MENU

चौथो अंग

635x90

राम्रो पत्रकारिता गर्ने हो ?

उज्ज्वल प्रसाईं बुधवार, कार्तिक २२, २०७४

समाजसँग संवाद नगरी पत्रकारिता सम्भव छैन । त्यसो गर्ने सामान्य तरिकाहरू छन्, दैनन्दिनका घटनाहरूबारे चासो राख्ने, तिनका अन्तर्यमा सुचारु प्रक्रियाहरू बुझ्न खोज्ने, घटनाहरूको प्रत्यक्ष अवलोकन गर्ने, आफैं संलग्न भएर घटनाहरूका भोक्ता बन्ने । सूचनाका स्रोतहरूसँग सदैव सम्पर्कमा रहने पत्रकारको दैनिक कर्म हो । यी सबै कामका साथमा पुस्तक वा अन्य ‘रेकर्डेड टेक्स्ट’हरूको निरन्तर र गहिरो अध्ययन भएन भने सिंगो उद्यमले क्षणिक तुष्टि, थोरै तिनो आर्थिक उपार्जन, र केही दिनको हल्लाखल्ला निर्माण गर्न सके पनि त्यस्तो छिपछिपे कामले न दिगो आत्मसन्तुष्टि दिन सक्छ, न समाजसँगको संवादलाई घनीभूत बनाउन सक्छ । सञ्चार उद्यममा लागेकाहरूलाई त्यसकारण साहित्य र समाजविज्ञानका आधारभूत ज्ञान र सोसम्बन्धी निरन्तर अध्ययनको खाँचो पर्छ ।

भाषा–अभ्यास र साहित्य अध्ययन

सञ्चारक्षेत्रका मानिस नेपाली साहित्य कत्तिको पढ्छन् ? यसबारे ठोस तथ्यांक फेला परेको छैन । तर यसै अनुमान लगाउन सकिने सत्य के हो भने, विद्यालय र कलेजस्तरमा पढेका बाहेक अन्य साहित्यको उति ठूलो अध्ययन गरेजस्तो लाग्दैन । पछिल्लो समय बजारमा साहित्यको चर्चा चुलिए पनि, पत्रपत्रिकाहरूले साहित्यिक कार्यक्रम, विमोचन, र साहित्यिक कृतिबारे निरन्तर समाचार छापे पनि सञ्चारकर्मीहरूको साहित्यिक अध्ययन गहिरो छ भन्नेमा प्रशस्त सन्देह गर्ने ठाउँ छ ।

पत्रकारितामा प्रयोग हुने भाषामा सिर्जनात्मक प्रयोग नदेखिनु र सबै पत्रिकाले उस्तै लेखनका उस्तै सूत्र पछ्याउनुको कारण साहित्य अध्ययनप्रतिको उदासीनता होला भन्ने अनुमान गर्न सकिन्छ । सबै पत्रिकाका राजनीतिक समाचार उस्तै देखिनु, खेलकुद समाचारको भाषामा कुनै नयाँपन नदेखिनु, आर्थिक समाचारका ढर्रा सबैतिर दुरुस्त हुनुको कारण के त ? सम्भवतः भाषाको सिर्जनात्मक प्रयोगका लागि चाहिने शिल्पको कमी नै हो । यसो भन्दै गर्दा, खास कुनै पनि क्षेत्रका प्रयोग गर्नैपर्ने एक रूप जार्गनहरू प्रयोग गर्नु हुँदैन भन्ने होइन । त्यसो त एउटा सग्लो समाचार सामग्रीमा हुनुपर्ने सबै सूचना र गुण पनि हुनै पर्‍यो तर समाचारको सम्प्रेषणीयताका लागि प्रस्तुतीका नयाँ शैलीहरू खोज्न जरुरी छ । त्यसो गर्न तब मात्रै सम्भव हुन्छ जब संवाददाता र सम्पादकहरूसँग भाषा प्रयोग र साहित्यको प्रचुर ज्ञान हुन्छ ।

