MENU

समीक्षा

635x90

रुस्दीको ट्रम्प कार्ड

सरा बेग्ले, टाइम म्यागजिन बुधवार, आश्विन २५, २०७४

उत्कृष्ट उपन्यासले इतिहासको खास घटनालाई समात्ने भए पनि यसले मान्छेहरूलाई सोच्न विवश बनाउँछ । उदाहरणको रूपमा जेन अस्टिनको उपन्यास ‘प्राइड एण्ड प्रेजुडिस’मा देखाइएको सामाजिक मूल्य÷मान्यता, विश्वासका कुरादेखि जोन स्टेइन् ब्याकले ‘द ग्रयाप्स अफ वार्थ’मा देखाएको निराशालाई लिन सकिन्छ । तर, अहिलेका ग्याजेट, एप्स र सांस्कृतिक विषयबारे सन्तुलन मिलाएर लेखिएका कथाहरू असान्दर्भिक भइदिन्छ ।

सलमान रुस्दी दशकौंदेखि कुटिल तरिकाले त्यस्तो मसिनो डोरीमा हिँडिरहेका छन् । सन् १९८१ मा प्रकाशित ‘मिडनाइट्स चिल्ड्रेन’देखि २००५ मा आएको ‘सलिमार द क्लाउन’सम्मको पुस्तक हेर्दा रुस्दी साहित्य र भू–राजनीतिसँग निकै जानकार देखिन्छन् । रुस्दीको ‘मिडनाइट्स चिल्ड्रेन’ले भारतको विभाजनदेखि लिएर एकोहोरो प्रेमको पीडासमेत बोलेको छ । त्यस्तै, उनको ‘सलिमार द क्लाउन’ले कस्मिरदेखि लस एन्जलससम्मको युद्धको कुरा उठाउँछ । उनले एउटा त्यस्तै काम ‘गोल्डेन हाउस’मा पनि गरेका छन् । जसमा एउटा भ्रष्ट भारतीय व्यापारी आफ्ना तीन छोरा लिएर बम्बई माफियादेखि भागेर नयाँ जीवनका लागि अमेरिका पुग्छ । उसँग रुसी श्रीमती पनि सँगै हुन्छे ।

अहिलेका जल्दाबल्दा कुराहरू, लिंग परिवर्तन, अटिजम, वाक् स्वतन्त्रता र राष्ट्रवादजस्ता विषयहरू प्रयोगमा आइसकेका छन् । ग्याट्स्बीको झल्को दिनेगरी यस उपन्यासमा रेने अन्टरलिन्डेन न्यारेटर छन् । उनी आफ्ना यी धनी छिमेकीबारे सिनेमा बनाउने योजनामा छन् । यस्तै एफ स्कट फिजगेराल्डले पनि अमेरिकाको एक समयको बयान गरेका छन् । रुस्दीले टाइम्ससँग भने, ‘म साँच्चै नै ठाउँहरूको माहोल अनुभव गर्न चाहन्छु ।’

डोनाल्ड ट्रम्पको राष्ट्रपतीय पदको कुरा गरौँ । द गोल्डेन हाउस, बाराक ओबामाको २००८ को निर्वाचन हुँदादेखि ‘जोक्कर’को निर्वाचनमा आएर टुंगिन्छ । यो ‘जोक्कर’ ट्रम्पीय सम्मिश्रणको उपनाम हो, जोसँग वास्तविक गोथ्याम शहरको जोक्करजस्तै हरियो कपाल, सेतो छाला, रातो ओठ छ । रुस्दी भन्छन्, ‘ट्रम्प र जोक्कर दुवैले अस्वभाविक रूपमा कार्ड खेलिरहेका छन् ।’ उपन्यासमा मुख्य पात्रहरू आफ्नो दैनिक जीवनसँग जुधिरहँदा उपन्यासको पृष्ठभूमिमा जोक्कर हल्ला गर्दै शहरको चक्कर लगाएर समस्या पैदा गरिरहेको हुन्छ ।

