MENU

चौथो अंग

635x90

फोटोपत्रकारिता : प्रविधिसँगै अवसर

अशोक दुलाल बुधवार, कार्तिक २२, २०७४

२०३१ सालमा नेपालको जेठो समाचारमूलक पत्रिका गोरखापत्र दैनिकमा फोटोग्राफर विन्दुराजसिंह सुवालको नेतृत्वमा ब्लक युनिट बनाइयो । यो युनिटको काम थियो, पत्रिकामा प्रकाशित हुने ‘फोटो ब्लक’ बनाउने । पत्रिकामा फोटो छाप्न ब्लक क्यामेराले तस्बिरको फेरि तस्बिर खिचिन्थ्यो । पत्रिका लेटर प्रेसमा छापिन्थ्यो । यस प्रविधिमा एकएक अक्षर जोडेर पत्रिकाको प्लेट तयार पारिन्थ्यो । तस्बिर छाप्न छुट्टै ब्लक बनाउनुपथ्र्यो । यसरी प्रकाशित हुने फोटो स्पष्ट हुँदैनथ्यो । मसी लतपतिएर फोटोमा काला दागै दाग हुन्थे । कतिसम्म भने, नाक, मुख र अनुहार चिनिने फोटो आयो भने फोटो पत्रकार खुशी हुन्थे, गोरखापत्र संस्थानका तत्कालीन फोटो पत्रकार गोपाल चित्रकारले दुःखेसो पोख्दै विगत सम्झे, ‘हामीले खिचेका तस्बिर कहिल्यै राम्रो छापिएन ।’

नेपालमै पहिलो पटक पत्रिकामा फोटो प्रकाशित गर्ने गोरखापत्रले फोटोग्राफी प्रविधिमा खासै लगानी गरेको थिएन । एउटा ‘ह्याजल ब्लेड क्यामेरा’ भने किनेको चित्रकारले अनुभव सुनाए । उतिवेला क्यामेरा चलाउन जोकोहीले सक्दैनथ्यो । क्यामेराको अपार्चर, सटरस्पिड मात्रै होइन, रिलको आशासमेत हेक्का हुनुपथ्र्यो । खिच्न नजाने तस्बिरै आउँदैनथ्यो । कुनै पूरै कालो, कुनै सेतो तर तस्बिर खिच्नेको मान र शान दुवै थियो । चित्रकार स्मरण गर्छन्, ‘अझ अखबारका लागि फोटो खिच्ने फोटो पत्रकारको छुट्टै ‘ग्ल्यामर’ थियो । राम्रो तस्बिर छापिएको दिन पाठकले दिएको प्रतिक्रियाले फोटो पत्रकार आश्चार्यचकित हुँदै उत्सुकताले फुरुंग हुन्थे ।’

अर्का फोटो पत्रकार विकास रौनियारको अनुभव भने अलि फरक छ । त्यस वेला रिल जोगाउनुपर्ने हुँदा धेरै तस्बिर खिच्ने अवसर थिएन । त्यसैले सजक भएर आजको डिजिटल तस्बिरभन्दा त्यस वेला झनै राम्रो खिचेको उनको तर्क छ । भन्छन्, ‘तर हामीसँग धेरै चुनौती थियो । तस्बिर धुलाउँदा बिग्रेर हैरानी खेप्नुपथ्र्यो ।’

gopal-chitrakar न्युज रुममा सिर्जनात्मक काम गर्ने फोटो पत्रकारहरूको भविष्य सुरक्षित छ। फोटोग्राफीको प्राविधिक चुनौती समयको गतिसँगै अघि नबढ्ने हो भने अब पछि परिन्छ।गोपाल चित्रकार फोटोपत्रकार

‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर छाप्ने काम सजिलो थिएन । पत्रिकाको अफिसमा ‘डार्क रुम’ हुन्थे । फोटो खिचेपछि त्यसलाई डार्क रुममा रिल धुने अनि फोटो छपाइ गर्ने सबै काम फोटो पत्रकारकै हुन्थ्यो । फोटो पेपर र केमिकललाई अँध्यारो कोठामा खेलाउन जान्ने मान्छे मात्रै अखबारको फोटो पत्रकारमा नियुक्त हुन योग्य ठहरिन्थ्यो । जुन कुरा अहिले कसैले गर्दैन । आज फोटोग्राफी कुनै गाह्रो काम भएको छैन । मात्रै औंला चलाए पुग्छ । क्यामेराको स्क्रिनमा टुप्लुक्क तस्बिर आइपुग्छ ।

