MENU

आरम्भ

635x90

अचेल दशैं

बुद्धिसागर शुक्रवार, आश्विन ६, २०७४

सपना बोकेर काठमाडौं आउनेहरूको बाटो नयाँ बसपार्क, महारागन्ज हुँदै रत्नपार्क पुग्छ । वषौं टुँडिखेललाई फन्का लगाउँछ र एनएसीबाट बस चढेर जमल हुँदै नयाँ बसपार्क पुग्छ । र, घर फर्किन्छ ।

यो बीचमा सबैले केही गुमाउँछन्, केही पाउँछन् ।

फर्किनेहरू आफैं फर्किदैनन् । उनीहरूलाई गाउँ सम्झाउन आकाश मुलायम हुँदै जान्छ । उडिरहेका पंक्षीहरू टाढा–टाढासम्म देखिन्छन् । बादलको स–साना टुक्राहरू खरायोझैं मधुरो कम्पन दिएर आकाशतिर डुलिरहन्छन् ।

उराठपन बोकेर बतास स्मृतिका झ्यालढोका ढकढकाउन आइपुग्छ ।

एउटा मोबाइलबाट उड्दै उड्दै आएको आवाज अर्को मोबाइलसम्म पुग्छ । आकाशभरि नदेखिने तर पंक्षीका झुण्डभन्दा धेरै आवाजहरू उडिरहन्छन् । कति थाकेका आवाजलाई चंगाले पनि बोक्दो होला !

नयाँ बसपार्कमा टिकट बुक गर्नेको भीड बढ्छ । र, काउन्टरभित्रको मान्छे टेबुलमा बसेर जुत्ताको सोल देखाउँदै सबैलाई थर्काइरहन्छ ।

बल्लतल्ल हात परेको टिकट सपनाझैं प्रेमले पट्याएर यात्रुहरू पर्सको चेपमा लुकाएर राख्छन् । ज्यान तन्काउँदै ‘ब्रान्ड न्यु’ नोटका गड्डीहरू बैंकबाट निस्किन्छन् । दशैंमा सबैभन्दा बढी टीका तिनैले लगाउँनेछन् ।

रेडियोले वर्षभरि कम्प्युटरको ‘फेस्टिभल म्युजिक’ फोल्डरमा गुम्सेको मालश्रीको धुन झिक्छ र बजाउँछ । ठमेलका गल्लीहरूमा धुन सुन्दै पर्यटकहरू मुन्टो हल्लाउँछन् ।

थोत्रो रेडियोमा घन्किरहेको मालश्रीको धुन सुन्दै श्रमिकहरू वर्षभरि आफूले कमाएका, सम्हालेका पुराना नोटका टाउका मिलाउन थाल्छन् ।

टाउका मिलेका नोटहरू खुला आधा लिटर दूधको पोकामा आएको रबरले बेरेर राख्छन् ।

र, निस्किन्छन्, एनएसीतिर । जमलतिर । बस, माइक्रो र ट्याक्सीहरू हतारिँदै नयाँ बसपार्कतिर कुदिरहन्छन् ।

तर, कोही–कोही हुन्छन्, जो न ट्याक्सीमा पस्न सक्छन् । न ड्राइभर नै पस्न गाह्रो हुनेगरी झुण्डेका यात्रुका काँध च्यातेर बसभित्र पस्न सक्छन् । माइक्रोमा भने दैलोनेर झुण्डेका यात्रुका कुइनाको प्रहार कानका लोतीमा खाएर सडकतिर पछारिरहन्छन् ।

२०६९ सालको एक अँध्यारोमा एक जना जमलमा यसरी नै पछारिएका थिए । सबैलाई बसपार्क पुग्नु थियो, कुरकुरे र मिनिरल वाटरको बोतल बोकेर नाइट बस चढ्नु थियो ।

साढे सात बजिसकेको थियो र माइक्रोको कन्डक्टर सबैभन्दा बढी चिच्चाइरहेको थियो ।

पछारिएका व्यक्ति चालीस कटिसकेजस्ता लाग्थे । उनीसित १२ वर्षजतिको छोरी थिइन् । बाबुले थोत्रो ब्याग बोकेका थिए, भने छोरीले असाध्यै सेता जुत्ता लगाएकी थिइन् । दशैंका दिन लगाउने जुत्ता छोरीले कर गरेर आजै लगाएजस्तो लाग्थ्यो ।

