MENU

सिनेमा

dishhomeapp

सिनेमाको कमाइ भ्रम मात्रै

अशेष अधिकारी मंगलवार, श्रावण २४, २०७४

दुई वर्षअघि रिलिज हुँदा चलचित्र ‘प्रेम गीत’ले तीन दिनमा एक करोड कमाएको समाचार सार्वजनिक भएको थियो । दुई वर्षपछि वितरक र निर्माताको हवाला दिँदै उक्त सिनेमाको सिक्वेलले तीन दिनमा ३ करोड कमाएको रिपोर्ट सार्वजनिक गर्‍यो । ‘प्रेमगीत’ सोलो रिलिज हुन पाएको थिएन भने यसको सिक्वेल पनि सोलो रिलिज भएन । पहिलोमा ऊ ‘क्लासिक’सँग भिडेको थियो भने दोस्रोमा निखिल उप्रेती स्टारर ‘रुद्र’सँग । यसबाहेक थप १/१ बलिउड तथा हलिउड सिनेमा बक्स अफिसमा सँगसँगै रिलिज भएका थिए ।

सिनेमाको यो व्यापारिक आँकाडा देखेर वितरक तथा सिनेमा घरहरूको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय सिनेमाको व्यापार आँकडा देखेर आश्चर्यचकित छन् । भन्छन्, ‘एउटा भयंकर चलेको नेपाली फिल्मले एक दिनमा नेपालभरबाट एक करोड २० लाखदेखि एक करोड २५ लाखसम्मको ‘ग्रस कलेक्सन’ गर्छ । त्यो पनि मल्टिप्लेक्स हलमा २० देखि २५ सोसहित सिंगल स्क्रिन हलहरू यथेष्ट पाएको खण्डमा ।’ उनी निर्माता र वितरकले सिनेमाको आम्दानी बढी देखाउनुलाई फाइदाभन्दा आत्मरति मात्र ठान्छन् ।

‘प्रेम गीत’ जस्तै कलाकार भुवन केसीको निर्देशकीय डेब्यू फिल्म ‘ड्रिम्स’ अर्को दृष्टान्त हो । वितरकले शुरु दुई दिनमा अढाइ करोडको कमाइ गरेको जानकारी मिडियामा दिए । तर, सिनेमाले डेढ करोडको मात्र व्यापार गरेको सार्वजनिक भयो । यस्तै, यस वर्ष रिलिज भएको ‘लाल्टिन’ले पनि आफूले करोडमाथिको व्यापार गरेको हल्ला पिटायो । तर, यथार्थमा त्यो कम थियो । निर्माताको हातमा केबल २० लाख परेको थियो । सिनेमा फ्ल्प भएको थियो । ‘निर्माता साथीहरू सिनेमा रिलिजका दिन करोडको गफ दिनुहुन्छ अनि पछि निजी कुराकानीमा यति र उति घाटा भयो भनेर दुखेसो पोख्नुहुन्छ,’ उदयले आन्तरिक कुरा खुलाए ।

वर्षमा सरदर एक सयको हाराहारीमा नेपाली सिनेमा रिलिज हुन्छन्। जसमा १० प्रतिशतले मात्रै लगानी उठाउँछन्। तर, समाचार हेर्दा ९० प्रतिशतले कमाएको देखिन्छ।

साढे दुई दशकदेखि सिनेमा निर्माणमा सक्रिय निर्माता छविराज ओझा निर्माताहरूकोयस्तो गफ दिने शैलीलाई आफ्नो सिनेमाको व्यापारलाई स्वीकार गर्न नसक्ने खोक्रो आडम्बर ठान्छन् । ‘आफूले राम्रो सिनेमा बनाउन नसकेको स्वीकार नगर्ने अरूका अघि आफू तल नपरेको र हिरो भएको देखाउन यस्तो गर्छन्,’ उनी भन्छन्, ‘सिनेमा फ्लप भएको बताउँदा आफू सिनेकर्मीबीच कमजोर र तल पर्छु भन्ने मानसिकताका कारण उनीहरूले झूटको साहारा लिँदै गल्तीको ढाकछेप गरेका मात्र हुन् ।’

ओझाले सिनेमा निर्माणमा घाटाको व्यापारबारे आफ्नो अनुभव सुनाए, ‘उद्योग नयाँ ट्रेन्डमा गयो भनेर मैले ‘लोफर’ ५० लाखको बजेटमा बनाएको थिएँ, तर मलाई ३५ लाख घाटा भयो । मैले लुकाइनँ । त्यो घाटाबाट बरु मैले सिक्ने मौका पाएँ । जबकि, त्यो घाटा मेरा लागि पहिलो थियो ।’ निर्माताहरू बढी कमाइको भ्रम छर्ने औजारका रूपमा वितरकलाई प्रयोग गर्छन् । जुन कुरा वितरक गोविन्द शाही स्वीर्काछन् । उनी भन्छन्, ‘मलाई पनि निर्माताहरूले अनुरोध गर्छन् । उहाँहरूले यस्तो काम बजारमा आफ्नो फिल्मको चर्चा बढोस् भनेर गरेको मैले पाएको छु । यस्ता चर्चाले फिल्मको व्यापारमा केही थप सहयोग हुन्छ भन्ने सोचाइ मैले पाउने गरेको छु ।’

