MENU

आरम्भ

635x90

शिवजीको खाल्डो–दर्शन

विवश वस्ती बुधवार, श्रावण १८, २०७४

साउन महिनाभरि नै आफूलाई भक्तजनहरूले खुबै आदर, भक्तिभाव र श्रद्धा पोख्ने थाहा पाएपछि एकदिन शिवजीले निक्र्योल गरे, यसपालिको साउनमा म जसरी भए पनि नेपालको राजधानी काठमाडौं जानेछु । उनले काठमाडौंमा केही दिन बिताउने सोचेका थिए । अतः आफ्ना भक्तजनहरूले आफूलाई के, कसरी र कुन रूपमा सम्झिँदा रहेछन्, भक्तजनहरू आफूप्रति कत्तिको श्रद्धालु देखिँदा रहेछन्, यस्तै–यस्तै धोको सँगालेर एक दिन शिवजी काठमाडौंमा पाइला टेके । शिवजीले काठमाडौंमा पाइला बिसाउँदा मध्यरात्रि घना रूपमा चल्मलाइरहेको थियो ।

कतै–कतै मात्र चहलपहल थियो, नत्र सुनसान । कस्तो संयोग, उनले काठमाडौंको जुन ठाउँमा पाइला टेकेका थिए, त्यो पशुपतिनाथ परिसर थियो । केहीबेर पशुपतिनाथ क्षेत्र वरपर टहलिँदै उनी सडकतिर निस्किए । उनले कता–कता काठमाडौंका सडकहरू फराकिला भएका छन् भन्ने सुनेका थिए र त्यही फराकिला एवं चौडा सडक नियाल्न सडकमा निस्किए । जता हेर्‍यो त्यतै सडक त पूरै खनजोत गरिएका छन् । के गर्न लागे काठमाडौंबासीहरूले ? शिवजी छक्कै परे र सडकछेउमा सुतिरहेका एक मानिसलाई उठाउँदै उनले सोधे, ‘ए, भाइ । यी सडक किन यसरी, कुरूप बनाएर खनिएको ?

आँखा मिच्दै तिनले ती मानिसले भने, ‘तपाईं धेरै समयपछि यता आउनु भा’जस्तो छ । यो सडक खन्न थालेको थुप्रै भइसक्यो । मेलम्ची ल्याउने भनेर खनेका हुन् क्यारे । अहिलेसम्म खन्याखन्यै छन्, कहिलेसम्म खन्ने हुन् ?’ ‘ए,’ शिवजीले केही बुझेझैं गरी टाउको हल्लाए । शिवजी अझै अगाडि बढ्दै गए । मध्यरातमा काठमाडौंको समग्र अवलोकन गर्ने र भोलिपल्ट आफूलाई भक्तहरूले कसरी सम्झिँदा रहेछन्, भन्ने सोच राखेर पशुपतिनाथ मन्दिर परिसरमा पुगी सडक नाप्न थाले ।

उनी प्रफुल्ल र खुशी मुद्रामा हिँडिरहेका थिए । ‘अहा ! काठमाडौंको सडक त निकै फराकिला भएछन्’ मनभित्र यस्तै भाव र खुशीका तरंग उमार्दै हिँडिरहेका उनी एक्कासि बीचसडकमै जन्मिएको एउटा ठूलो भ्वाङमा खस्न पुगे । उनी हारगुहार गर्दै ‘बचाउ, बचाउ’ भन्न थाले । तर, मध्यरातमा उनको आवाज कसले सुन्ने ? एउटा उद्देश्य बोकेर काठमाडौं आएका शिवजीलाई खाल्डो–दर्शनको सु–अवसर जुरेपछि केही बेर त उनी रन्थनिए नै । रिसको झोंकमा खाल्डो खनेर पुर्ने महान् कार्यमा ढिलाइ गर्ने, कमसल पिच गरेर खाल्डो निर्माणमा अद्वितीय भूमिका खेल्ने र सडकलाई खाल्डोले अतिक्रमण गर्दा पनि मुकदर्शक बनेर बस्नेहरूलाई श्राप दिन मन नलागेको त होइन ।

तर, संयमित भए । आवेगमा आएर केही गर्नु हुन्न भन्ने उनलाई लाग्यो । उज्यालोसँगै उनको कानमा हल्ला गुञ्जिन थाल्यो । ‘लौ खाल्डोमा त मान्छे खसेछ ।’ शिवजीले यस्सो मास्तिर आँखा डुलाए । थुप्रै मानिस जम्मा भइसकेका रहेछन् । त्यहीमध्ये एउटाले उनीतिर डोरी फ्याँक्दै भने, ‘लौ यो समातेर बाहिर आउनुस् ।’ शिवजीले निर्देशनअनुरूप डोरी समातेर बाहिर निस्किए । बाहिर निस्किने बित्तिकै उनले मनमनै सोचे, ‘म अब यहाँ एकछिन पनि बस्दिनँ । आज म खाल्डोमा खसेँ, भोलि अझ के के हुने हो । केही दिन घुमौंला भनेर आएको थिएँ, पुग्यो ।’ आजित भएका शिवजी आफूलाई भक्तजनहरूले कसरी श्रद्धा गर्दा रहेछन् भनेर हेर्ने धोकोलाई अधुरै छाडेर अन्तध्र्यान भए ।

 

प्रतिकृया दिनुहोस