जुनसुकै माध्यम अपनाएर सञ्चारकर्म गरे पनि, लेख्ने शिल्प माझ्न अत्यावश्यक छ । नेपाली भाषा कसरी शुद्ध लेख्नेबारे धेरै विवाद छन् । तर यहाँ शुद्धताको मात्रै सवाल उठाउन खोजिएको होइन । भाषाको शिल्प भनेको व्याकरण शुद्ध बनाउने वा हिज्जे सुधार्नेमा मात्रै सीमित छैन । बरु लेख्य सामग्री कत्तिको सम्प्रेषणीय बनेको छ भन्ने मुख्य सवाल हो । यद्यपि व्याकरणीक शुद्धता र सही हिज्जेको महŒव कम छैन । शिल्प नै त्यो औजार हो जसले पाठकका मन–मस्तिष्कलाई स्पर्श गर्न सक्छ ।

यथेष्ट सूचना बटुल्न सक्ने र ती सूचनाको सत्यता परख्न सक्ने क्षमता मुख्य हो । तर तिनै सूचनालाई खास सिलसिलामा राखेर उचित भाषामा माझिएको शिल्पसहित प्रस्तुत गर्न सकिएन भने, सम्प्रेषण कमजोर हुन्छ । अर्थात्, सम्प्रेषण गर्न खोजिएको सूचना र पाठकमा उत्पन्न गराउन चाहेका प्रभाव बलियो हुँदैन । सूचना बटुल्न र तिनको विश्वसनीयता पुष्टि गर्न खर्च गरिएको श्रमबराबरको न सन्तुष्टि पाइन्छ, न त्यति श्रम गरेर समाजसँग गहिरो संवाद नै गर्न सकिन्छ ।

नेपाली पत्रकारिताको पढाइमा समाचार वा फिचर लेख्ने खास फर्मा वा सूत्रलाई ठूलो महत्व‍ दिएको देखिन्छ । समाचारको ‘लिड’ खास तरिकाले निर्माण गर्नुपर्छ भनेर पत्रकारिताका गुरुहरूले ठूलो मिहिनेतका साथ सिकाउने गरेका छन् । त्यसो गर्नु आफैमा गलत होइन । तर लिड लेखाइलाई कुनै एक वा दुई सूत्रमा कैद गर्दा, पत्रकारहरूले भाषाको सिर्जनात्मक प्रयोग गरेर समाचारलाई बढी सम्प्रेषणीय बनाउने अभ्यास गर्न पाउँदैनन् । त्यति मात्रै होइन, केही सूत्र कण्ठस्थ बनाएर त्यसैलाई हरेक दिन लेखिने समाचार वा फिचरमा दोहोर्‍याइरहँदा शिल्प उध्याउने काममा पत्रकारहरू उदासीन बन्न थाल्छन् ।

नयाँ तरिका अपनाउने जोखिम उठाउने झण्झट पनि गर्न छोड्छन् । भाषाको सिर्जनात्मक प्रयोग गर्न रुचाउने शिल्पी संवाददाताले केही प्रयोग गर्न खोज्दा, उसका सामग्री सम्पादन गर्ने मान्छेमा त्यस्तो सिर्जनात्मकताप्रति चासो नभए राम्रो सम्पादन नहुने खतरा हुन्छ । एक ढंगले लेखेर पठाएको सामग्री उही पुरानै सूत्रबद्ध फर्मामा कैद भएर फर्कने गरेको संवाददाताहरूको गुनासो पनि नसुनिएको होइन । यसो हुनुको मुख्य कारण नै पत्रकारिताको प्रशिक्षणमा सिर्जनात्मकताभन्दा बढी सूत्रको रटानलाई प्राथमिकतामा राखिनु हो ।

