MENU

चौथो अंग

635x90

राणाकालीन गोर्खापत्र पढ्दा...

अर्जुन पन्थी आइतवार, कार्तिक १९, २०७४

अभिलेखालयको कुनामा पहेँलो बसेको पुरानो गोर्खापत्रको रिल पढिरहँदा करिब एक सय वर्षअघि त्यो पत्रिकाबारे जान्ने उत्सुकता जाग्यो । यहाँ त्यसबारे लेख्ने प्रयास गर्दैछु । गोर्खापत्र तत्कालीन राणा सरकारभन्दा पनि ब्रिटिस भारतसँग प्रभावित थियो भन्ने प्रस्ताव मेरो छ । त्यसैले यो लेखमा त्यतिवेलाको नेपालबारे अलिअलि कल्पना गर्न सके त्यो ‘गोर्खे कल्पना’ हुनेछ । राज्यद्वारा सञ्चालित पत्रिका हेरेको आधारमा गरिएको कल्पना भएकाले मैले यसो भनेको हुँ । त्यो राज्यको नजरबाट गरिएको केवल आंशिक कल्पना हो, । समयको हिसाबले यहाँ संवत् १९६० को दशक, अर्थात् पहिलो महायुद्धअघिको गोर्खापत्रलाई आधार बनाइएको छ ।

त्यसवेला ‘टाढाको कुरा’ नै समाचार हो, आफ्नो वरिपरिको हैन भन्ने बुझिन्छ । गोर्खापत्र विदेशी समाचारले भरिएको थियो, जसलाई ‘देशान्तर समाचार’ भनिन्थ्यो । स्वदेशको सूचनालाई ‘देश समाचार’ भनिन्थ्यो । ‘देशान्तर’ अगाडि र ‘देश समाचार’ पछाडि कुनामा छापिन्थ्यो । शुरुताका पत्रिकामा ‘देश समाचार’ नै कम पाइन्छ । कहिलेकाहीँ त बजार भाउबाहेक अरू ‘देश समाचार’ पाइँदैनन् ।

देशान्तर समाचार र देश समाचारको वर्गीकरणले ‘समाचार शक्तिको हुन्छ’ भन्ने बुझाउँछ । त्यतिवेला दक्षिण एसियामा फ्रान्सेली शक्तिलाई पन्छाएर ब्रिटिसहरूले राज गरेका थिए । गोर्खापत्रमा पनि ब्रिटिस साहेब र उनीहरूका दरबारका समाचार देखिन्थे । त्यहाँ तत्कालीन ब्रिटिस दरबारका बयान छन् । जस्तो ः ‘मद्रासका गभर्नरलाई जरो आयो, त्यही जरोले निमोनिया भएछ’ भन्ने खालका समाचारसमेत भेटिन्छन् । आर्थिक विषयहरूमा पनि ब्रिटिसकालीन भारतकै चर्चा बढी पाइन्छ । जस्तो : ‘कास्मिरको एकलाइनमा चल्ने मोनोरेल, बम्बईदेखि पुनासम्म टेलिफोन रहने’ तजबिजीका कुरा, ‘हिन्दी भाषामा टाइपराइटर बन्न लागेको कुरा’ आदि । यसको लामो लर्को कोर्न सकिन्छ ।

त्यसवेला ‘टाढाको कुरा’ नै समाचार हो, वरिपरिको हैन भन्ने बुझिन्छ। गोर्खापत्र विदेशी समाचारले भरिएको थियो, जसलाई ‘देशान्तर समाचार’ भनिन्थ्यो।

 यसबाट के बुझिन्छ भने नेपालको अखबारी पत्रकारिताको शुरुवात ब्रिटिसकालीन भारतको राजनीतिक र आर्थिक गतिविधिका समाचारसँग जोडिएर भएको रहेछ । कलकत्ताबाट प्रकाशित ‘वंगवासी’ पत्रिका गोर्खापत्रको लागि समाचारको मूल स्रोत थियो । अर्कोतिर त्यसवेला राणाकालीन राज्यसत्ताको सम्बन्ध ब्रिटिसकालीन भारतसँग धेरै बलियो थियो भन्ने देखाउँछ । अर्थात् राणाकालीन व्यवस्था ब्रिटिस भारतमा निर्भर थियो । त्यसवेलाका पत्रिकाको लेआउटले समेत त्यस्तो झलक दिन्छ, ‘देशान्तर’ र ‘देश समाचार’को वर्गीकरणको मात्र के कुरा ।

गोर्खापत्र राज्यशक्ति चियाउने आँखीझ्याल पनि हो । ब्रिटिसहरूले गरेका विकासलाई अचम्म मान्दै ‘देशान्तर समाचार’ले पत्रिका भरिएको छ । मानौं आफ्ना विषयहरू त समाचार नै होइनन् । ब्रिटिसहरूले गरेको विकास नै तत्कालीन नेपालको व्यवहारमा लागू गर्न नपर्ने आदर्श हो भन्ने मान्यता हाबी भएको बुझिन्छ ।