बाबुछोरीले तीन–चार वटा माइक्रोमा कुइना खाएर भित्र पस्न सकेका थिएनन् । अर्को माइक्रो आयो । यस पालि बाबु आफ्ना कुइनाले दैलोमा झुण्डेका यात्रुका कोखा ठेल्दै भित्र पसे । र, छोरीका कलिला हातहरू समातेरभित्र ताने ।

मैले सोचेँ– उनीहरू चाँडै बसपार्क पुग्नेछन् । छोरी बाबुको छातिका शिर राखेर निदाउँनेछिन् । र, बाबु बसको विपरीत दिशामा बेतोडले कुदिरहेका रूखहरू हेर्दै रातभरि टोलाउनेछन् । र, सबैभन्दा ठूलो सयपत्रीले मुन्टो हल्लाइरहेको आँगनमा पुग्नेछन् ।

तर, माइक्रो अलिपर पुगेपछि कर्कश आवाज निकालेर अडियो ।

माइक्रोभित्रबाट बाबु ढुन्मुनिँदै बाहिर निस्के । भुइँमा थ्याच्च बसे । मैले पहिलोपल्ट चालीस कटेको मानिस आर्तनाद निकालेर रोएको देखेँ । छोरी माइक्रोबाट निस्किन् । सडकमा बेस्मारी रोइरहेको आफ्ना बाबुलाई देखेर उनी पनि रोइन् । हिक्का र पापा सँगैसँगै निस्केको दृश्य ‘ब्लेड’ थियो, हृदयलाई यति छिटो चिथ्र्यो, चिरिएको केही समयपछि मात्रै रगत निस्किन्थ्यो ।

बाबुले पहिला छोरीलाई अंगालो मारे अनि माइक्रोलाई थप्पड हान्दै, ड्राइभरको सिसाअघि दर्गुर्दै चिच्चाउन थाले– ‘रोक, रोक ! मेरो पैसा चोरी भयो । सबैलाई चेक गर ।’

सायद, छोरीले बाबुलाई अघिल्लो रात पैसाको टाउको मिलाउन सघाएकी थिइन्, झन् रुन थालिन् ।

माइक्रो थर्थराइरह्यो । उस्लाई एउटा ट्रिप बसर्पाक पु¥याएर फेरि अर्को लिन आउनु थियो । माइक्रो घमन्डी देशजसरी बाबुका खस्रा हात पन्छाउँदै अघि बढ्यो ।

बाबु भुइँमा थ्याच्च बसे । हिक्काबीच भनिरहे, ‘मैले जुठा भाँडा माझेर कमाएको पैसा । मेरो छ महिनाको कमाई । पाकेट पनि गरिबकै मारिनुपर्ने !’ छोरी पनि रोइरहिन् र पापा पापा भन्दै बाबुलाई अंगालो हालिरहिन् ।

भीड जम्मा भयो । जमलमा जाम भयो । फ्याउराको झुण्डसरी हर्नहरू बजिरहे । शहरको भीडलाई यस्तो घटना पाँच मिनेटको रोमाञ्चकता मात्रै त हो, माइक्रोका दैलोमा झुण्डेर, भित्री सिटमा तेर्सो परेर भीड हिँड्यो ।

दशैंको रोमाञ्चकता भीडसितै गइसकेको थियो । अँध्यारो सडकमा बाबुछोरीको रुवाइ झन् चर्को हुँदै गयो ।

अचेल पनि जब म जमल पुग्छु, तिनै बाबुछोरीलाई सम्झिन्छु । उनीहरूको रुवाइ र आँशुका थोपा अब त्यहाँ छैनन् । झरीको भेलले आँशु बगायो र गाडीका चर्का हर्नमा आर्तनाद हरायो ।

शहरमा धेरै कुरा दृश्यबाट त हराउँछन्, तर कसैको हृदयमा भने बसिरहन्छन्, आफ्नो पूर्ण वजनसहित ।

वषौं भयो त्यो घटना देखेको ! जमलमा अझै जाम छ ।

 

प्रतिकृया दिनुहोस