MENU

सिनेमा

dishhomeapp

सिनेमा : पालो चलचित्रका गीतको

विजया अधिकारी मंगलवार, श्रावण १७, २०७४

अचेल कुनै गायक विशेषका गीतहरू उति प्रचलित हुँदैनन्, जति चलचित्रका । स्रोताहरूले आफूले रुचाएका गायक वा गायिकाको नयाँ गीत नआएर, नयाँ प्रतिभाहरूले प्रवेश नपाएर या सिर्जनात्मक रूपमा एकल गायन गर्ने कलाकारहरूले कृति नपस्किएका कारण पक्कै त्यस्तो भएको होइन । नेपाल र नेपालीभाषी रहेका विदेशका विभिन्न स्थानमा नेपाली गायकहरूको माग उस्तै छ । र, विभिन्न सामाजिक/सांस्कृतिक कार्यक्रम, कन्सर्ट आदिमा गायक–गायिकाले राम्रो सम्मान पाइरहेका छन् । तर, हालको परिप्रेक्ष्यमा चलचित्रका गीतहरूले नै बढी ख्याति कमाइरहेका छन् ।

किन बढ्दै छ माग ?

केही वर्षयता नेपाली चलचित्र क्षेत्रले समुन्नतिको बाटो समातेको छ । कुनै बेला वर्ष दिनमा मुस्किलले चार वटा चलचित्रले राम्रो कमाइ गर्ने हाम्रो सिने क्षेत्रमा अहिले महिनाको चारै साता राम्रा चलचित्र पस्किन सक्ने वातावरण सिर्जना भएको छ । हिन्दी चलचित्रहरूको खस्किँदो व्यापार र नेपाली सिनेमाको राम्रै माग भइरहेका कारणले प्रतिस्पर्धाको मैदान खुला हुन थालेको छ । यसमा जुन चलचित्रको निर्माण र प्रवद्र्धन राम्रो हुन्छ, व्यापार त्यसैको फस्टाउँछ । पराम्परागत रूपमै नेपाली चलचित्रको विज्ञापन र प्रवद्र्धनका अभ्यासहरूमा गीतहरूले प्रमुख र उल्लेख्य स्थान पाउँदै आएका छन् ।

नेपाली सिनेमामा प्रयोग हुने साविकका गीत/संगीतको स्थान विस्तारै नयाँ र प्रयोगात्मक शैलीले लिन थालेको छ । रूमानी गीतहरूका साथै मेला, आइटम, क्लब, मर्मस्पर्शी र हृदयविदारक भावना समेटेका गीतहरूले चलचित्रमा प्रवेश पाउँदै विविधता अँगालेका छन्, जसका कारण कुनै विशेष प्रकारको एकल गीत सुन्नुभन्दा यही पृथकताका लागि चलचित्र नै रोज्ने स्रोताको संख्या बढ्दो छ ।

प्रमुख कारण ‘भाइरल’

सूचना प्रविधिको विकाससँगै जन्मिएका नयाँ मञ्चहरूका कारण पनि स्रोता तथा दर्शकको स्वाद फेरिँदैै छ । कुनै समयमा रेडियोमा गीत सुन्नु भनेको नै त्यो समयका लागि नवीनताको उत्प्रेरक थियो, जसलाई ‘म्युजिक भिडियो’ले विस्थापित गर्दै आयो । टेलिभिजनमा म्युजिक भिडियोको प्रसारण गर्नु अहिले पनि उत्तिकै महत्वको विषय हो । तर, चर्चा पाउने बेलामा सामाजिक सञ्जालको प्रयोग र दर्शकको रुचिले बढी स्थान पाउन थालेको छ । सबैका हात–हातमा मोबाइल र इन्टरनेटको सुविधा पनि छ ।

सामाजिक सञ्जालजस्तो कम खर्चिलो ठाउँबाट विज्ञापन गर्नु निर्माता–निर्देशकका लागि पायक पर्ने कुरा पनि हो । यसरी प्रवद्र्धन गर्दा छिट्टै समाजमा ‘भाइरल’ हुने अवस्था छ । सोही कारण एकलभन्दा चलचित्रका गीतले नै बढी स्थान पाउन थालेका छन् । स्रष्टाहरूको एउटा जमातले महिनौँको मिहिनेतपछि एउटा एल्बम निकाल्नुपर्ने बाध्यता रहेन, अब । डिजिटल प्रविधिको प्रयोगका कारण संगीत तयार पार्न ठूला स्टुडियो पसेर महिनौँसम्म एउटै गीतमा लागिरहनुपर्ने आवश्यकता पनि छैन ।