द गोल्डेन हाउस उनको परिचित कृति मिडनाइट्स चिल्डे«नमा भएको स्वैरकल्पनाभन्दा बढी यथार्थमा उभिएको छ । र, पछिल्लो उपन्यास ‘द इयर्स एट मन्थ एन्ड ट्वान्टी एट नाइट्स’ (२०१५) मा उनले पहिलेको पुस्तकमा भन्दा बढी आफ्नो शैली समातेको पाइन्छ । रुस्दी भन्छन्, ‘यसको सन्दर्भ स्रोत काफ्काभन्दा बाल्जाक हुन् ।’ तर, यसले देखाउने यथार्थसम्पन्न अमेरिकीहरूको जस्तै विरलै खालको छ । (जसमध्ये केहीले जोक्करको विरोधी ब्याट बुम्यानलाई भोट गर्ने बढी सम्भावना छ ।)

आफ्नो कामबाट ट्रम्पको राष्ट्रपतीय कालको प्रतिक्रिया जनाउनेमध्ये रुस्दी (जसका कृतिहरू १० औं लाख प्रिन्ट भएका छन्) पहिलो लहरकै कलाकारमा पर्छन् । तर, तपार्इंले सोचेभन्दा बढी उनको ट्रम्पसँग समानता रहेको छ । दुवै सम्पन्नहरूको पत्रिकामा बारम्बार देखापर्छन् । दुवैसँग एकभन्दा बढी श्रीमतीहरू छन् । दुवै विश्वका ठूला नेताहरूसँग बाझिरहेका छन् । र, दुवैले चर्चित सिनेमा (ट्रम्पले ‘होम एलोन २’ र रुस्दीले ‘ब्रिजेट जोन्स डायरी’) मा अभिनयसमेत गरेका छन् । के यो सबैले रुस्दीलाई अमेरिकाको ४५ औं राष्ट्रपतिबारे लेख्न उपयुक्त उपन्यासकार बनाउँछ ?

rushdie-book

‘तपाईंले यो कुरा भनेपछि म भयभीत भएँ,’ रुस्दी हाँस्दै भन्छन्, ‘त्यो अलि बढी मिलेको संयोग मात्र हो ।’

निरो गोल्डेनका केही गुणहरूले हाम्रो ‘व्यापारी प्रमुख’लाई संकेत गर्छ । रुस्दी निरो गोल्डेन अर्कै स्थानबाट आएको बताउँछन् । ऊ बम्बे माफिया र अति धनाढ्य भारतीयबाट प्रभावित छ । ‘म ट्रम्पभन्दा ग्रीक वियोगान्तबारे बढी सोचिरहेको छु,’ उनी भन्छन्, ‘किताबमा दोहोरिरहने प्रश्न छ– कोही एकसाथ असल र खराब हुन सक्छ कि सक्दैन ? हो, साँचो रूपमा म त्यही उधिन्न चाहन्थेँ ।’

ट्रम्पले जित्ने पक्का भएर नै ९५ प्रतिशत पुस्तक चुनावअघि नै लेखेको बताउँछन्, रुस्दी । व्यक्तिगत रूपमा हिलारी क्लिन्टनलाई समर्थन गरे पनि उनको सम्भावना छैन जस्तो लागेको थियो, रुस्दीलाई । ‘केही समयअघि ट्याक्सीमा एक शिख ड्राइभरसँग थिएँ । उनले ट्रम्पलाई भोट हाल्न गइरहेको बताए । मैले सोधें ‘तपार्इं किन त्यस्तो गर्नुहुन्छ ? तपार्इं र मजस्ता मान्छेहरूलाई मन पराउँदैनन् ट्रम्पले ।’ उनको जवाफ थियो, ‘सर, ट्रम्प निशानामा हान्छन् । आफूलाई लागेको कुरा भन्छन् । उनले कसैलाई बाल दिँदैनन् ।’ र, मैले सोचेँ, हरे, ट्रम्पले जित्न गइरहेछन् ।’ यदि क्लिन्टनले जितेकी भए आफूले पाण्डुलिपिमा पुनः काम गर्नुपर्ने अवस्था आउने बताउँछन्, रुस्दी । ‘म ट्रम्पले नजितेको विश्वास गर्न चाहन्थेँ । तर मेरो पुस्तकले भने अर्कै सोचिसकेको थियो ।’

