MENU

सिनेमा

635x90

रंगकर्मीको थियटर नै जीवन

शिवराज योगी सोमवार, आश्विन ३०, २०७४

चित्रलाई हिँडाउन, पोस्टरलाई हँसाउन अनि परिकल्पनालाई कुदाउनु चुनौतीको काम हो । यही चुनौतीलाई चरितार्थ गर्न लागिपरेकी छन् रंगकर्मी सरिता गिरी । किताबका पानामा समेटिएका पात्रलाई न्यायपूर्ण प्राण हाल्न सकेमात्रै नाटक सफल हुने अनुभव सुनाउँछिन् । उनलाई जिन्दगी र नाटक उस्तै लाग्छ । जीवनका भोगाइले नाट्यकर्मलाई थप मजबुत र जीवन्त बनाउने उनको तर्क छ । आमा तुलसा र बुवा गणेशराज गिरीका दुई छोरा, दुई छोरीमध्ये सरिता कान्छी छोरीका रूपमा काठमाडौंको बानेश्वरमा जन्मिइन् । सन साइन स्कुलबाट एसएलसी गर्दा नगर्दै उनी मार्सल आर्टको ब्लाक बेल्ट होल्डर बनिन् । अनि साहित्यबाट स्नातक गरिन् ।

हाउभाउ, बोली र हठले उनका छिमेकी रंगकर्मी वीरेन्द्र हमाललाई सकसक लाग्यो । ‘दाइ, यो छोरी छोरोजस्तो भई, छोरीजस्तो बनाउनु पर्‍यो,’ वीरेन्द्रले उनका बुवासँग भनेको कुरा स्मरण गरिन्, ‘डान्स र अभिनय सिकाउनुपर्‍यो ।’ त्यसैले उनी रंगमञ्च क्षेत्रको प्रेरक हमाललाई मान्छिन् । १६ वर्षमै सरिता हमालकै आग्रहमा पोखरा पुगिन् र ‘पत्थरको कथा’ नाटकमा पहिलो पटक अभिनय गरिन् । बेजोड अभिनय र दर्शकको प्रतिक्रियाले उनको मनोबल चुलियो ।

२०५७ सालमा सरिताले बालकृष्ण समको ‘स्वास्नीमान्छे’ नाटकमा प्रज्ञा भवनमा एकल अभिनय गरिन् । त्यही अभिनयले उनलाई ‘बेस्ट एक्ट्रेस’ अवार्ड दिलायो । गिरिजाप्रसाद कोइरालाबाट उनले जीवनमा पहिलोपटक सातहजार नगदसहित पुरस्कार पाइन् । ‘त्यो पुरस्कारभन्दा ठूलो प्रशंसा त मैले घरमा पाएँ,’ सरिताले भनिन्, ‘मेरो अभिनयसँगै हाउभाउ हेरेर दिदी शान्ता गिरीले तारिफ गर्नुभयो ।’

दिदी र दुई भाइ विदेशिए पनि उनी नेपाली नाट्य क्षेत्रलाई अब्बल र परिपक्व भएको हेर्न यात्रारत् छिन् । उनले सुनील पोखरेल र नीशा शर्माबाट गुरुको सामीप्यता पाइन् । मण्डला थियटरको पहिलो ब्याची बनेर नाटक सिकिन् । वीरेन्द्र, सुनील र नीशाको ज्ञान, हौसला र व्यवहारले ‘थियटर क्विन’ बाट परिचित छिन् । सरिताका दौतरी चलचित्रमा स्थापित भए पनि उनले भने रंगमञ्च छोडिनन् । सौगात मल्ल, कमलमणि नेपाल, सुरेश चन्द, राजन खतिवडा, सुभाष थापा, अरुणा कार्की, सिर्जना सुब्बा, आकांक्षा कार्की, लक्ष्मी बर्देवा, लुनिभा तुलाधरहरू उनीसँगैका नाट्यकर्मी हुन् ।

०५७ सालमा सरिताले ‘स्वास्नीमान्छे’ नाटकमा एकल अभिनय गरेर ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितिन ।

सरिताले पनि ‘बधशाला’, ‘नागरिक’, ‘सुनगाभा’, ‘रेड मनसुन’, ‘गुरु दक्षिणा’जस्ता १० वटा सिनेमामा अभिनय गर्न भ्याइसकिन् । ‘रेड मनसुन’ले अन्तर्राष्ट्रिय अवार्ड पनि जित्यो । ‘बधशाला’ र ‘सुनगाभा’ले नेपाली चलचित्रमा फरक धारलाई भिœयाउने काम गरे । ‘तर ती अफबिटमै रहे,’ सरिताले भनिन््, ‘चलचित्रमा अनेक टेक दिएर दर्शक रुचाउनुभन्दा नाटकमा एक टेकमै दर्शकको मन जित्न नै मलाई रुचि भयो ।’ गुरुकुलमा उनले ‘जे काम हो त्यसैमा तल्लीन हुनु’ भन्ने शिक्षा पाएकी थिइन् । नाट्य क्षेत्रमा प्रवेश गर्दा गन्तीका ८–१० जना नाट्यकर्मी मात्र थिए । अहिले पनि त्यो संख्या सय पुगेको छैन । सरिताले दुई सय नाटक र तीन हजार भन्दा बढी सडक नाटकमा अभिनय गरेकी छन् ।

नाटकको अभिनय जीवन्त भएजस्तै यसमा पाइने प्रतिक्रिया पनि प्रत्यक्ष हुनु यसको सुन्दरता भएको उनको बुझाइ छ । तर, नाटकका पात्रले चरित्रमा प्रवेश गर्दा भने कहिलेकाहीँ चरित्रबाट उम्कनै मुस्किल हुने अनुभव उनले पछिल्लोपटक ‘बोक्सीको कथा’मा गरिन् । नाटक हेर्न गएका हजुरबा र हजुरआमाले उनको अभिनयको प्रशंसा गरे । नाट्य अभिनय सतही नभएर जीवन्त हुनुपर्ने उनको तर्क छ । भन्छिन्, ‘दर्शकलाई इन्डिङ दिने होइन, सोच्ने ठाउँ राख्नुपर्छ ।’

मण्डलामा मञ्चन गरिएको पहिलो नाटक ‘आगोको कथा’मा सरिताले पनि अभिनय गरिन् । अभि सुवेदीले त्रिविको अंग्रेजी विभाग र बौद्ध गुम्बामा भएको आगलागीले ज्ञान जलेको कथा नाटकमा समेटिएको थियो । गुम्बाका भिक्षुभिक्षुणी गुम्बा छोडेर निस्क्ँदाको अभिनयमा सरिता हृदयदेखि रोइन् । ‘अबको १० वर्षपछि म कहाँ जान्छु होला ? भन्ने पीरले मलाई चिमोठ्यो,’ उनले त्यसको १० वर्षपछि गुरुकुल बन्द हुँदा अन्तिमपटक फेरि त्यही नाटकमा अभिनय गरिन् । त्यसदिन सरिताको कोठामा आगो लागेको थियो । मञ्चमा प्रस्तुत कलाकार त्यस दिन निकै रोए । उनले त्यो दिन सम्झिन्, ‘संयोग थियो या के थियो त्यस दिन कहिल्यै बिर्सन्नँ ।’

 

 

प्रतिकृया दिनुहोस