MENU

चौथो अंग

635x90

मातृभाषा पत्रकारिता : धार्नी पुर्‍याउनै गाह्रो

कृष्णराज सर्वहारी मंगलवार, कार्तिक २१, २०७४
  • प्रतीक ङेसुर तामाङले २०६० जेठबाट तामाङ भाषामा छोर गोङमा (नयाँ पाइला) मासिक प्रकाशन शुरु गरे । वैशाख ०७४ सम्म एक अंक पनि नबिराई १४ वर्षको अवधिमा पत्रिका एक सय ५३ अंकसम्म प्रकाशित भयो । हाल ६ महिनादेखि पत्रिका स्थगित गरेका छन्, उनले । ‘समुदायले सहयोग गरेन, भावनामा बगेर पत्रकारिता नहुने रहेछ’ भन्ने ठहर गर्दै मातृभाषामा पुनः पत्रिका प्रकाशन गर्ने सोचमा छैनन्, उनी । पत्रिका बन्द गरेर हाल उनी राजधानी दैनिकको विचार पृष्ठमा संग्लग्न छन् ।
  • पदम राइले पनि आफ्नै वान्तावा राई भाषामा बुङवाखा (फूलबारी) मासिक प्रकाशन गर्न थालेको १४ वर्ष भयो । ०७४ कात्तिकको अंक एक सय ५२ पूर्णांकको रूपमा प्रकाशन गरेका उनी राम्रै जागिरको अफर आए पनि खाने मनिस्थितिमा छैनन् । भाषा विज्ञानमा एमए गरेका उनी शैक्षिक छात्रावृत्तिमा जान पाउँदा पनि जाने सोचमा छैनन् । कारण, उनी विदेशिए उनको पत्रिका बन्द हुन्छ । त्यो उनी कदापी चाँहदैनन् ।

प्रतीक र पदमले क्रमशः तामाङ र वान्तावा राई भाषाको पत्रकारिताको स्थिति कहेझैं अन्य मातृभाषामा पत्रकारिता गर्नेहरूको दुःखेसो पनि प्रायः एउटै छ । फरक यत्ति छ, यो अभियानमा प्रतीकझैं मैदान छाडेर भाग्नेहरूको संख्या भरमार छ । पदमझैं जागिर अनि पढाइलाई तिलाञ्जली दिन्छु तर आफ्नै भाषाको पत्रिका प्रकाशनमा दिलोज्यान दिन्छु भन्नेहरूको संख्या न्यून छ ।

चेतनाको स्तर

राइको अनुभवमा आफ्नो मातृभाषाको पत्रपत्रिकालाई फलाउनु फुलाउनुपर्छ भन्ने चेतना समुदायमा पलाएको छैन । उनी भन्छन्, ‘त्यसैले, राज्यलाई मात्रै गाली गरेर पुग्दैन । आखिर अन्य पत्रिकासरह मातृभाषाको पत्रिकालाई पनि प्रेस काउन्सिलले वर्गीकरणमा पारेकै छ ।’ पत्रिका वर्गीकरणमा परे पनि प्रकाशनमा भने चुनौतीका चाङ छन् । पत्रिकाको प्रकाशक भई लगानी गर्ने सम्पादक, आफैं डिजाइनर, हकर हुँदा पनि खर्च व्यवस्थापन गर्न गाह्रो छ ।

आफ्नै समुदायले पनि महत्तव नबुझिदिँदा मातृभाषामा पत्रकारिता गर्नेहरू निरास छन्।

राइको बुङवाखा मासिक काउन्सिलको ‘क’ वर्गमा वर्गीकृत छ । ‘क’ वर्गले पाउने सुविधा १७ हजार पाँच सय रुपैयाँमध्ये कर कट्टी गरेर १४ हजार पाँच सय हात पार्छन् । जबकि छपाइ मात्र २५ हजार रुपैयाँ मासिक खर्च हुन्छ । बाँकी साढे नौ हजारको विज्ञापन खोज्नै हम्मे पर्छ । राइ भन्छन्, ‘१० हजारको विज्ञापन छाप्यो, मुस्किलले दुई हजार हात पर्छ । नलिऊँ, त्यो पनि फुत्किन्छ । पत्रिकामा विज्ञापन त धेरै देखिन्छ । तर सहयोगी हातभन्दा झुलाउनेहरूकै बोलबाला हुन्छ ।’

पदम र प्रतीकले काठमाडौंबाट पत्रिका चलाउँछन् । त्यसैले आक्कल झुक्कल विज्ञापन फेला पार्छन् । तर मोफसलमा मातृभाषामा पत्रकारिता गर्नेहरूको पीडा अझ शिखरमा छ । छविलाल कोपिला दाङदेउखुरीको लमहीबाट थारू भाषामा लावा डग्गर (नयाँ बाटो) त्रैमासिक साहित्यिक प्रकाशन गर्छन् । असोज ०७४ सम्म लावा डग्गर ३१ अंक प्रकाशन भएको छ । पत्रिकाको उनी आफैं सम्पादक, प्रकाशक, डिजाइनर र हकर पनि हुन् । उनको पत्रिका पनि काउन्सिलको ‘क’ वर्गमा परेको छ तर छपाइ खर्च नै पुग्दैन । भन्छन्, ‘पत्रिका बन्द गरौँ, चौथो ठूलो जनसंंख्या भएको थारू समुदायको एकमात्र साहित्यिक पत्रिका वर्गीकरणमा परेको यही हो । भएको सुविधा पनि गुम्छ । बन्द नगरौँ, व्यवस्थापन खर्च जुटाउनै समस्या छ ।’

