MENU

चौथो अंग

635x90

म्यागेजिन र नयाँ पुस्ता

राजेन्‍द्र दाहाल आइतवार, कार्तिक १९, २०७४

म्यागेजिन र अखबारमा केही भिन्नताहरू छन् । अखबारले सूचना दिन्छ । म्यागेजिनले त्यो सूचना केलाइदिनुपर्छ । सूचना कसरी आयो ? र कति भरपर्दो हो ? त्यसले पाठकको जीवनमा के असर पार्छ ? त्यो अथ्र्याउने काम म्यागेजिन पत्रकारिताले गर्छ । म्यागेजिनमा अहिले खासै राम्रो ट्रेन्ड देखिएको छैन । मैले म्यागेजिन शुरु गर्ने वेला पाठकलाई दिने कुरा अर्कै दुनियाँबाट ल्याएर दिने होइन । यही समाजमा भएको कुरा दिने हो भनेर सोच्थेँ ।

२० वर्ष अगाडि जुन स्तम्भहरू राखेर म्यागेजिन शुरु गर्‍यौं, आज त्यो सान्दर्भिक नहुन सक्छ । प्रविधिले फड्को मार्‍यो । म्यागेजिनमा हिजो जति आकर्षण थियो, आज कम भएको छ । किनकि आज म्यागेजिनको विकल्प आइसक्यो । धेरै स्थान मोबाइलले लिएको छ । मान्छे हिजोको जस्तो छैन । हिजो मान्छे जति तिर्खाएको हुन्थ्यो, आज तिर्खा कम छ । मिडियाको कन्टेन्ट पिउन आजको मान्छेलाई तिर्खा कम छ । किनभने आज उसले जताततै स्रोत पाउने भयो । २० वर्ष अघिको सोचाइ आज म्यागेजिनमा सान्दर्भिक हुँदैन । हुनु पनि हुँदैन भन्ने मेरो मान्यता हो । किनभने आजको पुस्ता मोबाइलसँगै हुर्कन्छ । सूचना प्रविधि उनीहरूको जीवनको एउटा अंग नै बनिसकेको छ ।

समयको गतिसँगै म्यागेजिन परिवर्तन हुनुपर्छ । सधैं स्टोरी पढ्न मानिसले म्यागेजिन पढ्दैनन् । केही समय ब्रान्ड पढ्छन् । ब्रान्डमा मानिसहरू विश्वस्त भएपछि किन्ने हो । त्यसो भएपछि नयाँ पाठक थपिनु महत्वपूर्ण हुन्छ । म्यागेजिनकै लागि नयाँ पाठक कति थप्दै जानु भएको छ ? यो महत्वपूर्ण कुरा हो । यो कुरा निश्चित छ कि एउटा विन्दुमा पुगेपछि पुरानो पाठकले म्यागेजिन छाडिदिन्छ । किनकि उसको रुचि र आवश्यकता बदलिन्छ । त्यसवेला म्यागेजिनले नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ ।

अहिले म्यागेजिनले नयाँ पुस्तालाई आफूतिर आकर्षित गर्न सकिरहेको छैन । नयाँ पुस्तालाई सम्बोधन गर्ने बहानामा सस्तो मनोरञ्जनका पत्रपत्रिकाहरू निस्किरहेका छन् । त्यसमा इमानदारिता छैन । त्यसमा ग्ल्यामर बेचिन्छ । ग्ल्यामर भनेको सामान्य मानवीय स्वभाव भयो । त्यसलाई ‘क्यास’ गर्न खोज्नु बहादुरी होइन । रंगीचंगी तस्बिर राखेर पत्रिका प्रकाशित गर्नु ‘ह्युमन इन्स्टिङ्ट’ (मानवीय प्रवृत्ति) लाई बेच्नु हो, क्रियटिभिटी बेचेको होइन । त्यसको लागि पत्रिका पढिरहनुपर्दैन । नपढेको मान्छेले पनि त्यो काम गर्न सक्छ । त्यो पत्रकारिता होइन ।