ट्रम्पसँग आफ्नो एक–दुई पटक जम्काभेट भएको बताउँछन्, उपन्यासकार रुस्दी । एक पटक धेरै वर्षअघि मेट्रोपोलिस ओपेरामा । रुस्दी भन्छन्, ‘उनी आफ्नो सहकर्मीसँग मेरो अघिबाट हिँड्दै थिए । त्यतिवेलै मतर्फ औंल्याउँदै भने, ‘तपाईं विशेष मान्छे हो’ । ‘मैले सोचेँ, ‘साँच्चै ?’ अर्काे पटक उनीसँग यूएस ओपनमा भेट भयो । ‘उनले मलाई टेनिसमा रुचि रहे/नरहेको बारे जान्न चाहे । मैले रुचि छ भन्दै सकारात्मक जवाफ फर्काएँ । र, उनले सम्पूर्ण रूपमा परिचित रहे जसरी भने, ‘मेरो कक्ष अरूभन्दा उत्कृष्ट छ । कुनै पनि समयमा यूएस ओपनको मेरो कक्ष चहार्नुभयो भने तपाईंलाई स्वागत छ ।’ तर, रुस्दीले त्यो प्रस्ताव स्वीकारेनन् ।

यदि मेरो किताबको समाचार राष्ट्रपतिसम्म पुग्यो र यस विषयमा उनले ट्विट गरे भने त्यो पढ्न आफू लालायित रहेको बताउँछन्, रुस्दी ।

अवस्था जे भए पनि प्रतिक्रियाहरू सम्हाल्न तयार छन्, उनी । रुस्दीले मिडनाइट्स चिल्ड्रेनमा इन्दिरा गान्धीको चित्रण गरेकाले हाल दिवगंत पूर्वप्रधानमन्त्रीबाट मानहानिको मुद्दा खेपे । र, ‘सटानिक भर्सेज’का कारण उनी आयोतोल्ला खोमेनीको रिसमा समेत परे । १९८९ मा रुस्दीलाई हत्याको फतवा जारी गर्न इरानी सर्वाेच्च नेताले आदेश नै दिए । उनले यो घटनालाई २०१२ मा आएको ‘जोसेफ एन्टोन’ संस्मरणमा राखेका छन् । यसको शीर्षक नै पुलिसले उनलाई सम्बोधन गर्ने कोड थियो, जुन भूमिगत रहँदा हरक्षण उनको सुरक्षाको लागि अपनाइयो । फतवाको प्रचारले गर्दा आफ्नो किताबमा रहेको रमाइला कुराहरूलाई समीक्षकहरूले ध्यान दिन छाडेका बताउँछन् उनी । ‘किनकि सटानिक भर्सेजमाथि यो कालो घटना भयो । कहिलेकाहीँ मान्छेहरूले मलाई यही घटनासँग जोडेर चिन्न थाले । घटना यति कालो भएपछि किताब पनि त्यस्तैखाले हुनुपर्छ भन्ने सोचियो । घटना यति गहिरोसँग धार्मिक भयो कि कृति पनि धार्मिक नै होला भन्ने ठानियो । घटना एक हिसाबले बुझ्न कठीन भएकाले किताब बुझ्न पनि सकिँदैन भन्ने पर्‍यो ।’ फतवालाई यदाकदा पुनर्जीवित गरिन्छ, तर आफूले यसलाई गम्भीर रूपमा लिन छाडेको बताउँछन्, रुस्दी ।

