MENU

बुक च्याट

635x90

महिला हि‌सा : दाइजोको दर्द

गजेन्द्र बोहरा, बाँके सोमवार, माघ १७, २०७३

परस्पुर गाविसकी चन्दा नाउद (चाँदनी)लाई पतिले सधैँ हेलाहोचो गर्थे । बिहेबारीपछि दाइजोको किचलो बल्झिएको थियोे । पतिले ‘दाइजो’का निहुँमा सधैँ झगडा गर्न थालेका थिए । त्यसमा घरपरिवारको पनि साथ थियो । बिहे भएको दशकौँ बितिसकेको थियो । त्यही झगडाका बीच पनि उनीहरूका तीन सन्तान भए । पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा थिए । अनि काखमा अर्का छोरा पनि थिए, १० महिनाका । ५ जेठ ०७१ मा सबै घरमै थिए । झगडा उस्तै थियो, निहुँ उही थियो । सबै केटाकेटी सँगसँगै थिए । उनका पति र देवरले परिवारलाई नै आगो झोसिदिए ।

छिमेकीको सहयोगमा तीन सन्तान र चन्दा अस्पतालसम्म त आए । तर, दुई सन्तानलाई बचाउन सकिएन । अहिले एक सन्तानको साथमा चन्दाले लुगा सिलाएर जिन्दगी धानिरहेकी छन् । उनका देवर सद्दाम नाउ अहिले पनि जेलमा छन् भने पति फरार । ३ चैत ०७० मा बाँके लक्ष्मणपुरकी २० वर्षीया गर्भवती रिहाना शेख ढपालीलाई दाइजोको निहुँमा घरमै जलाइयो । धन्न रिहानालाई बेलैमा अस्पताल पुर्‍याइयो ।

गर्भको बच्चा खेर गए पनि उनको उपचार सम्भव भयो । अहिले सामान्य जीवन बिताइरहेकी उनी माइतीमा सामाजिक सेवामा पनि सक्रिय छिन् । आफ्ना पति, सासू र ससूराविरुद्ध उनले ज्यानमुद्दा दायर गरेकी छन् । तर, तीन वर्ष बितिसक्दा समेत फरार उनीहरूलाई पक्राउ गर्न सकिएको छैन । नयाँ जीवन शुरुवात गर्ने तयारी गरिरहेकी रिहानाका फरार पति सम्बन्धविच्छेद गर्न मानिरहेका छैनन् । भन्छिन्, ‘मजस्तो अरूले भोग्नु नपरोस् भनेर अहिले पनि सबै महिलालाई चेतना दिँदै हिँडेकी छु । हेरौँ सम्बन्धविच्छेद पछि मेरो नयाँ जीवन फेरि पनि शुरु हुन्छ कि ?’

२१ जेठ ०७१ मा बाँकेकै परस्पुर गाविसकी अमृता जमदार वाल्मिकीलाई पनि पतिले ज्यूँदै आगो लगाइदिए । उपचारपछि निको भएर उनी अहिले सामान्य जीवन बिताइरहेकी छन् । ज्यानमार्ने उद्योगमा मुद्दा हालेपछि उनका पति मनोज जमदार अहिले जेलमा छन् ।२६ असोज ०७१ मा बाँकेकै कारकाँदोमा अर्काे घटना भयो । स्थानीय पवन नाउले पत्नी पूजादेवी नाउको शरीरमा आगो लगाइदिए । निहुँ दाइजोकै थियो । अझसम्म उनी उपचारका लागि अस्पताल धाइरहेकी छन् । ज्यानमार्ने उद्योगमा पवन भने अहिले जेल चलान छन् ।

आफ्नैले जलाउँछन्
बाँकेमा अहिलेसम्म जति पनि महिला हिंसाका घटना भए, सबै आफ्नै परिवारका सदस्यबाट भएका छन् । धेरै जना त संयोगले मात्रै बाँचेका छन् । बाँकेकै गोल्डी द्विवेदी गर्भवती थिइन् । भारत माइतीघर भएकी उनको माइतीको अवस्था कमजोर थियो । पतिको कचिंगल र घर झगडाको निहुँ दाइजो नै थियो । ९ जेठ ०७१ मा परिवारले कोठामा थुनेर आगो लगाइदिए । उनको घटनास्थलमै मृत्यु भयो ।

द्विवेदी घटना सनसनीपूर्ण थियो, छानबिन पनि भयो । महिला अधिकारकर्मीलगायत धेरै संघसंस्थाले अनुसन्धान पनि गरे । भारत माइती भएका कारण उनीहरू त्यहाँ पुग्न सकेनन् । परिवारका सबैले एउटै शब्दमा जवाफ फर्काए ‘कोठामा ग्यास लिक भएर आगलागी भएको हो ।’ प्रहरीले छानबिन गर्दै केहीलाई नियन्त्रणमा लियो । तर, पछि घटनालाई भवितव्य भन्दै फाइल बन्द ग‍र्‍याे ।

