MENU

बुक च्याट

635x90

किन भासियो सडक ?

रमन पौडेल आइतवार, माघ १६, २०७३

नक्सालका शिव रिजाल हरेक बिहान ‘मर्निङ वाक’पछि भगवती मन्दिरमा दर्शन गर्न पुग्थे । २४ पुस बिहान भने प्रहरी मुख्यालय छेउको चोकबाटै बाटो फेरे । त्यस बिहान मन्दिर जाने जाँगर चलेन उनलाई, नागपोखरीतिर लम्किए । पछि सोही बाटो फर्किंदा त सडक भासिएर ध्वस्त भइसकेको देखे । भन्छन्, ‘दिउँसो भासिएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो ।’

भत्किनुका कारण
सडक कसरी भासियो भन्ने चासो धेरैको छ । अमेरिकी कम्पनी हिल्टन वल्र्डवाइड र जगदम्बा हस्पिटालिटीको संयुक्त लगानीमा पाँचतारे होटेल हिल्टन निर्माणका क्रममा जमिन खनिरहँदा सडक भासिएको हो । तीनतले अन्डरग्राउन्डका लागि ३० फिट गहिराइसम्म खन्दै गर्दा अचानक जमिन भासिएपछि होटेल निर्माण मात्र प्रभावित भएन, सडकसमेत अवरुद्ध बनेको छ । व्यस्त मानिने उक्त खण्डमा अहिले पैदल यात्रुसमेत एक छेउबाट मुस्किलले हिँड्न बाध्य छन् ।

घटनास्थलमा अन्नपूर्ण टुडेको टोली पुग्दा बटुवाहरू भन्दै थिए, ‘जहाँ पनि बिल्डिङ ठड्याउन खोज्दा यस्तै हुन्छ । ठूलो कम्पनीको दादागिरीले गर्दा सडकमा हिँड्नेलाई दुःख भयो । सरकारभन्दा कम्पनीहरू बलिया छन्, कसले रोक्ने ?’ कम्पनी काम थाती राखेर सडक निर्माणको काममा जुटेको बताएको छ ।

भासिएपछि १२ मिटर सडकमा छेकबार गरी काम जारी छ । निर्माणको ठेक्का लिएको ‘रोशन कन्स्ट्रक्सन’ले आफ्ना सबै कामदार २४ सै घण्टा खटिएर सडक खुलाउन तल्लीन भएको दाबी गरेको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर धीरेन्द्र मिश्र भन्छन्, ‘अचानक भवितव्य आएपछि हाम्रो एक सय ५० जनाको टोली दिनरात सडक बनाउने काममै केन्द्रित छ ।’

निर्माण टोलीका अनुसार अहिले भासिएको ठाउँ उकास्न धमाधम ‘माइक्रोपाइलिङ’को काम भइरहेको छ । त्यसका लागि ठेकेदार कम्पनीले भारतबाट विशेषज्ञ टोलीसहित एक सय १५ जना कामदार झिकाएर काममा खटाइएको दाबी गरेको छ । तैपनि, उक्त खण्ड कहिलेदेखि सुचारु हुन्छ ? सरोकारवालाहरू समेत अनभिज्ञ छन् । जगदम्बा हस्पिटालिटीका मनिष शाक्य भन्छन्, ‘काम हुँदैछ, जतिसक्दो चाँडो सडक खुलाउने प्रयासमा छौँ ।’ ठेकेदार कम्पनी रोशनका प्रोजेक्ट म्यानेजर मिश्रले दुई सातामै सडक सुचारु हुने भनेको पनि साता दिन बितिसक्यो ।

यसरी भासियो

बिहान झिसमिसेमै सडक भासिएपछि स्थानीयवासीको भीड जम्मा भयो । घटनाका प्रत्यक्षदर्शी मनिषा गौतमका अनुसार भासिनुभन्दा केही दिन अघिदेखि नै बालुवा फुसफुस उडिरहेको देखिन्थ्यो । र, स–साना चिरा पर्न थालेको थियो । त्यसबारे निर्माणस्थलमा कार्यरत कामदारलाई समेत थाहा भएको स्थानीय बासिन्दा बताउँछन् । ठेकेदार कम्पनी भने यस्तो मान्न तयार छैन ।

keshavrajbastola

एक हदसम्मको लापरवाही त हो नै। तर, अहिले उनीहरूले सडक निर्माण गरिदिने प्रतिबद्घतासहित रिपोर्ट बुझाएका छन्। अयोध्याप्रसाद श्रेष्ठ ,क्षेत्रीय निर्देशक, सडक विभाग

