MENU

चौथो अंग

635x90

ब्लास्ट : पूर्वको लोकप्रिय पत्रिका

हिमाल दाहाल, इटहरी मंगलवार, कार्तिक २१, २०७४

२०४८ सालसम्म धरानमा केही साहित्यिक र राजनीतिक पत्रिका मात्र थिए । ती पनि नियमित व्यवसायिक थिएनन् । कसैलाई खुशी बनाउन समाचार लेखिन्थे । थोरै छापिन्थ्यो । राष्ट्रिय दैनिक गोरखापत्र जिल्लामा ढिलो पुग्थ्यो । पूर्वमा मिडियाको शून्य बजार रहेको वेला ‘ब्लास्ट’ले प्रकाशन आरम्भ ग¥यो । ‘न त मिडियाको बजार थियो, न त पाठकहरू नै,’ ‘ब्लास्ट’का सम्पादक किशोरकुमार कार्की सम्झन्छन् । अहिले त पूर्वमा दर्जनौं पत्रिका, एफएम र आधा दर्जन टेलिभिजन सञ्चालन भइसकेका छन् । मिडियाको व्यवसायिक गतिविधि पनि बाक्लिएको छ ।

‘ब्लास्ट’ प्रकाशन धरानको बीपी स्वास्थ्य प्रतिष्ठानसँग जोडिएको छ । त्यत्तिवेला धरानमा बेलायतले स्थापना गरेको घोपा क्याम्प थियो । क्याम्प बन्द भएपछि त्यो संरचना खण्डहरमा परिणत हुने भयो । अमेरिका बस्ने भारतीयहरूले एक हजार शैड्ढयाको मिसन कलेज चलाउने प्रस्ताव गरे । ‘तर त्यो कलेजलाई धरानमा ल्याउन सरकारले नै चाहेन,’ कार्कीले भने, ‘कलेज ल्याउने अभियान सशक्त बनाउन बुलेटिनको रूपमा ‘ब्लास्ट’ टाइम्स प्रकाशन गर्न शुरु गरियो ।’ ५० सालमा बीपी प्रतिष्ठान स्थापना गरेपछि मिसनका रूपमा शुरु गरिएको ‘ब्लास्ट’ साप्ताहिकको प्रकाशन पनि रोकियो । तर, कार्कीलाई भने पत्रकारिताको रस बसिसकेको थियो । उनले स्नातक तहको पढाइ पूरा गरेपछि व्यवसायिक तरिकाले चलाउने निधो गरे । र, जसमा जोडिए गोपाल देवान, आनन्द श्रेष्ठ र राजकुमार कार्की ।

२३ भदौ ०५२ सालमा कार्कीकै नाममा पत्रिका दर्ता भयो । र, १ असोजदेखि दुई सय प्रति पत्रिका प्रकाशित भयो । विज्ञापन र पाठकको समस्या थियो । विज्ञापन दिनुपर्छ भन्ने चेत व्यवसायीमा थिएन । सहयोग गर्नेभन्दा किन आँट गरेको भनेर हतोत्साही बनाउने धेरै थिए । पत्रिकाको खर्च जुटाउन गाह्रो थियो । बुवासँग मागेको पैसा र साथीभाइसँगका सरसापटले पत्रिका जेनतेन चलाएको कार्की सम्झन्छन् । शुरुमा ‘ब्लास्ट’को आफ्नै प्रेस थिएन । लेटरप्रेसमा काम हुन्थ्यो । पत्रिकाको सेटिङ गरेर छापिसक्दा बिहानको नौ बजे मात्र बजारमा जान्थ्यो । ०५४ सालमा पत्रिकाले पहिलो पटक आफ्नै लेटरप्रेस किन्यो । यो पनि पर्याप्त भएन । त्यसपछि टिको अफसेटबाट छाप्न थाल्योे । ‘चार पेज छाप्न चार पल्ट मेसिनमा छिराउनुपथ्र्यो, पाँच हजार प्रति छाप्न २८ हजार पटक मेसिनमा छिराउनुपथ्र्यो, पत्रिका नौ बजे मात्रै बजारमा पुग्ने भयो,’ उनले भने । आठ लाख रुपैयाँ ऋण लिएर मेसिन किनी ०५५ सालदेखि ट्याब्लोइड पत्रिका प्रकाशित भयो ।

ब्लास्ट पत्रिका पूर्वमा सबैभन्दा बढी प्रकाशित हुने र पढिने लोकप्रिय दैनिक हो। 

पत्रिकाले पनि गति लिन थाल्यो । दरबार हत्याकाण्ड र द्वन्द्वकालमा ‘ब्लास्ट’ ३५ हजार प्रति प्रकाशित भयो । अहिले ब्रोडसिटमा १६ हजार हाराहारीमा छापिन्छ । पत्रिका पूर्वमा सबैभन्दा बढी छापिने र पढिने स्थानीय पत्रिका हो । राजधानीबाहिरबाट छापिने कुनै पनि स्थानीय पत्रिका यति धेरै संख्यामा छापिएको र बिक्री भएको यो पहिलो अवसर भएको कार्कीको दाबी छ । भन्छन्, ‘कतिपय अवस्थामा त छापेको पत्रिकाले नपुगेर यसको फोटो कपीसमेत बिक्री हुन्थ्यो ।’

२०६० सालको हाराहारीमा विराटनगरबाट ‘नेपाल समाचारपत्र’ शुरु भयो । ‘त्यो वेभ मेसिनबाट प्रकाशित हुन्थ्यो । पछि कान्तिपुरको प्रेसर थपियो,’ उनले सम्झे । राष्ट्रिय ब्रोडसिट दैनिक जिल्लाबाटै प्रकाशित हुन थालेपछि ‘ब्लास्ट’लाई पनि ब्रोडसिट र रंगीनमा जान दबाब प¥यो । कार्कीले ०६५ सालमा ७० लाख रुपैयाँ खर्च गरेर वेभ मेसिन ल्याए ।

‘माग त धेरै छ, तर हामी धेरै छाप्न सक्दैनौँ,’ उनी भन्छन्, ‘तीन रुपैयाँमा बिक्री हुने पत्रिका प्रकाशित गर्न खर्च मात्रै ११ रुपैयाँ हुन्छ । १० हजार कपीमै हामीलाई दिनको ८० हजार रुपैयाँ बढी घाटा छ ।’ लेटर प्रेस, अफसेट हुँदै वेभ मेसिनमा रंगीन कलेवरमा प्रकाशित हुन थालेको यो ब्रोडसिट पत्रिकाले भारतबाट आउने ‘हिन्दूस्तान टाइम्स’, ‘नवभारत टाइम्स’ जस्ता जिल्लामा बढी पढिने पत्रिकालाई विस्थापित गरेको छ । जसमा अन्य स्थानीय पत्रिकाको पनि भूमिका उत्तिकै छ । मोफसलमै रंगीन कलेवरका पत्रिका प्रकाशित हुन थालेपछि बजार र पाठकबीच अस्वस्थ प्रतिस्पर्धा छ । नयाँ मिडियाले झनै चुनौती थपेको छ । उनी भन्छन्, ‘हामी पनि नयाँ शैलीमा जाँदैछौँ तर हाम्रो पत्रिका २०–२५ वर्ष अझै बजारमा जमाएर रहन्छ ।’

प्रतिकृया दिनुहोस