MENU

समीक्षा

635x90

मनाङ यात्राको सजीव चित्रण

कुसुम घिमिरे आइतवार, माघ ९, २०७३

पुस्तक       :   अन्नपूर्ण फेरो
लेखक        :   भीष्म उप्रेती
विधा         :   नियात्रा
प्रकाशक    :    गौंथली
मूल्य        :    १५० रुपैयाँ

यात्राले मान्छेलाई लोभ्याउनुको कारण हो, यसले मान्छेका भोगाइलाई खार्ने काम गर्छ । यस्तै खारिएका अभिव्यक्तिसहितको यात्रा वर्णन लेखक भीष्म उप्रेतीको किताब ‘अन्नपूर्णको फेरो’ हो । नौ वटा शीर्षकमा पर्यटकीय क्षेत्र मनाङको यात्राका क्रममा देखेका, भोगेका र अनुभव गरेका कुरालाई चित्रात्मक वर्णन गरेका छन्, जुन पाठकलाई अत्यन्तै जीवन्त लाग्छ ।

आकारले छरितो भए पनि ‘अन्नपूर्ण फेरो’ यात्राका विविध आयामलाई वर्णन गरिएको किताब हो । नेपालमा आन्तरिक पर्यटनको विकासमा पछिल्लो समय लेखकहरूको पनि राम्रै योगदान छ । ‘अन्नपूर्ण फेरो’ पनि त्यसैको कडी मान्न सकिन्छ । यात्राका क्रममा देखिएका मसिना कुरामा पनि लेखक अत्यन्तै उत्सुक छन् ।

मिहिन तरिकाबाट उतारेका छन् तिनलाई । ‘मस्र्याङ्दी नदीको पानी जस्तै’ (पृ. १९–२८) यस किताबको एउटा सानो खण्ड हो, जसमा उनको यात्रालाई चाहिने विश्वास र अठोटको संग्रह छ । दाग नलागेका सेताम्य हिमालका टाकुरा नाघेर जाने जुन मनोकांक्षा लेखकको हो, त्यसलाई यात्रा वर्णनमा राम्रैसँग उतार्न सफल छन् ।

मनाङको चामेसम्म पुग्न जति–जति उक्लिँदै जान्छन्, त्यति–त्यति उनीभित्र चाहनाको पारो पनि बढ्दै जान्छ । हिँडाइको चाल, जीउबाट खलखली बग्ने पसिनाको गति, खच्चडको दौडाइको चाल आदिलाई पनि उनले नजिकबाट चिहाएका छन् र अनुभूत गर्न खोजेका छन् । मनोवादलाई पनि केही ठाउँ दिइएको उनको यो खण्ड अत्यन्तै बलियो लाग्छ ।

‘झ्यालबाट हेरेको दुनियाँजस्तो’ अर्को अध्याय हो । थकान र निद्राको तालसमेत समात्न खोजेका लेखकले बाटोमा हिँड्न अन्यको लय पनि उसैगरी समातेका छन् । लेख्छन्, ‘दुइटी महिला डोकाभरी चिरेका दाउरा बोकेर आए । एउटीको डोकाबाट केही दाउरा झरे । उनी खसेका दाउरा टिप्न डोको बिसाउने ठाउँ खोज्न थालिन् ..।’ (पृ.३६) यस किसिमको वर्णन अत्यन्तै प्रभावकारी लाग्छ ।

किताबभरी यस्तै लय समाउन खाजेका छन् लेखकले । उनी लेख्छन्, ‘मस्र्याङ्दीमाथि टाँगिएको झोलुंगे पुल तर्नेबित्तिकै च्यांग्राको बथान आयो धूलो उडाउँदै । पहाड र गोरेटो बाटो वास्तवमा खच्चड र च्यांग्राकै हो भन्ने कुरा बाटोमा भेटिएका लिदी र त्यसको गन्धले प्रस्टै बताउ“थे ।’ (पृ.३३) उनको लेखनको सकारात्मक पक्ष भनेकै मसिनाभन्दा मसिना कुरा टिप्ने, कतै पनि केही पनि नछाड्ने ।

उनको लेखकीय आयामलाई हेर्ने हो भने लाग्छ, उनी नियात्रा लेखनमा माहिर बनिसकेका छन् । अनुभवी लाग्छ उनको लेखाइ । हिँड्दा भेटिने र हेर्दा देखिने मात्रै नभई तिनलाई कसरी हेर्ने भन्ने पक्ष पनि यात्रा लेखनको उल्लेख्य पाटो हो, त्यो उप्रेतीमा देखिन्छ । किनभने, उनले अति नै सूक्ष्म रूपमा खोतल्दै ‘यात्रा वर्णनलाई मजबुत पारेका छन् । यो एक किसमको कौशल पनि हो ।

