MENU

बुक च्याट

635x90

लेखकहरू आश मात्रै देखाउँछन्

घिमिरे युवराज, रंगकर्मी बिहिवार, माघ ६, २०७३

रंगमञ्च कुनकुन विधाको सान्निध्यमा हुन्छ ?
रंगमञ्च सबै कला मिसिएर बन्ने दृश्य हो । रंग, संगीत, काव्य, नृत्य र प्रविधि मिसिएर समग्र रंगमञ्च तयार हुन्छ ।

तर, अरु विधासँग राम्रो सम्बन्ध नबनेको हो ?
त्यसो गर्न हामी रंगमञ्चमा प्रयासरत र अभ्यासरत छौं । भौतिक रूपमा पनि नाटकघरहरूले कवितावाचन, चित्रकला कार्यशाला, संगीतका कार्यक्रम आदि गरेर वा तिनलाई नाट्यप्रस्तुतिमा समेटेर फराकिलो हुने कोशिस गरिरहेका छन् ।

रंगकर्मी हुनुको आनन्द र दुःख के हो ?
कलाकारका रूपमा दर्शकको स्वाश–प्रस्वाश महशुस गर्दै मञ्चमा भूमिका निर्वाह गर्दाको क्षण सबभन्दा आनन्ददायी लाग्छ । निर्देशक वा अन्य भूमिकामा रहँदा नाटकको दृश्यसँगै दर्शकको अनुहारमा आउने परिवर्तन र संवेग नियाल्दा बडो सुख अनुभूत हुन्छ । नाटकको मञ्चनपछि जब मञ्च भत्काइन्छ, विस्तारै त्यसअघिका अनुभूति, घटना र दृश्य स्मृतिमा मात्रै रहन्छन् । केही दिनसम्म नमिठो लाग्छ । एक किसिमको रिक्तता महशुस हुन्छ । तर, रंगकर्मी हुनुमै दुःखचाहिँ केही देख्दिनँ म । किनभने यो मलाई कसैले जबर्जस्ति भिराइदिएको होइन ।

रंगमञ्चबारे सर्वसाधारणबीच गएर प्रतिक्रिया सुन्नुभएको छ ?
नाटक लिएरै लगभग ५० जिल्ला पुगेको छु । काठमाडौँमा पनि नियमित नाटक मञ्चन हुँदा हरेक दिन दर्शकसँग अन्तरक्रिया हुन्छ । बानी परेका दर्शक अचेल राम्रो नाटक पर्खी बस्छन् । तर, अझै ठूलो जमात नाटकलाई सामान्य ठट्यौली ठान्छन् । उनीहरूले परिस्कृत रंगमञ्चको स्वाद चाख्न पाएकै छैनन् ।

नेपाली रंगमञ्चमा नेपाली नाटक किन कम ?
नाटक छन् तर ज्यादै सीमित । छनोटको अवसर कम छ । अर्कातिर, हामी संसारका राम्रामध्येका गीत सुन्न चाहन्छौं, किताब पढ्न चाहन्छौं । राष्ट्रियता र सांस्कृतिक सीमाहरू भत्काएर राम्रा फिल्म हेर्न चाहन्छौं । एउटा रंगकर्मी वा निर्देशकले पनि नाटक छान्दा त्यही गर्छ ।

नेपाली नाटकमा लेखिनैपर्ने तर छुटिरहेका विषय के हुन् ? कसले लेखे हुन्थ्यो भन्ने अपेक्षा गर्नुहुन्छ ?
विषय अथाह छन् । हाम्रा स्थानीय ‘मिथोलोजी’ र संस्कृतिमाथि नाट्य लेखन हुन सक्छ । अझ, नेपाली समाज र राजनीतिको पछिल्लो विसंगति आइदिए हुन्थ्यो । अभि सुवेदी, सरुभक्त, अशेष मल्ल, कुमार नगरकोटी, खगेन्द्र लामिछाने, विजय विस्फोट, कृष्ण शाह यात्री, फूलमान बल, शिव रिजाल, केदार श्रेष्ठ आदिले लेखिरहनु भएको छ । रंगमञ्च बुझेका लेखक अविनाश श्रेष्ठ, नयनराज पाण्डे, नारायण ढकाल, उपेन्द्र सुब्बा, शारदा सुब्बाजस्ता लेखकबाट मेरो अझै अपेक्षा हो । कवि मनु मञ्जिलले लेखे भने गज्जब हुन्थ्यो । धेरै पटक भनेको पनि छु । कवि सरिता तिवारी, सीमा आभास, विमला तुम्खेवासँग पनि नाटक लेखनबारे धेरै कुरा भएको छ । आश मात्रै देखाउँछन्, लेख्दैनन् ।

तपाईंको निर्देशनमा अभि सुवेदीको नाटक ‘चिरिएका साँझहरू’ मञ्चन हुँदैछ । उहाँको नाटक निर्देशन गर्नुका चुनौति र सजिला के–के हुन् ?
उहाँका प्रायः नाटकले कतै न कतै सांस्कृतिक यात्रा गर्छन् । जसले हाम्रो समय र समाज बोल्छ । उहाँ प्रायः नाटकमा मिथ र सांस्कृतिक पात्रलाई विनिर्माण गरेर उभ्याउनुहुन्छ । तिनले चेतनाको कुरा गर्छन् । उहाँका नाटक अलिक ओख्खर जस्ता हुन्छन् । बाहिर साह्रो जस्तो लाग्ने तर गुदी भएका, काव्यिक । यस्ता नाटक गर्दा चुनौति त हुन्छ नै । किनभने यस्ता नाटक गर्दा लेखेको संवाद बोलेर मात्रै हुन्न । दृश्य निर्माणका निम्ति अनुसन्धान र मिहिनेत गर्नु पर्छ ।

प्रतिकृया दिनुहोस