साहित्यको अध्ययन भाषा माझ्न मात्रै प्रयोग गरिँदैन । समाजका जटिलताहरू परख्न, तिनले मान्छेका अघिल्तिर तेर्‍स्याउने चुनौतीहरू बुझ्न, नागरिकका मनोविज्ञान खोतल्न, साथै राज्य र समाजका सम्बन्धका आरोह–अवरोह अध्ययन गर्न पनि सघाउँछ । उदाहरणका लागि पञ्चायत व्यवस्थाले गरेको सामाजिक र राजनीतिक इन्जिनियरिङ बुझ्न त्यो समयलाई विषय बनाएर लेखिएका उपन्यास, कथा, कविताहरू कतिपय सन्दर्भमा अन्य गैरसाहित्यिक लेखनभन्दा बढी उपयोगी हुन सक्छ । वा एउटा खास समयमा जीविकोपार्जनका लागि आफ्ना थातथलो छोडेर हिँडेका नेपालीभाषी कामदारहरूका दुःख बुझ्न त्यस्ता पात्रहरूबारे लेखिएका मुग्लान वा शरणार्थी जस्ता उपन्यासहरूले सहयोग गर्न सक्छन् । जेलमा वर्षौं थुनिएका कैदीका कथा भनौं वा कुलीन परिवारहरूमा महिलाले भोग्ने कहर, यी विषयबारे राम्रो अध्ययन गर्न साहित्यिक कृतिहरू नै बढी सहयोगी हुन सक्छन् । त्यस्ता कृति अध्ययन नगर्दा यी विषय नबुझिने होइनन्, तर अनुभूतिको तीव्रता महसुस गर्न र विषयको जटिलता सहज हुन्छ ।

प्राज्ञिक अध्ययन नहुँदाका खतरा

एउटा सामान्य उदाहरण दिएर यो विषयको चर्चा गर्नु उपयुक्त हुन्छ । मधेशमा धेरै पटक आन्दोलन भएपछि काठमाडौंबाट सञ्चालन गरिने सञ्चारमाध्यममा मधेशसम्बन्धी रिपोर्टिङमा केही वृद्धि भएको छ । मधेशीले गरेका आन्दोलन, उनीहरूको दैनिक समस्या, उनीहरूले व्यहोरेका मनोवैज्ञानिक कहर, र उनीहरूका दैनिकीबारे छिटफुट भए पनि समाचार र अन्य सामग्री छापिन र प्रसारण हुन थाल्नु नेपाली पत्रकारिताका लागि सुखद् घटना हुन् । तर जस्ता सामग्री प्रकाशन वा प्रसारण भइरहेका छन्, के तिनले सही चित्र उतारिरहेका छन् वा पुरानै काठमाडौंकेन्द्रित बुझाइबाट निःसृत आम मधेशीले सहजै नपचाउने चित्र मात्रै प्रस्तुत गरिरहेका छन् ?

काठमाडौंबाट मधेशबारे गरिएका रिपोर्टिङको विषद र सम्यक अध्ययन हुन बाँकी छ । केही अध्ययन भइरहेका हुन सक्छन् । तर पत्रिका र टीभी आएका सामग्रीको सामान्य अवलोकनबाट सहजै बुझिने कुरा के हो भने, मधेशसम्बन्धी काम गर्ने अपवादबाहेकका पत्रकारहरूमा मधेशबारेको बुझाइमा समस्या छ । त्यसो त गैरमधेशी हुनु नै कहिलेकाहीँ एकखाले जटिलता झेल्नु हो । तथापि मधेशी भएकै कारण मात्र मधेशबारे उचित रिपोर्टिङ गर्न सकिन्छ भनेर दाबी गर्नु बेतुक हुन्छ । जसले गरे पनि, मधेशबारे गरिएका केही महत्‍वपूर्ण प्राज्ञिक प्रकाशन गहिरिएर पढेको छ भने मधेशलाई हेर्ने पुरानो र काम नलाग्ने दृष्टिकोण फेर्न सकिन्छ । साथै, मधेश पुगेर ल्याएका सूचना, अन्तर्वार्ता र गरिएका अवलोकनहरूलाई मधेश र राज्यको जटिल सम्बन्धको कसीमा राखेर बुझ्न र व्याख्या गर्न सहज हुन्छ । मधेश नै पुगेर बटुलेका सूचनालाई ऐतिहासिकतामा राखेर विश्लेषण गर्न पनि त्यस्तो अध्ययनले सघाउँछ ।

