MENU

चौथो अंग

635x90

टीभीको भविष्य

टीकाराम यात्री आइतवार, कार्तिक १९, २०७४

टेलिभिजनको भविष्य के होला ? यो जति सरल प्रश्न छ, उत्तर त्यत्ति नै जटिल पनि । विश्वव्यापी रूपमा र नेपालमा पनि । आज आमसञ्चारमाध्यममा टेलिभिजन सबैभन्दा सशक्त माध्यम भन्ने विषयमा त सन्देह रहेन । श्रव्यदृश्य शक्ति तथा तात्कालिकताका कारण यसको सर्वव्यापकता र विश्वसनीयतामा प्रश्न कमै मात्र उठ्छ । तर, सूचना प्रविधिको अभूतपूर्व विकास र त्यसले ल्याएको असीमित विकल्पको कारण यसको दायरा चाँडै साँघुरिने भन्ने विषयमा यसका सञ्चालक तथा यसमा आबद्ध जनशक्ति घोत्लिन ढिला भइसक्यो । अनलाइन पोर्टल र सामाजिक सञ्जालको व्यापकता तथा सबैको पहुँचका कारण आजसम्म मूलधार’ मानिएको यो माध्यम विस्तारै सीमान्तकृत हुने खतरामा छ ।

जसरी सिनेमा आउँदैमा रंगकर्म तथा फोटोग्राफी आउँदैमा चित्रकला विस्थापित भएन । त्यसैगरी आमसञ्चारका नयाँ–नयाँ आँखीझ्याल खुल्दैमा यो असान्दर्भिक त तत्काल नहोला तर रंगकर्म र चित्रकला जस्तै यो खुम्चिने भने अवश्य छ । हुन त आज पनि टेलिभिजन सेट आधा नेपालीको पहुँचबाहिरको विषय छ । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार ३६ प्रतिशत नेपालीको पहुँचमा मात्रै टेलिभिजन सेट थियो ।

अझ स्याटेलाइट तथा डीटीएचको पहुँच त १९ प्रतिशत जनसंख्यामा मात्रै थियो । त्यसयता राष्ट्रियस्तरको बृहत् सर्वेक्षण नभएकाले अद्यावधिक अभिलेख उपलब्ध छैन । त्यसयताका आठ वर्षमा टेलिभिजनसँगको पहँुच बढे पनि सबै नेपालीको घरमा अहिले पनि टेलिभिजन पुग्न नसकेको भने यथार्थ हो । ग्रामीण क्षेत्रमा यसको विस्तार र फैलावटको गुञ्जायस अझै बाँकी नै छ । तर, विशेषगरी इन्टरनेटको पहुँच भएको शहरी क्षेत्र र विश्वभर रहेका नेपालीले भने टिभी सेटभन्दा अन्य माध्यमबाट यसका सामग्रीलाई पछ्याइरहेका छन् । यो क्रम झनै तीव्र रूपमा विस्तार हुनेछ ।

विश्वमा टेलिभिजन प्रविधि आविष्कार भएको एक शताब्दी नपुग्दै यो अधिकांश व्यक्तिको अपरिहार्य जीवनशैली बनिसकेको छ । सन् १९२६ मा बीबीसी विश्वसेवाका रूपमा सीमित दर्शकको पहुँचबाट शुरु भएको टेलिभिजन यति छोटो अवधिमा विश्वलाई एकैपटक जोड्ने माध्यम बन्ने कल्पनातीत विषय थियो । नेपालमा त झन् टेलिभिजन शुरु भएको तीन दशक नपुग्दै यो बिनाको आमसञ्चार नै कल्पनाभन्दा बाहिरको विषय बनेको छ । तर, ख्याल गर्नुपर्ने विषय यो छ कि २० औं शताब्दीसम्म कल्पनासमेत नगरिएको सामाजिक सञ्जालले यसरी तीव्र गतिले विश्वका हरेक नागरिकलाई जोडिरहेको छ, लाग्छ अबको पत्रकारिता भनेकै ‘सिभिल जर्नालिजम्’को रूपमा त्यतै डोलिने हो कि ?

टीभीमा केही नयाँ र विशेष नभएसम्म दर्शकलाई सेटसम्म तान्न र अड्याउन असम्भव प्रायः हुनेछ। 

सन् २००४ मा एउटा विश्वविद्यालयमा परस्पर संवाद स्थापित गर्न मार्क जुकवर्गले शुरु गरेको फेसबुक यति छिटो सर्वव्यापी बन्ला भन्ने कसले कल्पना गरेको थियो र ? त्यसैगरी टेलिभिजनको विकल्पका रूपमा दर्विलो रूपमा स्थापित भइसकेको यूट्यूब सन् २००५ फेब्रुअरीमा पे पलले सामान्य भिडियो सेयर गर्न शुरु गरेको भन्ने सुन्दा धेरैलाई पत्यारै नलाग्न सक्ला । यसको अर्थ प्रविधि र माध्यम यति तीव्र गतिमा बढोत्तरी र क्षयीकरण भइरहेको छ, जसको गति र चाल ठम्याउन सामान्य चक्षुले सम्भव नै छैन । आजका दिनसम्म त यूट्यूबलगायत माध्यम टेलिभिजनमा प्रसारित सामग्रीको अभिलेखीकरणका दृष्टिकोणले कोसेढुंगा नै बनेका छन् ।