स्थानीय बासिन्दा तथा ठेकेदार समूहका निरज कार्की भन्छन्, ‘हामीलाई निरुत्साहित र बदनाम गर्ने आरोप मात्रै हो यो । खतरा देख्दादेख्दै कसैले पनि काम गर्दैन ।’ ३० फिट गहिराइसम्म खनिरहँदा जोखिम निम्तिन सक्ने बताउँदै स्थानीय बासिन्दा असन्तुष्ट थिए । सडक नै भासिएपछि स्थानीयवासीले होटेल निर्माण कम्पनीका कारण आसपासका भवनसमेत जोखिममा रहेको बताएका छन् ।

सोही क्रममा स्थानीय बासिन्दा र निर्माण कम्पनीबीच सहमतिसमेत भएको थियो । त्यसबारे स्थानीयवासीसँग असन्तुष्टि नरहेको दाबी निर्माण कम्पनीले गर्दै आएको छ । जस्तो ः शाक्य भन्छन्, ‘स्थानीय बासिन्दाले राम्रो सहयोग गर्दै आएका छन् । हामीबीच केही असमझदारी छैन ।’प्रत्यक्षदर्शीहरूका अनुसार भासिनुअघि सडकमा चिरा पर्न थालेको जानकारी डिभिजन सडक कार्यालयलाई पनि थियो ।

त्यसैबेला डिभिजन सडकले पत्राचार गर्दै त्यसबारे कम्पनीलाई सोधेको थियो । निर्माण थाल्नासाथ फुटपाथसँग गाँसेर ढलान उठाउन लागिएकामा आपत्ति जनाएर डिभिजन सडकले १२ मंसिरमै चेतावनी दिँदै कम्पनीलाई पत्राचार गरेको थियो । त्यस क्रममा शहरी विकास र महानगरपालिकाबाट स्वीकृति लिएको दाबी कम्पनीको छ । केही दिनपछि सडकमा चिरा पर्न थाल्यो ।

डिभिजन सडकले फेरि ‘कडा शब्द’मा हिल्टन कम्पनीलाई दोस्रोपटक पत्राचार गर्‍यो । सडक भासिनुअघि नै डिभिजन कार्यालयले बारम्बार सजग गराउँदा–गराउँदै काम नरोक्दा अन्ततः क्षति भयो । त्यसको क्षतिपूर्ति के÷कसरी गरिने भन्नेबारे छानविन समितिले पनि निर्णय गरिसकेको छैन । तर, कम्पनीले आफ्नै खर्चमा सडक निर्माण गरिरहेको छ ।

sadak_1

डिभिजन सडक प्रमुख धर्मेन्द्र झा भन्छन्, ‘भासिएपछि पनि बारम्बार पत्राचार गरिरहेका छौँ । चित्तबुझ्दो जवाफ आइरहेको पनि छ । क्षतिपूर्तिबारे विभागले पनि निर्णय गर्ला ।’ जगदम्बा हस्पिटालिटीमार्फत् खटिएका इन्जिनियर देवेश भट्टराई भने सडक भासिनुमा आफूहरूको कमजोरी नरहेको दाबी गर्छन् । भन्छन्, ‘जमिनमुनिको ढल र पाइप अचानक फुटेर पानी आएपछि क्याभिटी बनेर भासिएको हो । यसमा हाम्रो केही गल्ती छैन ।’

उक्त घटनालाई सडक विभागले पनि ‘भवितव्य’ नै मान्दै आएको छ । विभागका क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठ भन्छन्, ‘सबैभन्दा ठूलो क्षति त कम्पनी स्वयंलाई भएको छ । घटनापछि धमाधम सडक बनाइरहेका पनि छन् । बनाउन चासो नदिएको भए हामीले एक्सन लिन्थ्यौँ । होटेलको काम रोकेरै सडक निर्माणको काम द्रुत रूपमा गरिरहेको हुनाले काम प्रभावित नहोस् भनेर पर्खिरहेका छौँ 

