MENU

आरम्भ

635x90

मे’र सापलाई पत्र

विवश वस्ती मंगलवार, श्रावण १०, २०७४

श्रीमान् मे’र सापज्यू

लालसलाम ।
निवेदन गर्छु कि, म काठमाडौंवासी हुँ । धेरै वर्षदेखि हलचोकमा बस्दै आइरहेको छु । एकाध वर्ष अघिसम्म मेरो टोल सफा, सुग्घर, हिलो र धुलोमुक्त थियो । सर्वथा सुग्घर । साँच्चै, आफूलाई ‘यो टोलको बासिन्दा हुँ’ भन्न गर्व लाग्थ्यो । तर, समय एकैनास कहाँ हुँदोरहेछ र ? टोलको उन्नत शोभा, गरिमा र सौन्दर्यमा क्रमशः हस्तक्षेप हुन थाल्यो ।मेरो टोल अलि गहिरै ठाउँमा छ । सबैतिरका ढलले एकत्रित हुने सौभाग्य मेरै टोलमा आएर प्राप्त गर्छ । अतः अरू त सबै ठीकै थियो । अचेल भने टोलमा एकत्रित भएका ढलहरूले आन्दोलन गरेर हो वा अरू कारणले हो, वा ढलहरूले विस्फोटजन्य गतिविधि गरेका कारण हो, मेरो टोल पूरै दुर्गन्धित हुन पुगेको छ ।

तसर्थ, म तपाईंसामु नम्र निवेदन गर्छु कि, अबदेखि मेरो टोलको नाम ‘हलचोक’ होइन, ‘ढलचोक’ राखियोस् । मे’र साप, म अस्ति ठमेल घुम्न गएको थिएँ । ठमेल त हाम्रो देशको मुटु नै हो । अचेल पर्यटकहरू नेपालमा कत्तिका घुम्न आउँदा रहेछन् भनेर यसो विचार गरुँम भनेर ठमेलमा छिरिहालेँ । तर, छिर्न त छिरिहालेँ, कसरी निस्कूँ भन्ने पिरलो आइप¥यो । ठमेलका सडक, सडक हुन् कि धान रोप्न ठिक्क पारिएका खेतका गह्रा हुन् ? मलाई छुट्याउन निकै ट्याम लाग्यो । दिग्भ्रममा फसेँ म । म देशको राजधानीको मुटुमा छुँ कि, कुनै अनकन्टार ग्रामीण भेगको खेतबारीमा छु ? यस्तै दिग्भ्रममा फसेँ, मे’र साप म । कत्तिको मिल्छ कुन्नी ? हैन भने, अबदेखि ‘ठमेल’ को नाम परिवर्तन गरियोस् । र, अबउप्रान्त ठमेलको नाम ‘हिमेल’ राखियोस् । आखिर, जुन ठाउँलाई जस्तो सुहाउँछ, त्यस्तै नाम राख्ने त हो नि, हैन र ?

मे’र साप । एकदिन कोटेश्वरबाट नारायणगोपाल चोक पुग्नुपर्ने थियो । गाडी चढिहालेँ । जब गौशाला पुगेँ, त्यसपछि गाडीले अघि बढ्न अल्छी मान्यो । घ्यार्रघ्यार्र, हुत्त, फुत्त । गाडीले यस्तै रूप देखाउन थाल्यो । एक जनालाई सोधेँ, ‘किन यस्तो भा’को हो ? यो गाडी हो कि बयलगाडा हो ?’ ती महोदयले भने, ‘चाबहिल आउने बेला जहिले पनि यस्तै हुन्छ । चाबहिल आउन लाग्दा गाडी चढेको हो कि बयलगाडा चढेको हो, पत्ता लगाउन साह्रै मुस्किल पर्छ ।’ नित्य एक घन्टाको सकसपछि गौशालादेखि शुरु भएको यात्रा चाबहिलबाट छिचलियो । धन्न, लामो सास फेर्न पाएँ । नारायणगोपाल चोकमा मलाई कुरेर बसेका साथीको धैर्यताको बाँध नफुटेको हुँदा भेट भयो ।

मे’र साप । म तपार्इंसामु विनम्रपूर्वक एउटा बिन्ती बिसाउँछु । आखिर, अहिले स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूलाई बहुमत पुर्‍याएर आफ्नो गामठामको नाम फेर्ने अनुमति दिएको छँदैछ । त्यसैले, अबदेखि ‘चाबहिल’को नाम परिवर्तन गर्नुपर्‍यो । के नाम राख्ने ? तपार्इंलाई अलमल हुनसक्छ । म भनिहाल्छु नि, ‘जामहिल’ । त्यसो त, कोटेश्वरलाई पनि जामेश्वर, कलंकीलाई पनि जालंकी राखे सुनमा सुगन्ध थपिने थियो । अँ, तपार्इंले एउटा ठाउँको नाम भने झुक्किएर पनि नफेर्नुहोला ।

त्यो ठाउँको नाम हो, जमल । पुर्खाहरूले जानेरै त्यो ठाउँको नाम राखेको हुनुपर्छ । अर्थात्, जे पनि जम्ने भएको हुँदा ‘जमल’ नाम राखिएको मेरो बुझाइ छ । अफिस टाइममा गाडी ‘जमल’, वर्षा लाग्यो पानीको ‘जमल’ । सधैंभरि केही न केही जम्ने भएको हुँदा नाम नै जमल राखेजस्तो लाग्यो । मे’र सापले काठमाडौंलाई स्मार्ट सिटी बनाउने भन्नुभएको छ । स्मार्ट सिटी बनाउनुअघि हामीजस्ता मतदातालाई स्मार्ट नागरिक बनाउने कष्ट उठाउनु होला । र, कृपया स्मार्ट सिटी बनाउनुअघि ठाउँ ठाउँका नाम भने सुहाउँदो नै नाम राख्नुहोला । धन्यवाद ।

 

प्रतिकृया दिनुहोस