MENU

आरम्भ

635x90

अचेल : क्यान्डी क्रस

बुद्धिसागर आइतवार, आश्विन १, २०७४

राजीवधर जोशी टेवुलतिर झुकेर बसेका थिए । आकाशमा इन्द्रेणी भुँइतिर झुकेको थियो । प्रकृतिको कुचिले धर्सो तानेजस्तो । धर्तिबाट बिस्तारै हराउँदै गएको प्रकृतिको यो नजारामा उनलाई कुनै मतलब थिएन ।

म क्याफेमा एक घन्टा ढिला पुगेको थिएँ ।

मैले सोचेको थिएँ— उनी लामो प्रतिक्षाबाट दिक्क भएर हिँडिसकेका होलान् ।

तर, उनी दत्तचित्त भएर मोबाइलमा चोर औला दगुराईरहेथे । मानौ— उनी कमिलाको लस्करमा सबैभन्दा ठूलो टाउको भएको कमिला खोजिरहेका छन् ।

मैले कुर्सिमा ढेस्सिदै भने, ‘सरी है ! एक घन्टा नै कुर्न पर्यो तपैलाई ।’

उनी हाँसे, ‘म आएको त दुईघन्टा भन्दापनि बढी भयो । तर, ठिकै छ । मलाई त तपाई अझैँ एक घन्टा चाँडो आएजस्तो लागिरहेको छ ।’

लाग्यो— उनी ब्यंग्य गरिरहेका छन् ।

‘हेर्नुस्, बुद्धिजी ! केही दिनदेखि म ठूलै नशामा फसिरहेको छु ।’

कस्तो नशा ?’

‘क्यान्डीक्रस गेम आको छ । मोबाइलमा डाउनलोड गरिहालेँ । रातभरी खेल्छु । अनि, कुनै मिटिङ पर्यो भने एकडेढ घन्टा अघि पुग्छु र खेलेरै बस्छु । अहिले पनि खेलि नै रहेको थिएँ । तपै आइहाल्नु भयो ।’ उनी हाँसे, ‘तपै पनि खेल्नु हुन्छ क्यान्डी क्रस ?’

‘मैले त भर्खरै सुने यस्को बारेमा ।’
मलाई ठूलै भीरबाट खस्नबाट जोगाउन उनले दुवै हात फैलाउँदै भने, ‘त्यसो हो भने भुलेर पनि डाउनलोड नगर्नु होला । ‘उनले एकछिन अडिदै थपे, ‘प्लिज ।’
म फिरफिरे लेखनको मध्यतिर थिएँ । मध्यरातको सन्नाटामा किबोर्ड बजाउँथे । लेख्नु अघि घन्टौ गीत सुन्थे । त्यसरात किबोर्डमाथि गंगटाका खुट्टा जसरी औला झुन्ड्याएर अवेरसम्म घोत्लिएपछि, राजीवजीका शब्दहरु मन्त्रजसरी मेरा कानमा गुञ्जिए ।

यो संसारका सारा जीवभन्दा मान्छे किन फरक छ भने कसैले जे नगर्नु भनेको हुन्छ, त्यै गर्छ ।

मैले मोबाइलमा क्यान्डीक्रस डाउनलोड गरेँ ।

बिहान साढे तिनबजेसम्म किबोर्ड बजेन । केवल क्यान्डीक्रसको स्विट, डिभाइन बजिरह्यो । म गर्दनको हड्डीका दानाहरु खियाउँदै घोप्टो परिरहे ।

पौने चार बजे दिप्ती कराइन्, ‘बिहान हुन लाइसक्यो, के टुङटुङ बजाको ?’

