MENU

आरम्भ

635x90

जय चाटुकार, जय चाटुकारिता

अन्नपूर्ण टुडे बिहिवार, माघ ६, २०७३

मेरा टोलवासीहरूले एक जना चाटुकारलाई ‘चाटु–सम्राट’ को उपाधिले विभुषित गरे, हालसालै । ती चाटु–सम्राटलाई चाटुकारितामा उत्कृष्ट योगदान पुर्‍याएवापत त्यति विशिष्ट सम्मान दिइएको थियो । त्यति लर्तरो सम्मान थिएन त्यो । टोलका एकसेएक चाटुकारहरूलाई उछिन्दै उनले चाटु–सम्राटको उपाधि उम्काउन सफलता पाएका थिए । उपाधि ग्रहण गरेपछि फूलमालामा सजिएका उनले केही मन्तव्य राख्नुपर्ने थियो नै । उनी अगाडि बढे र चाटुकारितामा आफूले प्राप्त गरेको उत्कृष्टताबारे खुलेरै बोले ।

bibas bastiचाटु–सम्राटले बोल्ने क्रममा भने, ‘यो सम्राट भन्ने उपाधि सितिमिति रूपमा मानिसहरूले पाउँदैनन् । यो धेरै ठूलो सम्मान हो । म यो सम्मानलाई हार्दिकतापूर्वक ग्रहण गर्छु ।’ केही गम्भीर बन्दै उनले भने, ‘नेपालमा कमै बुद्धिजीवी, विद्वान्, कवि, लेखक, प्राध्यापक, इतिहासकार, गजलकार, हाइकुकारहरूले सम्राटको उपाधि पाएका छन् । म पनि तिनै भाग्यमानीहरूमध्ये पर्छु, जसलाई आज चाटु–सम्राटको उपाधि पाउने अवसर मिलेको छ । यो अवसरमा मलाई चाटु–सम्राटको उपाधिका लागि सहयोग गर्नुहुने सबै विद्वानहरूमा मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’

चाटु–सम्राटले धाराप्रवाह रूपमा बोल्दै गए । बीच–बीचमा तालीको गड्गडाहट पनि कायमै रह्यो । ३/४ ट्रक मानिस त उनले आफ्नो सम्मान कार्यक्रममा ताली बजाउनकै निम्ति ल्याएका थिए । आफ्नो गलामा सजाउनका निम्ति उनले करिब एक भ्यान त फूलका मालाहरू नै ल्याएका थिए । अहो ! धेरै नै भव्य र सभ्य सावित भएको थियो, चाटुकार महोदयको सम्मान कार्यक्रम ।

फूलको मालाले सजिएर घाँटी नै असन्तुलित भएका चाटुकार महोदयले भने, ‘मैले यो सम्मान त्यत्तिकै पाएको होइन । वर्षौंदेखिको कठोर संघर्ष, त्याग, तपस्या, बलिदान, उन्मुक्ति, इमानदारिता, आस्थाका कारण मैले यो पद्वी पाएको हुँ ।’ बोल्दाबोल्दै उनी केही उत्तेजित देखिए, ‘बालकृष्ण समले ‘नाट्य सम्राट’को उपाधि पाए, त्यत्तिकै पाएका हुन् र उनले ? उनले धेरै नै सडक नाटकहरू लेखे ।

नारायणगोपालले ‘स्वरसम्राट’को उपाधि त्यत्तिकै पाएका हुन् ? उनले माइकल ज्याक्सनले गाएजस्तै सुपरहिट गीतहरू गाए । धु्रवचन्द्र गौतमले ‘उपन्यास सम्राट’ त्यत्तिकै पाएका हुन् ? उनले घामका पाइलाजस्ता चर्चित किताब लेखे । ती ज्ञानुवाकारले त ‘गजलसम्राट’कै उपाधि पाए । उनले पनि कम्ती गजल लेखेका छन् । १०/२० वटै गजलका किताबहरू लेखेका छन् । त्यसैले यो सम्राटको उपाधि जुन पायो त्यही व्यक्तिले पाउँदैनन् भन्ने कुरा सबैले जाने हुन्छ ।’
चाटु–सम्राटले टोलवासीहरूलाई केही सुझाव दिन पनि भ्याए ।

उनले भने, ‘तपार्इंहरूले चाटु–सम्राटको उपाधि दिएर मलाई धेरै ठूलो गुन लगाउनुभयो । तपार्इंहरूको यो गुनलाई म कहिल्यै बिर्सने छैन । म बाँचुञ्जेलसम्म चाटुकार नै भइरहन्छु ।’ उनले हात उठाउँदै भने, ‘जय चाटुकार, जय चाटुकारिता ।’उनले सुझाव दिने क्रम अझै त्यागेनन् । अझ दुई कदम अगाडि बढ्दै भने, ‘अब तपार्इंहरूले मलाई सम्मान गरेजस्तै कुनै महानुभावलाई भाट–सम्राटको उपाधि पनि दिनुस्, जसले भाटकारितामा विशिष्ट योगदान पु¥याउने छ । त्यस्तै, कसैलाई पुच्छर–सम्राटको उपाधि पनि दिनोस्, जसले अरूको पुच्छर हुनुमा गर्व गर्छ ।

कसैलाई पाल्तु–सम्राटको उपाधि दिए पनि फरक पर्दैन, जो अरूकै जुठोपुरो खाएर बाँच्न चाहन्छ ।’ चाटुकार महोदय केही रोकिएजस्तो भए र भने, ‘हैन, अचेल त पाल्तु–सम्राटको उपाधि पाउनु ठूलो कुराजस्तो लाग्यो मलाई । जेहोस् ...।’अन्तमा उनले भने, ‘म जे भन्छु, तिमीहरू पनि त्यही भन है । जय चाटुकार, जय चाटुकारिता ।’ तालीको एकोहोरो गड्गडाहटले धेरै बेरसम्म वरिपरिका परिवेश गुञ्जायमान भइरह्यो । 

प्रतिकृया दिनुहोस