MENU

आरम्भ

635x90

कहाँ हराए उनीहरू ?

बुद्धिसागर आइतवार, भाद्र २५, २०७४

घरहरूबाट खोपी हराए । खोपीसँगै गुँड हराए । गुँड हराएपछि शहरबाट भँगेरा पनि हराए । 

शहर काँधहरूमा बिजुली तारका लठ्ठाहरू थाम्दाथाम्दै थकित भइसकेको छ । तिनै बिजुलीका तारमा झोक्राएर मुन्तिर सडकमा उर्लिरहेको मानिसहरूको भेल हेरिरहने कागहरू पनि हराए ।

 मानिसको हातहातमा स्मार्टफोन छ, जसले संसारभरिका समाचार एक क्लिकमा आँखामा हुलिदिन्छ । समाचारका लागि काग र कान दुवै नचाहिने भएको छ ।

बूढी हजुरआमाहरू अचेल टीभीको पर्दामा विध्वंशका समाचार हेर्दै जिब्रो टोक्छन् । सोच्छन्, पैले पैले काग सम्चार बोकेर आउँथ्यो, सुबोल सुबोल भनेपछि हर्षको समाचार सुनाएर जान्थ्यो ।

काग हरायो, त्यसैले हर्षको समाचार पनि हरायो ! 

शहरले हरेक समयमा नयाँ–नयाँ कुरा पाउँछ । जसरी केटाकेटीहरू नयाँ–नयाँ खेलौनामा रमाउँछन्, शहर त्यसरी नयाँनयाँ शैलीमा रमाउँछ । शहरबाट धेरै कुरा हराउँदै जान्छन्, तर शहरले केही गुमाउँदैन । 

जो पहिले थियो, त्यो अहिले नहुनुमा पछुतो गर्दैन ।

त्यो भुइँकुहिरोको ओस हराएको पछुतो छैन । शहरले धुलोको कुहिरो पाएको छ । दिउँसै गाडीहरू धुलोको संसारमा हेडलाइट बाल्दै कुदिरहेका हुन्छन्, जसरी पहिला कुहिरोमा कुद्थे । 

सडकहरूमा धुलो छ, हिलो छ । त्यसैले सडकका पेटी छेउहरूमा जाडोको महिना घाम तापेर बसिरहने हजुरबा हजुरआमाहरू पनि हराए । शहरका सबैभन्दा पुराना बाटा चिनेका उनीहरू नै हुन्थे । बटुवालाई प्रेमले बाटो देखाइदिन्थे । बाटो बिर्सिएका बटुवाहरू जब चर्को गर्मीमा अलिकति छाँया खोज्दै भौतारिन्छन्, बल्ल थाहा पाउँछन्, शहरबाट रूखहरू पनि हराए । 

टुँडिखेललाई घेरेर रूखहरू असल विद्यार्थीजसरी लस्कर लागेर उभेका हुन्थे । रातको कालो छायाँमा ती पनि हराए ।

टुँडिखेलको छेवैको रातो घरको ठूलो भित्तो पनि हरायो, भित्तोसितै नाराहरू पनि हराए र हराए, त्यही भित्तोमा टाँसिने ‘एक टिकेटमा दुई फिल्म’ लेखेका फिल्मका पोस्टरहरू । पोस्टरसितै एक टिकटमा दुई फिल्म देखाउने थोत्रा फिल्महलहरू पनि हराए । फिल्महलसँगै दिनभरि फिल्महलवरिपरि घुमिरहने र कोही नयाँ दर्शक भेट्यो कि पोस्टरै हेरेर फिल्मको कथा भनिदिनेहरू पनि हराए ।

पिसाबको चर्को गन्ध, पंखाको कर्कश आवाज, थोत्रा छानाबाट चुहिएर घामका मसिना धारहरूका बीचमा एक टिकटमा दुई शो फिल्म हेर्न आएकाहरू मुर्मुरिदै भन्थे, ‘पोस्टर नयाँ टाँस्यो, फिल्मचाहिँ उही पुरानै चलायो ।’

तिनीहरू पनि हराए । 

र, ती अपरेटर पनि हराए, जो फिल्मका पुराना रिल जोडजाड पार्थे र फिल्मको बीचमा १५ मिनट जतिको पोर्न गुजुल्टो पनि गाँस्थे ।

