MENU

समीक्षा

635x90

जीवन–मृत्युको गणितीय ऐना

सुरेश प्राञ्जली बिहिवार, माघ ६, २०७३

किताब     :  कम्प
लेखक      :  शारदा शर्मा
पृष्ठ           :  ३६२
मूल्य         :  ४४८ रुपैयाँं
प्रकाशक    :  सांग्रिला बुक्स

‘एकै पटक शरीरबाट मुक्त भएका नौ हजार मान्छेको प्राण कता गयो होला? ’ विसं ०७२ वैशाखमा आएको महाभूकम्पले मच्चाएको निर्मम ताण्डवको पृष्ठभूमिमा शारदा शर्माको उपन्यास ‘कम्प’ को कथानक निर्माण भएको यो उपन्यास सामयिक चित्रणको दस्तावेज पनि हो ।‘भुइँफूलको देश ’, ‘अग्निस्पर्श ’जस्ता मजबुत किताब लेखिसकेकी शर्माको निखारिएको भाषाले ‘कम्प ’को कथानक बनोटलाई अग्रभूमि करण गरेको छ ।

‘ताप ’पछि शारदाको दोस्रो उपन्यास हो ‘कम्प ’, जसमा काठमाडौंका सम्भ्रान्तको जीवनशैली पनि समानान्तरी संरचनाको एक हिस्साका रूपमा डोर्‌याएको छ । शारदाले उपन्यासमा वैशाख १२ मा भूकम्प जाँदै गरेको दृष्यको चित्रात्मक र जीवन्त वर्णन गरेकी छिन् । ११ खण्डमा विभक्त उपन्यासका पात्र महाभूकम्पको त्रासले विक्षिप्त छन् । औपन्यासिक समाज र जीवन दुवैको समीकरण भूकम्पीय प्रकम्पनका कारण स्वःनियन्त्रित छ । हरेक पात्रको जीवनचर्यालाई त्यही प्रकम्पनले प्रभावित छ ।

‘धुलो माटो पोतिएको अनुहारमा आँशुले बनाएका डोब थिए, केही थोप्ला अझै थिए गालामा अड्केका (पृ.२७) ’ जस्तो वर्णनले प्रलयकारी विपत्ति र त्यसपछिको अवस् थालाई राम्रैसँग प्रतिबिम्बन गर्न सघाउँछन् । यस्ता वाक्यले उपन्यासकारको काव्यात्मक कौशल प्रतिबिम्बित गर्छन् र पीडालाई प्रत्यक्ष रूपमा आन्तरिकीकरण गर्न सकेको सबुतसमेत जाहेर गरिदिन्छन् ।

प्रलयको निर्मम पञ्जाबाट उम्किए पछिको आशावादिताले जीवन एक संयोग मात्रै हो रै ’ छ भन्ने प्रस्ट्याउँछ । मानवीय जीवन आखिर के नै रै ’ छ र भन्ने दर्शन उपन्यासमा नपाइने होइन तर पनि जीवन बाँच्नुको औचित्यचाहिँ धेरै कोणबाट अथ्र्याउन खोजिएको छ । किताबमा वर्णित त्रासदी कता–कता लेखक स्वयंले भोगेजस्तो भान परे तापनि पीडा ओकल्न पात्र नै अघि सरेका छन् ।

यो लेखकको बलियो पक्ष हो । ‘आफूले भोगेको पीडा भएर होला, यति सशक्त रूपमा उतार्न सकेको । नत्र कसरी सकिन्छ ? ’ भन्ने पाठक पनि भेटिएलान् । तर पनि, चित्रात्मक वर्णनको माध्यमबाट गरिएको कथानक बुनोट उल्लेख्य छ । पात्र चयनदेखि चरित्रको मनो दशा निर्माणमा पनि उनको अब्बलता देखिन्छ । उपन्यासमा उनले विकास गरेको शैलीको छुट्टै मूल्य छ ।

उपन्यासका चित्रांगदा, बन्दिता, परिमल, सुब्रतजस्ता पात्रले हाम्रो समाजको मूल्य बोक्न राम्रै सफल भएका छन् । सँगै , जीवन भोग्ने र बाँच्ने शैलीको बेग्लै वर्णन छ किताबमा । उपन्यास भए पनि यथार्थको अति निटकतम प्रतिबिम्ब हो ‘कम्प ’ । यसका पात्रले बाँचेको जीवन, नेपाली जीवनको नब्बे डिग्रीको ऐनामा प्रतिबिम्बित भएको छ । उनीसँग भएको कौशलकै कारण हो , उनको वर्णन यति सशक्त बने को ।