नेपालगन्जबाट बिहे गरेर नजिकैको भारतीय शहर रूपौडियाको केवलपुर पुगेकी साहीजाद कबाडियाको घरमै मृत्यु भयो । माइतीले उनको शव मात्रै देख्न पाए । ३ असोज ०७१ मा भएको त्यस घटनामा घरकाले आगलागी भएर मृत्यु भएको भने । माइतीका अनुसार साहीजादलाई पहिला पनि घरमा कुटपिट गरिन्थ्यो, कैयौँ पटक उनी भागेर माइतीको शरणमा आएकी थिइन् । भारतमा घटना भएका कारण त्यसको भित्री कारण केही खुल्न सकेन । तर, नेपाल प्रहरीले मुद्दा चलायो र उनका पति अहिले जेलमा छन् ।

हरेक जिल्लामा महिला हिंसा न्यूनीकरणका लागि जिल्ला समन्वय समिति गठन गरिएको हुन्छ। त्यसको संयोजक प्रमुख जिल्ला अधिकारी आफैँ हुन्छन्। तर, यस्ता घटनाका धेरैजसो आरोपी फरार छन्।

बाँकेका अधिकांश विपन्न मुस्लिम तथा यादव बस्तीमा महिलामाथि हुने घरेलु हिंसाको सिलसिला पुस्तैनी हो । जिल्लामा सरकारी अनि गैरसरकारी निकायबाट महिला हिंसा न्यूनीकरण र सचेतना अभियानका कार्यक्रम नियमित छ । तर, महिला हिंसाले अझै विकराल रूप लिँदैछन् । परिवारमा महिलामाथि हुने कुटपिट र गालीगलौज, मानसिक अनि शारीरिक हिंसा सामान्यजस्तै लाग्छन् । ती केही पनि होइनन् र घरमा चलिरहने दैनिक क्रियाकलाप नै हुन्जस्तो लाग्छ । तर, त्यसको रूप अन्तिम समयसम्म आइपुग्दा आगो नै झोसिन्छ । त्यसको उद्देश्य यातना मात्रै होइन, ज्यानै लिने हुन्छ ।

मृत्युसँग संघर्ष
माघ पहिलो साता मात्रै नेपालगन्ज १२ खटकपुरकी २२ वर्षीया असिमा खटिकको शरीरमा उनका पतिले आगो झोसेर फरार भए । प्रहरीले उनको खोजी भइरहेको बताएको छ । शरीरको आधाभन्दा बढी भाग जलेर गम्भीर घाइते असिमा अहिले टिचिङ अस्पताल काठमाडौंको भेन्टिलेटरमा मृत्युसँग संघर्ष गरिरहेकी छन् । खटिकको लगभग आधा शरीर जलेको छ । चिकित्सकका अनुसार उनको छाती, मुख, हात जलेको छ । त्यस्तै, घाँटी पनि भित्रसम्म जलेको छ । चिकित्सकका अनुसार शरीरको करिब ३० प्रतिशत भाग जलेमा उपचार निकै जोखिमपूर्ण हुन्छ ।

अस्पतालको शड्ढयामै असिमाकी सासूले जलेर बोल्नै नसक्ने भएकी उनलाई ‘आफैँ आगो लागेको भन्नु’ भनेर सिकाउँदै थिइन् । पछि उनीतिरै क्यामेरा तेस्र्याएपछि बल्ल उनले ‘मेरो कर्मै यस्तै रहेछ, छोराले यस्तो ग¥यो’ भन्दै आफ्नो निधारमा ‘धारे हात’ लगाउँदै थिइन् । बाँकेमा भएको पछिल्लो ताजा घटना हो यो । यस्ता घटना धेरै हुन्छन् तीमध्ये केही मात्र बाहिर आउँछन् । धेरैजसो घटनामा परिवारकै मिलोमतो हुने भएकाले पनि घटना बाहिर आउँदैनन् ।

बाँकेमा यस वर्ष बितेको ६ महिनाभित्र चार वटा यस्तै गम्भीर प्रकृतिका हिंसा भएका छन् । एक महिलालाई पतिले कुटेरै हत्या गरेका छन् । २३ साउन ०७३ मा दाइजोकै निहुँमा झगडा चुलिएपछि नेपालगन्ज १९ बालेगाउँकी आसरुन अन्सारीलाई उनका पति ओसिम अन्सारीले निर्घात कुटे । छिमेकीले उद्धार गरेर अस्पतालसम्म पुर्‍याए । उनी मुस्किलले बाँचिन् । सामान्य गाउँघरको विवादमा २८ साउन ०७३ मा बाँके कोरियनपुरकी लीलाकुमारी वलीलाई छिमेकी इम्रान तपसुम, निशा ढपाली र रीना ढपालीले तातोपानी खन्याएर हत्या प्रयास गरेका थिए । ८ भदौ ०७३ मा बाँके नौवस्ताकी डन्डीकुमारी थारूलाई सामान्य झगडाको विषयमा पतिले दाउराले हानेर हत्या गरेका थिए । अहिले उनी जेलमा छन् ।