२०३१ सालको कुरा हो । राजा वीरेन्द्रको राज्यभिषेक थियो । त्यसवेला विदेशी फोटो पत्रकार लामा लामा लेन्स बोकेर काठमाडौं आए । विदेशी फोटो पत्रकारहरूले मोटर ड्राइभ लगाएर एकै पटक धेरै तस्बिर खिच्थे । ०३१ सालमा भर्खरै गोरखापत्रमा जागिरे भएका गोपाल चित्रकार उत्साहित थिए । उनी दुई वटा क्यामेरा भिरेर दर्गुर्थे । चित्रकारले गोरखापत्रको सानो ‘यासिका म्याक’ भन्ने बक्स क्यामेरा बोक्थे । उनीसँग दाजुले दिएको छोटो लेन्स राखिएको ३५ एमएम रिल लाग्ने पेन्टाक्स कम्पनीको फास्ट क्यामेरा थियो । रिल राखेर फोटो खिच्ने त्यो जमानामा विदेशी फोटो पत्रकारहरू मोटर लगाएर ३६ वटा रिल एकै पटक सक्थे । फोटोग्राफी त नेपाली फोटो पत्रकारलार्ई मात्रै महँगो थियो ।

२०३५/०३६ सालतिर नेपालबाट एएफपीका लागि देवेन्द्रमान प्रधान, एपीका लागि विनोद श्रेष्ठ र रोयटर्सका लागि गोपाल चित्रकार काम गर्थे । अन्तर्राष्ट्रिय समाचार संस्थाका लागि काम गर्दा त झनै सास्ती खेप्नुपथ्र्यो । जस्तो पायो त्यस्तो तस्बिर छापिने कुनै गुञ्जायस थिएन ।विभिन्न देशमा रहेको समाचार संस्थाको कार्यालयमा फोटो पठाउन डार्क रुममा ८–१० इन्चको ब्ल्याक एन्ड ह्वाइटको फोटो छापेर दूरसञ्चार कार्यालय पुग्नुपथ्र्यो । त्यहाँका इन्जिनियरले स्क्यान गरेर रेडियो सिग्नलबाट फोटो पठाइदिन्थे । फोटो पठाएकै दुई हजार रुपैयाँ जति पथ्र्यो ।

camera2

१/२० बक्स क्यामरा

फोटो पठाउने प्रविधि पनि साह्रै झण्झटिलो थियो । रेडियो सिग्नल राम्रो नहुँदा कहिलेकाहीँ धेरै समय लाग्ने । वेलामा समाचार संस्थाको मुख्यालयमा तस्बिर नपुग्दा दोहोेरो खर्चसमेत हुन्थ्यो । संस्थानले ‘सयपत्री’ नामको म्यागेजिन निकाल्थ्यो । रंगीन प्रविधिसँगै अर्को टन्टा थपियो । रंगीन पत्रिका छाप्नका लागि सीएमआईके चार रंग छुट्याएर चारै वटा प्लेट बनाउनुपथ्र्यो । त्यसका लागि कलर सेप्रेसन गर्न बैँकक वा दिल्ली पठाइन्थ्यो । सयपत्री पत्रिकामा चौधरी ग्रुपका वसन्त चौधरीको पतिपत्नीको तस्बिर छापिएको थियो । त्यसताका पाठकलाई फोटो पत्रकारिता के हो पत्रिकाले कस्तो तस्बिर छाप्नुपर्छ भन्ने सामान्य ज्ञानसमेत थिएन । धेरै पाठकले व्यापारीको फोटो छापेको भनेर खिल्लीसमेत उडाए ।

डिजिटल युगमा प्रवेशपछि एनालग प्रविधि पनि झण्झटिलो भयोे । तस्बिर खिच्ने फोटो पत्रकारहरू सधैं ल्याबमा बरालिनुपथ्र्यो । समाचार संस्थाले फोटो पत्रकारको तलबभन्दा कलर ल्याबमा बिल तिर्नुपथ्र्यो । एनालग प्रविधिताका सधैं रिल किन्नैपर्ने बाध्यता हुन्थ्यो । ३६ वटा तस्बिर अट्ने रिल जोगाइजोगाइ तस्बिर खिच्नुपथ्यो । रंगीन तस्बिर छाप्न फोटो पत्रकारहरू कलर ल्याबतिर लामो समय टहलिनुपर्ने पनि बाध्यता थियो । तस्बिर छापिँदा कुनै तस्बिर ज्यादै कालो छापिन्थे त कुनै धेरै सेता, फुङ्ग रंग उडेको । कति तस्बिर छाप्दाछाप्दै लाइट पास भएर तस्बिरै आउँदैनथ्योे ।

फोटो पत्रकारले समाचारको महत्व बुझेर केही फरक र कलात्मक सामग्री तयार गर्ने चुनौती र फोटो पत्रकारिताको महत्व बढाउने अवसर दुवै छ ।’