गोर्खापत्रको ‘देशान्तर समाचार’मा तत्कालीन भारतबाट कच्चापदार्थ पश्चिमी देशमा कति मात्रामा पुग्थ्यो इत्यादि तथ्यहरू छन् । आयात निर्भरताका उदाहरण पनि पाइन्छ । जस्तो : ‘हिन्दुस्तानमा कागती फले पनि तत्कालीन समयमा आठ महिना उनीहरूले अमेरिकाको कागती खपत गर्थे ।’ कागती उत्पादनको विचार हिन्दुस्तानबाटै सिकिएको आशय समाचारले दिन्छ ।

गोर्खापत्रमा ब्रिटिसकालीन भारतका समाचार भरिए पनि तिब्बती भेगतिरको व्यापारिक सम्बन्धबारे पनि समाचार पाइन्छ । ती आक्ललझुक्कल देखिन्छन् । जस्तो: ‘दशैंको हुलमा नेपालतर्फ ल्याउन कुतीबाट चलान गरेका १५ सय भेंडा च्याङ्ग्रा चौतारा आउँदा १२ सय भएछन् भनी कुतीको भोटे भन्दछ’ । ‘कुतीबाट नुन बोकी आउने जैसी बाहुन तातोपानीमा आई बास बसेको झाडा पिसाब बन्द भै मरेछ’ जस्ता समाचारहरू पढ्न सकिन्छ । तर, कलकत्तामुखी गोर्खापत्रमा ती समाचारहरू गौण हुन् ।

सरसामानका हिसाबमा काठमाडौंमा विलासिता र आवश्यकता ठानिएका वस्तुहरू उँधोबाट नै बढी आउने गोर्खापत्रमा देखिन्छ । त्यसरी आएका खत्र्याकखुत्रुक वस्तुहरू पाइने ठाउँलाई काठमाडौंका एजेन्ट आफैंले ‘कारखाना’ पनि भन्थे । ती ‘कारखानेदार’ले आफूसँग नभएका चिजबिज कलकत्ताबाट मगाएर गाहकीलाई दिने बाचा गर्थे । रोचक कुरा त यस्ता सरसामान पाउनका लागि गोर्खापत्रकै नक्साल अफिसको ठेगाना दिइएको हुन्थ्यो । पण्डितहरू नै यसका एजेन्ट थिए । उनीहरू ‘कलकत्ते सामान’को ‘कन्ट्रयाक्टर’ जस्तो काम गर्थे । गोर्खापत्रमा छापिएका विज्ञापनका यी शुरुवाती कुरा हुन् । त्यसताका पत्रिका नै कन्ट्याक्टर जस्तो पनि देखिन्छ । हो/होइन सहजै भन्न सकिन्न ।

वीरगन्ज, भिक्षाखोरी, भीमफेदी, चिसापानीगढी, थानकोट हुँदै काठमाडौं भित्रिने बाटो दुरुस्त राखिएका समाचारहरूले पनि वेलावेला प्राथमिकता पाउँथे । सरसामान ल्याउने बाटो हरसाल मर्मत गरिन्थ्यो । यो ठाउँमा पर्ने बाटोलाई गढीको बाटो भनिन्थ्यो । सरसामान भित्र्याउन यो नै मूलबाटो थियो । राज्यका सरसामान बोक्ने यो बाटोलाई ‘राजपथ’ पनि भन्थे । अनिकाल पर्दासमेत तराई तथा वीरगन्जबाट गढीको बाटो हुँदै सस्तो भाउमा प्रशस्त अन्न ल्याएर सबैले खान पाउने तजबिजी गरिन्थ्यो । फाट्टफुट्ट छापिने यस्ता समाचारको आधारमा समेत ब्रिटिस भारतसँग तत्कालीन नेपालको आर्थिक निर्भरता बढी नै
भएको बुझिन्छ ।

मलाई पहिलो दशकको गोर्खापत्र पढ्दा लागिरह्यो राज्यको लगानी र विदेशी विकासको सपना मूल रूपमा काठमाडौंले नै देख्ने हो ।

तत्कालीन भारतीय बजारबाट विकास भित्र्याउन सक्ने भनेकै राज्य थियो । राज्यबिना मुसोसम्म छिर्न नपाउने वेलामा जसले त्यस्ता अनुमति पाए ती राणासरह नै भए । त्यसैले तिनीहरूका प्रतापले विकास भएको भनिन्थ्यो । सरसामानका अतिरिक्त आधुनिक बजार व्यवस्था बसाल्ने सूत्रहरू डाक्टर, कम्पाउन्डर, इन्जिनियर, मिस्त्री कलकत्ताबाट झिकाइन्थे । अस्पताल खोलिन्थे, बाटो, भवन इत्यादि बनाइन्थे । इन्जिनियरहरूले पानीका धारा, बिजुलीबत्ती बाल्न मद्दत गर्थे । ब्रिटिस भारतको नक्कल नै हाम्रोमा आधुनिक विकासको शुरुवात थियो । यस्ता काम तत्कालीन राणा सरकारले गर्ने भएकाले यसको विवरण फाट्टफुट्ट गोर्खापत्रमा पढ्न पाइन्छ ।