यस्तो अध्ययनको अल्पताका कारण सञ्चारकर्मीहरूले कहिलेकाहीँ नचाहेर पनि सिंगो समुदायलाई अन्याय हुने हदमा समस्याग्रस्त कथ्यहरूको निर्माण गरिरहेका हुन्छन् । प्रभावशाली सञ्चारमाध्यमबाट फैलिने यस्ता समस्याग्रस्त कथ्यहरूले मधेशीहरूलाई त समस्यामा पार्छ नै, मधेशइतर समाजमा पनि एउटा सिंगो समुदायबारे ठूला विभ्रमहरू खडा गर्छन् ।

अर्को समुदायलाई हेर्ने दृष्टिकोण नै धमिल्याउने हदमा निर्माण गरिने त्यस्ता कथ्यहरूले समाजमा विग्रह ल्याउन पनि मद्दत गरेको हुन्छ । जानीबुझी गरिएका त्यस्ता कामलाई त प्राज्ञिक अध्ययनले समेत नसच्याउला तर पुराना मान्यताबाट ग्रसित र अद्यावधिक नगरिएका बुझाइबाट वशीभूत बुझाइलाई परिवर्तन गर्न भने अध्ययनले सघाउँछ ।

यसो भन्दै गर्दा अर्को एउटा सत्य यहाँ उल्लेख गर्न जरुरी हुन्छ । प्राज्ञिक अध्ययनहरू आफैंमा कुनै ‘बायस’ नभएका वा कुनै खास विश्वदृष्टिकोणबाट अप्रभावित रहेका भने हुँदैनन् । त्यसो त प्राज्ञिक अध्ययनका नाममा प्रोपागान्डाहरू पनि छापिएका हुन सक्छन् । तर सामान्य प्राज्ञिक अनुशासन मानेर तथा स्थापित केही नियम नमिचेर इमानदारीपूर्वक गरिएका प्राज्ञिक अध्ययन अनुसन्धानहरू पत्ता लगाउन त्यति असहज हुँदैन । जिम्मेवार अनुसन्धान संस्थाबाट प्रकाशन गरिएका, विश्वसनीयता नगुमाएका अनुसन्धाताले गरेका कामहरू खोजेर पढ्न जरुरी छ ।

उल्लेखित मधेस मुद्दा त एउटा सामान्य उदाहरण मात्रै हो । यस्ता अनेकन् विषयमा गम्भीर अध्ययनहरू भएका हुन सक्छन्, तिनको खोजी गरेर अध्ययन गर्न नथाल्दा, जुनसुकै क्षेत्रमा काम गर्ने पत्रकारले पनि समाजसँग राम्रोसँग संवाद गर्न सक्दैनन् । नेपालमा अभ्यास गरिरहेका पत्रकारहरू सबै साहित्यिक र समाजवैज्ञानिक अध्ययनप्रति पूर्णतया उदासीन छन् भन्ने दाबी होइन ।

आलेखको उद्देश्य खोट मात्रै देखाउनु पनि होइन । तर हामीले गरिरहेका अभ्यासमा ठूला भ्वाङहरू छन् र तिनलाई सम्बोधन गर्ने एउटा सामान्य खुड्किलो यस्तो अध्ययन हुन सक्छ भन्ने मात्रै हो । समाजसँग घनीभूत संवाद गर्न सक्ने सचेत मान्छेले भाषाको सिर्जनात्मक प्रयोग गरेर लेख्न सक्यो भने, सिंगो समाजलाई फाइदा पुग्छ ।

 

प्रतिकृया दिनुहोस