MENU

आरम्भ

Annapurna635x90

अहा ! स्मार्ट–सिटी

विवश वस्ती शुक्रवार, भाद्र ९, २०७४

कति भव्य, शानदार र हरियाली पार्क । शहरको मध्य भूभागमै यति सफा चिटिक्क परेको, रंगीबिरंगी फूल, वनस्पति र पानीको फोहोराले सुशोभित पार्क देख्दा मन नै प्रफुल्ल र गद्गद् भयो । सयौं थरीका फूल फुलिरहेका थिए र भमराहरू पनि खुशीपूर्वक डुलिरहेका थिए । पार्कभित्रका एकान्त बगैंचामा युगल जोडी टहलिइरहेका थिए, रमाइरहेका थिए । यस्तो पार्क देखे अप्सराहरू पनि नाच्थे होलान्, छमछमी । म एउटा स्मार्ट सिटीभित्रका स्मार्ट पार्कको कुरा गर्दैछु, यतिबेला ।

स्मार्ट पार्कको एउटा कुनानिर कोही किताबमा घोत्लिँदै थिए । अध्ययनमा यति निमग्न देखिन्थे, होहल्ला नाघेर अध्ययन गर्नुको आनन्दको सीमा कति हुन्छ, हुन्छ यो कुरा अध्ययन गर्नेलाई मात्र थाहा थियो । अहो ! पार्कभित्रै रहेछ, एउटा भव्य लाइब्रेरी । म त्यही लाइबे्ररीभित्र छिरेँ । सबै विधाका किताब देख्दा लाइब्रेरीको गरिमा र शोभालाई समुन्नत बनाइरहेको आभास भयो । कति जतन गरी राखिएका किताब । धुलो–मैलोको अनुहार कुनै पनि किताबले देख्न पाएका छैनन्, सायद ।

पार्ककै अर्को कुनामा देखेँ, एउटा शानदार थियटर । हरेक साँझ प्रदर्शन हुँदो रहेछ, नाटक । शहरलाई मल्टिप्लेक्सले ढाके पनि नाटक हेर्न आउने युवा, बुजु्रकहरूको भीड नै लाग्छ रे । सुनेँ, त्यो थियटरमा स्वदेशी नाटककारहरूले लेखेका नाटकमात्रै मञ्चन हुन्छ । कुरा राम्रै लाग्यो । यति सुन्दर पार्क, पार्कभित्र लाइब्रेरी र थियटर, ठाउँ–ठाउँमै कफी सप, फ्री वाईफाई । म स्मार्ट सिटीको भव्यता देखेर दंगदास नै परेँ । शहरमा यस्तै १० वटाजति पार्क छन् भन्ने सुनेँ । अरूमा पनि घुम्ने इच्छा नजागेको त होइन, तर समयाभावका कारण अर्को दिन घुम्ने सोच बनाएर बाहिर सडकमा निस्किएँ । सडकको त कुरै नगरौं । अत्यन्तै सफा, सुग्घर ।

घाम लाग्दा न धुलो उड्छ, पानी पर्दा न हिलोले कब्जा जमाउँछ । सडक दायाँ–बाँयाका स–साना हरिया वृक्ष हावाको स्पर्श पाएर हल्लिरहेका देख्दा स्मार्ट सिटीका परिकल्पनाकारलाई नमन गर्न करै लाग्यो । अझ, सडकमा न एउटै प्लास्टिक फ्याँकिएका छन्, न कागजका टुक्रा नै देखिन्छन् । सिटी बसमा यात्रा गर्नेहरूमा पनि सभ्यताका बीउ अंकुराइरहेको पाएँ । स्मार्ट सिटी बनेयता यात्रुहरूले झ्याल खोल्ने र पिच्च पिच्च थुक्ने कार्यमा पूरै ‘स्व–बन्देज’ लगाएका रहेछन् । सडकका पेटी पनि उस्तै खुला । न कसैले पेटीमा पसल फिँजारेका छन्, न रेलिङमा बस्ने फुर्सद नै कसैलाई छ । अलि पर एउटा खुला ठाउँ रहेछ । एउटा सांगीतिक ब्यान्ड प्रस्तुति दिन तम्तयार देखिन्थ्यो ।

त्यो ब्यान्डले हरेक साँझ आफ्नो प्रस्तुति दिँदो रहेछ । सांगीतिक कार्यक्रम सुन्न आउनेहरू पनि नजिकै ठेलागाडामा बेच्न राखिएका हाइजेनिक मःमः, चाउमिन, पिज्जा, बर्गर खाँदै सांगीतिक रसपानमा डुब्दा रहेछन् । सिटी बस त रातभरि नै चल्दो रहेछ । बस नजाने ठाउँमा ट्याक्सीले मिटरमै पुर्‍याइदिँदो रहेछ । जस्तै राति भए पनि महिलाहरू निस्फिक्री घुम्दा रहेछन् । शहरमा बस्नेहरू त मलहरूमा सामान किन्न रातको समयमा बढी रुचाउँदा रहेछन् । शहरमा बस्नेहरूले ट्राफिक जाम देख्न नपाएका त वर्षौं भइसकेको रहेछ ।

ट्राफिक जाम त अब दन्त्यकथा नै बनिसकेको रहेछ । त्यत्तिकै स्मार्ट सिटी भएको होइन रहेछ भन्ने लाग्यो मलाई ।अतः आज मैले गधाहरूको स्मार्ट सिटीको बयान गर्न चाहेँ । गधाहरूको स्मार्ट सिटीको एक दिवसीय घुमाइ मेरो निम्ति अविस्मरणीय र अतुलनीय रह्यो । म यो घुमाइ कहिल्यै बिर्सिने छैन । फुर्सद मिले फेरि पनि घुम्ने बाचा गरेको छु ।

प्रतिकृया दिनुहोस