 ‘के–के हराउँदै गए त’ भन्दै हराएको समाचार लेख्ने अखबार पनि चिया पसलका थोत्रा टेबुलहरूबाट हराए । गिजोलिएका अखबारका पन्नाहरूमा लागेका चाउमिनका त्यान्द्रा, चनाका दाना चोर आै‌लाले प्याट्ट हिर्काएर समाचार पढ्नेहरू पनि हराए । र, छेउमा उभिएर समाचार पढिरहेको मानिसको कानमा ‘दाइ, भित्रको पन्ना दिनुस् न है’ भन्नेहरू पनि हराए ।

र, हराए, पसलअगाडि लहरै झुण्डिने दैनिक र साप्ताहिक पत्रिकाहरू पनि । 

फ्रिमा पत्रिका पढ्छन् भनेर साउजीहरू एउटा पत्रिकामा कम्तीमा तीन वटा स्टिचका काँटीहरूले सुरक्षा दिन्थे । तर, अलिकता बांगिएर, अलिकता गर्दन मोडेर, आँखाहरूलाई तेर्साएर स्टिचको काँटीका बीचबाट अखबारका पन्नाहरू फट्टाएर राशिफल पढ्नेहरू पनि हराए ।

 डिल्लीबजारको उकालोनेरै पत्रिका पसल राखेका ध्रवजी भन्थे, ‘मेरो पसलमा दिन्दिनै पत्रिका पढ्न आउनेहरू पनि हराए ।’

ध्रुवजीले एकपल्ट सुनाएका थिए, बिहान नौ बजेतिर एकै समयमा दुई युवायुवती राशिफल पढ्न आउँथे । युवती एउटा पत्रिकामा आफ्नो राशिफल स्टिच फट्टाएर पढ्थिन्, युवक अर्को पत्रिकामा ।

केही समय बितेपछि उनीहरू एकअर्कालाई हेर्दै मुस्कुराउन थाले ।

संयोगले दुवैको राशि एउटै परेछ । उनीहरू एउटै पत्रिकामा राशिफल पढ्न थाले । पछिपछि त युवतीले पढ्ने युवकले सुन्ने, युवकले पढ्ने युवतीले सुन्ने !

कहिलेकाहीँ युवती नआएका वेला युवक कैयौंपल्ट एउटै राशिफल पढ्दै युवतीको प्रतीक्षा गरिरहन्थ्यो । कहिलेकाहीँ युवक नआएका वेला युवती पनि कैयौंपल्ट एउटै राशिफल दोहोर्‍याइरहन्थिन् ।

एकदिन दुवै देखिन छाडे । 

ध्रुवजीलाई उनीहरूको बानी भइसकेको थियो । त्यसैले उनी हरेक दिन उनीहरू आइहाले कि भनेर चनाखो भइरहन्थे । 

महिनौं बित्यो । 

एकदिन दिउँसो उनले आफ्नो पसलअगाडिबाट एक जोडी हिँड्दै गएको देखे । उनलाई चिनेजस्तो लाग्यो । उनले काउन्टरबाट जरायोझैं गर्दन तन्काएर सडकतिर हेरे । 

अगाडि बढिरहेको जोडी टक्क अडियो र पछाडि फर्कियो । 

युवतीका राता लुगा र युवकको सुट देख्दा लाग्थ्यो, उनीहरूले भर्खरै बिहे गरेका हुन् ।

युवतीका आँखा ध्रुवजी आँखासित ठोक्किए, उनी मुस्कुराइन् । उनीहरू तिनै थिए, जो राशिफल पढ्दापढ्दै हराएका थिए । 

उनीहरू ध्रुवजीकाे पसलमा आए । 

युवतीले मुस्कुराउँदै भनिन्, ‘धन्यवाद दाइ ! तपार्इंको पसलमा राशिफल पढ्दापढ्दै हाम्रो माया बस्यो । हामीले बिहे गर्‍यौँ ।’

त्यसपछि, उनीहरू फेरि हराए । 

कोही केही भेटिएपछि हराउँछन्, कोही केही नभेटिएपछि । कोही केही खोज्न हराउँछन्, कोही कहीँ कतै भेट्टिन ।

प्रतिकृया दिनुहोस