त्यसो त थारू भाषामा १४ वर्षदेखि कैलालीको धनगढीबाट पहुरा (कोसेली) दैनिक प्रकाशन हुन्छ । २९ चैत ०६० बाट प्रकाशित पहुरा साप्ताहिक, अद्र्ध साप्ताहिक हुँदै हाल दैनिक प्रकाशन भइरहेको छ । तर आफ्नो समुदायको बेवास्ताले पत्रिका व्यवस्थापन समूह निरास छ । यसका कार्यकारी सम्पादक प्रेम दहितको कथन छ, ‘थारूभन्दा गैरथारूले विज्ञापन दिएर सघाएका छन् । वार्षिक ग्राहक शुल्क उठाउन कडिकडाउ गर्दा बरु पत्रिका बन्द गर्दिनुस् भन्छन् ।’

चाँदीको घेरा

सूचना विभागमा १४ कार्तिक ०७४ सम्म सात हजार पाँच सय ४२ पत्रिका दर्ता भएको तथ्यांक छ । यसमा मातृभाषी पत्रिकाको दर्ता अवस्था हेर्दा नेवारी र मैथिली दुवैको संख्या ४६/४६ छ । थारू १४, तामाङ १०, भोजपुरी ८, लिम्बू ३, राई र शेर्पा २/२, मगर, वज्जिका र अवधी १/१ वटा पत्रिका दर्ता भएको देखिन्छ ।

padam मातृभाषाको सेवा गर्न पाउँदा आनन्द लाग्छ। होल टायमर भाषाको सेवा गर्न पाउँदा औधी खुशी महसुस हुन्छ। पदम राइ सम्पादक, बुङ्वाखा

समाजमा जागरण ल्याउन, चेतनाको दीयो बाल्न मातृभाषी पत्रिकाको अहम् भूमिका छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापनासँगै मातृभाषीहरूले आफ्नो समुदायको पत्रकारितालाई व्यवसायिकताको कसीमा ढालेका छन् । रंगीन कलेवरमा नियमित पत्रिका निकालिरहेका छन् । तर ती पत्रिका शुरुदेखि खान्की नपाएको बालकझैं कुपोषणले ग्रस्त छन् । प्रायः दशैंमा एकपटक वार्षिक रूपमा झुल्किने पत्रिका अर्काे दशैंमा निस्किन्छ, निस्किन्न टुंगो हुन्न ।

पदम राइ भन्छन्, ‘मातृभाषाको सेवा गर्न पाउँदा आनन्द लाग्छ । होल टायमर भाषाको सेवा गर्न पाउँदा औधी खुशी महसुस हुन्छ ।’ मातृभाषामा आनन्द मान्नेहरूले कालो बादलमा चाँदीको घेराको काम गरिरहेका छन् ।

वितरण प्रणाली

मातृभाषी पत्रिकामा विज्ञापनको अभाव छ । अधिकांश प्रकाशकहरूले सरकारी कार्यालयभन्दा पनि आफ्ना सुमदायका कर्मचारी, जनप्रतिनिधि आदिसँग नै शुभकामना विज्ञापन माग्न दौडिन्छन् । तिनीहरूबाट विज्ञापन छाप्ने इजाजत पाएर पनि रकम दिन आलटाल गरेपछि प्रकाशकहरूले विज्ञापन खोज्न अरूतिर पनि जाँगर चलाएको देखिँदैन ।

पत्रिका व्यावसायिक ढंगले जेनतेन निकालेर गाउँमा त पठाइन्छ तर रकम उठ्दैन । बजारमा मातृभाषी पत्रिका स्टेसनरी पसलमा झुण्ड्याएर बिक्दैन । कारण, बजारसम्म गएर पत्रिका पढ्ने पाठक छैनन् । व्यावसायिक ढंगले प्रकाशन गरिरहेका पत्रिकाको हविगत त्यस्तो छ भने सोखको रूपमा क्याम्पसबाट निकालिने पत्रिकाको हालत झन् कस्तो होला । पूर्वीथारू भाषामा छापिएका पत्रपत्रिका पश्चिमतिर तथा पश्चिमी थारू भाषामा प्रकाशित पत्रिका पूर्वतिर भाषा नबुझिने समस्याले पनि बिक्री वितरणमा समस्या छ । यही समस्या अन्य भाषीमा पनि छ ।

