MENU

आरम्भ

635x90

चेट–चेट

विवश वस्ती सोमवार, आश्विन २३, २०७४

आकाशमा अनेक रङका चंगाहरू उडिरहेछन् । सबै चंगाधारीहरू चंगा–चेटको आनन्द लिनमा व्यस्त देखिन्छन् । कोही चंगाधारी आफ्नो चंगा चेट भएकामा निरास, कोही चेट गर्न सक्षम भएकाले खुसी देखिएका छन् । ‘ल, चेट, चेट । कति सजिलै खस्यो, भन्या ।’ हावामा तैरिँदै उडिरहेको चेटयुक्त चंगातिर हेर्दै एक चंगाधारी रमाए । र, अर्को चंगाधारीतिर फर्किंदै उनले भने, ‘देख्यौ, मैले त पहिला नै भनेकै थिएँ, यो पछिल्लो चंगा प्रतियोगितामा हामी अगाडि हुन्छौँ । हामी जित्छौँ भनेर खुबै धाक लगाउँथ्यौ नि ।’

चंगा चेटले खिन्न अर्का चंगाधारीले चारै दिशातिर नियाले । आकाशतिर नियाले, धर्तीका लहलह परेका धानका बालातिर पनि नियाले र लामो सुस्केरा काढ्दै भने, ‘यति नमज्जाले चेट त हुनु नपर्ने । म छक्क परिरहेको छु । जति पटक उडाए पनि चेट नै भइरहेको छ, भन्या । कतै धागै पो कमजोर प¥यो कि ? मलाई त शंका लागिरहेको छ ।’ ‘हुन सक्छ । तिम्ले धागो किन्ने पसल र मैले धागो किन्ने पसल अलग अगल प¥यो । तिम्रो पसलेले तिम्लाई कमसल धागो बेचेको हुनुपर्छ । पहिलादेखि जुन पसलमा किन्दै आएका थियौ, त्यही पसलमा नकिनेर सन्कियौ । अर्कै पसल चहा¥यौ । धेरै पसल चहारेर हिँड्नुहुँदैन क्या ।’ ती चंगाधारीले ओठे जवाफ दिँदै भने ।

अर्का चंगाधारी केही रिसाए । र, भने, ‘म पनि हेर्दै जान्छु, त्यो पसलेले दिएको धागो र लट्टाइ बोकेर कतिन्जेलसम्म चंगा उडाउँदा रहेछौ ? एउटा कुरा, मलाई धागोप्रति होइन, यो ठाउँमा बहने हावाप्रति नै शंका लाग्न थालेको छ ।’‘आफू चंगा उडाउन जान्दैन । लट्टाइमा कमसल धागो राख्छौ, तर दोष दिन्छौ, हावालाई । यस्तो वाहियात कुरा नगर मसित । कही हावाका कारण पनि यस्तो हुन सक्छ ?’ चंगा चेटमा सफलता पाइरहेका ती चंगाधारीले खिसी गर्दै भने । ‘मलाई त हावाले नै धोका दिएजस्तो लाग्छ । मधेशको यो हावा मलाई फाप्दै फापेन ।’ केही गम्भीर र उदास मुद्रामा ती चंगाधारीले भने, ‘पहाडको हावा कति मज्जाले फापेको थियो ।

पहाडमा हामीले अरूका चंगालाई चेट गर्न सफल भएका थियौँ । तिम्रै पनि कति चंगालाई चेट ग¥यौं, ग¥यौं । तर, तराईमा झरेपछि भने हामी चंगा–चेटको शिकार भयौँ, धेरै नै । तिमी जेसुकै भन, हाम्लाई मधेशको हावा फाप्दै, फापेन ।’ ‘तिम्रो कुरा साँचो हो कि क्या हो ? पहाडमा चंगा उडाउँदा हामीले कैयौं पटक चेटको शिकार भोग्यौँ । जता हे¥यो, उतै, तिम्रै चंगा शक्तिशाली । हामी त निरास थियौँ । मधेशमा पनि तिम्रै चंगाले बाजी मार्छ कि भन्ने शंका थियो । त्यही भएर त हामीले भन्यौँ, तिम्रो चंगा मधेशविरोधी छ । त्यसले मधेशमा शक्ति देखाउन नसक्नुमा पक्कै पनि मधेशको हावाले नै धोका दिएको हो कि जस्तो लाग्यो मलाई पनि ।’ ती चंगाधारी पनि केही हदसम्म सहमत देखिए ।

‘चेट, चेट ।’ फेरि आवाज घन्कियो । मधेशको आकाशमा एउटा चंगाले अर्को चंगालाई फेरि चेट गरायो । एउटा चंगाधारी खुसीले नाच्दै थिए र भन्दै थिए, ‘मलाई त मधेशको हावा फाप्यो । र, अर्का चंगाधारी दुःखी मन बोकेर उभिइरहेका थिए र भन्दै थिए, ‘मलाई मधेशको हावा फापेन ।’ आकाशमा चंगाहरू निरन्तर उडिरहेका थिए ।

प्रतिकृया दिनुहोस