कम्प्युटरले उत्पादन गरेको संगीतको गुणस्तरका विषयमा विवाद चल्न सक्छ । तर, त्यसलाई थाति राख्ने हो भने गल्ली–गल्ली र चोक–चोकबाट संगीत तयार हुँदै मानिसको हात–हातमा पुगेको कुरालाई नकार्न सकिन्न ।यस प्रकारले जब मिनट–मिनटमा हजारौँ गीत स्रोताको कानसम्म पुगिरहेका छन् भने स्रोतालाई पनि आफ्नो छनोटको संगीतमा रमाउने अवसर सिर्जना भएको छ । यसले गीतको ‘आयु’लाई पनि छोटो बनाउन थालेको छ । सुनिसक्दा अर्को गीतको विकल्प आफ्नो अगाडि खडा हुन्छ, त्यसैले नै कुनै गीत भाइरल हुँदा पनि केही सातासम्म मात्र चर्चाको शिखरमा हुन्छ । चलचित्रको आयु पनि अहिले गीतहरूको आयुजस्तो छ ।

प्रदर्शनमा आएको केही सातापछि चलचित्रको मूल्य–मान्यता पनि स्वात्तै घट्छ । यसरी दुवैको प्रकृति मिलेका कारण पनि चलचित्रकै गीतहरू बढी चर्चामा आउन थालेका हुन् । जब कुनै एक चलचित्रको गीत चर्चाको शिखरमा हुन्छ, त्यही बेला प्रदर्शनको समय आउँछ । गीतको चर्चासँगै चलचित्रले पनि राम्रो व्यापार गर्न सक्छन् । चलचित्रको आयु सिद्धिएपछि छोटो समयका लागि चर्चामा आएका त्यही चलचित्रका गीत पनि सेलाउँछन् । त्यसको उदाहरण चलचित्र ‘रेशम फिलिली’को ‘जालमा’ बोलको गीत हो, जुन एक समयमा भाइरल बन्यो र विस्तारै चर्चा हराउँदै गयो ।

प्रयोगात्मक गीतहरूको वर्चश्व

संसारभरिका चलचित्र क्षेत्रको इतिहासलाई पल्टाउने र नेपाली सिनेमाको हाल चल्दै गरेको प्रथालाई ती ऐतिहासिक घटनाक्रमसँग दाँजेर हेर्ने हो भने नेपाली सिने क्षेत्र अहिले मध्यम मार्गमा चलिरहेको अनुमान लगाउन सकिन्छ । यसको अर्थ हो, न बढी कलात्मक चलचित्रको रजाइँ, न त बढी व्यावसायिक चलचित्रको बोलवाला । यस्तो बेलामा कुनै पनि सिने क्षेत्रले बढीभन्दा बढी प्रयोगात्मक चलचित्रहरू प्रस्तुत गरेको इतिहास साक्षी छ । नेपाली चलचित्रले ल्याउँदै गरेको यो प्रयोगात्मक सिलसिला ती चलचित्रमा आउने गीत–संगीतमा पनि उद्धृत हुन्छन् ।

कुनै बेला शम्भुजित बाँस्कोटाजस्ता वरिष्ठ संगीतकार मात्रले ल्याइरहेको प्रयोगात्मक शैलीलाई अहिले थुप्रै संगीतकारले अंगीकार गरेको देखिन्छ । सुगम पोखरेलदेखि अर्जुन पोखरेलसम्म, सुरेश अधिकारीदेखि कालीप्रसाद बाँस्कोटासम्म, इमानविक्रम शाहदेखि हर्कुलस बस्नेतसम्म, राजनराज शिवाकोटीदेखि र्‍यापर लाउरेसम्म । यी सबैको सिर्जनाको ढाँचामा पृथक प्रयोगहरू देखिन थालेको छ ।

एकल गीतको समय सकियो त ?

चलचित्रका गीत मात्रले चर्चा बटुलिरहँदा प्रश्न खडा हुन्छ, के एकल गीत निकाल्ने गायकहरूको समय सकिएकै हो त ? त्यो पक्कै पनि होइन । यो समयको एउटा चक्र मात्र हो । नेपाली चलचित्र विकासको धारले नेपाली संगीतको क्षेत्रलाई पारेको प्रभावको चक्र । यो प्रभावका कारण एकल गायन गर्ने कलाकारहरू अहिले ओझेलमा परेका मात्र हुन्, हराएका होइनन् । नेपाली गायकहरूको सिर्जना अहिले पनि उत्तिकै तदारुकताका साथ अगाडि बढिरहेकै छ । तर, नेपाली चलचित्रको विकासक्रमले यसलाई पछाडि पारिदिएको मात्र हो ।

हाम्रो मनोरञ्जनको क्षेत्र अन्य ठूला मुलुकको दाँजोमा निकै साँघुरो छ । हाम्रा टेलिभिजन च्यानलहरूलाई अहिले पनि विदेशी च्यानलहरूले प्रभाव पारिरहेका छन् भने रेडियोको महत्व पनि अत्यधिक घटिरहेको छ । नेपाली संगीतको क्षेत्रलाई चलचित्रबाट अलग्याएर उत्तिकै महत्वका साथ हेर्ने हो भने स्रोताले मनोरञ्जनको माध्यम छानेर सबै प्रकारका संगीतलाई समान रूपले ग्रहण गर्न सक्छन् । त्यो परिस्थिति सिर्जना नभएसम्म अहिलेलाई चलचित्रकै संगीतको पालो छ ।

