MENU

चौथो अंग

635x90

वर्गविहीन नेपाली पत्रकार

चैतन्‍य मिश्र आइतवार, कार्तिक १९, २०७४

२०४६ सालपछि नेपाली मिडियामा अद्भूत परिवर्तन भयो । ०३६ सालको राजनीतिक परिघटनालाई त्यति महत्व दिएको देखिँदैन । तर ०३६ सालले ०४६ साललाई तयार गरेको हो । मुक्तिको शुरुवाती विन्दु त्यहाँबाट भयो । पञ्यायतको सबैभन्दा कडा समय सन् १९७५ देखि १९७९ सम्म हो । कडा व्यवस्था सकिएपछि कोही पञ्चे अनुदार भए, जस्तै : तुलसी गिरी । कोही उदार भए, जस्तै : सूर्यबहादुर थापा । उदार र अनुदारबीच झगडा पर्‍यो । त्यसपछि मिडियाले धेरै कुरा लेख्न पाए ।

२०४६ सालपछि धेरै मिडिया खुले । गोरखापत्र र रेडियो नेपाल मात्रै भएको वेलाभन्दा अहिले कायापलट भएको देख्छु । दुवै संस्थामा मैले पत्रकारको रूपमा एक समय काम गरेँ । मात्रात्मकता र गुणात्मकताको दुवै दृष्टिले कायापलट भएको देख्छु । मिडियाको हिसाबले सामाजिक लोकतन्त्र भएको मुलुकहरूको दाँजोमा हामी छौँ । मिडियाले यो ठूलो फड्को मारेको हो ।

मिडियामा केही हदसम्म बहुलता पनि बढ्दैछ । त्यो भनेको जातीय बहुलता हो । मधेशीलाई पनि म जातीय भन्छु । जातीय भन्नाले पहाडतिरको मात्रै कल्पना गरिन्छ । मधेशीको जुन परिकल्पना छ नेपालमा, त्यो पनि जातीय परिकल्पना नै हो । क्षेत्रीय कुरा होइन । सबैभन्दा हेपिएका दलितहरू हुन् । उनीहरूको आवाज एकदमै कम छ । त्यसलाई बढाउन जरुरी छ । मिडियामा बहुलता बढ्दैछ ।

आजभोलि राजनीतिक पार्टीहरूले वर्गको कुरै गर्दैनन् । वर्गसम्बन्धी केही कार्यक्रम पनि छैन । त्यो ‘वर्गविहीनता’ पत्रकारभित्र पनि छ । पाठकको हिसाबले तल्लो वर्गलाई छोएकै छैन । उनीहरूले के समस्या भोगिरहेका छन् भन्ने कुरा अखबार पढ्दा छनक पाइँदैन ।

मिडिया सत्तााको सहयात्री हुने नै होइन। सार्वजनिक हितका लागि न्युज र भ्युज बनाउने हो। विश्व ऐतिहासिक दृष्टिकोण बन्नुपर्छ पत्रकारहरूमा।

धेरै अखबार घटनाप्रधान भए, पुनरावलोकनप्रधान भएनन् । यो समस्या हो । इभेन्टमा फोकस हुने भए प्याटर्न मा होइन । धेरै वटा इभेन्ट मिलाएर एउटा प्याटर्न हुन्छ । समग्र स्वरूप, विवरण र विश्लेषण आएन । जस्तै : घुसखोरी । त्यसको आम कारण र निदान खोज्न सकिन्छ । प्रत्येकको इभेन्टमा जोड दिइन्छ । त्यसको समीक्षा जति हुनुपर्ने हो त्यति भएको छैन । संसारका महत्वपूर्ण अखबारहरूमा धेरैजसो समीक्षा हुन्छ । ५–६ वटा समाचारलाई एकठाउँमा राखेर विश्लेषण गरिन्छ । नेपालमा दिनहुँ हुने बस दुर्घटना संख्याभन्दा कारणमा केन्द्रित हुनुपर्ने हो, त्यसमा एकदमै कमी छ । फरक–फरक पाँच ठाउँमा दुर्घटना भयो भन्ने समाचार लेखिन्छ तर त्यो दुर्घटनाको समानता पत्रकारले देख्दैन । दुर्घटनाबारे समीक्षा गरेर कति समाचार लेखिए ? त्यसरी लेख भनेर सम्पादकको सिकाइ कम भएजस्तो लाग्छ । त्यहाँ हेर्नुपर्ने संरचनाको समग्रतामा हो । त्यस्तै, घुसखोरीजस्ता कैयौं विषयमा रिभ्युसहितका समाचार लेखिएको छैन । जबकि संसारका राम्रा पत्रिकाहरूले रिभ्युलाई नै जोड दिन्छन् ।

