MENU

सिनेमा

Annapurna635x90

असम्बद्ध : द्वन्द्वकालको तीतो यथार्थ झल्किने नाटक

भूमिका थारू सोमवार, भाद्र १९, २०७४

सशस्त्र द्वन्द्वमा घटेका घटनालाई उनेर बनाइएको नाटक हो, असम्बद्ध । त्यतिवेलाको परिवेशलाई चित्रण गरिएको यस नाटकमा वृद्ध बाको कथा लुकेको छ । जसका दुई सन्तान हुन्छन्, राजकुमार र नवराज । जेठो छोरा राजकुमार सेनामा भर्ती भएका हुन्छन् भने कान्छा गाउँको स्कूलमा शिक्षक  । कलमलाई हतियार मान्ने नवराज बाध्य भई बन्दुकलाई हतियार बनाइ उनी पनि युद्धमा होमिन्छन् । शिक्षकलाई कलमको साटो बन्दुक थमाइँदा द्वन्द्वकालको तीतो यथार्थ झल्किन्छ नाटकमा ।

युद्धको क्रममा राजकुमारले आफ्नो सहोदर भाइ नवराजको शवलाई आफ्नै सामु ढलेको देख्छन् । अन्जानमा आफ्नै भाइलाई मार्न पुग्दा उनलाई गहिरो चोट पुग्छ । उनी मन थाम्न सक्दैनन् र तत्कालै आफ्नै कन्चटमा बन्दुक तेर्साएर त्यही नै मृत्युवरण गर्छन् । दुवै सन्तानको मृत्युले वृद्ध बा बेसहारा हुन्छन् । बुढेसकालमा पनि सहारा नपाएको एक बाले भोग्नुपरेको पीडालाई नाटकमा चित्रण गरिएको छ । चित्त बुझाउनका निम्ति उनीसँग उनको छोराले छाडेर गएको त्यही बाकस मात्र हुन्छ । त्यही बाकसबाट छोराहरूको तस्बिर हेरेर टोलाउँछन् । जुन नाटकको मार्मिक दृश्य हो ।

बुढेसकालमा पनि सहारा नपाएको एकवृद्घले भोग्नुपरेको पीडालाई नाटकमा चित्रण गरिएको छ।

नाटकमा उत्तारचढाव छ । जसले शीर्षकको सार्थकता भरिदिएको छ । ध्वनिको संयोजनले नाटक हेर्ने अवधिमा द्वन्द्वकालमा प्रवेश गरेको आभाष दिलाउँछ । नाटकको अंशमा पश्चिमी लोक भाकासँगै नाचगानले अझ मिठास थपिदिएको छ । प्रकाशको सही ठाउँमा सही समय प्रयोग हुुनु नाटकको सबल पक्ष हो । नाटक हेर्ने क्रममा अब के हुन्छ भन्ने जिज्ञासा पलाइरहन्छ । करिब एक घण्टा समय रहेको यो नाटकले आफूसँगै डोरु्‍याउँछ ।

नाटकमा सबै चरित्रले न्याय दिएका छन् । अमृत काउचा, मोहन श्रेष्ठ, दिपेश केसीे, सरोज खड्का, सुमन थापा, तुफान थापा, जीवनजंग थापा, किरण चापागाईंले मन छुने जीवन्त अभिनय गरेका छन्  । सर्वनामका एघारौं ब्याचका प्रशिक्षार्थी समूहको लेखन तथा निर्देशन रहेको यो नाटक कालिकास्थानस्थित सर्वनाम थियटरमा ९ भदौदेखि शुरु भएकोमा १७ भदौसम्म मञ्चन भएकाे  थियाे ।

याे पनि पढ्नुस् 

देश खोज्दै जाँंदा : गम्भीर विषय फितलो प्रस्तुति

 

प्रतिकृया दिनुहोस