MENU

बुक च्याट

635x90

भारतीय स्वार्थको ऐना

शिवप्रसाद तिवारी सोमवार, माघ १७, २०७३

पुस्तक : स्ट्राटेजिक हिमालयाज
लेखक : निहार आर नायक
विधा : राजनीतिशास्त्र
प्रकाशक : इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस र पेन्टागन प्रेस, नयाँ दिल्ली
मूल्य : भारु ९९५

सन् २००८ (विसं ०६५) मा गणतन्त्र स्थापनापछि विदेशनीतिका बारेमा अत्यन्त कम अनुसन्धानात्मक कृति प्रकाशित भएका छन् । नेपाल भित्रैबाट संस्थागत रूपमा प्रकाशित भएका पुस्तक, स्तरीय जर्नल र लेखहरूको संख्या पनि न्यून छ । सन् १९९० मा प्रजातन्त्रको पुनःस्थापना र सन् २००८ मा नेपालमा गणतन्त्र स्थापनापछि विश्वराजनीतिमा आएका संरचनागत परिवर्तन, चीन र भारतको राजनीतिक र आर्थिक शक्तिको रूपमा पुनरोदय तथा नेपालको आन्तरिक राजनीतिमा आएका परिवर्तनका कारण नेपालको विदेशनीतिले हासिल गर्नुपर्ने उद्देश्यबारे नेपालको धरातलीय यथार्थमा आधारित बहस र कृति प्रकाशन यथेष्ट र प्रभावकारी हुन सकेको छैन ।

यसै सन्दर्भमा भारतको सरकारी थिंक ट्यांक ‘इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आईडीएसए)’ बाट प्रकाशित निहार आर नायकद्वारा लिखित ‘स्ट्राटेजिक हिमालयाज, रिपब्लिकन नेपाल एन्ड एक्सटर्नल पावर्स’ नामक पुस्तकले गणतन्त्रको स्थापनापछि नेपालको विदेशनीतिका विविध पक्ष केलाउने प्रयत्न गरेको छ । तर, भारतीय रणनीतिक दृष्टिकोणबाट । आईडीएसए भारतीय सरकारी थिंकट्यांक भएकाले र लेखक त्यहाँ कार्यरत शोधार्थी भएकाले त्यसो हुनु अस्वाभाविक लाग्दैन ।

पुस्तक आठ खण्डमा विभाजित छ । यसमा पुस्तकको अध्ययनको उपादेयता, परिवर्तित सन्दर्भमा नेपालजस्ता ‘साना र कमजोर’ राष्ट्रहरूका विदेशनीतिमा आउने चुनौतीहरू, नेपाललाई प्रभावक्षेत्रको मुलुकको रूपमा जोगाइराख्ने भारतीय चुनौती, नेपालमा अमेरिका, चीन, युरोपियन युनियन र पाकिस्तानलगायतको रुचि र भूमिकाबारे छलफल गर्ने प्रयास गरिएको छ । भारतले नेपाललाई प्रभावक्षेत्र र आफ्नो सुरक्षा प्रणालीभित्रको मुलुक मान्छ ।
यसकारण नेपालको आन्तरिक राजनीतिक विकासक्रमलाई पनि भारतीय सुरक्षाको दृष्टिकोणले हेर्छ ।

यसै आधारमा ‘भारतीय सुरक्षा’का लागि भन्दै नेपालका आन्तरिक राजनीतिक विकासक्रममा पनि स्वामित्व खोज्छ । नेपालमा विभिन्न शक्तिराष्ट्रको उपस्थितिलाई पनि भारतीय रुचिका आधारमा मुल्यांकन गर्छ । नेपालको विदेशनीतिबारे लेखिएको ‘प्राज्ञिक कृति’ भनिए पनि यो पुस्तक भारतीय विदेशनीतिको आधिकारिक ‘लाइन’बाट टाढा गएको छैन ।