बन्दिता एउटी फोटो पत्रकार हो , जसको माध्यमबाट शर्माले देखाउन खाजेको सामाजिक पाटो छर्लंग हुन्छ । लेखकको इमानदारिता झल्किने भने कै लेखन र पात्रको माध्यमबाट निर्माण गरिने जीवन र जगतप्रतिको वास्तविकता बोधबाट हो , त्यो ‘कम्प ’मा छ । उनको शिल्प पनि तिख्खर छ, भाषामाथिको पकडले उक्त तिख्खर पनलाई न्याय गरेको छ । ‘मृत्युपछि शरीर यहीं छुट्छ, आत्माको यात्रा जारी र हुन्छ । ’ (पृ. ६८) । मृत्युवर ण गरिसके पछिको सत्य पहिल्याउने उपक्रम पनि उसै गरी सशक्त देखिन्छ उपन्यासका पात्रमा ।

चित्रांगदाको छटपटाहटले सांसारिक जीवनप्रतिको मोहलाई उजागर गरि दिएको छ । यस लोकको जीवन–मूल्य खोज्ने कार्यमा थानकोटको परि मल आश्रममा सम्भवतः सहज थिएन । र , पनि पात्रको त्यसखाले अपेक्षा भनेको जीवनबोध अंकगणित हो । भलै , सांसारिक जीवनको मूल्यबोधको स्तर उकास्ने उपक्रम भने देखिन्छ, किताबमा ।

भजन–कीर्तन, संगीत–सत्संगले सन्तमय जीवनलाई प्रतिनिधित्व गरेको छ तर त्यसको अन्तर्य के हो ? मुत्यु उप्रान्तको सत्यको सारमा भने पात्रहरू उति विश्वस् त छैनन् । सन्यासीहरू वासना र भयबाट मुक्त हुने जिकिर गरे र सामाजिक जिम्मे वारीलाई पन्छाउन खोजेको भान कतिपय पाठकलाई पर्न त सक्ला तर त्यसको अर्थ भने व्यापक छ ।

दार्शनिक तहबाट हेर्न खोज्यो भने अर्थ प्रस्टिन्छ । त्यही भएर पनि शर्माको लेखनीले एक तहको जीवनको सैद्धान्तिक मूल्य केलाउने दर्शनलाई पात्रको माध्यमबाट यथार्थसँग एकाकार गराउन खाजेको छ । जीवनको आध्यात्मिक मूल्य शर्माले निर्माण गरेका पात्रलाई अवगत हुने हुँदा कतिपय दार्शनिक चेत भएका पात्र पनि छन् ।

खासगरी, जीवनको नजिकको मूल्य र त्यस्तो मूल्यलाई वास्तविक जीवनको एउटा पाटो सित साक्षात्कार गराउने हैसियत राख्ने उपन्यासको सिंगो परिवेश र कथानकले एउटा समयको कथा भन्छ । त्यो समय पाठकले पनि बाँचेको समय हो । पाठकले पनि भोगेको समय हो । जुन भोगाइलाई मजबुत तरिकाले उपन्यासमा रूपान्तरण गरिएको छ ।

उपन्यासको संरचनागत रूपले यो अत्यन्तै बलियो पाटो हो । उपन्यास दार्शनिक सेने काको ‘मृत्यु–दर्शन ’को नजिक पनि देखिन्छ, उनको ‘मृत्युलाई चित्रण गर्नको लागि ’ बुनिएको ‘थेथिस ’ । हुन त ‘मृत्यु थोरैको चाहना, धेरैको मुक्ति र सबैको अन्त्य ’ हो । ‘कम्प ’को कथानकलाई प्राकृतिक प्रलयको शास्वत यथार्थको नजिकबाटै टिपिएको र बुनिएको हो , जोसँग आध्यात्मिक मूल्यको वासलात पनि छ । र त, ‘कम्प ’ जीवन र मृत्युको यथार्थको बीचबाट खिचिएको सारको ज्यामितीय ‘ग्राफ ’ बन्न सफल उपन्यास हो ।

 

प्रतिकृया दिनुहोस