उदासीन सरकार र दलहरू
गत साता पतिले मट्टीतेल खन्याएर आगो लगाइदिएपछि गम्भीर घाइते भएकी असिमाको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । टिचिङ अस्पतालमा असिमालाई भेट्न गएका महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले सबै खर्च सरकारले बेहोर्ने गरी अस्पताललाई असिमाको उपचारमा कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिएका थिए ।

अहिलेसम्म यस्तो प्रकृतिको हिंसापीडित महिलालाई तत्काल उद्धार गर्ने कुनै संयन्त्र राज्यसँग छैन । संस्थाहरूले सहयोग र उद्धार गरून् भन्नेमै सरकारी निकाय छन् । ‘अब मन्त्रालयमा क्विक रेस्पोन्स टिम बनाउँछु,’ मन्त्री खड्का भन्छन् । सरकारकै मन्त्री अस्पतालमा पुगेर हिंसापीडित महिलाको खर्चको जिम्मेवारी लिएको यो पहिलो घटना र अपवाद हो । मन्त्री खड्काले अन्नपूर्ण टुडेसँग नीतिगत काम गर्ने बताए । तर, नीति ल्याउँदासम्म सरकार परिवर्तन भइसक्छ ।

बाँकेमा करिब एक सय १४ सामाजिक संघसंस्था क्रियाशील छन् । ती सबैको एउटै उद्देश्य महिला हिंसा न्यूनीकरण छ । सरकारी÷गैरसरकारी कार्यालयले पेस गरेको बजेटअनुसार वार्षिक करिब ८३ करोड ३९ लाखभन्दा बढी खर्च हुन्छ । सरकारी निकायकै कुरा गर्ने हो भने वार्षिक पौने चार करोड महिला तथा बालबालिका कार्यालयमा सकिन्छ ।

बाँकेकी महिला विकास अधिकृत सुनिता केसी भन्छिन्, ‘कार्यालयबाट जति बजेट खर्च हुन्छ, सबै महिलालक्षित नै हुन्छन्, हामीले गर्ने हरेक कार्यक्रम महिला हिंसा न्यूनीकरणकै लागि हुन्छ ।’ तर, दिगो रूपमा कार्यक्रमको नीति नल्याएसम्म हिंसाको यो रूप नथामिने मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मुरारी खरेल बताउँछन्  ।

उनी पनि सरकारी निकाय र राजनीतिक दलको उदासीनता देखेर दिक्क छन् । भन्छन्, ‘कहिलेकाहीँ त दिक्क लाग्छ, श्रीमान्हरू श्रीमतीलाई आगो लगाइरहने, हामी अनुगमन र प्रतिवेदन बनाइरहने अनि सरकार कसै–कसैलाई उपचार गरेजस्तो गरिरहने ।’ एकाध घटनालाई सरकारले अभिभावकत्व देखाएर हिंसाको रूप साम्य नहुने बताउँछन् उनी, जसमा राजनीतिक दल पनि उत्तिकै दोषी देख्छन् । महिला हिंसाका यस्ता घटना मुस्लिम र मधेशी समुदायमा बढी देखिन्छन् । तर, अहिलेसम्म राजनीतिक दलहरू यसबारे बोलेका छैनन् ।

फितलो कानून र अनुसन्धान
हरेक जिल्लामा महिला हिंसा न्यूनीकरणका लागि जिल्ला समन्वय समिति गठन गरिएको हुन्छ । त्यसको संयोजक प्रमुख जिल्ला अधिकारी आफैँ हुन्छन् । तर, यस्ता घटनाका धेरैजसो आरोपी फरार छन् । न ती फरारलाई खोज्न प्रहरीको सक्रियता देखिन्छ, न त प्रशासनको नै । बरु, भागिरहेकै बेला गाउँमा सुटुक्क आएर आरोपीले पीडितलाई दबाब दिएर घटनामा मिलापत्र भइसकेको हुन्छ ।

यस्ता घटना किन हुन्छन् भन्नेसम्म प्रहरीको अनुसन्धान बोल्दैन । जिल्लामा महिला हिंसाका धेरै घटना पैरवी गरिसकेकी अधिवक्ता सुनिता शर्मा ज्ञवाली भन्छिन् ‘महिलाका पक्षमा कानून नबनेका होइनन्, धेरै कानून बनेका छन् तर विडम्बना हाम्रो सामाजिक संरचना उस्तै छ, ती कानून कुनै पनि काम लागेका छैनन् ।’

 

 

प्रतिकृया दिनुहोस