MENU

बुक च्याट

635x90

अवैध व्यापार : अर्बको डिजेल भारततिर

श्रीधर खनाल सोमवार, माघ १७, २०७३

लोडसेडिङ घटेपछि डिजेल खपतमा कमि आउने अनुमान थियो । तर, त्यस्तो भएन, उल्टै आयात निकै बढेको छ । व्यवसायीहरूका अनुसार नाकाबन्दीका बेला भारतबाट अवैध बाटो पेट्रोलियम पदार्थ भित्र्याउने लस्करजस्तै देखिन थालेको छ, सीमा क्षेत्रमा । अहिले भने नेपालबाट भारततिर पुर्‍याइने गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन बाराका अध्यक्ष सुरेन्द्र श्रीवास्तवका अनुसार सीमा क्षेत्रका पेट्रोलपम्पमा साइकलमा ग्यालिन लिएर आउनेको संख्या बढेको छ । उनी भन्छन्, ‘यताबाट उता लैजानेबित्तिकै प्रतिलिटर २० रुपैयाँ फाइदा हुन्छ ।

मूल्यमा भएको फरकका कारण नेपालबाट भारतमा पेट्रोलियम पदार्थ ओसार्न थालिएको छ ।’नेपाल आयल निगमले पछिल्लो पटक प्रतिलिटर ७७ रुपैयाँ ५० पैसामा डिजेल बेच्दै आएको छ । भारतमा अहिले ६० रुपैयाँ २२ पैसा प्रतिलिटर पर्छ, जसको नेपाली मूल्य हुन्छ ९६ रुपैयाँ । उक्त मूल्य भारतमा २ जनवरी ०१७ देखि कायम छ । त्यसअघि १७ डिसेम्बर ०१६ मा प्रतिलिटर ५७ रुपैयाँ ८९ पैसा भारतीय मूल्य थियो । विभिन्न नाकाबाट भारततर्फ तस्करी हुन थालेपछि सीमा क्षेत्रमा डिजेलको माग बढ्दो क्रममा छ ।

नेपालमा सस्तो भएकाले मासिक दुई अर्ब रुपैयाँभन्दा बढीको डिजेल भारत तस्करी हुन थालेको छ। पुसमा मात्रै एक लाख १४ हजार किलोलिटर डिजेट आयल निगमले बेचेको छ।

९ माघमा मात्रै सीमावर्ती जिल्लामा एक हजार चार सय १८ किलोलिटर डिजेल खपत भएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ । त्यस दिन नेपालभर पाँच हजार ६ सय ३७ किलोलिटर डिजेल खपत भएको थियो । कुल खपतको २५ प्रतिशत सीमावर्ती जिल्लाहरूमा बिक्री भएको देखिन्छ । भारतमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिन्छ । प्रदेशअनुसार फरक–फरक मूल्य कायम हुन्छ । नेपालले समेत १३ असोज ०७१ देखि स्वचालित मूल्य प्रणाली लागू गरे पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।

त्यसयता १७ पटकसम्म मूल्य समायोजन भइसकेको छ । स्वचालित प्रणालीमा जाँदा प्रतिलिटर एक सय पाँच रुपैयाँ रहेको डिजेलको मूल्य त्यसयता घट्दै गएको थियो ।डिजेल तस्करी बढ्न थालेपछि बारा प्रहरीले सक्रियता बढाएको छ । केही समयअघि बारा प्रहरीले साइकलमा भारत लैजाँदै गरेको तीन सय लिटर डिजेल बरामद गरेको थियो । पर्साका मटिअर्वा, सिम्रौनगढ, कबहीगोठ, मुसहर्वा, कचोर्वालगायत ग्रामीण नाकामा निगरानी बढाइएको प्रहरीको दाबी छ ।

भारतसँगका अन्य नाकाबाट पनि पेट्रोलियम पदार्थ बाहिरिने गरेको छ । केही दिनयता विराटनगर, भैरहवा र नेपालगन्ज क्षेत्रमा पनि डिजेलको माग बढ्न थालेको आयल निगमको तथ्यांकले देखाउँछ ।

बढ्दो आयात
कात्तिकपछि काठमाडौंमा लोडसेडिङ छैन । मुलुकका अन्य भागमा पनि लोडसेडिङकोे भयावह अवस्था छैन । गत वर्ष यही अवधिमा दैनिक ११ घण्टा लोडसेडिङ हुन्थ्यो । त्यसका कारण जेनेरेटर चलाउन डिजेलको माग बढ्थ्यो । र, डिजल खपत पनि उच्च रहन्थ्यो ।निगमको तथ्यांकअनुसार लोडसेडिङ उच्च हुँदा पुस ०७१ मा ७४ हजार चार सय ३६ किलोलिटर डिजेल खपत भएको थियो ।

