MENU

चौथो अंग

635x90

खबरभित्रको अधकल्चो सत्य

चन्द्रकिशोर आइतवार, कार्तिक १९, २०७४

सन्दर्भ – १

सर्लाहीको मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विशाल  र्‍याली थियो, ७ भदौ २०७२ का दिन । त्यसमा विभिन्न जातीय संगठनसँगै मुस्लिम संगठनहरूको पनि सहभागिता थियो । शिवसागर चोकनजिक फोटो खिच्न एउटा घरको छतमा पत्रकारहरू बसेका थिए । माथिबाट तल सडक भएर गुज्रिएको भीडको फोटो खिच्दा बढी भीडका टाउकोहरूको नै फोटो आइरहेको थियो । यत्तिकैमा पत्रकार सन्तोष सिंहको क्यामेरामा एउटा घरेलु हतियारसहित दाह्रीवाल मुहारको फोटो आयो, उनले तुरुन्त त्यसलाई क्लिक गरे । किनकि त्यो अरूभन्दा भिन्न थियो ।

पत्रकार सिंहले त्यो फोटो त्यतिवेला राजधानीबाट प्रकाशित एक दैनिकमा पठाए । भोलिपल्ट छापियो, जसमा त्यो फोटो प्रथम पृष्ठमा पठाएकै क्याप्सनसहित थियो । तर कुरा यतिमै टुंगिएन । उक्त दैनिकको अनलाइन संस्करणमा उक्त फोटो प्रयोग गर्नुभन्दा पहिले नै काठमाडांैको डेस्कमा कार्यरत एक पत्रकारले त्यसलाई आफ्नो ट्विटरमा हाले । र, क्याप्सन यसरी लेखे, ‘यी हुन् टीकापुरका निहत्था आन्दोलनकारी’ । सोही दिन कैलालीको टीकापुरमा थारू आन्दोलनको क्रममा आठ जना मारिएका थिए । काठमाडाैँको डेस्कमा कार्यरत पत्रकारले असंलग्न जिल्लाबाट पठाएका फोटोलाई टीकापुर काण्डसँग जोडेर बदनियतवस् सामाजिक सञ्जालमा प्रयोग गरे । जुन फोटो सामाजिक सञ्जालमा भाइरल भयो । जिल्लामा कार्यरत पत्रकारले आफू कार्यरत राजधानीस्थित सञ्चारमाध्यममा पठाएको फोटो सम्बन्धित मिडिया प्रतिष्ठानको कुनै पनि माध्यममा छापिनुभन्दा पहिला नै त्यो फोटो सामाजिक सञ्जालमा प्रयाेग भयो ।

सन्दर्भ – २

भारतको गुजरातमा सन् २००२ मा भएको दंगाका चेहरा बनेका, हात जोडेका, आँखामा आँशु भरिएको र डराएको अनुहार, प्रहरीसँग गुहार माग्दै गरेको कुतबुद्दिन अन्सारीको तस्बिर । अर्को त्यही गुजरात दंगासँग जोडिएको अर्को तस्बिर, जसमा एउटा दाह्रीवाल मान्छे हातमा फलामको रड लिएको, टाउकोमा गेरुवा कपडा बा“धेको र अत्यन्त उग्र मुद्रामा रहेको अशोककुमार अर्थात् अशोक परमार (मोची) । यी दुइटै तस्बिर गुजरात दंगाबारे अलिकति पनि खोजबिन गरियो भने देखापर्छ ।

पहिलो फोटो फोटोग्राफर औरको दत्ता र दोस्रो सेवास्टियन डिसूजाले खिचेका हुन् । कुतबुद्दिन अन्सारी र अशोककुमारका यी तस्बिरले तिनका छवि जनमानसमा दुई विपरीत धारका रूपमा स्थापित गरिदिएका छन्, कुतबुद्दिनलाई गुजरात त्रासदीको चेहरा र अशोककुमारलाई एउटा हिंस्रक व्यक्तिका रूपमा । सन् २००५ मा त्यहा“को सेसन कोर्टले अशोकलाई दंगा सम्बन्धित मुद्दाबाट रिलिज पनि गरिदिएको छ ।

