सभा/समारोह वा महोत्सव, नेवारी बाजा बजाएको यति नै भन्ने कुनै निश्चित दर छैन । हरेक गुठीको आ–आफ्नै दररेट छ । गुठीको जात्रा र काममा निःशुल्क बजाउने गरिन्छ ।

तर, कुनै महोत्सव होस् या विवाह, बजाएको दर आपसी समझदारीअनुसार निर्धारण हुन्छ । प्रशिक्षक महर्जनका अनुसार कुनै छोटो खालको समारोहमा बजाउनु छ भने २५ देखि ३० हजारसम्म लिने गरिन्छ । उक्त रकम भाग लगाएर सबैले लिन्छन् । विवाहमा ५० हजारदेखि एक लाखसम्म दिनगन्ती गरेर शुल्क लाग्छ ।

 

प्रतिकृया दिनुहोस