गम्भीर म्यागेजिन, गम्भीर पत्रकारितामा हामीले नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ । नयाँ पुस्ताको बाहुल्य बढाउँदै लैजानुपर्छ । तुलनात्मक रूपमा ब्रोडसिट पत्रिकाले त्यसलाई सम्बोधन गर्न खोजेको देखिन्छ, तर म्यागेजिनले त्यो प्रयास गरेको छैन । म्यागेजिन पढ्ने पाठक घटेको छैन । किताब पढ्ने जमात पहिलेभन्दा अहिले धेरै गुणा बढेको छ । किनकि किताबमा मानिसको पहुँच बढेको छ । पुस्तकहरू जताततै पाइन थालेका छन् । नयाँ लेखकहरू थपिएका छन् । बुद्धिसागर पढ्ने पुरानो पुस्ता होइन, नयाँ पुस्ताले पढिरहेको छ । पल्पसा क्याफे नयाँ पुस्ताले पढेर पपुलर भएको हो । म्यागेजिनले हाम्रो प्रभाव विस्तार गर्न, आफूलाई जोगाइराख्न पछिल्लो पुस्तासँगको सम्बन्ध बलियो बनाएर जानुपर्ने हो त्यो कम भएको छ । गम्भीर म्यागेजिनमा पछिल्लो पुस्तालाई समेटेर लानुपर्छ ।

अन्नपूर्ण टुडे, हिमाल र नेपाललाई म मूलधारको म्यागेजिन मान्छु । शिक्षक मासिक मूलधारको म्यागेजिन होइन । यो ‘सेक्टरल’ म्यागेजिन हो । दुई वटै म्यागेजिन आ–आफ्नो ठाउँमा ठीक छ । तर, सेक्टरल म्यागेजिनसँग मिडिया पावर हुँदैन । मूलधारको म्यागेजिन सबै विषयमा खुला हुन्छ । दुई वटै फरक–फरक खालका फोरमहरू भए । सेक्टरल म्यागेजिनले आफ्नो विषयमात्रै हेर्छ । तर, मूलधारको म्यागेजिनमा बृहत् अनुसन्धान गरिएका सामग्रीहरू आउनुपर्छ ।

सम्पादकीय स्वतन्त्रता

०४६ सालअघि देशमा राजनीतिक र नागरिक स्वतन्त्रता थिएन । संगठित हुन पाउने स्वतन्त्रता पनि थिएन । त्यसवेलासम्म राजनीतिक स्वतन्त्रताका लागि संघर्ष ग¥यौं । जहिलेसम्म राजनीतिक स्वतन्त्रता हुँदैन, त्यतिवेलासम्म प्रेस स्वतन्त्रता भन्ने कुराको औचित्य नै हुँदैन । ०४७ सालको संविधानले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकैपटक ग्यारेन्टी ग¥यो । ०४७ अघि पत्रिकाको दर्ता खारेज गरिन्थ्यो । संविधानमा कुनै पनि पत्रिकाको दर्ता खारेज गरिने छैनसमेत लेखियो । त्यो व्यवस्था ०६३ सालको अन्तरिम संविधानमा पनि कायम रह्यो ।

सेक्टरल म्यागेजिनले आफ्नो विषयमात्रै हेर्छ। तर, मूलधारको म्यागेजिनमा बृहत् अनुसन्धान गरिएका सामग्री आउनुपर्छ।

संविधान लागू भएपछि देशमा प्रशस्त मिडिया खुले । प्रेस स्वतन्त्रताको अभ्यासपछि कर्पोरेट हाउसहरू बने, कर्पोरेट मालिकहरू आए । त्यसअघि मालिक र पत्रकार एउटै थिए । व्यक्ति–व्यक्तिका संस्था खुले । पछि मालिकहरू शक्तिशाली हुँदै गए । मिडियाहरू विस्तार हुँदै गए । एउटैको हातमा सारा मिडिया हुने अवस्था भयो । जसको हातमा पैसा भयो, उही शक्तिशाली हुन थाल्यो । त्यसपछि प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रता भन्ने राज्यले नियन्त्रण गर्ने भएन साहुले नै नियन्त्रण गर्न थाल्यो । साहुको इच्छाअनुसार मात्रै काम हुन थाल्यो । त्यो साहुलाई पनि विज्ञापनदाताले नियन्त्रण गर्न थाले । त्यसरी सम्पादकीय स्वतन्त्रता खुम्चिँदै जाँदा ठूला मिडियामा आज टड्कारो प्रश्न बनेको छ ।

