MENU

सिनेमा

Annapurna635x90

देश खोज्दै जाँंदा : गम्भीर विषय फितलो प्रस्तुति

राजु स्याङ्तान सोमवार, भाद्र १९, २०७४

निर्देशक प्रकाश आङ्देम्बेको सिनेमा ‘देश खोज्दै जाँदा’ मा अनागरिक बनाइएका भुटानी शरणार्थीको पीडा देखाइएको छ । सिनेमा माटोको खोजीमा भौतारिरहेकाहरूको दुःखसुखमा आधारित छ । सिनेमाको एउटा दृश्यमा शरणार्थी बालबालिकाहरू ‘हवाईजहाज मलाई भुटान लैजा भन्दै सडकमा धुलो उडाउँछन् । देशभन्दा टाढाको जमिनमा शरणार्थी भएर बस्नुको पीडा कसरी पुस्ता दर पुस्तामा सरिरहेको छ भन्ने देखाउन यो दृश्य काफी छ । तिनै बालबालिकालाई एक वृद्धले विश्व खाद्य कार्यक्रमको कार्यालय छेउमा राखिएको बुथबाट केही कन्डम बाँडी खेल्न दिन्छन् । उनीहरू त्यसलाई आकाशमा उडाउँदै रमाउँछन् । संयुक्त राष्ट्रसंघको भूमिकालाई यो दृश्यले व्यंग्य गरेको छ ।

अर्को दृश्य छ, स्कुलको । प्रार्थनाको लाइनमा सबैले राष्ट्रियगान गाउँदा नायक (बाबु बोगटी) चुपचाप उभिरहन्छन् । देश उतै छुटेको छ । तर, राष्ट्रियगान पराया भूमिमा गाउनुपरेको छ । त्यो विरोधाभाषपूर्ण परिस्थितिलाई सिनेमामा सघन चित्रण गरिएको छ । शरणार्थी बाबुछोरीबीचको संवेगलाई दर्शकले सह्राउँछन् । शरणार्थीले मान्ने चाड र बस्तीका मानिसहरूले मान्ने चाडमा फरक छुट्याएको छ । सिनेमाका यी सबल पक्ष हुन् । यी शरणार्थीहरू खासमा भुटान नामको देशमा मात्रै फर्कन चाहेका थिएनन् । उनीहरू त्यो माटोमा फर्कन खोजेका थिए, जहाँ आफ्नोपन र पुर्खाको रगत पसिना छ । त्यहीँ फर्कंदा मात्रै उनीहरूले न्यायको अनुभूति गर्न पाउने थिए । तर, अन्तर्राष्ट्रिय आप्रवासन संगठ

न (आईओएम)को पराश्रयी भूमिकाबाट झनै माटोविहीन बन्न पुगे । आज उनीहरूसँग देश छ , तर माटो छैन । सम्पन्नता छ, तर आत्मसम्मान छैन ।शरणार्थीहरूले पटक–पटक चलाएको स्वदेशफिर्तीको आन्दोलन उपलब्धिविहीन भयो । त्यसो हुनुको विभिन्न कारणमध्ये एउटा थियो, सरोकारवालासँग सीधा प्रतिवाद गर्न नपाउनु । त्यसरी लड्न नपाउनु अहिलेको विश्व व्यवस्थाको मोडल बनेको छ । आज कुनै पनि देशका नागरिकले प्रमुख सरोकारवालासँग सीधा लड्न पाइरहेका छैनन् । भुटानीका सवालमा पनि त्यस्तै भयो । उनीहरूले नारा लगाए, ‘नेपाल सरकार बोली देऊ, भारत सरकार बाटो देऊ, भुटान सरकार माटो देऊ ।’ बोल्नुपर्नेले सुन्ने गरी बोलिदिएन । बाटो दिनुपर्नेेले गोली ठोक्यो ।

यति गम्भीर विषयमा बनेको सिनेमा सीमाहरूबाट अछुतो छैन । झन्डै आधा दशक खर्चेर बनाइएको सिनेमामा प्राविधिक दोषहरू छन् । उपेन्द्र सुब्बाले लेखेको पटकथामा संवाद मन छुने छ तर कथामा धिमा गति भएका कारण तिनको प्रभाव स्थापित हुन पाएको छैन । एउटै घटना र परिवेशभित्र १५ मिनेटजति खर्च हुँदा दर्शकहरू अल्छी मान्न सक्छन् ।हेमन्त बुढाथोकी, अरुणा कार्की, किरण चाम्लिङ, बाबु बोगटीको अभिनयले दर्शकलाई छुन्छ । स्थानीय कलाकारहरूको प्रस्तुतिमा निखार छ । आभासको संगीत र श्रवण मुकारुङका शब्दहरूले सिनेमालाई उचाइ दिलाउन सघाएका छन् । संवाद राम्रा भए पनि दृश्यबाट भन्न सकिने ठाउँमा शब्द घटाएको भए जाती हुने थियो ।

सिनेमा स्खलित आन्दोलनको अँध्यारो पाटोमा पुगेर टुंगिएको छ । सामाजिक यथार्थवादमा आधारित चलचित्रले देश हराएर निरीह बाँचिरहेकाहरूलाई सिनेमामार्फत् झनै निरीह देखाएको छ । यसरी बाँच्नु उनीहरूको विवशता थियो । निर्देशक शरणार्थीप्रति तीव्र सहानभूति राख्छन् भन्ने प्रस्टै बुझिन्छ, सिनेमा हेर्दा । उनीहरू ससम्मान आफ्नो देश फर्कन पाऊन् भन्ने विचार निर्देशक राख्छन् । यसमा शंका छैन । सिनेमाको उद्देश्य भने आन्दोलनको असफल र दुःखान्त पक्षलाई बढी जोड दिने देखिन्छ ।

फ्ल्यास ब्याकहरूको बारम्बार प्रस्तुतिले दर्शकलाई अलमल बनाइदिन्छ । दृश्यहरूको सिलसिला मिलेको देखिँदैन । कतिपय अनावश्यक दृश्य राखिएका छन् । जसले सिनेमालाई भद्दा बनाएको छ । उद्देश्य प्राप्तिका लागि नायकले गरेको संघर्षमा पर्याप्त अन्योलता छ । कला यथार्थको प्रतिबिम्बन मान्ने हो भने सिनमा व्यक्तिको कथनभन्दा सुन्दर हुनुपथ्र्यो । यस्तै, नायकको मृत्युपछि अविवाहित नायिका कपाल छोड्दै बगरमा कुद्छिन् । यो दृश्य संगतिपूर्ण देखिँदैन । यद्यपि, अन्य सिनेमाको दाँजोमा ‘देश खोज्दै जाँदा’को सबलता यसले उठाएको विषयवस्तुको ऐतिहासिकता र सामयिकतामा छ । निर्देशक आङ्देम्बेबाट माटोको लागि संघर्ष गर्ने डा. भम्पा राई जस्ता व्यक्तिको कथाको कलात्मक प्रस्तुतिको अपेक्षा दर्शकले गरेका हुन सक्छन् ।

 याे पनि पढ्नुस्

असम्बद्ध : द्वन्द्वकालको तीतो यथार्थ झल्किने नाटक

प्रतिकृया दिनुहोस