कमाल आइटमको

केही महिनायता नेपाली संगीत र चलचित्र बजारमा ‘पर्व’ सिनेमाको ‘काले दाइ’ बोलको गीतले चर्चा पाएको छ । रैथाने शब्दहरू प्रयोग भएको यस गीतमा जुनसुकै कार्यक्रममा नृत्य गर्न लायकको संगीत भरिएको छ । र, यो गीतले अभिनेत्री माला लिम्बू मात्रको नभई ‘पर्व’ चलचित्रकै विज्ञापन र प्रवद्र्धनमा सहयोग पु¥याएको छ । यस प्रकारको गीतलाई ‘आइटम गीत’ भनिन्छ, जसलाई पहिलो पटक भारतीय चलचित्र समीक्षक तरण आदर्शले व्याख्या गर्दै ‘अत्यन्तै चित्ताकर्षक किसिमको संगीत भरिएको गीत जसको प्रमुख प्रयोजन यौनोत्तेजक हुनु हो’ भनेका थिए ।

नेपाली चलचित्रमा पनि आइटम गीतको प्रयोग व्यापक छ । अंग्रेजीको ‘आइटम’ अर्थात् वस्तुबाट उद्धृत गरिएकाले आइटम गीतहरू बेला–बखत नारीवादीहरूको आवेगको शिकार बन्ने गरेका छन् । र, आइटम शब्दको शुरुवात पनि त्यसैगरी भएको थियो । सन् १९५० को दशकताका भारतीय चलचित्रमा पाश्र्व नृत्य गर्ने महिलालाई मुम्बईको प्रचलित भाषामा ‘आइटम’ भनिन्थ्यो । नेपाली चलचित्रमा अहिले मात्र यो शब्दको प्रयोग गरिन थाले पनि आइटम गीतको इतिहास हाम्रो चलचित्र क्षेत्रमा पनि निकै लामो छ ।

०२३ सालमा प्रदर्शनमा आएको ‘माइतीघर’ चलचित्रको ‘म प्यार बेचिदिन्छु’ गीतलाई सोझै नाम नदिए पनि त्यसको प्रकृति आइटमकै श्रेणीको थियो । नेपाली चलचित्रमा आइटम नै तोकेर गीत सिर्जना गर्न थालिएको एक दशक पनि बितेको छैन । तर, माइतीघर चलचित्रपछि पनि थुप्रै गीत यस्ता आए, जसको प्रकृति हेर्दा आइटमभन्दा टाढा रहेनन् । यस्ता गीतहरूमा संगीतकार शम्भुजित बाँस्कोटा नै अग्रणी छन् । ‘हे संगीता’, ‘हाम्लाई पनि मायाले हेर पार्वती’, ‘वनमा फुल्यो फूल’ जस्ता गीत नेपाली चलचित्रमा ल्याएको श्रेय बाँस्कोटालाई नै जान्छ ।

यस्तै, ‘चोरी भो, यो छोरीको जोवन चोरी भो’, ‘ओए ओए, करेन्ट लाग्छ मलाई छोए’ जस्ता गीतले नेपाली चलचित्रमा आइटमको प्रभाव र आवश्यकता दर्शाए । अहिले आएर आइटम गीत नेपाली चलचित्रको प्रवद्र्धनमा अनिवार्य झैं भइसकेको छ । ‘उध्रेको चोली’, ‘छलक छलक छल्के झैँ’, ‘नाच न मैंया’, ‘फिगर कोका–कोला’, ‘ठमेल बजार’देखि ‘सुर्के थैली खै’, ‘पूर्वपश्चिम रेल’, ‘काले दाइ’ सम्मका गीतले सम्बन्धित चलचित्रको महत्व बढाएका छन् ।संसारभरिका चलचित्र प्रवद्र्धनको तरिकाभन्दा दक्षिण एसियाली चलचित्र क्षेत्रको वैज्ञापनिक प्रयोग केही फरक छ । हाम्रो क्षेत्रमा गीतको प्रयोगले प्रवद्र्धन गर्नु आवश्यक मात्र नभई अनिवार्य झैँ मानिन्छ ।

त्यसमा पनि आइटम गीतको प्रयोग गरी प्रवद्र्धन गर्नुमा चलचित्रकर्मीहरूले धेरै फाइदा देखेका छन् । क्याब्रेबाट परिवर्तित भएका गीतहरूलाई मात्र आइटम भन्ने वा लोक नृत्य भएका, क्लबमा नृत्य गरिने, डिस्को नृत्य गरिने, आदिलाई पनि आइटमकै वर्गमा राख्ने भन्ने विषयमा हालसम्म कुनै ठोस निर्णय भएको पाइँदैन । छिट्टै जनजिब्रोमा झुण्डिने, हेर्नमा आकर्षक र याद रहने तथा दर्शकहरूलाई सोही गीत हेर्नका लागि चलचित्रघरसम्म तान्ने काम आइटम गीतहरूले गर्ने गरेका छन् । यसका साथै नर्तकी वा अभिनेत्रीको नामलाई चलचित्र वृत्तमा कायम गर्नमा पनि यस्ता गीतले मद्दत पुर्‍याउँछन् ।

 

 

प्रतिकृया दिनुहोस