MENU

चौथो अंग

635x90

मूलधारलाई टक्कर

लक्ष्मण पोखरेल, बुटवल आइतवार, कार्तिक १९, २०७४

रूपन्देही सञ्चारमा ‘मोफसलको राजधानी’ हो भन्ने एउटा प्रमाण हो, २०१२ सालमा प्रकाशित ‘बुटवल साप्ताहिक’ । जतिवेलासम्म पश्चिम नेपालमा कुनै पत्रिका प्रकाशित थिएनन् । काठमाडौंबाहेक पूर्वतिर पनि पत्रिका बजारमा पठाइएको थिएन ।

नौ अंक मात्रै छापिएको बुटवल साप्ताहिकका पाँच जनाको सम्पादन मण्डल थियो । त्यसपछि बुटवलबाट ०१८ सालमा ‘लुम्बिनी साप्ताहिक’ प्रकाशित भयो । सूर्यलालको सम्पादनमा छापिएको लुम्बिनी साप्ताहिकबाट शुरु भएको रूपन्देहीका पत्रकारिताले पाँच दशकपछि निकै फराक भएको छ ।

करिब तीन दशकअघि शुरु भएका ‘लुम्बिनी दैनिक’ (०४६ साल) र ‘जनसंघर्ष दैनिक’ (०४७–हाल साप्ताहिक) निरन्तर प्रकाशित छन् । यी दुई पत्रिकाअघि बुटवलबाटै ‘लुम्बिनी सन्देश साप्ताहिक’, ‘दैनिक निर्णय’, ‘खसोखास’, ‘एक्सरे, समालोचना’, ‘दैनिक सिद्धार्थ’ जस्ता पत्रिका पनि प्रकाशित भए । तर ती अहिले अस्तित्वमै छैनन् ।

२०१२ सालमा प्रकाशित बुटवल साप्ताहिकका सम्पादकले एउटा लेखमा भनेका छन्, ‘रूपन्देही राजधानीबाहिर पत्रकार जन्माउने मुख्य स्थान हो ।’ एउटा मात्रै प्रेस रहेको बुटवलले ०४६ सालको परिवर्तनअघि २१ वटा पत्रिका प्रकाशित गरिसकेको छ ।

२०३१ सालमै पत्रकारहरू संगठित भएर संस्था बनाएका थिए । जतिवेलासम्म अहिले काठमाडौंबाट प्रकाशित हुने ठूला पत्रिकाहरू (गोरखापत्रबाहेक) बिजारोपणसमेत भएका थिएनन् । ०३१ सालमा करुणनिधि शर्माको अध्यक्षतामा नेपाल पत्रकार संघ रूपन्देही गठन भएको थियो । पुरानामध्येका एक पत्रकार अर्जुन ज्ञवाली भन्छन्, ‘०४६ सालअघि जनतालाई सुसूचित बनाउने काममा बुटवलको पत्रकारिताले ठूलो योगदान गरेको छ ।’ तर उनलाई सञ्चारमा मोफसलको राजधानी बुटवलका पत्रपत्रिकाहरू देशव्यापी नभएकोमा चिन्ता छ ।

राजनीतिक आन्दोलनका रूपमा निस्किएका पत्रिकाहरू प्रशासनको मुख्य तारो थिए । बुटवल साप्ताहिक, लुम्बिनी साप्ताहिकजस्ता पत्रिकाहरूमाथि निरन्तर प्रशासनको दबाब थियो । धेरै पत्रकारलाई जेल बसाइको अनुभव छ । तत्कालीन समयमा पनि बुटवलले पत्रिकाहरू पूर्वचितवनदेखि पश्चिम रोल्पासम्म पु¥याउँदै आएको थियो । छापिएको अर्काे दिनदेखि पत्रिका पुग्ने जिल्लाहरूको संख्या अझै धेरै भएको ज्ञवाली बताउँछन् ।

प्रशस्त सञ्चारमाध्यम स्थापित भएकैले मोफसलमा रूपन्देहीले सञ्चार क्षेत्रको नेतृत्व गरेको छ।