सम्पादकहरूलाई स्वतन्त्रता दिएर सद्भाव राख्ने मालिकहरू पनि परिस्थितिको दबाबमा परे । त्यो परिस्थिति विज्ञापनदाताले निर्माण गरिदियो । मुस्किलले एक दर्जन बिजनेस हाउस छन्, जसले सारा मिडिया चलाइदिएको छ । एकदर्जनमध्ये आधा दर्जन रिसाइदियो भने पत्रिका नचल्ने अवस्था बन्यो । परिणामस्वरूप सम्पादकीय स्वतन्त्रता अहिले साहुजी र विज्ञापनदाताबाट नियन्त्रित छ । त्यसबाट बाहिर निस्किएर कैयौंले सानो आकारमा काम गरिरहेका छन् । पछि आएका मिडिया हाउसहरूमा सम्पादकीय स्वतन्त्रता भन्ने विषय छलफलमै नल्याउने अवस्था बन्यो ।

मिडिया हाउसमा पत्रकारिता नै नहुने अवस्था पनि छ । पत्रकारिता गरे पो सम्पादकीय स्वतन्त्रता के हो भन्ने थाहा हुन्छ । धेरैले सूचनाकारिता मात्रै गरिरहेका छन् । उताको सूचना यता, फलानो नियुक्त, सरुवा भयो भनेर ठूल्ठूलो हेडलाइन राखिन्छ । यी सबै ‘नन्इस्यु’ हुन् । इन्स्पेक्टर, डीएसपी बन्नु पनि कहीँ समाचार हुन्छ ? धन्न आर्मीभित्रको समाचार पाउँदैनन् । पाए त्यो पनि सधैं समाचार बन्थ्यो । त्यो पत्रकारिता होइन । यसरी सम्पादकीय स्वतन्त्रता विज्ञापनदाता र साहुजीहरूको चेपुवामा परेको छ । सम्पादकीय स्वतन्त्रताका पक्षपाती अहिले जम्मै फुटपाथमा भेटिन्छन् ।

अहिले पत्रकारितालाई साहुजी र विज्ञापनदाताले ‘हाइजेक’ गरेको छ । दुर्भाग्यवश श्रम शोषण नबुझ्ने, बुझे पनि कम बोल्ने अवस्थामा नेपाली पत्रकार पुगेको छ । पत्रकारले सुविधा र तलबमा बढी संघर्ष गरिरहेको हुन्छ । तर, लेख्न पाएन भनेर संघर्ष गर्दैन । लेखकीय स्वतन्त्रता पाएन भन्दै संघर्ष नगर्ने पत्रकार पाउँदा साहुलाई मजा लाग्छ । पत्रकारितामा चिन्ता गर्नुपर्ने पक्ष हो, यो ।

‘बिट’ पत्रकारिता राम्रो हो । त्यसले साँच्चै आधिकारिक र भित्री कुरा ल्याउन सक्छ । एकदमै राम्रो अवधारणा हो । सम्पादकले मात्रै होइन मिडिया हाउसले नै पत्रकारलाई बिट तोकिदिएको छ । यो पत्रकारको लागि सुनौलो मौका हो । पहिला यस्तो थिएन । तर, दुर्भाग्य भएको छ । त्यो मौका पत्रकारले सदुपयोग गर्‍यौं कि दुरुपयोग ? बिट थामेर बसेका पत्रकारले आफैंले आफैंलाई सोच्नुपर्छ । त्यो विषयमा गहिरो ज्ञान लिने माध्यम बनाइयो अथवा त्यही बिट भजाएर, त्यसैको ठेकेदारी गरियो ? सम्बन्धित बिट पत्रकारले सोच्ने कुरा हो, यो । बिट पत्रकारिता समस्याग्रस्त छ । जसलाई बिट जिम्मा दियो त्यसबाट कुरै नआउने । केही सोध्यो भने छेकेर बसिदिने अवस्था छ । त्यो बिटको दुरुपयोग भयो ।

