MENU

समीक्षा

635x90

साहित्‍यकार इसिगुरोको पुस्तक–यात्रा

किरण दहाल सोमवार, आश्विन ३०, २०७४

लन्डनस्थित आफ्नै घरमा खाना खाने तरखरमा थिए, काजुओ इसिगुरो । ५ अक्टोबरको बिहानी घर्किसकेको थियो । त्यतिवेलै उनको सहयोगीको फोन आयो । उसले निकै हतारिएको स्वरमा सुनायो, ‘तपाईंले नोबेल पुरस्कार जित्नुभयो ।’ मान्छेहरूले आफ्नो सहयोगीलाई गलत समाचार सुनाइदिए भन्ने ठानेर इसिगुरोले वास्तै गरेनन् । बरु, भान्सामै यताउती गर्न थाले । बाहिर मान्छेहरूको भीड लागिसकेको थियो । पत्रकारहरू ठूल्ठूलो स्वरले कराइरहेका थिए । बल्ल उनलाई आफ्ना सहयोगीले ठिकै समाचार सुनाएछन् भन्ने लाग्यो ।

टोनी मोरिसन, डोरिस लेसिङ, पाब्लो नेरुदाजस्ता विख्यात साहित्यकारहरूले नोबेल साहित्य पुरस्कार हात पारिसकेका छन् । र, पछिल्लो पंक्तिमा उभिन आइपुगेका छन्, इसिगुरो । हारुकी मुराकामी, सलमान रुस्दी, मार्गरेट एटबुट, करम्याक म्याककर्मीजस्ता जिउँदा महान् हस्तीहरूले समेत नपाएको उक्त पुरस्कार आफूले पाउँदा उनी अचम्ममा परे । एक मनले उनलाई नराम्रो पनि लाग्यो । आफ्नो द्विविधाबारे इसिगुरो भन्छन्, ‘मलाई कहिलेकाहीँ लाग्छ, यो पुरस्कार पाउन मेरो उमेर कम छ । तर फेरि सोच्छु, म त ६२ वर्ष पुगिसकेँ । त्यसपछि पुरस्कारका लागि यो उमेर ठिकै होला भनेर चित्त बुझाएँ ।’ इसिगुरोबारे बोल्दै नोबेल एकेडेमीकी स्थायी सचिव सारा डेनियसले भनेकी छन्, ‘उनी विगतप्रति निकै चाख राख्छन् । समाज र व्यक्तिले बिर्सिएका कुराहरूलाई उनी उदांगो बनाइदिन्छन् ।’

उनी अहिले एउटा उपन्यासका लागि काम गरिरहेका छन् । नोबेल पुरस्कार पाइसकेपछि अब केही समयका लागि उनी यस कामबाट टाढिने निश्चित छ । एउटा चर्चित लेखकलाई पुरस्कारले झनै सेलिब्रेटीकै रूपमा उभ्याइदियो । खुशी र बधाईले अब केही समयका लागि उपन्यासमै डुबेर काम गर्न गाह्रो हुनेछ । तर पनि उनले यसबाट आफ्नो कामलाई खासै असर नपर्ने र पाठकले चाहेबमोजिम नयाँ पुस्तक छिट्टै बजारमा ल्याउने बताएका छन् ।

इसिगुरो ८ नोभेम्बर १९५४ मा जापानमा जन्मिएका थिए । उनका बुबा सिजिओ इसिगुरो समुन्द्रविद् हुन् । जापानबाट अनुसन्धाताको रूपमा काम गर्न ‘ब्रिटिस नेसनल इन्सिच्युट अफ ओसिएनोग्राफी’ले सिजिओलाई बेलायत बोलायो । परिवारसँगै इसिगुरो पनि पाँच वर्षको उमेरमा बेलायततिर हिँडे । त्यसको करिब ३० वर्षपछि मात्र सन् १९८९ मा उनी आफ्नो कामको सिलसिलामा केही समयका लागि जापान फर्किएका थिए ।

