MENU

चौथो अंग

635x90

पञ्चायतसँग नझुकेको पत्रिका

गोपाल शर्मा भट्टराई, दाङ मंगलवार, कार्तिक २१, २०७४

दलविहीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध कुनै पनि गतिविधि सञ्चालन गर्नु सहज थिएन । प्रजातन्त्र पक्षधर पत्रिकालाई कतैबाट सहयोग हुँदैनथ्यो । नागरिकले स्वतन्त्र गतिविधि गर्नु पनि राम्रो मानिँदैनथ्यो । २०३३ साल असोजमा प्रजातन्त्रको पक्षमा आवाज बुलन्द पार्दै पश्चिम नेपालको दाङबाट ‘युगबोध’ पाक्षिक प्रकाशित भयो । पञ्चायतविरुद्ध त्यो आँट र साहस गर्ने पत्रकार थिए, नारायणप्रसाद शर्मा (गुरुजी) । पत्रिकाका संस्थापक गुरुजी ‘युगबोध’ यात्रालाई चुनौती र अवसर दुवै ठान्छन् ।

‘त्यतिवेला अखबार खोल्नु सहज थिएन । भएका अखबार सहजै पढ्न पाइँदैनथ्यो । पत्रिका प्रकाशित गर्नुमा चुनौती निकै थियो,’ भन्छन्, ‘मेरो रुचि, र समाजको पत्रपत्रिकाप्रतिको चासोलाई ध्यानमा राखेर युगबोध सञ्चालन गरेको हुँ ।’ पञ्चायतविरोधीको आरोपमा अञ्चलाधीशको ठाडो आदेशमा ०३९ सालमा पत्रिका बन्द गराइयो । छापाखाना पनि बन्द गरियो । विभिन्न नीतिगत अल्झनले ‘युगबोध’ नौ वर्ष बन्द भयो ।

४–५ हजार रुपैयाँको लगानीमा शुरु भएको युगबोधको लगानी करोड पुगेको छ। ३१ वर्षे ‘युगबोध’ पाक्षिक, साप्ताहिक हँुदै अहिले रंगीन कलेबरको ब्रोडसिट दैनिकमा रूपान्तरित भइसकेको छ।

‘युगबोध’ बन्द हुँदा गुरुजीले हरेश खाएनन् । पञ्चेहरूसँग पनि झुकेनन् । बरु, ‘युगचेतना’ नामक अर्काे पत्रिका प्रकाशन गरे । उनले ती दिन सम्झे, ‘राज्यले मलाई त कति दुःख दियो दियो । पत्रिका बन्द गराइयो । सल्यान र रोल्पा जिल्लामा धेरै तारिख धाइयो । तर, समाजले साथ दिएकाले पत्रकारिता र पत्रिकाको अभियानमा सफल भएँ ।’ राज्यको विपक्षमा रहेको पत्रिका टिकाउन धेरै चुनौती थियो । प्राविधिक रूपमा पनि पत्रिका प्रकाशित गर्न कठीन थियो । गुरुजी भन्छन, ‘चुनौतीलाई अवसरको रूपमा लियौँ र सफल भयौँ ।’ जतिवेला पत्रिका छाप्ने कागज, उपकरण, अन्य सामग्री जिल्लामा ल्याउन निकै कष्ट थियो । सबै सामान भारतबाट राँगा र घोडामा बोकाएर ल्याउनुपथ्र्यो, महिनौं लाग्थ्यो ।

सबैभन्दा ठूलो चुनौती पैसाको थियो । सामग्रीको उपलब्धता, बिजुली, फोन, इन्टरनेटको अभाव समस्या थिए । लेटरप्रेसमा एक–एक अक्षर कम्पोज गरेर पत्रिकाको पृष्ठ बनाउनुपथ्र्यो । आजको जस्तो सुन्दर लेआउट डिजाइन सम्भव हुँदैनथ्यो । पत्रिकामा फोटोको प्रयोगमा छुट्टै ‘ब्लक’ बनाउनुपथ्र्यो । स्रोत साधनको अभावमा पत्रिका शुरु गर्नु उत्तिकै कठीन कार्य भएको गुरुजी सम्झन्छन् । उनी अहिलेको सुविधासम्पन्न पत्रकारितालाई त ‘स्वर्णिम युग’ भन्न रुचाउँछन् ।

16-

स्थापनाकालदेखि ०६५ सालसम्म ‘युगबोध’मा सक्रिय गुरुजी प्रेस काउन्सिल नेपालको अध्यक्ष भएपछि ०६५ सालदेखि सक्रिय पत्रकारितामा छैनन् । उनको बिंडो माइलो छोरा प्रताप रेग्मीले धानेका छन् । ०५५ सालदेखि दैनिक भएको पत्रिका शाहीकालमा सेनाले एक महिना बन्द गरायो । त्यत्तिवेला पत्रिका प्रकाशनका लागि ठिक्क पारिएका प्लेटहरू फलेरको सम्पादक प्रताप रेग्मी कहिल्यै बिर्सदैनन् । भन्छन, ‘पञ्चायतमा त राज्यले दुःख दियो दियो, बहुदल आउँदा पनि एक महिना पत्रिका बन्द गरायो । तर पुनरावेदन अदालत तुलसीपुरको अन्तरिम आदेशले पत्रिका बन्द गर्ने प्रयासलाई हटाइथियो ।’

तीन दशक लामो यात्रामा पत्रकारितामा धेरै परिवर्तन भएको छ । पत्रकारिताको शैली, विषय, अवस्था, लगानी, उद्देश्य फरक भएको छ । तर पनि आफ्नो पत्रिकामा केही अझै सुधार गर्नुपर्ने देख्छन्, रेग्मी । ४–५ हजारको लगानीमा अक्षर जोडेर प्रकाशन थालिएको ३१ वर्षे ‘युगबोध’ पाक्षिक, साप्ताहिक हँुदै अहिले रंगीन कलेबरको ‘ब्रोडसिट’ दैनिकमा रूपान्तरित भइसकेको छ । उपकरण र व्यवस्थापनमा मात्रै तीन करोड लगानी भएको रेग्मीले प्रस्ट पारे । मध्यपश्चिमका अधिकांश जिल्लामा पुग्छ, यो पत्रिका । प्रेस काउन्सिलले यो पत्रिकालाई राष्ट्रिय ‘क’ वर्गमा वर्गीकरणसमेत गरेको छ । ८७ वर्षे तन्नेरी गुरुजी अझै पनि समाचार संकलन गर्छन् । भलै पत्रकारिता क्षेत्रको कामप्रति उनी सन्तुष्ट छैनन् । ‘पत्रकारितामा मिहिनेत कम हुन थाल्यो । सुविधा छ तर गलत प्रयोग हुन थालेको छ,’ उनले सुझाव छ, ‘मिडियाको स्तर वृद्धि गर्न साना सञ्चार संस्थाहरू एकीकरण हुनुपर्छ ।’

 

 

प्रतिकृया दिनुहोस