दलित जातिको अशोकको दैनिकी नै सडक हो र अत्यन्त सामान्य रूपमा उनको दैनिकी चल्छ । उनी लामो समयदेखि शाहपुर रोड अहमदावादमा जुत्ता मर्मतको काम गर्दै आएका थिए । तर जुन दिन त्यहा“ गोधराकाण्डलाई लिएर उग्र भीडले सडकमा उत्पात मचाउन थाल्यो । उनी र उनको पसल पनि भीडको चपेटामा करिब आइसकेको थियो । भनिन्छ, भीडको आक्रोशबाट जोगिन अशोकले आफूलाई भीडमा समाहित गराए । टाउकोमा गेरुवा कपडा बाँधे र हातमा रड लिएर उफ्रिन थाले । त्यहा“ तिनको भेट फोटो पत्रकार डिसूजासँग भयो र उनले तिनलाई अनुहारमा आक्रोश प्रदर्शित गर्न आग्रह गरे, जो फोटो गोधराको प्रतिशोधको प्रतिनिधि तस्बिर बन्न गयो । यसरी फोटोले कसरी मान्छेको जीवनमा असर पार्छ त्यसको उदाहरण बनेको छ, कुतबुद्दिन र अशोककुमार । एक पोज फोटोकै कारण उनीहरूले वैयक्तिक जीवनमा अनेकाैँ अवसर गुमाए, जोखिम र चुनौतीहरू व्यहोरे ।

नेपाल सन्दर्भ

धन्य पत्रकार सन्तोषले खिचेको फोटोमा अनुहार प्रस्ट नहुँदा सर्लाहीका ती संघर्षशील नागरिकलाई टीकापुरको सन्दर्भसँग जोडिएर कुनै जोखिम व्यहोर्नु परेन । तर थारू आन्दोलनलाई कलंकित गर्न त्यो फोटोलाई दुरुपयोग गर्ने मनसाय राखेकाले केही समयका लागि हिट भए । यहीँनेर जोडिन पुग्छ, विभिन्न समुदाय र क्षेत्र विशेषको आन्दोलन र नेपाली मिडियामा संलग्न जमात तथा तिनका माध्यमको भूमिकाको लेखाजोखा ।

नेपाली समाजमा विभिन्न समुदायबीच सामञ्जस्यभन्दा ध्रुवीकरण ल्याउन पत्रकार र पत्रकारिताले के भूमिका खेलेका हुन् ? नेपाली मिडियाको एउटा हिस्साले आफ्नो मुख्य कार्यभार खबर दिनु होइन, खबर बेच्ने ठान्छन् । खबर दिनु भनेको एउटा जिम्मेवारीको काम हो । त्यससँग केही मूल्य र मानवीय क्रिया गा“सिएको हुन्छ । खबर बेच्नु भनेको एउटा निर्वैयक्तिक क्रिया हो । विभिन्न पहिचानधर्मी जनताका संघर्ष जोडिएका पक्षहरूबारे मिडियाले खबर दिनुभन्दा पनि खबर बेच्ने बाटो रोज्यो । तिनले आन्दोलनभित्र तिनै पक्षहरूको खोजी गर्थे, जसमा तेल–मसला छर्किएर एउटा फरक समुदायमा स्वादिलो परिकारको रूपमा बेच्न सकोस् । भनिन्छ, खबरमा यदि एउटा मानवीय सूचना छैन भने, त्यो व्यावसायिक उत्पादन बन्छ र त्यसको सीमा त्यसलाई बेच्ने र किन्नेहरूको स्वार्थद्वारा निर्धारित हुन पुग्छ ।

मिडियाको यही हिस्साले समाजलाई दुई भागमा विभाजित गर्छ । एउटा त्यो जसको बारे लेखिन्छ र अर्को त्यो जसका लागि लेखिन्छ । मिडियाको नियति नै यस्तो भएपछि त्यहा“ कार्यरत जनशक्तिको बाध्यता र प्रवृत्ति समाचार बनाउने र बेच्नुमै सीमित हुन पुग्छ । उनको रोजीरोटी नै यस्तै बदनियतपूर्ण कामहरूलाई पूर्णता दिनमा हुन्छ । त्यहाँ कार्यरत जनशक्तिको भूमिका यस्तो हुन्छ, उसले यस्तो एउटा भ्रमको दुनियाँ खडा गरिदिन्छ, जहाँ यो फिजाइएको हुन्छ कि जे/जुन कुरा थाहा पाउन योग्य हो, त्यो कुरा पूरै इमानदारीका साथ प्रस्तुत गरिने गरिएको छ । जबकि यथार्थ फरक हुन्छ, जे कुरा थाहा दिन योग्य हो, त्यसलाई लुकाइएको हुन्छ ।

मधेशमा काठमाडौंका मिडियाबारे भनिन्छ, ‘पकती खबरमें अधकचरे सच्’ अर्थात् ‘पाक्दै गरेको खबरभित्र अधकल्चो सत्य।’