म ओच्छ्यानमा आएँ । भित्तातिर कोल्टे परेर, सिरकले मोबाइलको उजेलो छोपेर, बिहानको छ बजाएँ ।

राजीवजीले नखेल्नू भन्दै कसरी खेल्ने पनि उपाय दिएकै थिए । मैले न्यूरोडको कुनो क्याफे रोजेँ । चिनजानका मान्छेको आवतजावत कम हुन्थ्यो । म घरबाट लेख्नु छ भन्दै कुनोमा पुग्थेँ र दिनभरी क्यान्डीहरु फुटालेर घोप्टो पर्थे ।

पाँचपल्ट पनि लेभलपार नगर्दा नयाँलाइफ चाहिन्थ्यो । त्यसका लागि कि तिनजना फेसबुके मित्र चाहिन्थ्यो कि एकघन्टा प्रतिक्षा गर्नुपथ्र्यो । फेसबुकमा त मैले पढेकै थिएँ—कस्ले पठायो क्यान्डीक्रसको रिवेक्स्ट ? आई विल लुक फर यू, आई विल फाइन्ड यू एन्ड आई विल किल यू ।

लाइफ मागेर मर्नु छ र ?

रामबाबू गुरुङले भनेका थे— मेरो एउटा साथी छ, कहिलेकाही मेरो बाइक पछाडी बस्छ । बाइक कुदिरहेका बेलापनि मेरो पिठ्यूमा मोबाइल अड्याएर क्यान्डीक्रस खेल्छ ।‘

क्यान्डीक्रस डाउनलोड गरेपछि, कतिको गृह कलह सकिएको खवर पनि आईरहेको थियो । क्यान्डीले तितो संकामा डिभाइन मीठास जो दिएको हुन्थ्यो ।

माइक्रो, साझा बस, प्रतिक्षालय जताततै क्यान्डीक्रसको टुङटुङ सुनिन्थ्यो । कहिलेकाही माइक्रोमा मेरो छेऊको सिटमा बसेको मानिस क्यान्डीक्रस खेलिरहेको हुन्थ्यो । म कर्के नजरले हेर्थे, ऊ बल्ल १ सय २० लेभलमा हुन्थ्यो, म भने ३ सय ७५ । म गर्वले मोबाइल झिक्थे । छेऊको मानिसको आफ्नो मोबाइल बन्द गरेर मेरो गेम हेरेर बस्थ्यो । मैले खेलिरहेको लेभल उसको सपना हुन्थ्यो, कहिलेकाही म अर्कोेले खेलिरहेको ५ सय १३ लेभल हेर्थे, त्यो मेरो सपना हुन्थ्यो ।

कहिलेकाही एउटै लेभल कटाउन हप्तौ लाग्थ्यो । म कटाउन नसकेको नम्बर यूट्युवमा राखेर सर्च गर्थे । कसै न कसैले त्यो लेभल कटाएको भिडियो राखेको हुन्थ्यो । लाखौले हेरेका हुन्थे र लेखेका हुन्थे— तिमी यो संसारका सबैभन्दा लकी मानिस हौ !

म पनि त्यो लेभल कटाएको लकी मानिसको ईष्र्या गर्थे ।

लेभल नकट्ने, तर लाइफ सकिरहने । गुगल देउतासित हरेक प्रश्नको जवाफ हुन्छ । मैले सोधेँ— यसबाट कसरी पार पाऊँ प्रभू ?

देउताले सयौ ब्लग पठाईदिए ।

अव एकघन्टा कुर्न नपर्ने भयो । मोबाइलको समयमा १ घन्टा बढायो, लाइफ हाजिर ! मेरो मोबाइलमा घन्टा बढ्यो, दिन बढ्यो, महिना बढ्यो, बर्ष बढ्यो । ५ महिनामा म ५ सय ९८ लेभलमा पुगेँ ।

त्यो कटेन र मैले कुनै लाइफ पाइनँ । किनभने, मैले समय बढाउँदै सन् २०३६ मा पुर्याएर क्यान्डीक्रस खेलिरहेको थियो । र, मेरो मोबाइलमा ०३६ पछि समय नै रहेनछ । म टाइम ट्राभलर्सको जस्तो जिन्दगी बाँचिरहेको थिएँ ।

समय नै बाँकी नरहेपछि क्यान्डीक्रस डिलेट गरिदिएँ ।

घोप्टो परेरै सहि, इन्द्रेणी नहेरेरै सही क्यान्डी क्रसले मलाई २०३६ मा केही हप्ता बाँच्ने मौका दिएको थियो । जसलाई हेर्दे नहेरी म फर्केको थिएँ ।

 

प्रतिकृया दिनुहोस