।’ विभागलाई बुझाएको प्रतिवेदनमा ढलान गर्नुअघि ‘माइक्रोपाइलिङ’ गर्ने क्रममा ‘एंकरिङ फेल’ भएको बताइएको छ । विभाग पनि कम्पनीमाथि कारवाही गर्ने मनस्थितिमा देखिएको छैन, बरु चाँडै सडक निर्माण होस् भन्ने नै आफूहरूको मनसाय रहेको श्रेष्ठको भनाइ छ ।१३ तले होटेल बनाउन लागेका ती कम्पनीले भासिनुअघिसम्म १४ करोड खर्च गरिसकेको रोशन कन्स्ट्रक्सनका अधिकारीहरू बताउँछन् ।

कहिले खुल्छ सडक ?
सडक भासिएको दुई साता बितिसक्यो । घटना भएलगत्तै सडक विभागका क्षेत्रीय प्रमुख श्रेष्ठको संयोजकत्वमा डिभिजन सडक प्रमुख झा र विभागकै लेखा अधिकृत विष्णुप्रसाद न्यौपानेसहित तीन सदस्यीय छानविन टोली गठन भएको थियो । संयोजक श्रेष्ठ सडक निर्माणको काम भइरहेकाले अनौपचारिक रूपमा अनुगमन गरिरहेको बताउँछन् । ‘२/३ दिनमै हाम्रो टोली घटनास्थलमा पुगेर अवलोकन गर्नेछ,’ ९ माघको कुराकानीमा श्रेष्ठले भने, ‘कसैको गल्ती ठहरियो भने कारवाही त गर्छौं नै ।’

छानविन टोलीलाई कम्पनीले बुझाएको प्रतिवेदनमा २८ माघदेखि सडक सुचारु हुने उल्लेख छ । त्यसका लागि सबैभन्दा बढी आफूहरू नै चिन्तित रहेको निर्माण कम्पनीको भनाइ छ । जतिसुकै खर्च र प्रविधि प्रयोग गरेर पनि सडक सुचारु गराउन प्रयासरत रहेको कम्पनी बताउँछ । कम्पनीका अनुसार भारतबाटै ‘आरओसी मेसिन’ ल्याएर अहिले ‘ड्रिलिङ’ भइरहेको छ । जुन प्रविधि हाइड्रोपावरको क्रममा मात्रै प्रयोग गरिन्छ ।

माइक्रोपाइलिङको काम सकिएपछि केही दिनमै ढलानको काम थाल्ने कम्पनीको तयारी छ । २० मिटर सडक निर्माणका लागि मात्रै करिब तीन करोड लाग्ने अनुमान छ । डिभिजन कार्यालयले सडक चिरिन थालेपछि कम्पनीलाई पत्राचार गरेको घटनाले पनि कम्पनी र डिभिजन कार्यालय दुवैलाई यस्तो ‘भवितव्य’ को पूर्वानुमान थियो भन्न सकिन्छ ।

विभागका क्षेत्रीय निर्देशक श्रेष्ठ भन्छन्, ‘एक हदसम्मको लापरवाही त हो नै । तर, अहिले उनीहरूले सडक निर्माण गरिदिने प्रतिबद्धतासहित रिपोर्ट बुझाएका छन् । काम पनि जारी भएकाले सामान्य रूपमा अनुगमन मात्रै गरिरहेका हौँ ।’सार्वजनिक सडक ऐनमा सडक सीमा नतोकिएको अवस्थामा सडकपेटीदेखि ६ मिटर पर मात्रै भवन बनाउनुपर्ने मापदण्ड छ । छानविन समितिले अहिलेसम्म यो पाटो केलाइसकेको छैन । श्रेष्ठ भने अनुसन्धानबाट यो कुरा खुल्न आए कारवाही गरिने बताउँछन् ।

समितिको छानविनको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ । कम्पनीले सडक निर्माणको प्रतिबद्धता जनाउँदै कागजात बुझाएकाले काम प्रभावित नहोस् भनी छानबिन प्रभावकारी रूपमा नबढाइएको श्रेष्ठ बताउँछन् ।

 

प्रतिकृया दिनुहोस