मधेशका सामान्य मानिसबारे पहाडमा वा पहाडका मानिसबारे मधेशमा जुन अनेकौं भ्रम छरिएका छन्, अनेकौं आशंका निर्माण गरिएका छन् र मधेशको अनुहार अशोककुमारको जस्तै गलत मनसायको बनाइएको छ, त्यसका पछाडि यिनै खबर बनाउने र बेच्नेहरूको जादुगरी खेल हो । यसैले त मधेशमा काठमाडौंका मिडियाबारे भनिन्छ, ‘पकती खबरमें अधकचरे सच्’ अर्थात् ‘पाक्दै गरेको खबरभित्र अधकल्चो सत्य ।’ दलनियन्त्रित पत्रकारहरूको कोशिस नै ‘पोलिटिकली अपरुब्ड’ सत्यलाई पस्किनु हुन्छ । यसले ती पत्रकार वा तिनी कार्यरत मिडियाको स्वार्थ त पूरा हुन्छ तर समाज मिडियाबाट टाढिँदै गएको हुन्छ । कतिपय अवस्थामा मिडिया नै दल वा समुदायको वर्चस्वको दाम्लोमा बाँधिएका हुन्छन् र त्यहा“ काम गर्ने पत्रकारको अवस्था ‘पानीका सामान्य जन्तुले गोहीसँग जोरी नखोज्ने’सरह हुन्छ ।

विमर्शको अर्को पाटो पनि छ । ल्याटिन अमेरिकी लेखक बोर्खेसको एउटा कथा छ, ‘फ्युन्स द मेमोरियस’ । कथाको नायकले अचानक एउटा यस्तो शक्ति प्राप्त गर्छ, जहा“ उसको स्मृतिपटलमा जीवनको शुरुवातदेखि आएका प्र्रत्येक शब्द, व्यहोरा, बिम्बको सम्झना आइरहन्छ । चेतनाको उद्भव विस्तार र ज्ञानको उर्लिँदो बाढीले उसलाई यति अन्तर्मुखी र रहस्यवादी बनाउँदै लग्छ कि अन्त्यमा ऊ मर्छ । नेपालका विभिन्न क्षेत्रमा भइराखेका आन्दोलनहरूको माध्यमबाट स्मृतिलाई ब्युँताउने काम भइराखेको छ, त्यसमा त्यस क्षेत्रमा क्रियाशील मिडिया र त्यसमा संलग्न जनशक्तिको एउटा हिस्सा त्यसको ‘बाहक’ बनेका छन् । कतै स्मृतिको शवसाधना वा जातीय गौरवको तथ्यहीन कल्पना त पस्किने गरिएको छैन भन्ने सवाल पनि विभिन्न कोणबाट उठ्ने गरेको छ ।

सूचना–खबर आगो पनि भइदिन्छ । त्यसैले त भनिन्छ, यसको शक्तिलाई बुझेर आदरका साथ उपयोग गर्न सक्नुपर्छ । हाम्रो सन्दर्भमा वर्चस्वशाली समूहको शक्तिलाई निरन्तरता दिने काममा रहेका मिडिया हुन् वा प्रतिरोधका स्वरलाई आकार दिने मिडिया होऊन्, रिक्तता दुवैतिर छ । यिनीहरूले आ–आफ्नो अनुुकूलको थिंक ट्यांकको नाममा यस्ता बौद्धिकहरूलाई प्रयोग गर्छन्, जसले माउसको क्लिक नै थिच्नु छ वा कन्ट्रोल कपी वा कन्ट्रोल पेस्टको बटन । थिंक ट्यांक एक प्रकारको यस्तो गिरोहजस्तो भएको छ, जो केवल निश्चित स्वार्थका लागि काम गरिरहेका हुन्छन् । कुनै पनि घटना दुवै पक्षले हेर्छन् र जसले जतिखेर मौका पाउँछन्, त्यतिखेर कैची चलाइदिन्छन् ।

समग्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक कारणसम्म नपुगी यो समस्याको जग पत्ता लगाउन सकिँदैन । अर्थात् समग्र मुलुकको अवस्थालाई एकातिर पन्छाएर पत्रकारिता पेसाभित्रको समस्यालाई ‘विशेष’ ठानेर गरिने विश्लेषण अव्यवहारिक मात्र होइन, अर्थहीन पनि हुन जान्छ । तर पनि पत्रकारिता स्वयंले चाहे त्यो जुन क्षेत्र विशेषका होऊन्, तिनले आफ्नोबारे आफैं समीक्षा गर्नैपर्छ र यसलै मिडियालाई आफ्नो सकारात्मक नजरलाई पूरै ताकत, गम्भीरता र इमान्दारीपूर्वक राख्न थोरै भए पनि बल दिन्छ । पत्रकारितालाई जनताको आ“खा मानिन्छ, जसले सबैमाथि निगरानी राख्छ । कतिपय अवस्थामा आमनागरिकको आ“खामा हालेर तिनलाई ब्युँझाउ“छ पनि । मूलतः पत्रकार समाजको चिन्तन प्रक्रियाको एउटा अनिवार्य तत्व हो, जसले समाजलाई दिशा र गति दिन महतवपूर्ण स्थान राख्छ । तर अधिकारवादीहरूको कोणबाट नेपाली मिडिया सिसाकै महलमा विराजमान देखिन्छ ।



 

प्रतिकृया दिनुहोस