रुस्दीले मिडनाइट्स चिल्ड्रेनमा इन्दिरा गान्धीको चित्रण गरेकाले हाल दिवगंत पूर्वप्रधानमन्त्रीबाट मानहानिको मुद्दा खेपे। र, ‘सटानिक भर्सेज’का कारण उनी आयोतोल्ला खोमेनीको रिसमा समेत परे।

हालसम्म गोल्डेन हाउसको समीक्षाहरूमा ठूलो विभाजन देखिन्छ । न्यूयोर्क टाइम्सका समिक्षक ड्विट गार्नरले यसलाई क्लिष्ट र लगभग पढ्न नसकिने पुस्तकका रूपमा चित्रित गरेका छन् । तर, चार प्रमख व्यापारी प्रकाशनहरूले यसलाई राम्रो भनेका छन् । प्रकाशक साप्ताहिकले यसलाई आधुनिक अमेरिकामा आप्रवासी अनुभवको मौलिक समृद्ध महाकाव्य भनेको छ ।

यूकेमा चार दशक बिताइसकेपछि १९९९ यता उनी न्यूयोर्कमा बस्न थालेका छन् । ब्रेक्जिट कार्यान्वयन हुनेवेला आइरहँदा ‘मलाई अहिले बेलायत रेल ट्रयाकमा पिकनिक मनाइरहेको परिवारजस्तो लागेको छ । ‘समस्या के हो ? त्यो चर्को आवाज केको हो ? लाटोकोसेरोहरू ?’ मेरो भनाइको अर्थ, अब के हुनेवाला छ भन्ने कुरा यिनले बुझेको छैन जस्तो छ ।’

तर, उनी मूलभूमि भारतसँग धेरै नै चाख राख्छन् । हामीले उनलाई अगस्ट १५ का दिन भेटेका थियौँ । अगस्ट १५ भारतको स्वतन्त्रता दिवस हो र रुस्दीको सबैभन्दा चर्चित पात्र सलिम सिनाइको जन्मदिन पनि हो । मिडनाइट्स चिल्ड्रेनको न्यारेटर सलिम स्वतन्त्रताको संघारमा मध्यरातमा जन्मिन्छ । उसको हुर्काइ जवान भारतको प्रतीक बन्छ । (कति पुस्तक बिक्यो भनेर भन्नलाई गाह्रो छ, किनकि भारतमा चोरी संस्करण एकदमै धेरै छ । ‘कुरा के छ भने चोरी संस्करण धेरै नै बिकिरहेको छ । र, त्यही चोरी पुस्तक हेर्नेहरूले मलाई शुभकामना पत्र पठाइरहेका हुन्छन्,’ उनले भने, ‘नयाँ वर्षको शुभकामना पाइरहेको छु ।’) स्वतन्त्रताको ७० वर्षपछि भारतमा धर्मनिरपेक्ष हराउँदै गएकोमा रुस्दी एकदमै चिन्तित छन् । मोदीको नेतृत्वमै कविलावाद र साम्प्रदायिक आतंक हुर्कँदै गइरहेको छ । उनले भने, ‘त्यहाँको शासनसत्ता कतिसम्म खराब छ भने त्यो अमेरिकाको भन्दा चिन्ताजनक छ, जुन जनताले बुझेकै छन् । यदि मोदीले भोलि चुनाव घोषणा गरे भने उनले ठूलो अन्तरले जित्छन् । यस्तो प्रकारको विभाजनकारी उन्मादी अहिलेको भारतमा देखिन्छ । तुलनात्मक रूपमा अमेरिकाको राष्ट्रवाद अलि स्वीकार्य देखिन्छ ।

