MENU

आरम्भ

635x90

एक ‘बेस्टसेलर’ को कथा

विवश वस्ती शुक्रवार, कार्तिक १०, २०७४

मेरो अति नै अत्युत्तम एवं नवीनतम् हाइकु संग्रहले अन्ततः ‘बेस्टसेलर’को पगरी गुथेरै छाड्यो । साहित्यको व्यस्त मार्केटमा मौजूद एकसे एक किताबहरूलाई उछिनेर, पछारेर, ङ्याकेर र सर्लक्क पन्छाएर मेरो हाइकु संग्रहले सर्वोच्च स्थान कायम ग¥यो । बेस्टसेलर मात्र भएन, दुई–चार वटा पुरस्कार पनि उम्काउन सफल रह्यो । त्यसमध्ये तीन वटा पुरस्कार त मेरा आफन्त, चेलाचपेटाहरूले नै राखेको मीठो जानकारी गराउन उचित ठान्छु ।

अतः मेरो किताब बेस्टसेलरको दौडमा अगाडि हुनु, दुई–चार थान पुरस्कार पनि पाउनु मेरो लेखकीय जीवनमा खुशी र प्रफुल्लको विषय बन्न पुगेको छ । म गद्गद छु । मार्केटमा नानाभाँती किताबहरूले बेस्टसेलरका लागि प्रतिस्पर्धा गरिरहँदा मेरो त्यस्तै ४०–४२ पेजवाला हाइकु संग्रह बेस्टसेलर हुनु धेरै नै गर्वको विषय पनि हो । बेस्टसेलर भएको अवसरमा ५–६ पटक त मेरो घरमा भोजै चलिसक्यो । अझै दुई–चार पटक जालाजस्तो छ । जेहोस्, आफ्नो खुशी अरूलाई सेयर गर्न पाउनु पनि सौभाग्यकै कुरा हो ।

नढाँटी भन्नुपर्दा, मलाई बेस्टसेलरबारे त्यति ज्ञान थिएन । एकदिन, एकजना प्रकाशकसँग जिज्ञासा मेटेँ, ‘यो कृति, त्यो कृति बेस्टसेलर भयो भन्ने चर्चा सुनिन्छ । आखिर, यो बेस्टसेलर भनेको चाहिँ के हो, प्रकाशकज्यू ?’

प्रकाशकज्यू मुस्कुराए र भर्खरै उनको प्रकाशनगृहबाट निस्किएको किताबतिर नजर डुलाउँदै भने, ‘जुन चिज बढी खपत हुन्छ, त्यही बेस्टसेलर । तपाईंले पनि आफ्नो किताबलाई धेरैभन्दा धेरै खपत गराएर बेस्टसेलर बनाउन सक्नुहुन्छ ।’

‘त्यसो भए, टिपटपको समोसा पनि बेस्टसेलर समोसा हो ? किनकि, त्यो अरू दोकानका समोसाभन्दा धेरै खपत हुन्छ । हरेक दिन कति खपत हुन्छ, भनेर साध्यै छैन ।’ मैले उदाहरण पस्किँदै भनेँ ।

‘त्यस्तो होइन, हाइकुकारज्यू । बेस्टसेलर केवल किताबमा मात्र लागू हुने विषय हो । यो समोसा, मःमः, छोइला, पाउभाजी, चटामरीमा लागू हुने कुरा होइन ।’ प्रकाशक महोदयले मतिर बक्रदृष्टि फ्याँक्दै भने । र, उनले थपे, ‘हाम्रो प्रकाशनगृहबाट निस्किएका हरेक किताब बेस्टसेलर हुन्छन् । लेखकहरू नै आफ्नो किताब बिक्री गराउन यति खट्छन् कि, आफ्ना किताब बेस्टसेलर बनाइ छाड्छन् । अझ, तपाईंका त सयौं ठाउँमा चिनजान छन्, ठूल्ठूला व्यापारिक प्रतिष्ठानहरूमा सम्पर्क छ, त्यत्रो वर्ष विभिन्न सरकारी निकायहरूमा बसेर काम गर्नुभयो, कति कलेजहरूमा पनि तपाईंको राम्रो सम्पर्क छ । ती ठाउँहरूमा तपाईंले आफ्नो हाइकु संग्रह बिक्री गरेर यो कृतिलाई बेस्टसेलरको पहिलो नम्बरमै पु¥याउन सक्नुहुनेछ । तपाईंमा त्यही क्षमता देखेर नै हामीले तपाईंको किताब प्रकाशन गर्न चासो राखेका हौं ।’

मलाई प्रकाशक महोदयको कुराप्रति शतप्रतिशत चित्त बुझ्यो । अरु प्रकाशकहरूकहाँ यही हाइकु संग्रह प्रकाशनका लागि अनुरोध गर्न नगएको हुँ र, थोडै ? सबैको एउटै जवाफ हुन्थ्यो, ‘हाइकु बिक्री नै हुँदैन, उपन्यास लेख्नुस् न, हामी छापिदिन्छौँ ।’ उपन्यास लेख्न सक्ने भए किन हाइकुतिर लाग्थेँ र म ?

अतः प्रकाशक महोदयले दिएका सबै तरिका अपनाएर मैले मेरो हाइकु संग्रहलाई बेस्टसेलर बनाउने भरमग्दुर प्रयत्न गरेँ । करिब ५० वटा कलेजमा गएर किताब भिडाएँ । राजस्व, भन्सारजस्ता ठाउँमा त आफ्नै साथीभाइ थिए, उनीहरूले पनि दिल फुकाएर सयौं प्रति किनिदिए । आफन्त, नातागोता र साथीभाइहरूले पनि सयौं प्रति किनिदिएर गुन लगाए । यसरी, मेरो हाइकु संग्रहको पहिलो संस्करण त निमेषभरमै सकियो । दोस्रो, तेस्रो हुँदै अहिले नवौ संस्करणमा हिँडिरहेको छ । प्रकाशक महोदय पनि मक्ख छन् र म पनि मक्ख छु । एउटा हाइकु संग्रहले बिक्रीमा अनौठो रेकर्ड तोडेर बेस्टसेलरको पहिलो नम्बरमा परेकोमा नेपाली साहित्य जगत् पनि गद्गद् छ ।

 

प्रतिकृया दिनुहोस