यही बीचमा १९८३ मै इसिगुरोले बेलायती नागरिकता लिइसकेका थिए । उनले १९७८ मा केन्ट विश्वविद्यालयबाट मानविकी संकायमा अंग्रेजी र दर्शनशास्त्रमा स्नातक गरेका हुन् । त्यसपछि १९८० मा एन्जेलिया विश्वविद्यालयबाट ‘क्रिएटिभ राइटिङ’मा मास्टर्स गरे । मास्टर्स गर्दाको थेसिस नै उनको पहिलो उपन्यास ‘अ पेल भ्यु अफ हिल्स’ (१९८२) नामबाट प्रकाशित भयो ।

तन्नेरी हुँदा इसिगुरो चर्चित गीतकार बन्ने चाहन्थे । यसका लागि प्रशस्त अभ्यास पनि गरे । तर, यो क्षेत्रमा सफल भएँ भन्ने लाग्दैन उनलाई । सफल हुँदा हुन् त बब डिलनले जस्तै गीतकारै भएर नोबल पुरस्कार पाउँथे कि ! सम्भावनाको कुरा छाडिदिऊँ । वास्तविकतामा गायनभन्दा पनि गीत लेखनमा उनको दक्खल थियो । यसले उनको उपन्यास लेखनलाई पनि सहयोग ग¥यो । २०१५ मा न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘गीत लेखनले मलाई उपन्यास लेख्न पनि हौसला बढायो ।’

आफ्नो लेखनबाट उनले ठूलो सफलता पाइसकेका छन् । ४० वटा भाषामा अनुवादित भइसकेका उनका किताबहरू विश्व बजारमा निकै चर्चित छन् । उनी आफ्नो उपन्यास विशेषगरी ‘फस्ट पर्सन’मा लेख्छन् । उपन्यासको ‘न्यारेटर’ अविश्वनीय हुन्छ । उनीहरूलाई उपन्यासकोे घटनाको वास्तविकताबारे थाहा नै हुँदैन, जुन पाठकसामु विस्तारै–विस्तारै खुल्दै जान्छ । क्यानेडियन उपन्यासकार माइकल अनडान्जेले टाइम्स म्यागेजिनलाई इमेल लेख्दै भनेका छन्, ‘उनी एक रहस्यमय लेखक हुन्, जसले उपन्यासमार्फत मलाई सधैं अचम्ममा राखे ।’ २६ वर्षको हुँदा उनको पहिलो उपन्यास ‘अ पेल भ्यु अफ हिल्स’ छापियो । यो नागासाकीको कथामा आधारित छ ।

उनको दोस्रो उपन्यास ‘द फ्लोटिङ ओर्ड’ ले बेलायतको ‘ह्वाइटब्रेड’ पुरस्कार नै पाएको थियो । उनको तेस्रो उपन्यास ‘रिमेन्स अफ द डे’ अंग्रेजी भाषामा मात्रै १० लाखभन्दा धेरै प्रति बिक्री भयो । ‘मर्चेन्ट आइभरी’ नाममा यसको फिल्म नै बनेको छ । ४ पटक ‘म्यान बुकर प्राइज’को छनोटमा परेको इसिगुरोले ‘द रिमेन अफ द डे’ मार्फत १९८९ मा उक्त पुरस्कार हात पारेका थिए । यो पुस्तकलाई टाइम्स म्यागेजिनले २००५ मा अंग्रेजी भाषाको सबैभन्दा उत्कृष्ट उपन्यासको सूचीमा राखिदियो । यी उपन्यासकार पटकथा र टेलिनाटकसमेत लेख्छन् ।

नोबेल साहित्यकार पुरस्कार विजेता इसिगुरोद्वारा लिखित नाटक ‘पोटेटोज एन्ड लभर्स’ कुनै समय बीबीसीले छाप्न अस्वीकार गरेको थियो । पेरिस रिभ्यूलाई २००८ मा दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अस्वीकृत भए पनि त्यतिवेला मैले राम्रो प्रतिक्रिया पाएको थिएँ ।’

