MENU

कृषि

635x90

सिमी बिक्रीबाट मनग्य आम्दानी

समृद्धि सपना

गोविन्द देवकोटा, जुम्ला शुक्रवार, माघ ७, २०७३

सिंजा क्षेत्रको बड्की ९ ओदीकी लालसरी बुढालाई अरू वर्ष परिवार र घरमा आएका आफन्तलाई सिमी कोसेली दिँदैमा सकिन्थ्यो । यस वर्ष नौ क्विन्टल उत्पादन गरिन् । घरमा जगेडा र आफन्तजनलाई कोसेलीका लागि बाँकी राखेर सात क्विन्टल बिक्री गरिन् । यस वर्ष घरबाटै बिक्री गरी मनग्य आम्दानी गर्न सफल भएपछि बुढामा खुशीको सीमा छैन । गत वर्ष प्रतिकिलो ७०/८० रुपैयाँमा बिक्री हुने सिमीको मूल्य यस वर्ष सय नाघेको छ । बुढाले मात्र ७० हजार रुपैयाँभन्दा बढी आर्जन गरेकी छन् । उनलाई वर्षभरिको मेहनत सफल भएको महशुुस भएको छ ।

केही वर्ष अघिसम्म कर्णालीका किसानले आफ्नो बारीमा प्रशस्त फल्ने सिमी पाहुनालाई कोसेली र अरू अन्नसँग साटेर सिध्याउने गर्थे । अहिले अवस्था फेरिएको छ, घर–आँगनमै भनेअनुसारको मूल्य पाउँदा निकै उत्साहित भएका छन् । कर्णाली राजमार्गको स्तरोन्नति भएसँगै यहाँको कृषि उपजले बजार पाएका छन् । बुढाजस्तै धेरै किसानले सिमी बिक्रीबाट घरखर्च धान्न थालेका छन् । ओदी गाउँकै वीरबहादुर बुढाले पनि यस वर्ष सिमी बिक्री गरेर ४० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

व्यापारीहरू घरमै पुगेर सय रुपैयाँ प्रतिकिलोमा खरिद गर्न थालेपछि किसानहरू आफूले उत्पादन गरेको सिमी कहाँ लगेर बेच्ने भन्ने चिन्ताबाट मुक्त भएका छन् । सडक सञ्जालले जोडिएपछि जिल्लाकै सबैभन्दा धेरै सिमी उत्पादन हुने सिंजा क्षेत्रका किसानले गेडागुडी बिक्री गरेरै घरखर्च चलाउने गरेका छन् ।
केही वर्ष अघिसम्म मजदुरीका लागि भारत जाने त्यस क्षेत्रका किसान आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउन थालेपछि गाउँमै बसेर खेती गर्न आकर्षित भएका हुन् । वर्षमा दुई पटक मजदुरीका लागि भारत जाने पाण्डुगुफाका गोर्ख रावत भारत जान छाडेका छन् ।

गाउँलेहरू असारमा सिमी लगाउने र असोजमा भिœयाउने गर्छन् । ‘गाउँमा अर्को रोजगारी नहुने र स्थानीय उत्पादन बिक्री नहुने भएकाले हामी भारत जान बाध्य थियौँ,’ उनी भन्छन्, ‘तर, अब व्यापारीहरू गाउँमै आएर सिमी किन्न थाले । हामीले पनि दुःखको मूल्य पाउन थालेपछि गाउँमै बसेर खेती गर्न लागेका छौँ ।’ ६ जनाको परिवार रहेका रावतले सिमी बिक्रीबाट आएको रकमबाट छोराछोरीलाई ट्युसन पढाउन सुर्खेतसम्म पठाएका छन् ।

पाखो जमिन बढी भएको यस क्षेत्रका किसानको जग्गामा धान उत्पादन नहुने भएकाले व्यापारीले चामलसँग सिमी साट्ने गरेका छन् । ‘हाम्रा धान उत्पादन हुने खेत छैनन् । सर्ब स्वाँडा (पाखो बारी) मात्रै भएकाले सिमी, मकै धेरै उत्पादन हुन्छ,’ मालिकाठाँटा ढिपुका रमेश बुढा भन्छन्, ‘त्यसैले एक भाग सिमीसँग चार भाग चामल साट्ने गरेका छौँ ।’

गाउँमा एक सय रुपैयाँ प्रतिकिलो पाइने जुम्ली सिमी सदरमुकाम नजिकका क्षेत्रमा एक सय १० रुपैयाँमा बिक्री भइरहेको छ । जुम्ला चन्दननाथ १४ का अधिकांश किसानले यस वर्ष सिमी बिक्रीबाटै जनही ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेपछि अर्को वर्षदेखि धान फल्ने खेतमा सिमी खेती गर्ने सोच बनाएका छन् ।

‘घरमा अर्को रोजगारी नभएपछि अन्नपात बिक्री गरेर घरखर्च चलाउँदै आएको थिएँ,’ चन्दननाथ १४ का जयलाल कुँवर भन्छन्, ‘घरबाटै चामलको चार गुणा मूल्यमा सिमी बिक्री गर्न पाउँदा निकै खुशी लागेको छ । अर्को वर्षदेखि धान लगाउने खेतमा पनि सिमी लगाउने सोचाइ राखेको छु ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जुम्लाभर चार हजार चार सय टन सिमी उत्पादन भएको छ । किसानको उत्पादन वृद्धिका लागि कार्यालयले क्षमता विकास तालिम र बीउ वितरण गर्नुका साथै आवश्यक सल्लाह सुझावसमेत दिने गरेको योजना अधिकृत बालकराम देवकोटा बताउँछन् ।

सधैँँ भोकमरी र गरिबीको समाचार बन्ने यस क्षेत्रका बासिन्दाका उत्पादनले कर्णाली राजमार्ग खुलेपछि उचित मूल्य पाउन थालेका हुन् । सडक कालोपत्रे भएपछि यहाँको सिमी, भटमासलगायत अर्गानिक गेडागुडी जिल्लाबाहिर जान थालेका छन्, जसले किसानको जीवनस्तरमा सुधार आएको छ । जिल्लालाई अर्गानिक क्षेत्र घोषणा गरेको धेरै वर्ष भए पनि अर्गानिक वस्तुको छुट्टै मूल्य नतोकेसम्म त्यो सार्थक नहुने किसानको भनाइ छ । सरकारले नै अर्गानिक वस्तुको मूल्य अन्य खाद्यान्नको भन्दा उचित बनाउनु पर्ने किसानको माग छ ।

प्रतिकृया दिनुहोस