MENU

सिनेमा

635x90

चराहरुकाे सम्‍मेलन : जिउन सिकाउने नाटक

राजु स्याङ्तान शुक्रवार, आश्विन २७, २०७४

आफू बाँचिरहेको जीवनदेखि चराहरू थकित हुन्छन् । संसारका अस्तव्यस्ततादेखि उनीहरू आजित हुन्छन् । भोगिरहेको जीवनको विकल्प खोज्छन् । त्यो विकल्प नायक सिमोर्घलाई भेटेपछि समाधान हुन्छ भन्नेमा उनीहरू पुग्छन् । जीवनलाई बदल्ने नायक सिमोर्घको खोजीमा निस्कनले सल्लाह गर्छन् । तर उनीहरू लामो र कष्टप्रद यात्रा गर्न हिचकिचाउँछन् । कोही बीचबाटै भाग्छन् । अन्तिममा उनीहरू नायकको खोजीमा सातवटा उपत्यका नाघ्दै जाने निर्णयमा पुग्छन् ।

२० असोजबाट काठमाडौंको शिल्पी थिएटरमा प्रदर्शन भइरहेको ‘चराहरूको सम्मेलन’ नाटकको दृश्य हो, यो । पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरको नाटकलाई पुष्पराज आचार्यले नेपालीमा अनुवाद गरी अभिनेत्री दिया मास्केले निर्देशन गरेको यो नाटकमा चराहरू उड्दै उड्दै जान्छन् । यात्रामा चराहरूको नाइके फाप्रेले विभिन्न रोचक कथाहरू सुनाउँछन् र उनीहरू एकपछि अर्को उपत्यकाहरू तर्र्दै जान्छन् । मरुभूमिको अत्यास लाग्दो बाटो, राजकुमारी र दासको रोमाञ्चक प्रेमकथा, ऋषिको कथा सुन्दै उनीहरू जान्छन् । ती उपत्यकाहरू खोजी, प्रेम, बुझाइ, विस्मय, विनास, एकता र मृत्युको हुन्छ । जसले जीवनको फरक–फरक अर्थ दिने गर्छ ।

नायकको खोजीमा हिँडेको यात्रा रोकिँदैन । नायक सिमोर्घ भेट्ने अभिलाषाले रहस्य र विस्मयका उपत्यकाहरू पार गर्दै उनीहरू काफ भन्ने प्रदेशमा पुग्छन् । जहाँ सिमोर्घ भेटिन्छ भनिएको थियो । अन्तिममा उनीहरूले सिमोर्घ भेट्छन् । सिमोर्घको अनुहार आफैंसँग मिल्दो जुल्दो देख्छन् । सिमोर्घ अरू कोही नभएर स्वयं आफैं भएको उनीहरूले बुझ्छन् ।

आफैंलाई भुलेर नायकको खोजीमा भौतारिरहने दृश्य देशसँग मिल्दोजुल्दो छ । मानिसहरू पटक–पटक असल नायकको खोजीमा आफ्नो बुढी औंला रंग्याँउछन् । तर, मसी नसुक्दै गाली गर्न थाल्छन् । उनीहरूले नायकले धोका दिएको निष्कर्षमा पुग्छन् । तर, कहिल्यै आफैंलाई चिन्दैनन् । चराहरूले पत्ता लगाएको त्यो रहस्यले त्यही जीवन दर्शन सिकाउँछ । आफैंलाई भुलेर अरूको खोजीमा भौतारिनेहरूका लागि चराहरूको सम्मेलन एउटा पाठशाला बनेको भन्दा अतिशयोक्ति हुँदैन ।

एक्टर्स स्टुडियोका २२ कलाकारहरूको प्रस्तुति रहेको नाटक सुन्दर बनेको छ । अभिनेत्री मास्केको मिहिनेत प्रशंसालायक छ । ढुकुर, सुँगा, कोइली, भँगेरा, मयुर जस्ता विभिन्न चराहरू बनेर कलाकारहरूले गरेको अभिनयमा खोट लगाउने ठाउँ छैन । करिब डेढ घण्टा लामो नाटकले समयको बर्बादी गर्दैन । नाटकको मुख्य विषयसँग सम्बन्धित रहेर देखाइएको दृश्यहरू रमाइला छन् । प्रत्येक दृश्यले मानिसलाई आफंैलाई चिन्न प्रेरित गरेको छ ।

मानिसलाई जिउन एकअर्काको सहयोग चाहिन्छ । आशा र भरोसा जीवन जिउने कला बनेको छ । मानिसहरू जब अप्ठेरोमा पर्छन्, तब कसैको साहसको खोजी हुने गर्छ । एक अर्थमा मानिसलाई परिजीवी प्राणी पनि मान्न सकिन्छ । कसैको पर्खाइ र आसैआसमा मानिसले सारा जीवन त्यसै बिताउँछन् । तर, आफूलाई चिन्न भुल्छन् ।

आफैंभित्रको सबलतासँग अपरिचित भएर मानिसहरू देशदेशावार भौतारिरहन्छन् । नाटकमा यही विषयको कलात्मक प्रस्तृति देख्न सकिन्छ । चराहरूको प्रतीकात्मक प्रस्तुतिले मानवीय समाजलाई संकेत गरेको छ । नाटकमा लागि रंगमञ्च विशेष प्रकारले झकिझकाउ छैन । तर, अपर्याप्त लाग्दैन । विदेशी नाटकमा निर्भर हुनुपर्ने नेपाली रंगमञ्चको विडम्बना अझै हटेको छैन । एक्टर्स स्टुडियोले टलकजंग भर्सेस टुल्के, बाँकी उज्यालो, मलामी, काफ्का, कोर्टमार्सल जस्ता चर्चित नाटकहरू मञ्चन गरिसकेको छ ।

पहिलो पटक नाटक निर्देशकको रूपमा उभिएकी दियाको चराहरूको सम्मेलन एउटा परीक्षा थियो । उनले नाटक निर्देशन गर्नुअघि सकिन्न कि जस्तो लागेको बताउँछिन् । तर, ३ महिनाको मिहिनेतबाट उनी पास भएकी छिन् । नाटकको मूल मर्म नबिगारेको उनी बताउँछिन् । भन्छिन्, ‘नाटक सोचेको जस्तो राम्रो बनाउन सकिनँ होला । तर, बिगारेको छैन ।’ 

प्रतिकृया दिनुहोस