MENU

बुक च्याट

635x90

देखेको पीडा लेखेँ

रञ्जना निराैला,कवि सोमवार, माघ १७, २०७३

कविलाई कविता संग्रह प्रकाशनले के दिँदोरहेछ ?
मेरो विचारमा कविताको सम्बन्ध मनसँग ज्यादा नजिक हुन्छ । कविता नितान्त मनको अनुभूति हो । जब हामी यसलाई कोर्छौ र प्रकाशनमार्फत् पाठक सम्म पुग्छौँ, मेरो निजी भावना अरूको बनिसकेको हुन्छ । यदि मेरा कविता राम्रा भए भने म पनि तीसँगै उहाँहरूको मनभित्र बसेको हुन्छु । कविले कविता प्रकाशनमार्फत् धेरै मन कमाएको हुन्छ । कवि हुनुको परिचयसँगै जिम्मेवारी बोध गराउँदो रहेछ ।

कविताको किताब बढी निस्किन्छन् तर पाठक कम छन् भनिन्छ नि, तपाईंको अनुभव ?
तुलनात्मक रूपमा कविताका पाठक अन्य विधाका तुलनामा न्यून छन् । तर, पछिल्लो समयमा बढेका कविताका सेमिनार, कविता वाचन र कवितामा मानिसको सहभागिताले पुस्तकमा पनि असर पारेको छ । कविता गहन साहित्य भएकाले पाठक कमै भए पनि कविताको भविष्य छ जस्तो लाग्छ ।

कविता लेखनको ध्येय के हो ?
मुख्यतः म कविता आत्मसन्तुष्टिका लागि लेख्छु । आत्मसन्तुष्टिसहित मेरो विचारमा कविता आह्वान हो, आनन्द हो, विद्रोह हो र विचार पनि । यो समयको प्रतिनिधि हो, जसलाई भावनाको माध्यमले सिर्जना गर्दै प्रतिबिम्बित गर्नु मेरो ध्येय हो ।

कविता लेख्नुको सामाजिक मूल्य के हो ?
कविता भनेको समाजको ऐना हो, यसमार्फत् समाजमा रहेका विकृति, विसंगति र विभेदलाई छिचोल्न सकिन्छ  । विश्व इतिहासका साथै नेपालमा पनि हेर्ने हो भने अनेकौं तहल्का पिट्ने कविता कोरिएका छन् । मेरो विचारमा कविता साहित्यको सबैभन्दा शक्तिशाली विधा हो । एउटै कविता समाज परिवर्तनको संवाहक पनि बन्न सक्छ । कविताले समाजलाई दिने सकारात्मक सोच र चेतना नै सामाजिक मूल्य हो ।

अर्को किताबको तयारीमा हुनुहुन्छ कि ?
छु, प्रतिकात्मक शैलीमा निबन्ध लेखेर सकिसकेँ, अब प्रकाशनको तयारीमा छु ।

प्रतिकृया दिनुहोस