जनशक्ति

भाषाभाषी समुदायबाट दक्ष पत्रकारहरू भएको तर तिनीहरूलाई पारिश्रमिक दिएर राख्न सक्ने क्षमता ती भाषाभाषीका पत्रिकाका सम्पादक/प्रकाशकहरूको छैन । पत्रिकाकै आम्दानीबाट सम्पादक व्यवस्थापक पालिने अवस्था छैन । त्यसो नहुँदासम्म कुनै भाषाभाषीको पत्रिकाको पनि भविष्य उज्ज्वल छैन । तामाङ भाषामा ०३७ देखि ०५४ सालसम्म साप्ताहिक मासिक पत्रिकाको अनुभव सँगालेका अमृत योञ्जन जनजाति भाषाभाषीको पत्रिकालाई सरकारले उचित टेवा दिनुपर्ने विचार राख्छन्, ‘नेपाली भाषाको पत्रिकालाई अनेक सुविधा छ । तर १७ वर्ष मातृभाषाको पत्रकारिता गर्दा मैले कुनै सरकारी सहयोग पाउन सकिनँ ।’

prateek समुदायले सहयोग गरेन, भावनामा बगेर मातृभाषी पत्रकारिता नहुने रहेछ। प्रतीक तामाङ सम्पादक, छारगोङमा

सञ्चारकर्मी चुनबहादुर गुरुङ अध्ययनका क्रममा आफूले फेला पारेको तथ्यबारे भन्छन्, ‘आदिवासी जनजातिका केही जनशक्ति ठूला सञ्चारमाध्यममा कार्यरत छन् । उनीहरूलाई मूलधारको पत्रकारिता गर्दैमा फुर्सद छैन । आफ्नो मातृभाषाको पत्रकारिताबारे उनीहरूको कुनै सोच नै छैन ।’ उनका अनुसार भावनात्मक रूपले मातृभाषाको पत्रकारिता शुरु गर्नेहरूको दक्षताको अभाव छ । त्यसैले के/कस्तो सामग्री पस्किँदा पाठक, स्रोताहरूले रुचाउँछन्, त्यसको हेक्का छैन । समसामयिक होस÷नहोस्, जे पायो त्यही रचना पस्किने गरिएको छ । गुरुङ यथार्थ अगाडि सार्छन्, ‘केही निश्चित मिसनको लागि लहडको भरमा जनजातिहरूले पत्रिका प्रकाशन गरेको पाइयो । बिनायोजना व्यवासायिकता दिन खोज्दा सबैजसो पत्रिका बीचमै हराएका छन् ।’

आदिवासी जनजाति नेताहरूहरूलाई पनि मातृभाषाका पत्रपत्रिकाप्रति कुनै ध्यान छैन । उनीहरूलाई राष्ट्रियस्तरको पत्रिका भए पुग्छ । जबसम्म सोही समुदायका नेताहरूले यसबारे चासो दिँदैनन्, पत्रिकाको हालत सप्रिँदैन । प्रतीक तामाङ भन्छन्, ‘जनआन्दोलन ०६२/६३ तिर भाषाभाषीका पत्रिकालाई अगुवाहरूले केही हदसम्म सहयोग गरे । तर पछि पछि फलाना त त्यो पार्टी समर्थक हो, त्यसलाई किन सहयोग गर्ने भन्ने मानसिकता पलायो । यसले सहयोग हरायो ।’ गुरुङका अनुसार सरकारको सञ्चार नीतिमा आदिवासी जनजातिका पत्रपत्रिकालाई टेवा दिने कुनै प्रावधान बनेको छैन । जबकि अन्य देशमा पिछडिएको जनजातिको पत्रिकालाई सरकारी तहबाटै टेवा दिइएको छ ।

अधिकांश पत्रिकामा लगानीको स्थिति हेर्दा साथीहरूले चन्दा उठाएर पत्रिका निकाल्ने रहर मात्र पूरा गर्नाले पत्रिका दिगो भएको छैन । यसले उपयुक्त जनशक्तिसमेत तयार हुन सकेको छैन । जेनतेन चलिरहेका पत्रिकाले पनि आफ्नो पत्रिकाले समाजमा के कस्तो असर पारेको छ, प्रकाशक, सम्पादकहरूले पाठकको राय बुझ्ने, अन्तक्र्रिया गर्ने कार्यक्रम राख्नुपर्छ भन्ने हेक्का कहिल्यै गरेनन् । भाषाभाषीका पत्रपत्रिकाको सन्दर्भमा सबैभन्दा अहम् सवाल भनेको यसको नियमितता कसरी गर्न सकिन्छ भन्ने नै हो । मैथिली भाषाको प्रतिनिधित्व गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ रहेका धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘सरकारीलगायत मूलधारको सञ्चारमा मातृभाषाको स्थान, स्थानीय निकायमा कामकाजी भाषाको व्यवस्था, मातृभाषामा विद्यालय तहमा पढाइको व्यवस्था नभएसम्म मातृभाषाका पत्रपत्रिका उँभो लाग्ने छैन ।’

प्रतिकृया दिनुहोस