रंगीन तस्बिर छापिन थालेपछि नेपाली पत्रकारितामा चुनौती मात्रै थिएन, नयाँ–नयाँ अवसरका ढोका पनि खुले । फोटो पत्रकार चन्द्रशेखर कार्की भन्छन्, ‘पत्रिकामा ठूला रंगीन तस्बिर छापिन थालेपछि पत्रपत्रिकाको बिक्री बढ्यो भने विज्ञापन पनि बढ्यो । फोटो पत्रकारहरूले जागिर पाए ।’त्यसबखत प्रविधिले धोका दिएर तस्बिर बिग्रिँदा अखबारलाई चुनौती दिएकोे धेरै घटना चित्रकार सम्झन्छन् । भन्छन्, ‘दरबारका अँध्यारो कोठामा फ्ल्यास नबल्दा तस्बिर बिग्रन्थ्यो । एक्स्पोजर बिग्रने र डार्क रुममा लाइटपास हुने धेरै घटना भए । यस्तो वेला हामी तस्बिर मागेर काम चलाउँथ्यौँ ।’पहिले १२ वटा रिल लाग्ने ठूलो खाले बक्स १/२० क्यामेरा चलाउनुपथ्र्यो । ३५ मिलिमिटरका द्रुत गतिका क्यामेरा थिएनन् । पछि मात्रै कार्यक्षेत्रमा काम गर्न सजिलो हुने स–साना एसएलआर बजारमा आए । तर, डिजिटल फोटोग्राफीको शुरुसँगै रिल प्रविधिमा आधारित क्यामेरा भने थन्किए ।

फिल्म (रिल) किन्ने बाध्यता हट्यो । रिल धुने र फोटो छाप्ने झण्झट व्यर्होनुपरेन तर मोटो रकम खर्चेर अर्को क्यामेरा किन्नुपर्ने बाध्यता भने थपियो । निकोन एफएम १० दराजमा राखेर फोटो पत्रकार राजेन्द्र चित्रकारले ७० हजार खर्चेर डिजिटल क्यामेरा डी ७० किने । मोटो रकम खर्चेका राजेन्द्रले रिल क्यामेरा सम्झिँदै भने, ‘रिल क्यामेरा दराजमै छ । न त्यसको लेन्स काम लाग्यो, न त बडी नै । अहिले डिजिटल लेन्सहरू टेली, वाइड र प्राइम लेन्स किन्न अरू पैसा खर्चिनुपरेको छ ।’

डिजिटल युगमा प्रवेश गरेपछि फोटोग्राफीको परिभाषा नै बदलिएको छ । प्रविधि यति अघि बढ्यो कि २–४ वर्षअघि किनेको डिजिटल क्यामेरा आज काम नलाग्ने भइसक्यो । आजकल वाइफाई नचल्ने क्यामेरा पाउन मुस्किल छ । वाइफाईजडित क्यामेराले खिचेको तस्बिर क्षणभरमै इन्टरनेटबाट समाचारकक्षमा पुर्‍याउन सम्भव भइसकेको छ । खिचेको केही मिनेटमै अनलाइन मिडियामा तस्बिर छाप्न यस्ता क्यामेरा वरदान सावित भएको तर्क गर्छन्, फोटो पत्रकार क्लबका महासचिव श्रीधर पौडेल ।

3

डार्क रुपमा प्रयाेग हुने मेसिन

विश्व बजारमा भर्खर प्रवेश गरेको गोप्रो कम्पनीले बजारमा ल्याएको फुल वाइड क्यामेरा होस् या अन्य कम्पनीले मोबाइलमा जुम जोड्न मिल्नेगरी ल्याएका लेन्सहरू नै किन नहुन् । विकसित प्रविधिका कारण फोटो पत्रकारलाई जुनसुकै स्थानमा साना क्यामेरा लिएर कार्यस्थलमा पुग्न सक्ने सुविधा छ । आजकल राम्रो तस्बिर खिच्न ठूला क्यामेरा र लामा लेन्स बोक्नुपर्ने अवस्था नरहेको बताउँछन्, सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की । भन्छन्, ‘फोटो पत्रकारको गोजीमै अट्ने साना र राम्रा क्यामेरा बजारमा जहाँतहीँ पाइन्छ ।’

नेपाली फोटो पत्रकारितालाई कलात्मक र परिष्कृत बनाउँदै सिर्जनात्मक बाटोमा डोर्‍याउनुपर्ने तर्क गर्छन्, चित्रकार । भन्छन्, ‘न्युज रुममा सिर्जनात्मक काम गर्ने फोटो पत्रकारहरूको भविष्य सुरक्षित छ । फोटोग्राफीको प्राविधिक चुनौती समयको गतिसँगै अघि नबढ्ने हो भने अब पछि परिन्छ ।’ कार्कीले भनेजस्तै अनलाइन फोटो पत्रकारले लेख्न, तस्बिर खिच्न मात्रै होइन, भिडियो खिच्न पनि सिकेर ‘वान म्यान जर्नालिज्म’ गर्नुपर्ने समय आइसक्यो । भन्छन्, ‘फोटो खिच्नु भनेको टीभी खोल्नु, मोबाइल चलाउनुजस्तो सजिलो काम भइसक्यो । फोटो पत्रकारले समाचारको महत्व बुझेर केही फरक र कलात्मक सामग्री तयार गर्ने चुनौती र फोटो पत्रकारिताको महत्व बढाउने अवसर दुवै छ ।’

 

 

प्रतिकृया दिनुहोस