हामीकहाँ निर्देशन दिने चलन छ । मन्त्रीले सचिवलाई, सचिवले ऊभन्दा तल निर्देशन दिन्छ । संसद्को समितिहरूले पनि निर्देशन मात्रै दिन्छन् । काम फत्ते गरेँ कहिल्यै भन्दैनन् । पत्रकारको काम निर्देशनको रिपोर्ट गर्ने होइन, यो बन्द गर्नुपर्छ । अनि कार्यक्रम पार्टी र सरकारले सुनाउने हो, पत्रकारले होइन । योजना र कार्यक्रम के हो भन्ने होइन । त्यसको कार्यान्यवन के भयो ? राम्रो भयो भने राम्रो लेख्ने । पत्रकारले सधैं गाली गर्नुपर्छ भन्ने छैन । नराम्रो भयो भने त्यसको कारण लेख्ने गर्नुपर्छ । त्यसलाई कसरी राम्रो पार्न सकिन्छ, त्यहाँ दोष कसको छ त्यो पो लेख्ने हो । कहिलेकाहीँ मन्त्रीहरूले ‘हामी सोच्दैछौँ’ भन्ने पनि समाचार बनेर आउँछन् । के सोच्दैछन् भन्ने सार्वजनिक चासोको विषय नै होइन । सोच्न त जे पनि सोचिन्छ नि ।

नेता, सांसद, मन्त्रीहरूमा चाहिनेभन्दा धेरै केन्द्रित भए, पत्रकारहरू । नेताहरूलाई फोकस गर्नुपर्छ । तर उनीहरूले के गरे भन्नेमा पो केन्द्रित हुनुपर्छ, उनीहरूको मुखअगाडि माइक्रोफोन लाने होइन । अधिकांश पत्रकार, मिडिया हाउस र नेताको साँठगाँठ छ । एकले अर्काको पछाडि कन्याइदिएर मजा लिने गरेको देखिन्छ । पत्रकारलाई राजनीतिज्ञ नभई हुँदैन भने राजनीतिज्ञलाई पत्रकार नभई हुँदैन । प्रकारान्तरले एकअर्काको सहयोगी भएका छन् । कहिलेकाहीँ गाली गरेको पनि देखिन्छ । तर त्यो नेता त्यही पत्रकारको माध्यमबाट बोल्छ । बोलेको किन सुनाउनु हामीलाई ? गरेको देखाउनुपर्‍यो । एक किसिमले अघोषित मित्रता छ, यी तीनबीच । नेपालको पत्रिकाले नेपालभरिको आवाज बोल्नुपर्‍यो, नेताको मात्रै होइन । किसान, उद्योगपति, गृहिणी, विद्यार्थी, शिक्षक, रोगी, डाक्टर सबैको आवाज बोल्नुपर्‍यो । तर यो आवाज एकदमै मलिनो छ । राजनीतिज्ञको आवाज मात्र टड्कारो छ । यसो गर्दा पत्रकार र राजनीतिज्ञले जित्छन्, जनताले हार्छन् ।

 

UML-Press-Meet_1

राजनीतिक समाचारकै क्रेजः एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालसँग कुराकानी गर्दै पत्रकार तस्बिरहरूः विकास रौनियार/नेपाल पिक्चर लाइब्रेरी

मिडियाले गर्नैपर्ने अर्को मुख्य विषय भनेको ‘आर्थिक रिपोर्टिङ’ हो । उत्पादन, उद्यम, वित्तीय व्यवस्था, ट्रेड सबैको आउनुपर्‍यो । पुँजी कहाँबाट कहाँ प्रवाहित हुन्छ ? कहाँ जम्मा हुन्छ ? कहाँबाट कहाँ जान्छ ? यी कुरा हाम्रा दैनन्दिनका लागि अत्यन्त महत्वपूर्ण छन् । न कि संसद्मा बोलिएको कुरा होइन । सकेदेखि आधा रिर्पोटिङ जीविका, अर्थतन्त्र, उत्पादन र व्यापारसम्बन्धी न्युज र भ्युज आउनुप यो । विष्लेषण पनि यी कुराहरूलाई केन्द्रमा राखेर गरिनुपर्‍यो ।