नेपाली यात्रा लेखनको एउटा अभ्यास छ, त्यसमा लेखक उप्रेती कत्तिको जानकार छन् त्यो भन्न त नसकिएला । तर पनि, उनको बेग्लै मौलिकता भने देखिन्छ । त्यही मौलिकताको आडमा उनी आफ्नो लेखाइलाई मजबुत पार्न सक्षम छन् । नेपालमा यात्रा लेखनलाई साहित्यको एउटा सिंगो विधा मान्ने गरिएको छैन, न त यस किसिमको लेखन फस्टाएको नै छ ।

तैपनि, लेख्ने क्रम जारी छ । पछिल्लो समय नेपाली लेखकमा लेख्नका निम्ति यात्रा गर्नुपर्छ भन्ने सुझबुझको विकास भएको पाइन्छ । चार पर्खालभित्र थुनिएर लेखेको लेखाइ प्रभावकारी हुन नसक्ने बुझाइ बढ्दो देखिन्छ । यात्रा लेखक भीष्म उप्रेतीको यात्रा वर्णनले नेपाली पाठकलाई फरक स्वाद चखाउन सफल भएको धेरैलाई प्रतीत हुन्छ ।

उनको पछिल्लो किताब ‘अन्नपूर्णको फेरो’ स्थान छनोटका दृष्टिबाट पनि बलियोमध्येको एक मान्न सकिन्छ । यो किताबले यात्रामा चाख भएका पाठकलाई अन्नपूर्ण पदमार्गको फेरो मार्दै मनाङ नै जाउँ जस्तो लाग्ने पनि बनाउने हैसियत राख्छ । तर, यात्रामा उनले अझ धेरै कुरा पक्कै पनि देखेका थिए होलान् । अझ धेरै अनुभव थिए होलान् ।

तर, त्यसलाई किताबमा अटाउन उनले त्यति मेहनत गरेनन् कि जस्तो पनि लाग्छ कतैकतै । अर्को पक्ष भाषा सम्पादनको पनि हो । किनभने, यात्रालाई विम्बात्मक भाषाका माध्यमबाट वर्णन गर्दा त्यो बढी प्रभावकारी हुन्छ । उनको भाषालाई अझ बढी माझ्न सकिने ठाउँ पनि नभएको होइन । त्यसो गर्न सकेको भए यो किताबको ‘कन्टेन्ट’ले अझ बढी न्याय पाउने थियो कि भन्ने पनि नलाग्ने होइन । उनको लेखनमा कतिपय अवस्थामा कवितात्मक लय भेटिन्छ । धेरथोर संवादलाई पनि समेट्न सकेको हुँदा त्यसले यात्राको वर्णन सपाट र बेस्वादिलो बन्न दिएको छैन ।

भाषिक मिठास मध्यम भए पनि लेखनमा अपरिपक्वपन भने कतै पनि छैन । लेखकीय दख्खल मज्जाले झल्किएको छ, रसिलो नै छ लेखाइ । यात्रा निबन्ध कमै लेखिने भए पनि लेखक भीष्म उप्रेतीको यो यात्रा निबन्धले नेपालको समकालीन यात्रा लेखाइलाई ‘लिड’ गर्न सक्षम छ भन्न सकिन्छ । यात्रा वर्णनमा बनावटीपन, अतिरञ्जना खासै छैन भने पनि हुन्छ ।

लेखाइमा लेखकले देखाउनुपर्ने सबैभन्दा महत्वपूर्ण चिज भनेको इमानदारी हो, त्यो पाठकप्रति उनले देखाएका छन् । त्यही भएर पनि, पाठक नतमस्तक हुन पुग्छ उनको लेखाइको लयमा अन्तरघुलन हुन पुग्दा । उनले फूललाई काँडा लेख्ने काम गरेका छैनन् । आखिर पाठकले खोज्ने इमानदारिता भनेको नै यही हो । लेखकका यात्रासंगीको बारेमा गरेको वर्णन पनि बलियो छ । तिनीहरूको साथले उप्रेतीको यात्रालाई थप सशक्त बनाएको लेखाइबाट प्रस्टिन्छ । त्यसैगरी किताबको पुच्छरतिर समेटिएका आठ तस्बिरले पनि उनको लेखाइलाई आधिकारिकता प्रदान गरेका छन् । 

प्रतिकृया दिनुहोस