प्रविधिबारे रुचि भएकाले मैले त्यसबारे पनि समाचार हेरेँ । अहिले पनि समाचारका शीर्षकमा ‘सगरमाथामा इन्टरनेटबाटै उपचार’ भनेर लेखिएकै हुन्छ, मानौं त्यहाँ इन्टरनेटले नै उपचार गर्दैछ । त्यस्तै त्यसवेला के सोचिन्थ्यो होला भन्ने कौतूहलताले १९६८ सालमा बिजुली आउनेताकाको रिपोर्टिङ हेरेँ । यसबारे गोर्खापत्रले जनताको विचार दिने त कुरै भएन । तर समाचारमा भनिएको छ, सबै चमत्कार श्री ३ का प्रतापले भएको हो । जस्तो : ‘नेपाल शहरका बासिन्दाले हरबखत बिजुलीको अपूर्व आनन्द लिन सक्छन्, साँझ पर्‍यो कि सर्कारका अपूर्व दयाले गल्ली झलमलक, थोरै खर्च गर्नाले चाहे पंखाको काम लेऊ, चाहे आगोको । सर्कारबाट बन्दोबस्त भयाको छ’ । बिजुलीका प्रतापले सबै काम हुन्छ, यसैको ताकतले युरोप अमेरिकाका मान्छेहरू खुशी छन् । अमनचयनमा छन् इत्यादि । किनभने, ज्यालागिरीबाट हुने सबै काम बिजुलीले गर्छ । देशबाहिर बिजुलीले यस्तो काम गरेको भन्दै बिजुली प्रयोग गर्नका लागि रैती महाजनलाई आह्वान गरिन्थ्यो । किनकि त्यतिवेला त्यो प्रविधि प्रयोग गर्न महाजन हिच्किचाउँथे ।

फर्पिङको चन्द्रबत्ती बाल्दा काठमाडौंका नगरबासी सरसामान लिन वीरगन्ज गएका थिए । बिजुली उत्पादन गर्ने थलोेमा कैयौँ मानिसले काम गरे । यस कार्यमा पुगनपुग साढे नौ लाख मानिस लागेको र प्रायः नेपालकै मान्छेहरू प्रयोग भएको पत्रिकाकै एक रिपोर्टमा उल्लेख छ । राज्यको कुदृष्टिमा परिन्छ कि भनेर जनताले राज्यको काम गरिरहनुपथ्र्यो । यस बत्ती बनाउन इंग्लिस्तानी इन्जिनियरहरूलाई झिकाइको थियो । त्यसैले तत्कालीन महाराणाबाहेक रैती, इन्जिनियरहरूको त्रिकोणीय प्रतापले चन्द्रबत्ती बाल्ने काम सम्पन्न भएको थियो । तर, गोर्खापत्रमा श्री ३ का प्रतापले भनी लेखिएका समाचार, कविताहरू छापिएका छन् । अर्थात् गोर्खापत्रका समाचारमा रूपचाहिँ राणा सरकारको थियो भने सार ब्रिटिस भारतको ।

१९६० को दशकको गोर्खापत्र पढेपछि दुइटा पक्ष महत्र्वपूर्ण देखिन्छ । पहिलो : गोर्खापत्र राज्यबाट सञ्चालन गरिएको पत्रिका भए पनि यो ब्रिटिसकालीन भारतबाट बढी प्रभावित थियो । तत्कालीन समयमा नेपालमा भएका विकासलाई महाराणाका प्रतापले भएका ‘चामत्कारिक विकास’ भने पनि त्यस्तो प्रतापको अर्थ कम लाग्छ । विकासका यस्ता कार्यमा राणाहरू माध्यम थिए । विश्वबजारको विस्तारस्वरूप नेपालमा खास किसिमको विकासले ठाउँ पाएको थियो । दोस्रो : गोर्खापत्रले ‘नेपाल भनेकै काठमाडौं हो’ भन्ने आशयको ठप्पा लगाउँछ । ‘मोफसल’, ‘मौफसल’ इत्यादि नाममा काठमाडौंबाहिरका समाचार नछापिएका होइनन् । तर ती वंगवासीका वा देशान्तर समाचारका तुलनामा निकै निम्छरो गरी छापिएका छन् ।

मलाई पहिलो दशकको गोर्खापत्र पढ्दा लागिरह्यो राज्यको लगानी र विदेशी विकासको सपना मूल रूपमा काठमाडौंले नै देख्ने हो । त्यसको उपभोग पनि काठमाडौंले नै गर्ने हो । गोर्खापत्रको आँखीझ्यालबाट त्यस्तै देखिन्छ । पहिलो दशकको ‘गोर्खापत्र’ हेरिसकेपछि एउटा जिज्ञासाले घर बनाएको छ । ‘गोर्खापत्र’ समयले कोल्टे फेर्दै गर्दा ‘गोरखापत्र’मा रूपान्तर भएपछि देश समाचारको स्थान कस्तो रहँदै गयो ? मौका मिले यस प्रश्नको उत्तर पछि खोज्ने छु ।

 

 

प्रतिकृया दिनुहोस