सिसाको अक्षरबाट निस्किएका पत्रिकाहरू अहिलेको आधुनिक मेसिनबाट छापिने अवस्थामा आएका छन् । छापाबाट पत्रकारितामा फड्किएको रूपन्देहीमा रेडियो र टेलिभिजनको शुरुवात भने निकै पछि भयो । बुटवलबाट हाल दैनिक ६ वटा पत्रिका निरन्तर प्रकाशित छन् । ‘दैनिक पत्र’ काठमाडौंबाटसमेत प्रकाशन भएको थियो । साप्ताहिक पत्रिकाको संख्या करिब २५ पुगेको छ । रूपन्देहीमा रेडियोको संख्या १९ छ । नेपालको दोस्रो सामुदायिक रेडियो ‘रेडियो लुम्बिनी’ पनि रूपन्देहीमै खुलेको हो ।

नेपालको पहिलो सामुदायिक टेलिभिजनसमेत रूपन्देहीमै खुलेको हो । दश वर्षअघि ‘लुम्बिनी सामुदायिक टेलिभिजन’ शुरुभएसँगै सामुदायिक टेलिभिजनको सञ्चालन शुरु भएको थियो । रूपन्देहीमा अहिले टेलिभिजनको संख्या चार पुगेको छ । जसमध्ये दुई वटा सामुदायिक छन् । प्रशस्त सञ्चारमाध्यम स्थापित भएकैले मोफसलमा रूपन्देहीले सञ्चार क्षेत्रको नेतृत्व गरेको छ । पत्रकार बालकृष्ण चापागाईं भन्छन्, ‘काठमाडौंबाहिर सबैभन्दा धेरै पत्रकार भएको स्थान रूपन्देही हो, यहाँका पत्रपत्रिकाको गुणस्तर राजधानीसँग टक्कर लिने खालका छन् ।’ पत्रकार महासंघमा आबद्ध भएका मात्रै करिब सवा तीन सय पत्रकार रूपन्देहीमा छन् ।

पत्रपत्रिकामा मोफसलबाहिर पहिलोपटक रूपन्देहीबाटै रंगीन कलेवरमा प्रकाशित भएको थियो । दैनिक पत्र दैनिक, बुटवल टुडे र मेचीकाली दैनिक ब्रोडसिटमा आठ पेज प्रकाशित हुने पत्रिका हुन् । पछिल्लो समय काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट्, नागरिक दैनिक, नयाँ पत्रिकाले समेत बुटवलबाटै प्रकाशन गरेका छन् । राजधानी दैनिक भने केही समय प्रकाशित भएर रोकिएको छ ।जिल्लाको भौगोलिक क्षेत्र दुई भागमा विभाजन भएकाले पत्रकारिताका लागि रूपन्देही बलियो मानिन्छ । सदरमुकाम भैरहवा क्षेत्र भन्सार नजिक छ । बुटवल क्षेत्र लुम्बिनी अञ्चलको सदरमुकाम र मुख्य व्यापारिक क्षेत्र हो । भैरहवाभन्दा बुटवललाई केन्द्र बनाएर करिब ८० प्रतिशत सञ्चारमाध्यम क्रियाशील छन् ।

बुटवलको मिडियाले पश्चिम नेपालका आधा भागलाई नै समेटेको छ । अहिले प्रदेश ५ को पूरै क्षेत्र र ४ का केही जिल्लामा बुटवलका सञ्चारमाध्यमको पहुँच छ । भारत गोरखपुरसम्म यहाँका पत्रिका पुग्ने गरेका छन् । रूपन्देहीको पत्रकारिताले काठमाडौैंसँगै प्रतिस्पर्धामा उत्रिन सक्ने खुबी बनाएको छ । ‘सञ्चारमा मोफसल भनेर होच्याइए पनि काठमाडौंभन्दा कम छैन, पत्रकार चापागाईं भन्छन्, ‘अब प्रदेशको संरचनामा रूपन्देही अब्बल देखिनेछ ।’

 

प्रतिकृया दिनुहोस