तर त्यो दिन धेरै टाढा छैन, जतिवेला टेलिभिजनले आफ्नो निरन्तरताको सान्दर्भिकता खोज्नुपर्ने दिन आउनेछ । यसै पनि आफूले उत्पादन तथा प्रसारण गरेको सामग्री कति दर्शकसम्म पुग्यो या कतिले रुचाए भन्ने पारदर्शी जाँचकी यन्त्र नै यूट्यूब बनेको छ । आजका दिनसम्म अडेस लाग्ने भित्ताका रूपमा टेलिभिजनको सहायक यूट्यूबलगायत माध्यम बने पनि सधैं त्यस्तो सहजता नरहन सक्छ । यसै पनि टेलिभिजनबाट प्रसारित कार्यक्रम टेलिभिजन सेटमा प्रत्यक्ष हेर्नेभन्दा आफ्नो अनुकूल समयमा वैकल्पिक माध्यमबाट हेर्ने जमात क्रमशः बढिरहेको छ । धेरै घोत्लिनै पर्दैन । यसैले पनि यसको सनातनी ढाँचालाई दर्विलो चुनौती दिइसकेको छ ।

यसै पनि दैनन्दिनका घटना या दुर्घटना अब भोलिपल्ट बिहान प्रकाशित अखबारमा त परको कुरा टेलिभिजनमा समेत कर्मकाण्डीभन्दा बढी रूपमा लिन छाडिसकिएको छ । स्वयं टेलिभिजनकर्मीले समेत ताजा जानकारी र ‘अपडेट’का लागि अनलाइन पोर्टल र सामाजिक सञ्जालमा आँखा डुलाउनु सामान्य भइसक्यो । यसको अर्थ टेलिभिजनमा केही नयाँ र विशेष नभएसम्म दर्शकलाई सेटसम्म तान्न र अड्याउन असम्भव प्रायः हुनेछ । यो क्रम शनैःशनै बढिरहेको छ । केही वर्षमै यस्तो दिन आउनेछ जतिवेला आजका टेलिभिजनहरू यस्तो रूपमा रहने छैनन्, रहे पनि टिक्ने छैनन् ।

अरू माध्यमले जस्तै टेलिभिजनले पनि आफू असान्दर्भिक नहुँदै, समय नघर्किँदै बहुविकल्पमा ढाल्नु र ‘डिजिटल’ दुनियाँमा संस्थागत रूपमा हेलाउनुको विकल्प छैन । यो निर्मम यथार्थ अरू कसैले नभएर एक टेलिभिजनकर्मीका रूपमा यो पंक्तिकार स्वयं भन्दैछ । त्यसो भए टेलिभिजन लोपोन्मुख प्रविधि हो त ? यो आलेखको निष्कर्ष त्यतापट्टि नभएर भएका अनन्त सम्भावना पहिल्याएर योभन्दा अब्बल र सशक्त रूपमा यसले आफूलाई जीवन्त तुल्याउनुपर्छ भन्ने हो । त्यसको ताजा र सशक्त उदाहरण एपी वान् एचडीले ल्याएको ‘पहिलो फ्रेन्चाइज सो नेपाल आइडल’ले प्रस्तुत गरिसकेको छ ।

उन्नत स्तरको टेलिभिजन स्टेसन स्थापनाको लागत खर्चिएर ल्याइएको यो एउटै कार्यक्रमले नेपाली टेलिभिजन इतिहासको मार्गचित्र नै बदलिदियो । दर्शकको रुचिअनुरूपको सामग्री पस्किए कहिल्यै नेपाली टेलिभिजनसँग नजोडिएकाहरू समेत आकर्षित हुने रहेछन् भन्ने कुरा यसले सम्पुष्टि गरिदिएको छ । त्यति मात्रै नभए सुझबुझपूर्ण जोखिम मोल्न तयार भए नेपाली टेलिभिजनको बजार कुन हदमा विस्तार हुनसक्ने रहेछ भन्ने पनि यसले प्रमाणित गरिदियो । पहिलो डान्स रियालिटी सो ‘वुगीवुगी’ तथा ‘नेपाल गट् ट्यालेन्ट’को घोषणाले मात्रै पनि विश्वभरिका नेपालीभाषी दर्शकलाई व्यग्र प्रतीक्षामा राख्नु भनेको टेलिभिजनको भविष्य नभएको नभई यसको शैली र बान्कीमा बद्लाव ल्याइनुपर्छ भन्ने हो ।

विचारप्रधान तथा समाचारीय सामग्रीले पनि समयको बदलिँदो पदचाप महसुस गर्न र दर्शकको रुचिलाई ठम्याउने हो भने आफूलाई सान्दर्भिक तुल्याइरहने केही टेलिभिजन ‘टक सो’ तथा रवि लामिछानेले सञ्चालन गर्ने ‘सीधा कुरा जनतासँग’ले उदाहरण प्रस्तुत गर्छन्, भलै यी सामग्रीमा विशद् अनुसन्धान तथा सापेक्षित शालीनताको अभाव होला । सँगै बुझ्नुपर्ने विषय यो छ कि नवीनता र प्रविधिसँग दक्ष जनशक्तिमा लगानी यसको पहिलो र अनिवार्य शर्त हो । जनशक्ति साध्य हो भने प्रविधि साधन मात्रै ।

 

 

 

प्रतिकृया दिनुहोस