आफ्नो विश्वविद्यालयको पढाइ सकेर बसेका वेला उनले यो नाटक लेखेका थिए । नाटक दुई डेढो युवाको कथामा आधारित छ । उनको प्रायः लेखन विगतसँग सम्बन्धित हुन्छन् । उपन्यासका पात्रहरू आफ्नो समस्या पहिल्याउँदै विगतमा पुग्छन् तर त्यहाँ समस्याको समाधान नभइकनै इसिगुरोले उपन्यास टुंग्याइदिन्छन् । समस्याहरू यथावत् नै रहन्छन् । यो उनको उपन्यास लेख्ने ‘टेक्निक’ हो ।

इसिगुरोले पुरस्कार पाइसकेपछि भनेका थिए, ‘यस्तो समयमा हामी बाँचिरहेका छौँ, जहाँ हाम्रो राजनीतिक नेतृत्वले विश्वास गुमाइसकेका छन्, राजनीतिक व्यवस्थाप्रतिको आस्था नै छैन हामीमा । मलाई विश्वास छ कि यो पुरस्कारले थोरै भए पनि राम्रो सन्देश प्रवाह गर्नेछ । यसले हामीलाई हाम्रो संसार कस्तो छ र संसारको जुनसुकै ठाउँबाट हामीले अरूका लागि के सहयोग गर्न सक्छौँ भन्ने कुराको सन्देश दिनेछ ।’

इसिगुरोका पुस्तकहरु

* अ पेल भ्यु अफ हिल्स (१९८२)
* एन आर्टिष्ट अफ द फ्लटिङ वल्र्ड (१९८६)
* द रिमेन्स आफ द डे (१९८९)
* द अनकन्सल्ड (१९९५)
* ह्वेन वि वयर अर्फान्स (२०००)
* नभर लेट मि गो (२००५)
* द बरिड जायन्ट (२०१५)

साहित्यमा नोबेल पाउने लेखकहरु

* गाओ जिङजिआन (२०००)– चीन– उपन्यास, नाटक, साहित्यिक समालोचना
* भीएस नइपाउल (२००१)– बेलायत– उपन्यास, निबन्ध
* इम्रे कार्टेज (२००२)– हंगेरी– उपन्यास, निबन्ध, अनुवाद
* जे एम कोटेजी (२००३)– दक्षिण अफ्रिका– उपन्यास, निबन्ध
* अल्फ्रेड जेलिंक (२००४)– अस्ट्रिया– उपन्यास, नाटक
* ह्यारोल्ड पिन्टर (२००५)– बेलायत– नाटक, स्क्रिनप्ले
* ओह्रान पामुक (२००६)– टर्की– उपन्यास, स्क्रिनप्ले, निबन्ध
* डोरिस लेसिङ (२००७)– बेलायत– उपन्यास, कथा, कविता, नाटक, मेमोयर
* जे एमजी ले क्लेजीव (२००८)– फ्रान्स– उपन्यास, कथा, निबन्ध, अनुवाद
* हेर्टा मुलर (२००९)– जर्मन– उपन्यास, कविता
* मारियो भर्गास लोजा (२०१०)– पेरु– उपन्यास, कथा, निबन्ध, नाटक, मेमोयर
* टोमस ट्रान्स्ट्रमर (२०११)– स्विडेन– कविता, अनुवाद
* मो यान(२०१२)– चाइना– उपन्यास, कथा
* एलिस मुनरो (२०१३)– क्यानडा – कथा
* पेट्रिक मोडियानो (२०१४)– फ्रान्स– उपन्यास
* स्वेतलाना एलेक्सिभिच (२०१५)– बेलारस– इतिहास, निबन्ध
* बब डिलन (२०१६)–अमेरिका– कविता, गीत
* काजुव इसिगुरो (२०१७)–बेलायत– उपन्यास

प्रतिकृया दिनुहोस