केलाई प्राथमिकता दिने केलाई नदिने भन्ने कुरामा धेरै छानबिन भएको देखिँदैन । उदाहरणका लागि अहिलेका शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकलाई स्थायी गर्ने क्रममा २६ हजारको लागि सात लाख शिक्षक र नेपालको समग्र विद्यार्थीको हितलाई धोका दिए । यसबारे एक–दुइटा रिर्पोटिङ भयो, त्यसपछि हरायो । त्यो कति दूरगामी महतवको विषय हो भन्ने कुरा पत्रकार, मिडिया हाउस र सम्पादकले कि त बुझेनन्, कि सार्वजनिक हित भन्ने कुरै तिलाञ्जली दिए । त्यसले दुई पुस्तामा प्रभाव पार्छ । अखबारहरूले जति स्थान दिएर फलोअप गर्नुपर्ने थियो, त्यो हुँदै भएन । यस्तो प्रभाव पार्ने कुरा अरू पनि छन् ।

काठमाडौं उपत्यकाको प्रदूषणबारे रिपोर्टिङ नै छैन । काठमाडौंमा मृत्युको छैटौं कारण प्रदूषण भनेर बीबीसीले भनेको छ । जलविद्युत्सम्बन्धी समाचारमा अवैद्य ढंगले एउटाले ठेक्का लियो भन्ने समाचार त आउँछ । तर, अवैध भएपछि के बेफाइदा हुन्छ ? त्यहाँको नागरिकलाई के असर पर्छ भन्ने कुरा कहीँ लेखिँदैन । अनुसन्धानमूलक रिपोर्टिङ पनि कम छ । सार्वजनिक हित र आफ्नै अखबार पनि राम्रो बनाउन अनुसन्धानमूलक रिपोर्टिङ अत्यन्त महत्वपूर्ण हुन्छ ।

गहिरो र खँदिलो रिपोर्टिङको कमी छ । ‘जनयुद्ध’को वेलामा ‘खारा आक्रमणमा यति जना मान्छे मरे’ भन्ने समाचार आयो । यति गाविस जल्यो भनिए । तर, ‘माओवाद’ भनेको के हो ? यो लागू भयो भने के हुन्छ मुलुकमा ? त्यो विश्लेषण कहिल्यै पढ्न पाइएन । त्यसको समग्रतामा कहिल्यै समाचार नलेखी एकदमै घटनाकेन्द्रित समाचारलाई रोमाञ्चक र सनसनीपूर्ण बनाएर लेख्ने चलन भयो । हालैको मधेशको रिपोर्टिङबारे त्यस्तै समाचार आए । आम मधेशीसँग अन्तरंग गरेर होइन कि कार्यकर्ता र नेताहरूलाई मेचको वरिपरि राखेर सोधियो । आम मधेशीको आवाज नै आएन । उनीहरूको मन उत्खनन् गर्नुपर्‍यो । उसको जीवनमा मधेशी हुनुले के हानि अथवा फाइदा भएको छ, उसको भावना त्यहाँ प्रतिबिम्बित हुनुपर्‍यो । एउटै चिज प्रतिबिम्बित हुने, आम चीज प्रतिबिम्बित नहुने भयो ।

विज्ञापनदाताको कमजोरीका समाचार लेख्दै नलेख्ने, अथवा लेख्नै परे ज्यादै थोरै लेख्ने चलन पनि बढेको छ ।

समाचार र विचारभन्दा विज्ञापन नै धेरै भएजस्तो लाग्छ । समाचार हेर्न बस्दा १०–१२ मिनेट विज्ञापन मात्रै आउँछ । यो कसले नियन्त्रण गर्ने ? विज्ञापनलाई यति धेरै स्थान दिएपछि के कुरालाई कभर स्टोरी बनाउने, केलाई नबनाउने, केलाई फलोअप गर्ने, केलाई नगर्ने ? यो भएको छैन । विज्ञापनदाताको कमजोरीका समाचार लेख्दै नलेख्ने, अथवा लेख्नै परे ज्यादै थोरै लेख्ने चलन पनि बढेको छ । सम्पादक मिडिया हाउसबाट नितान्त भिन्दै हुनुपर्छ । प्रकाशकले सम्पादकले यो समाचार बनाऊ, यो नबनाऊ भनेको जस्तो लाग्छ । कतिपय संगठनको नराम्रो समाचारै आउँदैन । मिडिया हाउसको व्यापारिक स्वार्थले त्यहाँको सम्पादकीय विषयलाई जितेको देखिन्छ ।

धेरै पत्रकार युवा छन् । तिनले गुणस्तर हासिल गर्न बाँकी छ । युवा हुनु नराम्रो होइन तर पत्रकारितामै तालिमप्राप्त गरी फराकिलो ज्ञान भएको पत्रकार मिडियामा होऊन् भन्ने हाम्रो चाहना हुन्छ । गाउँको समाचार कच्चा आउँछ । उनीहरूलाई तलब व्यवस्थापन राम्रो नभएर पनि हुन सक्छ । राम्रो पत्रकारले पनि अन्तर्राष्ट्रियस्तरको राम्रो प्रचलन के हो नसिकेको देखिन्छ ।

