MENU

आरम्भ

635x90

गोरु वन्दना

विवश वस्ती मंगलवार, माघ ११, २०७३

केही दिनअघि नुवाकोटतिरका दुई गाउँमा गोरु जुधाइयो । वर्ष दिनभरि नै पोषिलो घाँस, पराल, स्वादिष्ट कुँडो खाएर आरामदायी स्याउलामाथि बसेर हलक्कसँगले गर्दन हालेका र जुरो फुलाउन सक्षम ठानिएका गोरुहरूले आ–आफ्नो शक्ति प्रदर्शन गरे । एउटा गोरुले अर्को गोरुलाई सके बारीको गह्रामै सिङ जुधाएर पछार्ने र नसके बारीको कान्लाबाट लडाएरै भए पनि विजय हासिल गर्ने कृत्य भयो । हरेक वर्ष गोरु जुधाएर मनोरञ्जन गर्ने ती ठाउँका जनतालाई साधुवाद टक्र्याउनै पर्छ । किनकि, गोरु जुधेको हेर्दा जति आनन्द प्राप्त हुन्छ, त्यति आनन्द त अरू जीवजन्तुहरूलाई जुधाउँदा पटक्कै आउँदैन । सबैलाई थाहा भएकै कुरा हो, गोरु भनेका गोरु नै हुन् र उनीहरू जुध्नमा पारंगत हुन्छन् ।

हो, गोरुहरूको काम नै जुध्नु हो । आफ्ना सहयात्री/सहगोत्रीहरूसँग जुध्दा अझ जुधेर सिङ नै फुकाल्दा जति मज्जा आउँछ, त्यति मज्जा त गोरुलाई कुनै स्वादिलो कुँडोमा मुख गाड्दा पनि आउँदैन । मलाई याद छ, हाम्रो घरमा पनि एक हल गोरु थिए । जंगलमा चराउन लैजाँदा ती गोरुहरू अरू गोरुसँग यति धेरै जुध्थे कि गोठमा आउँदा सिङको नामोनिसाना नै हुँदैनथ्यो । सिङ फुकालिएको गोरुको सिङमा रगत नआओस् र संक्रमण नहोस् भनेर घरभित्र आगो बाल्दा दलिनमा जमेर बसेका कालो ध्वाँसो दल्ने गरिन्थ्यो । साँच्चै, सिङ फुक्लिएको गोरु यति धेरै कुरूप देखिन्थ्यो कि सिङविहीन गोरु गोरुको समाजभित्र सधैँ असामाजिक पात्रजस्तै प्रतीत हुन्थ्यो । गोरुहरूलाई जुधाएर मनोरञ्जन लिने चलन हामीकहाँ पुरानै रहेछ ।

तर, गोरुहरूलाई जुधाएर मनोरञ्जन लिने चलन हामीकहाँ सीमित ठाउँमा मात्रै छन् र वर्षको एक दिन मात्रै गोरुलाई जुधाउने गरिन्छ । म यो कुराको घोर विरोधी हुँ । आखिर, गोरुहरू जुध्न चाहन्छन् भने किन वर्षमा एक दिन मात्रै ? र, किन सीमित ठाउँमा मात्रै ? जुध्न चाहने गोरुहरूलाई सबैतिर र सबैबेला जुध्न दिनुपर्छ भन्ने मेरो मान्यता छ । हामी भाग्यमानी हौँ । अरू देशका नागरिकहरू यति धेरै भाग्यमानी होलान् भन्ने मैले अनुमान पनि गर्न सकिरहेको छैन । किनकि, नुवाकोटतिरका मानिसले वर्षमा एक दिन गोरु जुधेको वा जुधाएको दृश्य हेरेर मात्रै मनोरञ्जन बटुलिरहेका छन् । हामी भने वर्ष दिनभरि नै गोरु जुधेको दृश्य हेरेर निमग्न भइरहेका छौँ ।

चाहे सिंहदरबारतिर चर्न हिँडेका गोरु होस् वा नयाँ बानेश्वरतिरका नै किन नहोस्, सबैतिर हामीले कुँडो ख्वाएर गर्दन हालेका गोरुहरू बिहान, दिउँसो, साँझ, राति सबै समय जुधिरहेका देख्छौँ । कुँडो खान पाएकै छन्, जुरो हल्लाउन पाएकै छन्, गर्दन फुलाउन पाएकै छन्, अरूका खेतबारीमा पसेर हरियापरिया बालीनालीहरू हसुर्न पाएकै छन् । यति भएपछि जतिबेला जोसँग जुधे पनि त भयो, जोसँग जुधेर सिङ फुकाले पनि त भयो ।गोरुहरूका जुधाइ कला र क्षमतालाई हेर्दा एउटा के कुरा भन्न मन लागेको छ भने अबदेखि हामीले हाम्रो राष्ट्रिय खेल नै बदल्नुपर्छ ।

र, राष्ट्रिय खेल अब ‘गोरुजुधाइ’ बनाउनु पर्छ । किनकि, हामीकहाँ एकअर्कासँग मज्जाले जुध्न सक्ने एकसेएक गोरुहरू जन्मिएका छन्, जसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी गराउँदा हामीले फटाफट स्वर्ण पदकहरू प्राप्त गर्नेछौँ । तर, गोरुजुधाइलाई राष्ट्रिय खेल बनाए पनि हामीले ती मैमत्त गोरुहरूलाई यति कुरा भने भन्नैपर्ने हुन्छ, ‘हे गोरुहरू, तिमीहरू आफू–आफूबीच लड, सिङ फुकाल, एउटा कान्लाबाट अर्को कान्लामा हाम्फाल, भित्तामा ढाड दराल, पर्याप्त कुँडोहरू खाएर गर्दन विस्तार गर । तर, आफ्नो गोठलाई भत्काउने कुचेष्टा नगर, आफूले चर्ने पाखाभित्ताहरूमा सिङ नदराल र आफूले कुँडो खाएको भाँडालाई कुल्चेर विरूप नबनाऊ ।’

 

प्रतिकृया दिनुहोस