MENU

आरम्भ

635x90

गन्थन–गाथा

विवश वस्ती आइतवार, आषाढ ११, २०७४

नेपाली साहित्य दुब्लायो, पिलन्धरे भयो, सुकेनासले ग्रस्त भयो ।’ यस्तो रुवावासी चल्न थालेको धेरै नै भइसक्यो र रुवावासी अझै चलिरहेकै छ । अझ, नेपाली साहित्य अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न सकेन, राष्ट्रभित्र मात्रै खुम्चियो, खत्तम भयो, भन्नेहरूको पनि खाँचो छैन हामीकहाँ । नेपाली साहित्यको मृत्युदर बढिरहेकोले त्यसलाई घटाउनुपर्ने सुझाव पनि बेलाबखत आइरहन्छन् । कसै कसैले त नेपाली साहित्यको दयनीय हालत देखेर अचेल लेख्नै छाडेका छन् । मलाई भने त्यस्तो पटक्कै लाग्दैन । नेपाली साहित्यको दरिद्र अवस्था देखेर रुवावासी मच्चाउनेहरूले जेजस्तो भने पनि, आँखीभौं खुम्च्याए पनि र हिँन्हिनाए पनि म उनीहरूका कुरा सुन्ने पक्षमा रत्तिभर छुइनँ ।

नेपाली साहित्यको विकास, विस्तार, फैलावट, मैलावट, उन्नति, समृद्धि सबै भइरहेको छ । नेपाली साहित्य अन्तर्राष्ट्रिय मापदण्डअनुरूप लेखिएका छन्, लेखिँदै छन् र भविष्यमा पनि धुवाँदार ढंगले लेखिने अपेक्षा राख्नुपर्छ । हामीले नेपाली साहित्यलाई आशावादी नजरले हेर्नुपर्छ । साहित्य दुब्लायो भनेर पिन्चे अनुहार लगाउनेहरूलाई साहित्यको बजारमा एकपछि अर्को गर्दै, दिन दुगुना र रात चौगुनाका दरले उदाएका गन्थनकार (ग्रन्थकार होइन) को ताँती हेर्ने सल्लाह दिन्छु म । हामीकहाँ गन्थनकारहरू यति धेरै बढेका छन् कि, तिनै गन्थनकारहरूले नेपाली साहित्यको भविष्यलाई उज्यालो र समृद्ध तुल्याउने अपेक्षा राख्नु मुख्र्याइँ नहोला । चोक–चोक, गल्ली–गल्ली सबैतिर गन्थनकारहरूसँग देखभेट गर्न सकिन्छ । गन्थनकारहरूको वृद्धिदरमा आएको गुणात्मक छलाङले नेपाली साहित्यको भविष्य सदैव चम्किने विश्वास जोकोहीले गर्न सक्छन् ।

गन्थनकारहरूको वृद्धिले नेपाली साहित्यको मार्केट पनि निकै नै चम्किएको छ । प्रकाशकहरूलाई त भ्याइनभ्याइ नै छ अचेल । प्रकाशकहरू गन्थनकारहरूका किताब छाप्न माहिर भइसकेका छन् । एकसे एक गन्थन–गाथा प्रकाशनको जिम्मेवारी र दायित्व उठाएर समाजसेवी प्रकाशकहरूले गन्थनकारहरूलाई जीवनभरि तिर्न नसक्ने अमूल्य गुन लगाइरहेका छन् । अहो, कस्तो सौहार्दपूर्ण छ हाम्रो साहित्य बजार । अरू देशका लेखक–प्रकाशकहरूले थाहा पाए भने अचम्म मान्दै जिब्रो नै निकाल्छन् । अब त घाघडान प्रकाशकहरू गन्थनकारको खल्ती काट्ने काममा लाग्दैनन् भन्नेमा शतप्रतिशत ढुक्क हुन सकिन्छ ।विमोचन नभएको दिन छैन । अझ, कुनै दिन त बिहान, दिउँसो, बेलुकी नै विमोचनको बाढी आउँछ ।

अतः विमोचन वा अन्तरक्र्रिया हुने भएपछि माथिल्लो दर्जाका गन्थनकारहरूको काम स्वतः आउने भइहाल्यो । माथिल्लो तहका गन्थनकारले तल्लो दर्जाका गन्थनकारका गन्थन–गाथाबारे लम्बेतान, फूलबुट्टाले भरिपूर्ण र प्रशंसाको चुली नै चुलीले भरिएको शब्द प्रक्षेपण गर्नु अर्को सामान्य कुरा हो । अझ, माथिल्लो दर्जाका कतिपय गन्थनकार त प्याच्चै भनिहाल्छन्, ‘मैले यो किताब आज बिहान मात्र पाएँ, पूरै पढ्न पाएको छैन । मलाई लाग्छ, यो किताबले नेपाली साहित्यको भण्डारलाई समृद्ध बनाउन विशिष्ट योगदान दिनेछ ।’

गन्थनकारहरूको ताँतीले साहित्यको मार्केटलाई छपक्कै छोपेको छ । दिनहुँ एउटा न एउटा गन्थन–गाथा निस्किरहेकै छ । अब त त्यस्ता गन्थन–गाथाहरूको चाङ लाग्दै जाँदा सगरमाथाको टुप्पो नै नाघ्ला भन्ने चिन्ता प्रकट हुन थालिसकेको छ । प्रकाशकहरूलाई पनि गन्थन–गाथा निकाल्न हम्मेहम्मे नै परिरहेको छ । दिनहुँ विमोचन भइरहेकै छ । माथिल्लो दर्जाका गन्थनकारहरूले विमोचनका नाममा गन्थन गर्ने अवसर पाइरहेकै छन् । नेपाली साहित्यको यस्तो उन्नति, प्रगति, समृद्धि यसअघि कहिले भएको थियो र ? अब पनि नेपाली साहित्य दुब्लायो, मरन्च्याँसे भयो भनेर रुवावासी गर्ने ठाउँ कतै बाँकी छ र भन्या ?

प्रतिकृया दिनुहोस