निर्माताहरूलाई सत्य कुरा नै भन्न सुझाव दिने गरेको बताउने शाही आफूले मिडियालाई सही हिसाब दिने गरेको दाबी गर्छन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारी सिनेमाको बढी कमाइसम्बन्धी भ्रम चिर्न ‘बक्स अफिस’ लागु हुनुपर्ने तर्क गर्छन् । ‘फिल्म बढी चल्यो भन्ने देखाउन पनि कमाइमा बढाइचढाइ गरेको देखिन्छ । तर, बढी बोलेर केही फाइदा छैन । यस्तो अवस्था चिर्न पनि बक्स अफिस आवश्यक छ ।’संघ यस्तो भ्रम चिर्ने निकाय पनि होइन, न त अध्यक्षलाई यस्तो काम रोक्ने अधिकार हुन्छ । अध्यक्ष अधिकारी भन्छन्, ‘अहिले प्रचारका लागि साथीहरूले जे बोलिरहनुभएको छ । त्यसअनुसार कर तिरिएको छ/छैन । त्यसमा विचार पुर्‍याउन मेरो आग्रह छ । करमा कडाइ हुँदै गइरहेको बेला यस्ता साथीहरू अप्ठेरोमा पर्ने पनि मैले सुझाव दिने गरेको छु ।’

pradeepएउटा भयंकर चलेको नेपाली फिल्मले एक दिनमा नेपालभरबाट एक करोड २० लाखदेखि एक करोड २५ लाखसम्मको ग्रस कलेक्सन गर्छ। प्रदीप उदय अध्यक्ष, नेपाल चलचित्र संघ

वर्षमा सरदर एक सयको हाराहारीमा नेपाली सिनेमा रिलिज हुन्छ । जसमा १० प्रतिशत सिनेमाले मात्रै लगानी उठाउँछन् । तर, समाचार हेर्दा ९० प्रतिशत सिनेमाले कमाएको देखिन्छ । यसरी धरातलीय यथार्थ र हौवाबीच रहेको तथ्यबारे सञ्चारमाध्यम विशेष चनाखो हुनुपर्ने भनाइ चलचित्र संघका अध्यक्ष प्रदीप उदयको छ । सञ्चारकर्मीलाई उनको सुझाव छ, ‘सञ्चारकर्मीले प्राप्त खबरको विश्वसनीयताको यथार्थता बुझ्नुपर्छ । वितरक तथा निर्माताले जे भन्यो त्यहीलाई सत्य मानिदिनु भएन ।’विगतमा नेपाली सिनेमाको कमाइ आउन एक वर्ष लाग्थ्यो । सिनेमा डिजिटल युगमा प्रवेश भएपछि देशभर एकसाथ प्रसारण गर्न मिल्ने भएको छ । प्रविधिकै कारण कमाइको हिसाब पनि चाँडो आउने वातावरण बनेको छ ।

बढाइचढाइ गर्ने प्रवृतिले सिनेमामा लगानी भित्र्याएर फसाउने प्रवृत्ति मात्र ठान्छन्, उदय । लगानीकर्ता बढाउने भन्दा गुमाउने काम भइरहेको उनको अनुभव छ । ‘समाचारमा आएका करोडको आँकडा देखिँदा लगानी २–३ दिनमै उठ्ने देखेपछि लगानी गर्छन् । तथ्य त्यसको विपरीत परेपछि उनीहरूले के धारणा बनाउँछन् ?,’ उनी प्रश्न गर्छन् ।‘भैरव’को रिलिजपछि वितरकले दुई करोड बढीको आम्दानी भएको मिडियामा जानकारी दिए । निर्माता जोहान दारूवालाले वितरकसँग ‘मिडियामा दिएको रिपोर्टअनुसारको हिसाब खै ?’ भनेपछि स्थिति हात हालाहालसम्म पुगेको थियो ।

यसरी हुन्छ कमाइको बाँडफाट

रिलिजको पहिलो साता एक करोड ग्रस कमाइ गरेको सिनेमाको निर्माताको हातमा ग्रसको करिब एक तिहाइ रकम मात्र हात पर्छ । यसमा शुरुमा १३ प्रतिशत भ्याट कटौती हुन्छ । अनि बाँकी रहेको रकम (८७ लाख) निर्माता र हलवालाबीच ५०/५० भाग लाग्छ । हलवाला र निर्माताको बाडफाँटमा हलको सर्भरलगायत चार्ज पनि निर्माताकै भागबाट काटिन्छ । निर्माताको भागमा परेको रकमबाट थप पाँच प्रतिशत रकम वितरकले लिन्छन् । यदि वितरकले सिनेमा निर्माण चरणमा नै पैसा लिएका छन् भने सो कमिसन १५ प्रतिशतसम्म पुग्छ ।

वितरकले हालेको पैसा नउठेको अवस्थासम्म निर्माताले कुनै रकम दाबी गर्न सक्दैनन् । पहिला वितरकको लगानी उठाउने काम हुन्छ । यी सबैको हिसाबपछि निर्माताले एक करोड ग्रस हुँदा बढीमा ३२ देखि ३३ लाख रुपैयाँ हात पार्छन् । यो सिंगल स्क्रिनबाट हुने कमाइ हो । मल्टिप्लेक्सको नियम भने केही फरक छ । पहिलो साता कमाइको हिस्सा आधा–आधा हुँदा दोस्रो, तेस्रो र चौथो साता पुग्दा सो हिस्सा क्रमशः ४२ दशमलव पाँच, ३७ र ३० प्रतिशत हुने गर्छ ।



प्रतिकृया दिनुहोस