भारत, युरोपका राम्रा पत्रिकाहरूबाट हामीले धेरै सिक्न सक्छौं । उनीहरूको पत्रिकाको गुणस्तर किन राम्रो छ भनेर समूहमा विश्लेषण गर्नुपर्छ । नाकाबन्दीमा जसरी समाचार आउनुपथ्र्यो, त्यति आएन । न प्राध्यापकहरूले लेखे, न पत्रकारहरूले नै लेख्न सके । संकटको घडीमा शक्तिशाली लेखहरू आएनन् ।

नेपालको पत्रकारिता मौकापरस्त छ । आम पत्रकारको कुरा गरेको होइन । मुख्य मिडिया हाउसहरूको व्यापारिक स्वार्थकै कुरा हो । उनीहरू जनयुद्ध र नाकाबन्दीको वेलामा बोलेनन् । डर नाघ्न सकेनन्, पत्रकार र मिडिया हाउसले । व्यक्तिगत पत्रकारभन्दा पनि मिडिया हाउसहरू डरबाट मुक्त हुनुपर्ने हो, तर मिडिया हाउसको व्यापरिक स्वार्थ हाबी भएजस्तो लाग्छ । व्यापारिक स्वार्थ हाबी हुँदा पत्रकारिता मर्छ । जनता र पत्रकारको हितलाई बाहुबल र राजनीतिले मात्रै होइन, वित्तीय कारणले पनि थिच्छ । पत्रिकाको मुख्य सञ्चालनको चाहना कहाँबाट पैसा आउँछ भन्ने नै हो । नाफा कमाइराख्ने हो ।

प्रश्नविहीन पत्रकार मात्रै हुँदैन, शिक्षक, प्राध्यापक, रिसर्चर, कर्मचारी सबै हुन्छन् । म पत्रकार हुँ, पत्रकारिता पैसा कमाउने माध्यम अथवा जागिर हो भन्ने चलन छ । पत्रकारितामा मन मस्तिष्क प्रयोग भएको छैन । पत्रकार भएकोमा गर्व गर्दैनन् पत्रकारहरू । यो पेसालाई माथि उचाल्न चाहँदैनन् । कमाइको बाटो मात्रै हो भनेर सोच्दा प्रश्न हराउने गर्छ । पेसाप्रतिको समर्पण नभएपछि प्रश्न गर्नै छोडिन्छ । सरकार र पार्टीको नेतृत्व वर्ग नै कर्तव्यच्युत हुँदै गएपछि हामीले गरेर के हुन्छ भन्ने छ उनीहरूमा ।

मिडिया सत्ताको सहयात्री हुने नै होइन । सार्वजनिक हितका लागि न्युज र भ्युज बनाउने हो । विश्व ऐतिहासिक दृष्टिकोण बन्नुपर्छ पत्रकारहरूमा । अहिले विश्व कुन स्थितिमा छ ? नेपाल कहाँनेर छ ? हाम्रो संविधानमा के लेखिएको छ ? त्यसरी प्रशिक्षित गर्नुपर्छ आफूलाई । हो, दृष्टिकोण त्यसैले बनाउँछ । अनि देश उक्त बाटोमा जाँदै छ/छैन ? त्यस बाटोका तगारा के–के हुन् ? तगारो हाल्ने मान्छे, संस्था पार्टी कुन कुन हुन् ? आम मानिसको सार्वजनिक हित किन भइरहेको छैन ? छ भने कसरी भइरहेको छ ? त्यसको रिपोर्टिङ पो गर्न सक्नुपर्छ । सत्ताको चरित्र कस्तो हो ? सत्ताले कहाँनेर रोकिराखेको छ ? त्यसको रिपोर्टिङ गर्नु पत्रकारिताको प्रथम कर्तव्य हो ।

कार्यकर्ता मात्रै होइन शिक्षित मान्छेमा पनि पार्टीको नजरबाट संसार बुझ्न खोज्ने, संसारलाई ढाल्न खोज्ने बानी पर्‍यो । यस्तो पत्रकारहरूमा पनि छ । समाचार संकलन गर्नेसँगै यस्ता बृहत् कुराहरूमा पनि मिडिया हाउसहरूमा छलफल हुन आवश्यक छ । यी कुराहरूले पत्रकारको दृृष्टिकोण तीखो बनाउन मद्दत गर्छ ।

राजु स्याङ्तानसँग कुराकानीमा आधारित





 

प्रतिकृया दिनुहोस