गत वर्ष रुस्दी अमेरिकी नागरिक भए । अमेरिकाको वाक् स्वतन्त्रता उनका लागि सबैभन्दा प्रिय थियो । निन्दनीय नै भए पनि यहाँ उनी आफूलाई मन लागेको कुरा बोल्न पाउँछन् । उनले भने, ‘बेलायतमा जातीय सद्भाव भड्काउने कुरा बोल्न पाइँदैन ।’ उनलाई बेलायतमा बस्दा यो कुरा तार्किक नै छ जस्तो लाग्थ्यो– घृणालाई बढावा दिन वर्णभेदीहरूलाई किन संरक्षण दिने ? करिब दुई दशकअघि अमेरिका आएपछि उनले सीमा निर्धारण गरिने ठाउँबारे प्रशस्त सोचेका छन् । किनकि, विभिन्न लोकतान्त्रिक देशका आ–आफ्नै सीमाहरू छन् । त्यसमध्ये युरोपमा धेरै देशहरूमा ‘होलोकस्ट’ अस्वीकार गर्नुलाई अपराध ठानिन्छ । त्यसपछि म लोकतन्त्रको व्यापक परिभाषा खोज्नतिर लागेँ ।

आजका अमेरिकीहरू आत्मनियन्त्रित भएकोमा उनी चिन्तित छन् । उनीहरू झमेलामा फस्ने डरले बोल्नै डराउँछन् । गोल्डेन हाउसमा अटिजमग्रस्त र ट्रान्स जेन्डर पात्र चित्रित गरेर उनले झमेलामा पस्न नचाहनेहरूलाई खिल्ली उडाएका छन् । यस्तो संवेदनशील विषय उठाइसकेपछि रुस्दी चिन्तित पनि बने । भन्छन्, ‘यहाँ धेरै जालझेल, फन्दाहरू छन् । धेरै बारुदीय भूमिहरू छन्, जुन तपाईंले पार गर्नुपर्छ, जहाँ तपार्इंको खुट्टा उछिट्टिन सक्छ ।’ तर, उनीहरूलाई न्याय गर्न सक्ने कुरामा रुस्दी ढुक्क छन् । अनुसन्धान हैन, तर पनि आफूसँग अटिस्टिक र ट्रान्सजेन्डर साथीहरू रहेको बताउँछन्, रुस्दी । उनले मुम्बईमा यस्ता साथीहरूसँग हप्तौं समय बिताएका छन् ।

सुन्दर युवतीहरूसँग सम्बन्धमा जोडिएको भन्ने आरोपले रुस्दीलाई कहिलेकाहीँ तनाव दिन्छ । ‘म उनीहरूले जसरी सोच्दिनँ । धेरै लेखकहरूको जिन्दगी पृष्ठहरूमा शब्दसँग पौठेजोरी गर्दै बित्छ । मलाई लाग्छ, म त्यस्तै मान्छे हुँ।’ ‘टेब्लोइड’मा चित्रण गरेजस्तो म समाजमा घुलमिल छैन । मलाई ठूला पार्टीहरू मन पर्दैन । थोरै मान्छेसँग बसेर डिनर खान मन पराउँछु । किताबमै केन्द्रित हुन यो राम्रो कुरा हो ।

‘किताब चलिरहेकोमा म खुशी छु,’ उनी भन्छन् । ‘यदि तपार्इं पुरातन बेस्टसेलर आख्यानको सट्टा यस खालको किताब लेखिरहनुभएको छ भने तपाईं मूलतः तत्कालीन आनन्दका लागि लेख्नु हुन्न । पुस्तक दीर्घकालसम्म चर्चित भइरहोस् भन्ने तपार्इंको आशा हुन्छ । सत्य के हो भने केही पुस्तकहरू धेरै पुराना छन् र मान्छेहरू पुस्तकमाथि अझै धेरै कुरा भन्न बाँकी रहेको महसुस गरिरहेका छन्, यो कुराले मलाई आनन्द दिन्छ । मेरा साथी मार्टिन अमिसको एउटा महत्वपूर्ण भनाइ के छ भने, ‘मरेर जाँदा छाडेर जानका लागि दराजभरको पुस्तक मात्र हो । मेरो हालसम्म १८ वटा पुस्तक छन् । यो दराज बन्ने क्रमको शुरुवात हो ।’

-किरण दहालबाट भावानुवाद

 

प्रतिकृया दिनुहोस