MENU

आरम्भ

Annapurna635x90

नाटकीय कि भव्य ?

विवश वस्ती सोमवार, भाद्र ५, २०७४

जब कुनै दलको सम्मेलन हुन्छ । सम्मेलनमा एउटा गुटले अर्को गुटलाई ताछ्ने, तिखार्ने, काटछाँट गर्ने, धूलो र हिलोले रंग्याउने कार्यमा बेजोडकै तछाडमछाड चल्छ । जसरी भए पनि आफ्नो गुटका नेतालाई युधिष्ठिरको तहमा उभ्याउने र अर्को गुटका मुखियालाई दुर्योधनको समकक्षमा उभ्याएर सम्मेलनमा बाजी मार्ने प्रयत्न चल्छ । अर्थात्, अत्यन्तै नाटकीय हिसाबले सम्मेलनलाई प्रभावित पारेर आफ्नो पक्षमा मत तान्ने प्रयास हुन्छ । तर, जब सम्मेलन सकिन्छ र पत्रकारहरूलाई सुनाउने बेला आउँछ, त्यतिबेला भन्ने गरिन्छ, ‘हाम्रो सम्मेलन अत्यन्तै सौहार्द रूपले सम्पन्न भयो ।’ हरेक दल, व्यावसायिक प्रतिष्ठान वा कुनै पनि संघसंस्थाका सम्मेलन नाटकीय रूपमा सम्पन्न हुने तथ्यलाई ‘चन्द्रेको बाउ इन्दे्र’ आए पनि बंग्याउन सक्दैनन् । विद्वत्जनहरू यस कुरामा सय प्रतिशत नै सहमत छन् ।

जित्ने गुटले जित्नलाई कति नाटक मञ्चन गर्नुपर्‍यो र हार्ने गुटले पनि जित्नका लागि कति मिहिनेत गरेर रंगमञ्च सिँगार्नुप¥यो, सर्वविदितै विषय हो । तर, यावत नाटक मञ्चन गरेर सम्मेलन टुंग्याए पनि भन्ने बेलामा ‘सौहार्द रूपमा’ भन्ने चलन छ । हुने बेला ‘नाटकीय’, बोल्ने बेला ‘सौहार्द’ । कति गज्जब । राजनीतिक दलहरू सधैं बैठकमा व्यस्त देखिन्छन् । कहिले केको समीक्षा गर्ने र कहिले केसम्बन्धी धारणा बनाउने भन्दै राजनीतिक दलहरू बैठकमा व्यस्त र मस्त देखिन्छन् । केही दिनअघि एउटा लघु–दलको बैठक बसेको थियो । बैठक एउटा सानो कोठाभित्र सीमित थियो । अध्यक्ष, महासचिव, पोलिटब्युरो, केन्द्रीय समिति आदि गरी त्यस्तै दर्जन धुपौरेहरू सम्मिलित बैठक यति धेरै दिनसम्म तन्कियो कि, त्यसको कुनै कुरै नगरौं । बैठकमा पेस भएका प्रतिवेदनहरू पनि अध्यक्षले सुनाएजस्तो गर्ने र अध्यक्षमातहतका पोलिटब्युरोहरूले ताली पिटेर पास गरेजस्तो गर्ने गरी अत्यन्तै नाटकीय रूपले समापन भयो भन्ने सुनियो ।

बैठकपछि सो दलले जारी गरेको एउटा विज्ञप्तिमा भने यस्तो लेखियो, ‘हाम्रो महान् पार्टीको बैठक अत्यन्तै भव्य रूपमा सम्पन्न भयो ।’ भव्य रूपमा भयो कि, नाटकीय रूपमा ? यो त बैठकमा सहभागी हुनेलाई न थाहा हुने कुरा थियो । दैव जानुन् । मलाई अझै याद छ, पोहोर साल एउटा ठूलै राजनीतिक दलको युवाहरूको सम्मेलन भयो । सम्मेलनको प्रचार–प्रसार गर्दा भँगेरे–टाउके अक्षरमा ठाउँ–ठाउँमै लेखिएको थियो, ‘फलानो दिनदेखि फलानो ठाउँमा हुने हाम्रो सम्मेलन भव्यतापूर्वक सम्पन्न गराऔं ।’ नभन्दै, भव्यतापूर्वक नै सम्पन्न भयो । तर, भव्यता कुटपिट गर्ने कार्यमा कायम रह्यो, कुर्सी हानाहान गर्ने काममा भव्यता प्राप्त भयो, एउटा समूहले अर्को समूहलाई धारेहातले सराप्ने कार्यमा भव्यता हासिल भयो ।

मलाई लाग्यो, नारा लेख्ने बेलामै ‘सम्मेलन भव्यतापूर्वक सम्पन्न गराऔं’ को ठाउँमा ‘शान्तिपूर्वक सम्पन्न गराऔं’ लेख्नुपर्ने थियो । तर, कसैको ध्यान त्यतातिर जाँदै गएन भन्ने मेरो बुझाइ छ । लेख्छन्, ‘भव्यतापूर्वक सम्पन्न गराऔं’ । गर्ने बेलामा हुन्छ, नाराबाजी, टाउको फोराफोर, लुगा च्याताच्यात आदि । सिद्धान्त टुप्पोमा, व्यवहार फेदमा हुँदा यस्तै हुन्छ । यस्ता कुरातिर त्यति टाउको दुखाउन मन छैन मलाई । तर, अबचाहिँ राजनीतिक दल, त्यसका भातृ संगठनहरू, सामाजिक संघसंस्थाहरू पिँधैबाट सुध्रिनुपर्‍यो, पारदर्शी हुनुपर्‍यो । जनताप्रति जवाफदेही हुने हो भने पारदर्शी हुनैपर्छ । यदि, कुनै सम्मेलन, बैठक, गोष्ठी वा अरू केही कार्यक्रम नाटकीय रूपमै सम्पन्न भएका छन् भने इमानदारपूर्वक ‘हामीले फलानो काम नाटकीय रूपमा सम्पन्न ग¥यौं’ भन्नुप¥यो, भन्न सक्नुपर्‍यो । नाटकीय रूपमा भएका कामलाई ‘सौहार्दपूर्ण’ ‘भव्य’ भन्नुको अर्थ देखिँदैन । बस्, मेरो त सुझाव मात्रै हो, कार्यान्वयन गर्ने वा नगर्ने सुझाव–प्रापकहरूकै काम हो, उनीहरूकै तजबिजीको कुरा हो ।

 

प्रतिकृया दिनुहोस