MENU

आरम्भ

Annapurna635x90

मुर्गाको मृत्युदर

विवश वस्ती सोमवार, श्रावण २३, २०७४

जब जब चुनाव आउँछ, मुर्गाहरूको मृत्युदर अचाक्ली वृद्धि हुन्छ । हामीले पनि भर्खरै दुई दुई वटा चुनाव भोग्यौँ । यथाशीघ्र एकाध थान चुनाव भोग्नुपर्ने देखिएको छ । यी सबै हिसाबले हेर्दा, यस वर्ष मुर्गाहरूको मृत्युदरमा भारी वृद्धि हुने देखिएको छ । चुनावका बेला शहरबजारभन्दा पनि गाउँघरतिर मुर्गाहरूको मृत्युदर नपत्याउँदो गरी बढ्दो रहेछ । यस्तो किन हुन्छ ? अर्थशास्त्रीहरूले पत्ता लगाउनुपर्ने विषय हो जस्तो लाग्छ मलाई । चुनावको केही समयपछि नै सिन्धुपाल्चोकको ग्रामीण बस्तीहरूमा पुग्दा मुर्गाहरूको बढ्दो मृत्युदरले चिन्तित तुल्यायो ।

एक त, अचेल मुर्गाहरूको जन्मदर नै घट्दै गइरहेको छ । त्यसमा मृत्युदर बढ्नु भनेको सिंगो मुर्गा जाति नै लोप हुने संकेत हुन सक्छ । मलाई यो कुरा कसरी थाहा भयो भने, पुरुष र स्त्रीलिंगी दुई थान मुर्गा बारमा उभिएर आफ्नो जातिमा देखिएको बढ्दो मृत्युदरबारे चिन्ताग्रस्त देखिन्थे । ती मुर्गाहरूका संवाद सुन्दा मलाई पनि कताकता नमज्जा लाग्यो । ‘आब्बुई, तिमी त बाँचेछौ त । यत्रो चुनाव हुँदा पनि बाँच्नु भनेको त खुशीको कुरा हो । ढुक्क होऔँ, अब तिमी दशैंसम्म त पक्कै बाँच्छौ ।’ पखेँटा फट्फटाउँदै बारनजिकै उभिएको भालेले पोथीलाई हेर्दै भन्यो ।

‘तिमी पनि त बाँचेछौँ । अझ, तिमीजस्ता भालेहरूलाई त चुनावमा खोजी–खोजी काट्छन् । तिमी बाँचेकोमा मलाई अचम्मै लाग्यो । कसरी बाँच्यौ, भन त ?’ पोथी मुर्गाले सोधिन् । तर, भालेले अड्डी लिँदै भन्यो, ‘पहिला तिमी कसरी बाँच्यौ, त्यो बताऊ । अनि म भनूँला ।’पोथी केही लजाइन् । र, भनिन्, ‘खै, भनूँ कि नभनूँ ? शुरुमा त मलाई पनि काट्ने कुरा भएको थियो । तर, मेरो मालिकले यसले दिनहुँ अण्डा पार्छ, यसलाई बेचे भने अण्डा खान पाइँदैन भनेर अडान लिए र जोगिएँ । एक जनाले त यस्तो भर्खरकी पोथीको मासु बडो स्वादिलो हुन्छ, दिनुस् न भनेर कर गर्दै थियो । तर, मालिकले मान्दै मानेनन् र म बँचेँ ।’ भालेले भन्यो, लगत्तै, ‘म पनि घरमा भएको भए मारिन्थे ।

तर, त्यही दिन म गाउँ घुम्न निस्किएको थिएँ । खोज्न त मलाई धुइँपत्ताल नै खोजेछन् । मेरो मालिकले पनि छिमेकीले भाले बेच्यो भने राम्रै दाम आउँछ भनेर भनेका पनि थिए रे । तर, मलाई बाँच्न लेखेको रहेछ । ती मानिस साँझमा आएका भए त म पक्कै मारिन्थेँ र आज तिमीसँग यसरी कुराकानी गर्न पाइँदैनथ्यो । धन्न, दैवले जोगायो हामीलाई ।’केही समयअघि धुलोमा लुट्पुटिँदा भुत्लाहरूमा लागेको धुलो टक्ट्याउँदै पोथीले भनिन्, ‘यो वर्ष त हामीहरूका लागि कालो नै सावित हुने भयो । गाउँका सबै मुर्गा सखाप भए । मैले सुनेअनुसार पल्लो गाउँमा त मुर्गाहरूमाथि कत्लेआम नै गरियो रे । अहिलेसम्म यस्तो त भएको थिएन । अचम्मै भो, यसपालि त के भो, के भो ?’

‘केही समयका लागि आयु बढेकोमा तिमीलाई बधाई छ ।’ भालेले पोथीको ठुँडतिर हेर्दै भन्यो । पोथीले पनि प्रत्युत्तरमा भालेलाई पनि बधाई दिइन् । छुट्टिने बेलामा पोथीले भनिन्, ‘अब केही समय हामी बँच्ने भयौँ । मेरा मालिक पनि हिजै के भन्दै थिए भने, अब यो पोथीलाई ओथारो दिनुपर्ला र चल्लाहरू हुर्काउनु पर्ला । मालिकको कुरा सुनेर म खुशी छु ।’त्यही बेला, भालेचाहिँ भुर्र उडेर घरको छानामा चढ्यो र सुरिलो स्वर निकालेर बास्न थाल्यो । 

प्रतिकृया दिनुहोस