पुसमा भने यो परिमाण बढेर एक लाख १४ हजार सात सय ३४ किलोलिटर पुगेको छ । निगमको वार्षिक खपत परिमाण विश्लेषण गर्दा पछिल्ला आर्थिक वर्षहरूमा वार्षिक ११ प्रतिशतले डिजल खपतमा वृद्धि भएको देखिन्छ । पुसमा ९२ हजार किलोलिटर डिजेल खपत हुने निगमको प्रक्षेपण थियो । लोडसेडिङ नभएका कारण डिजेल खपत ७५ हजार किलोलिटरको हाराहारीमा हुनुपर्ने पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष सरोज पाण्डेको भनाइ छ । उनी भन्छन्, ‘अहिलेको खपत देख्दा म पनि चकित परेको छु ।

अहिले मासिक करिब ३० हजार किलोलिटर डिजेल भारततर्फ तस्करी भइरहेको अनुमान छ, जसको हालको बजार मूल्य दुई अर्ब १९ करोड रुपैयाँ हुन आउँछ।

यति धेरै डिजेल खपत हुने अवस्था देखिँदैन ।’ अहिले मासिक करिब ३० हजार किलोलिटर डिजेल भारततर्फ तस्करी भइरहेको अनुमान छ, जसको हालको बजार मूल्य दुई अर्ब १९ करोड रुपैयाँ हुन आउँछ ।राष्ट्रबैंकले प्रकाशन गरेको चालु आवको पहिलो पाँच महिनाको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयात गत आवको यही अवधिको तुलनामा एक सय २२ प्रतिशतले बढेको देखिन्छ । गत आवको पहिलो पाँच महिनामा १७ अर्ब ७७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

यस वर्षको सोही अवधिमा ३९ अर्ब ४५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।आव ०७१÷७२ को तुलनामा भने आयात केही कम देखिन्छ । यस अवधिमा ४९ अर्बको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको थियो । लोडसेडिङ घट्दा चालु आवमा पेट्रोलियम पदार्थको चाप कम भएको राष्ट्रबैंकको भनाइ छ । यस अवधिमा तीन अर्ब ५२ अर्ब रुपैयाँको व्यापार घाटा छ ।

व्यापार घाटा बढ्नुमा पेट्रोलियम पदार्थ आयातको मुख्य भूमिका हुने गर्छ । निगमले भारतीय आयल कर्पोरेसनबाट तेल किन्दै आएको छ । कर्पोरेसनले निगमलाई हरेक महिनाको दुई पटक मूल्यसूची पठाउने गर्छ । त्यसअनुसार मूल्य समायोजन नभएका कारण नेपालमा भन्दा भारतमा तेल महँगो भएको हो । अहिले निगमलाई एक लिटर डिजेलमा एक रुपैयाँ ३० पैसा घाटा छ ।

निगमले रक्सौलमा भएको कर्पोरेसनको डिपोबाट प्रतिलिटर ४९ रुपैयाँ ५३ पैसामा डिजेल किन्दै आएको छ ।एक लिटर डिजेलमा १८ रुपैयाँ ७३ पैसा कर तिर्नु पर्छ । एक लिटरमा आठ रुपैयाँ १९ पैसा ढुवानीलगायत खर्च हुन्छ । यसमा प्रतिलिटर पाँच रुपैयाँ निगमको पूर्वाधार विकास करसमेत समावेश गरिएको हुन्छ । त्यसबाहेक प्रतिलिटर पाँच रुपैयाँ बुढीगण्डकीको पूर्वाधार विकास कर पनि निगमले भुक्तानी गर्दै आएको छ । महँगोमा किनेको डिजेल भारतमा जान थालेपछि निगमको घाटा झनै बढ्ने देखिन्छ ।

माघको शुरुका नौ दिनमा ३१ हजार किलोलिटर डिजल खपत भइसकेको छ । भूकम्पपछिको पुनर्निर्माण मात्र होइन, यसबीचमा केही परियोजनाको काम पनि अगाडि बढेका कारण डिजेलको माग अघिल्ला वर्षको तुलनामा बढेको देखिन्छ । जेनेरेटर चलाउन मासिक प्रयोग हुँदै आएको ३० किलोलिटरले यस्तो माग धान्ने भएकाले पनि आयातमा मूल्यवृद्धिले निगमको घाटा झनै बढाएको छ ।

