MENU

635x90

भटमासले मालामाल

राजेन्द्र कार्की, जाजरकोट बुधवार, माघ १२, २०७३

साल्म ७ जाजरकोटका नन्दबहादुर खड्कालाई साँझबिहान छाक टार्न समस्या थियो । अरू वर्ष उनी मजदुरीका लागि भारत जान्थे र परिवारको गर्जो टार्थे । तर, भटमासले यस वर्ष उनको जिन्दगी फेरिदियो । उनले यस वर्ष २० क्विन्टल भटमास फलाएका छन् । अन्य बालीमा पनि लगाउन सकिने भएपछि खड्काको ध्यान भटमास खेतीतर्फ गयो । मकै, धान र कोदोसँगै भटमास रोप्न मिल्छ ।

भटमास खेती गर्न जिल्ला कृषि विकास कार्यालयले प्रोत्साहित गरेपछि उनीलगायत किसान व्यावसायिक रूपमा यसतर्फ आकर्षित भएका हुन् । कार्कीगाँउ ६ का नरबहादुर खड्का पनि केही वर्ष पहिलेसम्म घरायसी प्रयोजनमा मात्र भटमास खेती गर्थे । तर, अन्य बालीसँगै भटमासको उत्पादन झन् राम्रो हुने भएपछि बढी खेती गर्न हौसिएकामा यस वर्ष करिब १५ क्विन्टल फलाए ।

परम्परागत रूपमा जिल्लाभर लगाइने भटमास नन्दबहादुर र नरबहादुरजस्तै अहिले जाजरकोटका धेरै किसानले व्यावसायिक खेती थालेका छन् । जिल्लाका साल्मा, सिमा, भुर, कार्कीगाउँ, दशेरा, मजकोट, पजारु, पैंक, ढिमे, अर्छानी, रोकायागाउँ, सक्लालगायत गाविसमा भटमास खेती गरिँदै आएको छ । जिल्लामा यस वर्ष पाँच सय हेक्टरमा गरिएको खेतीबाट चार हजार आठ सय क्विन्टल भटमास उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्विन्टल ६ हजार रुपैयाँ पर्ने गरेकामा यस वर्ष मात्र जिल्लामा दुई करोड ८८ लाख रुपैयाँको भटमास उत्पादन भएको कृषि विकास अधिकृत मुकेश रामजाली नेपालीले जानकारी दिए । गत वर्षबाट जिल्ला कृषि विकास कार्यालयको सहयोगमा भटमास खेती प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिँदैआएको छ । बीउ उत्पादन, भटमासको बीउमा ७५ प्रतिशत अनुदान, राइजोबियम वितरण, सूक्ष्म तत्व तथा विषादी वितरण, स्थलगत तालिमजस्ता कार्यक्रम सञ्चालन गरिएको अधिकृत नेपालीले बताए ।

तर, साल्मा ८ अन्दरकोटका किसान खडकबहादुर बुढाले यातायात असुविधाले गर्दा बिक्री गर्न निकै समस्या भएको गुनासो गरे । भटमास खेतीका लागि कम मलिलो जमिन भए पनि हुने, सिँचाइ खासै आवश्यक नपर्ने र हेरचाह पनि कम गरे हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि विकास अधिकृत श्रीराम घिमिरे बताउँछन् । भटमासको बीउमा राइजोबियम मोलेर लगाउँदा उत्पादन बढ्ने गर्छ ।

राइजोबियम भनेको भटमासको जरामा हुने एक किसिमको ब्याक्टेरिया हो, जसले हावामा रहेको नाइट्रोजनलाई स्थिरीकरण गरी आफूले उपयोग गर्ने र बाँकी रहेको नाइट्रोजन अन्य बालीका लागि पनि उपयोगी हुन्छ । यसो गर्दा रासायनिक मल प्रयोग गर्नु नपर्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको घिमिरे बताउँछन् । भटमास खाजा र तरकारीका रूपमा प्रयोग हुन्छ । कुखुराको दाना र अन्य दानाजन्य उद्योगमा समेत व्यापक प्रयोग गरिन्छ ।

जाजरकोटमा रैथाने खैरो, सेतो, कालोलगायत भटमास खेती गरिँदै आएको छ । यहाँको भटमासको स्थानीय जातको संरक्षण तथा दर्ताका लागि कृषि विकास कार्यालय, राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम तथा स्थानीय कृषकको सहभागितामा दुई वटा परीक्षण गरिएको थियो । राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रमबाट पहिचान भएका सात वटा जात छन् ।

तीमध्ये पैंकलगायत क्षेत्रमा उत्पादन हुने स्थानीय कालो जातको भटमास पोषणको दृष्टिले उत्कृष्ट पाइएको थियो । यहाँको भटमास रैथाने भएको र अन्यभन्दा फरक रहेकाले जात दर्ताका लागि राष्ट्रिय बीउबीजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडांैमा आवश्यक प्रक्रिया अगाडि बढाइएको नेपालीले जानकारी दिए ।

कृषि विकास कार्यालय र कुशे–जलजला कृषि सहकारी संस्थाले भटमासको जात दर्ताका लागि महिना दिनअघि आवश्यक प्रक्रिया पुर्‍याएर निवेदन दर्ता गरिसकेको छ । जात दर्ता भए जिल्लाको भटमास खेतीमा छुट्टै पहिचान कायम हुने नेपाली बताउँछन् ।

प्रतिकृया दिनुहोस