पत्रकारलाई सूचना र तथ्यले डोर्‍याउनुपर्छ । मेरो मालिक रिसाउँछ कि, सम्पादक, समाचार प्रमुख रिसाउँछ कि अथवा खुशी हुन्छ कि भनेर सोच्नु हुँदैन । स्वतन्त्रतापूर्वक आफ्नो विवेकको प्रयोग गर्नुपर्छ । साहुजीहरूले निकालेका प्रेस रिलिज, मार्केटिङ म्यानेजर सरुवा भएर यहाँबाट त्यहाँ गयो भन्ने न्युजलाई हामी बिजनेस न्युज भन्छौं । पत्रकारितामा दुर्भाग्य हो, यो । हामीकहाँ इकोनोमिक बिट, डेभलपमेन्ट बिट भन्ने छँदै छैन । डेभलेपमेन्ट बिट भनेको के हो भन्यो भने, मेलम्चीमा यति प्रतिशत सुरुङ बन्यो, यति प्रतिशत काम सकियो । कसले भन्यो ? त्यहीको प्रवक्ताले भन्यो । त्यही कुरा लेख्छन् । ०४३ सालमा जतिखेर म समाज दैनिकमा रिर्पोटिङ गर्थेँ, त्यसवेला मैले रिर्पोटिङ गरेको हुँ । आज ३० वर्ष बितिसकेको छ । हामी त्यही समाचार छाप्दै बस्छौं । पानी आउने कुरा मंसिरबाट पुसमा पुग्यो । पुसबाट चैतमा पुग्यो भन्दै लेख्छन् । त्यो पनि सूचना हो । तर, खै अर्को पाटो ? मेलम्ची के भएको हो ? ठेकेदारले के गरेको हो ? खै त हामीले हाम्रा पाठक, स्रोता र दर्शकलाई सही सूचना दिन सकेको ?

पछिल्लो समय आफ्नो अफिसमा काम गर्ने पत्रकारको दक्षतावृद्धिमा केही पनि प्रोत्साहन नगर्ने नीति मिडिया हाउसले लिएको देख्छु । लगानी गरेका छन् । पैसा कमाउनु छ । उनीहरूको त्यस्तो देखिनु अस्वभाविक नहुन सक्छ । तर, जसले पत्रकारिता पेसालाई अपनाएको छ, उनीहरूको चासोको विषय हुनुपर्छ । मालिकहरूको चासोको विषय होइन । पत्रकारिता मालिकहरूले जोगाइदिँदैनन् ।

पत्रकारिता जोगाउने पत्रकारहरूले हो । मालिकलाई पत्रकारिता चासो होइन, उसलाई बिजनेस चासो हुन्छ । मालिक र पत्रकारबीचको भिन्नता नै यही हो । पत्रकारले बिजनेसको कम चासो राखे हुन्छ । मेरो कारण पत्रकारितामा केही योगदान पुग्यो कि पुगेन ? मेरो कारण पत्रकारितालाई कहीँ क्षति त भएको छैन ? हरेक पत्रकारले आफैंलाई सोध्ने प्रश्न हो यो । आफ्नो मूल्यांकन गर्ने तरिका हो यो । साहु खुशी बनाएर के हुन्छ ? तलब त दिइहाल्छ नि । पत्रकारितालाई पत्रकारले नै माया गर्नुपर्छ ।

ग्रामीण पत्रकारिता

हिजोको तुलनामा गाउँका समाचारहरू आएका छन् । तर, जति रचनात्मक ढंगले आउनुपर्ने थियो, त्यो भएको छैन । गाउँको कथा ल्याउनुपर्ने थियो तर भएको छैन । पिछडिएका ठाउँका कथाहरू ल्याउनुपर्छ । अहिले हामीले चिल्ला महल र रेस्टुराँमा सुहाउने मात्रै काम गरिरहेका छौं । वैज्ञानिक र आधुनिक जीवनतर्फ मानिसलाई प्रेरित गर्न ‘मास एजुकेसन’ चाहिन्छ । टेक्स्ट बुकको शिक्षाले हुँदैन । समयअनुसारको मास एजुकेसन मास मिडियाले दिनुपर्छ । नेपाली समाजलाई कता डोर्‍याउन चाहन्छौं ? समाजलाई कस्तो सूचनाले सुसूचित र सुशिक्षित गर्न चाहन्छौं ? यो काम हामी मिडियाकर्मीले गर्नुपर्ने हो तर गर्न सकिरहेका छैनौं । 

दाहालसँग राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित

 

 

प्रतिकृया दिनुहोस