भाडाको रकम इन्धनमा
भारतले २३ कात्तिकदेखि पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगायो । भारतमा गैरकानूनी क्रियाकलाप रोक्न लगाइएको यस्तो प्रतिबन्धको असर अहिले नेपाली बजारमा पनि देखिएको छ । भारतबाट दैनिक हजारौंको संख्यामा मालवाहक सवारी साधन नेपाल आउने गरेका छन् । त्यसरी नेपाल आएका गाडीले नेपाली रुपैयाँमै भाडा लिन्छन् । ट्रान्सपोर्टले पठाएबाहेकका गाडीलाई सामान अनलोड गर्नासाथ व्यवसायीले भाडा तिर्नु पर्छ । भारतीय ठूला दरका नोटमा प्रतिबन्ध लागेपछि नेपाली व्यवसायीहरूले साना दरको नोटसमेत जोहो गर्न सकेका छैनन् ।

भारतसँगका नाकाबाट पेट्रोलियम पदार्थ बाहिरिने गरेको छ। केही दिनयता पर्सा, बारा, विराटनगर, भैरहवा र नेपालगन्ज क्षेत्रमा डिजेलको माग बढ्न थालेको आयल निगमको तथ्यांकले देखाउँछ।

जसले गर्दा नेपाली रुपैयाँमा भाडा दिँदै आएका छन् । नेपाली रुपैयाँमा भाडा लिएका भारतीय नम्बरप्लेटका गाडीले उक्त रकमबाट नेपालकै पेट्रोल पम्पबाट इन्धन हालेर सीमा पार गर्दै आएका छन् ।वीरगन्ज भन्सारबाट दैनिक सयौंको संख्यामा नेपाल आएका भारतीय नम्बरप्लेटका ट्रक र कन्टेनरहरूले नेपालमा तेल हाल्ने गरेको पेट्रोलियम डिलर एसोसिएसन पर्साका अध्यक्ष विनोद चौरसिया बताउँछन् ।

चौरसियाका अनुसार अहिले वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रका पम्पहरूमा भारतीय नम्बरप्लेटका गाडीको लामो लाइन देख्न थालिको छ । उनी भन्छन्, ‘नेपालमा सामान लिएर आएका गाडीले नेपाली मुद्रामा लिएको भाडा तेलमा खर्च गर्न थाले । कतिपय तेल हाल्नकै लागि पनि आउँछन् । बोर्डरमा यता सस्तो हुँदा उताबाट आउने र उता सस्तो हुँदा यताबाट जाने भइरहन्छ ।’

ठूला नोट प्रतिबन्धित भएपछि सीमापारिका भारतीयसँग भएको नेपाली मुद्रा पनि अहिले तेलको ओसारपसारमा प्रयोग भइरहेको व्यवसायीहरू बताउँछन् । नेपाली रुपैयाँमा खरिद गरिने सामान भारत पुर्‍याउनासाथ भारतीय रुपैयाँमा बिक्री हुने भएकाले पनि यस्तो तस्करी फस्टाएको हो । भारतीय नागरिकसँग भएको नेपाली मुद्रा तेलसँग साटिएर भारतीय रुपैयाँमा रूपान्तरण भइरहँदा सीमा क्षेत्रमा डिजेल मात्र नभई पेट्रोलको माग पनि बढेको छ ।

नाकाबन्दी खुलेपछि वैशाख ०७३ मा ३१ हजार किलोलिटर बिक्री भएको पेट्रोल गत मंसिरमा ३२ हजार नौ सय किलोलिटर पुग्यो । पेट्रोलको पनि यो अहिलेसम्मकै उच्च खपत हो । माग सामान्य भएको अवस्थामा मासिक २८ हजार किलोलिटर पेट्रोल खपत हुने निगमको तथ्यांकले देखाउँछ । नेपालमा भन्दा भारतमा पेट्रोल १४ रुपैयाँ महँगो छ ।

नेपाल र भारतबीच फराकिलो मूल्य अन्तरले समस्या आएको निगमका प्रवक्ता भानुभक्त खनाल बताउँछन् । भन्छन्, ‘खुला सीमामा मूल्य अन्तर बढी हुनेबित्तिकै समस्या आउँछ । हामीले चाहेर पनि नियन्त्रण हुन सक्दैन ।’

 

 

प्रतिकृया दिनुहोस