उदाहरणका लागि पुस्तकको दोस्रो खण्डमा, भनिएको छ, ‘आधुनिक युद्धक विमानहरू, आणविक अस्त्रको विकास र विज्ञान–प्रविधिको विकासका कारण नेपालका हिमालहरू सन् १९५० ताका जवाहरलाल नेहरूले भनेजस्तो भारतीय सुरक्षा पर्खाल (हिमालयन फ्रन्टियर)का रूपमा अब प्रभावकारी नभए पनि नेपाल र भारतको भौगोलिक अवस्था र त्यसबाट सिर्जित सामाजिक, सांस्कृतिक र आर्थिक अन्तरनिर्भरता अनि खुला सीमाका कारण नेपाललाई भारतको प्रभावक्षेत्र मान्ने उपनिवेशकालीन भूराजनीतिक अवधारणा भारतले सजिलै त्याग्न सक्दैन ।’

सोही खण्डमा सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतीय सुरक्षाको दृष्टिकोणले पूरै नेपालमा भारतीय सुरक्षामा असर पार्नसक्ने बाह्य शक्तिहरूको उपस्थिति कम गर्न खोजिएको भए पनि त्यसमा असफल भएकाले, भारतसँग सीमा जोडिएको नेपालको मधेशमा बाह्य शक्तिहरूको उपस्थिति हुन नदिने कुरामा भारत सचेत हुनुपर्ने बताइएको छ ।

यसरी नेपाललाई दुई शक्तिशाली मुलुकबीचको तटस्थ भूमि (बफर) का रूपमा बेलायती उपनिवेशकालदेखि चित्रित गरिँदै आएकामा अहिले मधेशलाई ‘बफरभित्रको बफर’ का रूपमा बुझेको भनाइलाई यो पुस्तकले पुष्टि गरेको छ । नेपालमा चीनको उपस्थितिबारे पुस्तकले पहिलेदेखिकै भारतीय धारणा अभिव्यक्त गरेको छ । चीन नेपालमा सशक्त रूपमा उपस्थित भएर नेपालबाट तिब्बतमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीविरुद्ध मात्र जुध्न खोजिरहेको छैन, नेपाल र समग्रमा दक्षिण एसियामा भारतको प्रभाव कमजोर बनाउन लागिरहेको तर्क गरिएको छ ।

भारतको नेपाल–नीतिको सन्दर्भमा यस्तो तर्क नौलो भने होइन । भारत र चीनजस्ता ठूला र शक्तिशाली मुलुकबीचमा अवस्थित नेपालको रणनीतिक महत्व झन् बढेर गएको र यसै कारण अमेरिका र युरोपियन युनियनका रुचिहरू पनि नेपालमा बढेर गएको पनि पुस्तकमा औंल्याइएको छ । भारतीय सुरक्षालाई चुनौती दिन पाकिस्तानले आतंककारी क्रियाकलाप र नक्कली भारतीय मुद्राको ओसारपसारलगायतमा पनि नेपाली भूमिको प्रयोग गरेको भनी भारत सरकारका विभिन्न निकाय, विद्वान, पत्रकार र सर्वसाधारणले लगाउने आरोपले यस पुस्तकमा पनि निरन्तरता पाएको छ ।

पुस्तकको शीर्षकमै हिमालय पर्वत शृंखलालाई रणनीतिक भनेर हिमाललाई अझै पनि रणनीतिक पर्खालका रूपमा चित्रित गरिएको छ । यस्तै, हिमालयलाई ठूलो रणनीतिक महत्वको विषय बन्दै गएको पानीको अथाह भण्डारका रूपमा पनि इंगित गरेको हुनसक्छ । यसरी, हिमालय परम्परागत र प्राकृतिक सुरक्षा पर्खाल तथा गैरपरम्परागत सुरक्षा (पानीको स्रोत) का रूपमा पनि रणनीतिक महत्वको विषय बनेको हुनसक्छ ।

त्यसैले, पुस्तकको शीर्षकमै हिमालयलाई रणनीतिक भनिएको हुनसक्छ र यो नाम अर्थपूर्ण हुनसक्छ । नेपाल गणतन्त्रमा गइसकेपछि नेपालप्रति भारतको दृष्टिकोण बुझ्न चाहने शिक्षक, विद्यार्थी, लेखक र सर्वसाधारणका लागि पुस्तक उपयोगी हुनसक्छ ।

 

प्रतिकृया दिनुहोस